सुर्खेतमा बुद्धको २५५७औं बुद्धजयन्ती समारोह मनाउने सिलसिलामा भगवान बुद्धको प्रतिमा काँक्रेविहार परिसरमा स्थापना गर्न खोज्दा प्रहरी प्रशासनले निषेध गरेको र सो विषयमा विवाद बढ्दै जाँदा प्रहरीले बल प्रयोग गरी १७ जना बुद्धमार्गीहरुलाई घाइते समेत बनाएको तथा यस्तो दमन कार्य पटक पटक भएको सुन्दा हामी मर्माहत भएका छौं ।
कर्णाली भेगका खसराजाहरुद्वारा स्थापित बौद्ध स्मारकका रुपमा विद्वान इतिहासकारहरुद्वारा विभिन्न ठाउँमा चर्चा गरिएको काँक्रे विहारलाई केही अतिवादी हिन्दूहरुले हिन्दू मन्दिरको रुपमा प्रस्तुत गर्ने प्रयास केही समय यता भइरहेको छ । यस्तो पवित्र भूमिमा विभिन्न बहाना बनाई स्थानीय जनताले धेरै वर्षदेखि नेपालमा जन्मेको भनी हामी सबैले गर्व गर्ने र विश्वमा नेपालबाट
शान्तिको ज्योति छर्ने महामानव बुद्धको मुर्ति स्थापनामा रोक लगाउनुले यही अभिष्टलाई पूरा गरेको देखिन्छ । विभिन्न पत्रपत्रिका तथा सामाजिक संजालहरु मार्फत नेपालमा बुद्धको मुर्ति स्थापना गर्नखोज्दा प्रहरीले लाठी चार्ज गरेको, ढुंगा हानेको एवं भिक्षु लामाहरुलाई निर्मम तरिकाले लखेटेको, बुद्ध मुर्तिलाई प्रहरी चौकीमा लावारिस अवस्थामा फ्याकिराखेको एवं फेरि
मूर्तिको अनुहारमा कपडाले छोपेर, दंगाप्रहरीले घेरेर अपराधीलाई जस्तै ट्रकमा लादेर फेरि लगेको दृष्य विश्व भरी फैलिसकेको छ र यो देखेर विश्वका बौद्धमार्गीहरुले नेपालको धार्मिक स्वतन्त्रताको विषयमा प्रश्न चिन्ह खडा गरिसकेका छन् ।
नेपालको उत्तरी मात्र होइन, थाइल्याण्ड लगायत थुप्रै देशहरुमा दुर्गम क्षेत्रमा भिक्षुहरुद्वारा बुद्ध प्रतिमा सहितको मन्दिर बनाई धार्मिक वातावरण सिर्जना गरी वन जंगलको संरक्षण प्रभावकारी ढंगले भइरहेको अध्यापि छँदैछ । काँक्रे विहार बौद्धहरुको पुरातात्वीक धार्मिक स्थल हो भने यो क्षेत्रलाई धार्मिक वनको रुपमा स्थानीय समुदायलाई जिम्म दिई संरक्षण गर्नु पर्दछ । यो विहारको पुरातात्वीक महत्व सुर्खेतको भविष्य संग गाँसेको छ, पर्यटन उद्योगसंग गाँसेको छ ।
अतः हाम्रो यस धर्म निरपेक्ष मुलुक भैसक्दा पनि नेपालमा जन्मेका बुद्धले नेपाली राज्य सत्ताबाटै अपमान र तिरस्कार पाउनु खेदको विषय हो । यस विषयमा सम्पूर्ण सुर्खेतबासीहरु, नेपालका बौद्ध लगायत सबै धर्मावलम्बीहरुले आआफ्नो क्षेत्रबाट आफ्नो सरकार राख्न अपील गर्दछौं ।
थेरवाद बौद्ध एकेदमीका विद्यार्थीहरु
नयाँ बानेश्वर