दुई सयभन्दा बढी देशबाट आएर करीब दुई सय तिस भाषा बोलिने र एक सय बिस धार्मिक आस्थालाई अंगीकार गर्नेहरुको साझा घर मानिने अस्ट्रेलियाको ठूलो शहरमध्येको मेलबर्नमा बिगत अठार बर्षदेखि र मेलबर्नको मुटुमा रहेको फेडेरेशन स्क्वायरमा बिगत एघार बर्षदेखि निरन्तर रुपमा CHUNG TIAN TEMPLE र BUDDHA’S LIGHT INTERNATIONAL ASSOCIATION को आयोजनामा मनाइने गरिएको बुद्ध दिवस एबं बहुसांस्कृतिक महोत्सबमा लुम्बिनी-कपिलवस्तु दिवस अभियानको पहलमा यो बर्ष पहिलो पटक नेपालीहरुले सहभागिता जनाइ नेपाललाई बुद्ध र सगरमाथाको देशको रुपमा चिनाउने प्रयास गरे । लुम्बिनी-कपिलवस्तु दिवस अभियान बिस्व कार्य समिति, लुम्बिनी-कपिलवस्तु दिवस अभियान भिक्टोरिया स्टेट कमिटी, नेप्लिज एसोशियशन अफ भिक्टोरिया, नेपाली संचार मिडिया, नमस्ते नेपाल न्यूज, तमाङ समाज, तमु समाज आदि संस्थाहरुले सो कार्यक्रममा आफ्नो सहभागिता दर्शाएका थिए । अस्ट्रेलियाको भिक्टोरिया स्टेटका प्रमुख डेनिस नाप्थिन, भिक्टोरिया बहु-सांस्कृतिक कमिसनका अध्यक्ष चिन तान, मेलबर्नका मेयर रोबर्ट डोइल आदिद्धारा शुभ(कामना पठाइएको वार्षिक रुपमा मनाइने सो महोत्सब यो बर्ष मइ महिनाको १८ र १९ तारिख मनाइएको थियो । प्रत्येक बर्ष यो महोत्सब मनाइनुभन्दा झन्डै एक महिना अगाडिदेखि नै बुद्धको फोटो सहितका ब्यानरहरु शहरका मुख्य मुख्य भागहरुमा राखेर प्रचार प्रसार गर्ने गरिन्छ । बुद्धलाई स्नान गराउने, बच्चाबच्चीहरुलाई आशिर्बचन गराउने, बिस्व शन्तिका लागि प्रार्थना गर्ने, ध्यान र ताइ चिबारे जानकारी दिने, धार्मिक एबं सांस्कृतिक कार्यक्रम गर्ने जस्ता कार्यक्रमहरु सो महोत्सबका नियमित कार्यक्रमहरु हुन । मेलबर्नको मुटुमा दुई दिनसम्म दिनभरी जस्तै आयोजना गरिने भएकोले यो कार्यक्रममा प्रत्यक्ष परोक्ष रुपमा लाखौं मानिस सहभागी हुने गर्छन् । बिदेशीहरुले आयोजना गरिने बुद्ध जयन्तीलाई परिलक्षित गरी आयोजना गरिने यत्ति ठूलो महोत्सबमा नेपालीहरुले आयोजना गरिने बुद्ध जयन्ती फरक दिनमा मनाइने गरिएतापनि बुद्ध जन्मिएको देशका नागरिकका नाताले बुद्ध जन्मस्थल बिषयमा बिस्वब्यापी दिग्भ्रम सिर्जना भएकोले सो कार्यक्रममा आफ्नै किसिमले ऐक्यबद्धता र सहभागिता जनाउनु उपयुक्त ठानी यो बर्ष पहिलो पटक नेपालीहरुले आधिकारिक रुपमा सहभागिता दर्शाएका हुन ।
R.K. Shrestha