अमरदीप मोक्तान, के तामाङ्ग स्वाभिमान विहिन जाति हो त ? यदि होइन भने राज्य द्वारा निरन्तर रुपमा यत्रो उत्पिडन तथा थिचो मिचो गर्दा समेत तामाङ्गको स्वाभिमान किन जाग्दैन त ? पृथ्वीनारायण राजतन्त्रको अस्तित्व प्रारम्भ पश्चात् राज्यमा जो सत्तासिन भएतापनि तामाङ्ग समुदाय माथि निरन्तर रुपमा राजनैतिक धार्मिक, आर्थिक, साँस्कृतिक तथा सामाजिक रुपमा शोषण र उत्पिडनको प्रहार जारी राखेको छ । कुनै समय नेपालका भू–भागका केही क्षेत्रमा तामाङ्ग शासक थिए तर तामाङ्ग समुदाय सबै प्रकारले परिपूर्ण भएता पनि तामाङ्गको स्थिति किन दयनिय छ ? शाह वंशिय शासन सत्ताले तामाङ्ग जातिलाई पिपा गोश्वारा, हली, गोठाला तथा भारी बोक्ने जस्ता अपमानित स्तरका कार्य गर्न बाध्य तुल्याए, तामाङ्ग चेली बेटी राणा, शाह दरबारमा मौजका बस्तु बनाइयो । राई, लिम्बु, मगर, गुरुङ्गलाई सेनामा भर्ना हुन कुनै बन्देज लगाइन फलस्वरुप राई, लिम्बु, मगर, गुरुङ्गको राजनैतिक, शैक्षिक, आर्थिकमा स्तरोन्नति देखिन्छ । सेनामा भर्ना हुनका लागि लाखौ तामाङ्ग समुदायले आफ्नो थर परिवर्तन गरि मगर, गुरुङ्ग, नाममा भर्ना भए, आज ति तामाङ्गहरुको स्तरोन्नति त भयो, तर हमेशाका लागि आफ्नो मातृ थर तामाङ्ग लेख्नु बाट बञ्चित हुनु परेको छ । राजनैतिक, सामाजिक उत्पिडन विरुद्धको विद्रोहमा तामाङ्ग समुदायले हमेशा अग्रणी भूमिका खेलेको छ । निरंकुश राणाशाहीको अन्त हेतु २००७ को क्रान्तिमा तामाङ्ग समुदायले महत्वपूर्ण योगदान एवं सहादत दिएका थिए । २००७ क्रान्तिको सफलता पश्चात् २०१५ सालमा भएको आम चुनावमा तामाङ्ग समुदायले आफ्नो अमूल्य मत दिएर काग्रेंस पार्टीलाई भरपुर सहयोग गर,े त्यस चुनावमा नेपाली कांग्रेसले पूर्ण बहुमत प्राप्त गर्यो । वि. पि. को नेतृत्वमा मगर, गुरुङ्ग, राई, लिम्बु, थारु, नेवार, थकाली, यादव लगाएतका सर्वजातिय भावना समेटिएको मन्त्रिमण्डल गठित भयो तर दुर्भाग्य वि. पि.को समावेशी भनिएका मन्त्रिमण्डलमा तामाङ्ग समुदायको प्रतिनीधित्व गराइएन । २०१७ सालमा राजा महेन्द्रले “कू” गरेर शासन सत्ता आफ्नो हातमा लिएर आदिवासी समुदायलाई केही प्राथमिकता दिए तापनि महेन्द्र कालमा तामाङ्ग समुदाय प्राथमिकतामा परेनन् । २००७ साल पश्चात् २०३८ साल अर्थात् ३१ बर्ष पछि मात्र तिलक बहादुर नेगीले प्रथम तामाङ्ग मन्त्री बन्ने सौभाग्य प्राप्त गरे । २००७ साल देखि २०६४ साल सम्म तिलक बहादुर नेगी, भिम बहादुर तामाङ्ग, मणी लामा, बुद्धिमान तामाङ्ग, सूर्यमान दोङ, सत्यमान तामाङ्ग केही हप्ताका लागि हित बहादुर तामाङ्ग गरी जम्मा ७ जना तामाङ्गले मन्त्री, राज्य मन्त्री तथा सहायक मन्त्री बन्ने सौभाग्य प्राप्त गरेका छन् । तामाङ्ग जातिलाई कांग्रेस तथा पंचायती शासन व्यवस्थाले राम्रो दृष्टिकोण राखेको पाइएन । तामाङ्ग जातिमा राज्य विरुद्ध उकुस मुकुस विद्यमान थियो । २०५२ सालदेखि सुरु भएको माओवादी जनयुद्धमा जातिय मुक्ति तथा अधिकार स्थापना हेतु तामाङ्ग सालिङ्ग क्षेत्रका तामाङ्ग युवा–युवतीले जनयुद्धमा शक्ति रुपमा सहभागिता जनाए एवं सहादत प्राप्त गरे । दिलमाया योञ्जनले रामेछाप जिल्ला स्थित बेथान चौकी कव्जा गर्ने क्रममा भएको भिडन्तमा सहादत प्राप्त गरीन् । माओवादी जनयुद्धलाई विश्व जनमानसमा ध्यानाकर्षण गराउन महत्वपूर्ण भुमिका खेल्ने दोरम्बा हत्याकाण्डमा बाबुराम लामा, युवाराज मोक्तान लगायतका होनहार तामाङ्ग सपूतको सहादतले नै सम्भव भएको हो ।
२०६३।०६४को विशाल जनआन्दोलन पश्चात् राजा ज्ञानेन्द्रले जनताको नासो जनतालाई फर्काउने घोषणाका साथ राजतन्त्रको अन्त भयो । राजा ज्ञानेन्द्र हमेशाका लागि नारायणहिटी दरबारबाट बाहिरिए । राजतन्त्रको अन्त गणतन्त्रको घोषणाले नेपाली जनतामा हर्ष छाएको थियो । २०६४ को आम चुनावमा विपुल मत प्राप्त गरेर माओवादी नेपालको ठूलो पार्टी बन्न पुग्यो । गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्री को रुपमा प्रचण्ड प्रधानमन्त्री बन्ने सौभाग्य प्राप्त गरे । प्रचण्ड नेतृत्वमा गठित गणतन्त्र नेपालको ऐतिहासिक मन्त्रीमण्डलमा पुनः तामाङ्ग समुदाय जातिय, क्षेत्रिय, वर्गिय, लिङ्गिय, उत्पिडनमा नपरेको जाति जस्तै गरि ऐतिहासिक मन्त्रीमण्डलमा स्थान दिइएन । प्रचण्ड पश्चात् एमालेबाट प्रधानमन्त्री बनेका माधव नेपाल, झलनाथ खनाल मन्त्रीमण्डलमा तामाङ्ग समुदाय प्रति उपेक्षित व्यवहार गरियो । बाबुराम मन्त्रीमण्डलमा युवा तथा खेलकूद मन्त्रीको रुपमा हित बहादुर तामाङ्गलाई मन्त्री बनाइयो तर एक हप्ता नबित्दै माओवादी पार्टी वृत बाट घोर विरोध पछि हित बहादुरले राजीनामा गर्न बाध्य हुनु पर्यो । २००७ सालदेखि आजसम्म राजनैतिक वृतमा ठूलो भनाउदा पार्टीहरुले तामाङ्ग जातिलाई राणा, शाहले गरेको क्रुर वार्तव जस्तैः अछुत व्यवहार गरेका छन् ।
बबरमहल बम विस्फोटनमा मारिएका धादिङ्गका गरिब निमुखा तामाङ्गका परिवारले सरकारद्वारा बाचा गरे बमोजिमको क्षतिपूर्ति नपाँउदा आन्दोलित हुनुपर्यो, पछि गएर सरकारद्वारा मृतक परिवारलाई ८.५० लाख क्षतिपूर्ति दिइयो तर एभिन्यूज झापाका संवाददाता यादव पौडेल पत्रकारिता धर्म निभाउदै हत्या नभएता पनि हत्या भएका सात दिन भित्र पत्रकारको परिवारलाई क्षतिपूर्ति दिइयो तथा हत्या को लागि छानविन समिति गठन गरियो, त्यस्तै मैथिली भाषा तथा मिथिला राज्य प्राप्तीका लागि जनकपुर रामानन्द चोकमा धर्ना आन्दोलनमा बसेका स्थानमा बम विष्फोटनमा मृत्यु भएका चार जनालाई सहिद घोषणा एवं मृतक परिवारलाई तत्कालै १० लाख क्षतिपुर्ति प्रदान गरियो । रामानन्द चोकमा मारिएका आन्दोलन कारीको दाहसंस्कारमा नेपालका ठूला नेताहरुको जनकपुरमा ताँती लागेको थियो । बबरमहल, झापा, जनकपुर घटना समान प्रकृतीका भएता पनि बबरमहल घटना पीडितलाई १० लाख क्षतिपूर्ति नदिनुले मृत्युवरण गर्ने तामाङ्ग नागरिकलाई समेत राज्यद्वारा जातिगत आधारमा विभेद गरेको स्पष्ट रुपमा देखिन्छ । सशत्र प्रहरी बलमा भविष्यमा संभावित प्रहरी महानिरीक्षक बन्ने रोल क्रममा रहेका तात्कालिन डिआइजी कृष्ण कुमार गोले वरिष्ठ एवं कार्य दक्ष हुँदा हुँदै बरिष्ठता क्रममा कनिष्ठ कार्य दक्षतामा कमजोर जीवन थापा तथा ऋषभदेव भट्टराईलाई एआइजीपी बनाइयो, कृष्ण कुमार तामाङ्गलाई जानी जानी पछाडि पर्ने कार्य सायद निरिह तामाङ्ग जाति भएकोले हुनु पर्दछ । नेपाली साहित्य जगतका अमूल्य नीधि पारिजात (विष्णु कुमारी वाइवा) तथा नेपाली सिनेमा जगतमा महत्वपूर्ण योगदान पु¥याउने महान् कलाकार गोपाल भुटानी (घिसिङ्ग) आफ्नो पुर्खाको जन्मभूमि नेपालको नागरिकता प्राप्त गर्नका लागि मृत्यु श्ययामा पुग्दा समेत याचना गर्दै रहे । पारिजात तथा गोपाल भुटानी द्वारा नेपाली नागरिकतामा के नै स्वार्थ थियो ? आफ्ना पुर्खाको पूण्य भूमि नेपालको नागरिक भएर प्राण त्याग्ने इच्छा समेत सम्भवतः तामाङ्ग भएकै कारण क्रुर राज्य व्यवस्था द्वारा पूरा गरिएन । दोश्रो तर्फ खुलेआम विहार, उत्तर प्रदेशका भारतीय नागरिक धाक धम्की देखाउदै नागरिकता प्राप्त गरिरहेका दृष्य नेपाली जनता टुलुटुलु हेर्न बाध्य छन् कस्तो विडम्बना ? माथि उल्लेखित तामाङ्ग जाति प्रति राज्यद्वारा अन्याय तथा विभेद गरेका दृष्टान्तका केही उदाहरण मध्येका हुन् विगतमा तामाङ्ग प्रति गरिएको अन्यायको श्रृंखला बयान गरिए एउटा ठूलो पुस्तक निर्माण हुन सक्दछ ।
राजनैतिक वृतमा एमालेमा तामाङ्ग नेता ओझेलमा परेका छन् भने माओवादीमा तामाङ्ग पछाडि बेन्चमा बस्ने छात्र बनेका छन् । कांग्रेसका त्यागी उच्च कद एवं विद्वताले भरिपूर्ण स्व. भिम बहादुर तामाङ्ग जीवित हुन्जेल कांग्रेसले ओझेलमा पार्ने प्रयास गरेकै हो । आदर्शवान कांग्रेस कार्यकर्ताको मनोबल उच्च बनाउन एउटा साधारण कार्यकर्ताले समेत सभापतिको पदमा उम्मेदवारी दिन सक्छन् भन्ने सन्देश दिन सक्ने निष्ठाका धनी स्व. भिम बहादुर तामाङ्ग नै हुन् । सभापति चुनावमा भिम बहादुर तामाङ्गले प्राप्त गरेको ७८ मतले कांग्रेसका बहुमत कार्यकर्ता स्व. भिम बहादुरलाई आदर्शका प्रतिमूर्ति निष्ठाका धनी भन्दा पनि निरीह तामाङ्ग जाति सोच्दा रहेछन्, भन्ने कुरा जगजाहेर भएको छ । तामाङ्ग जातिको स्वाभिमान नजाग्नुको कारणको सन्दर्भ बारे भन्नु पर्दा तामाङ्ग जातिले आफ्नो विशाल शक्तिको पहिचान गर्न नसक्नु हो । नेपालमा रहेका विद्यमान आदिवासी जनजाति समुदाय मध्ये तामाङ्ग सर्वाधिक शक्तिशाली जाति हो, हनुमान जस्तै आफ्नो विशाल शक्तिको बोध नभएको कारण तामाङ्ग समुदाय पछाडि परेका हुन् । भौगोलिक दृष्टिले नेपालको मुटु काठमाण्डौमा नै हेर्ने हो भने उपत्यका घेरिएको डाँडामा तामाङ्ग समुदायका घना रुपमा बसोबास छ । काठमाण्डौ घेरिएको तामाङ्ग समुदायले संगठित रुपमा एक जुटता प्रदर्शन गरे मात्र राज्यले घुडा टेक्न बाध्य हुनुपर्ने छ तर दूर्भाग्य यस्तो हुन सकेको छैन । काठमाण्डौको प्रत्येक क्षेत्रलाई नाकाबन्दी गर्न सक्ने शक्ति तथा क्षमता मात्र तामाङ्ग जातिमा विद्यमान छ । जनसंख्याको नै कुरा गर्ने हो भने राज्य द्वारा गरिएको विभेद एवं अवहेलनाले गर्दा अवसरका लागि मगर, गुरुङ्ग थर परिवर्तन गरेका तामाङ्गलाई गणना गर्दा आदिवासी मध्ये तामाङ्ग सबैभन्दा बढी जनसंख्या भएको जाति हो ।
तामाङ्ग भन्दा आधी जनसंख्या भएका तराईका यादव जातिले एकजुटता प्रदर्शन गरेकाले, कांग्रेस, माओवादी पार्टीद्वारा यादव जातिलाई उच्च प्राथमिकता प्रदान गरेको देखिन्छ । त्यसकारण यादव जाति राजनीति, निजामति सेवा, विभिन्न नियूक्तिमा आफ्नो सशक्त उपस्थित दर्ज गराउन सफल भएको छ । विघटित संविधान सभामा तामाङ्ग भन्दा तीन गुणा बढी यादव सभासद चयन भएका थिए । तामाङ्ग जाति आफ्नो अधिकार प्रति सचेत एवं सजग हुन अत्यन्त जरुरी छ । नेपालका ठूला भनाउदा पार्टी कांग्रेस, एमाले, माओवादी आदिवासी पूर्वाग्रही त पक्कै हुन्, त्यसमा पनि तामाङ्ग जाति प्रति घोर दुराग्रह एवं अछुत जस्तै व्यवहार निरन्तर रुपमा गरिरहेका छन् भन्दा अन्यथा हुने छैन । ठूला पार्टी भनाउदाहरुद्वारा निरन्तर रुपमा गरिएको विभेद एवं तिरस्कारको अन्त गर्न तामाङ्ग जातिले त्यस्ता तामाङ्ग पूर्वाग्रही पार्टीको बहिस्कार गर्न कुनै हालतमा चुक्नु हुदैन । पार्टी भक्ति ठीक हो तर तामाङ्ग जातिलाई विस्थापित गर्ने नीति स्पष्ट रुपमा महसुस एवं देख्दा देख्दै त्यस्ता पार्टीको पुच्छर समातेर अन्धभक्ति देखाउनुलाई मूर्खता बाहेक के भन्न सकिन्छ । आदिवासी, बुद्धिजीवि नेताहरु पनि तामाङ्गको कुम्भकर्णिय निन्द्रा देख्दा चिन्तित छन्, जव सम्म विशाल संख्या भएका शक्तिशाली तामाङ्ग समुदाय आन्दोलित हुदैनन् तव सम्म आदिवासी आन्दोलनले आफ्नो जायज मागलाई सम्बोधन गराउन सफलता प्राप्त गर्न सक्दैन, किनभने नेपालको मुटु काठमाण्डौमा आन्दोलनको जोरदार आँधी बेहरी ल्याउन तामाङ्ग शक्ति विना असम्भव छ । तामाङ्ग जातिले बुझ्नु पर्ने कुरा के हो भने तामाङ्ग सबै प्रकारले परिपूर्ण सामाजिक संरचना बोकेको जाति हो, तामाङ्ग निरिह एवं दास जाति होइनन्, सयकडो बर्ष देखि तामाङ्ग प्रति राज्यको विभेदकारी नीतिका कारण तामाङ्ग पछाडी परेका हुन् । तामाङ्ग जातिको कुनै समय शक्तिशाली समृद्ध राज्य थियो, तामाङ्ग जातिले कुशलता पूर्वक राज्य सञ्चालन गरेका थिए, तामाङ्ग राज्यमा आम नागरिक प्रति कुनै विभेदको नीति थिएन । तामाङ्ग जातिमा जनबल, शक्तिबल भएर पनि पछाडी पर्नुको मूख्य कारक तत्वमा राज्यको विभेदकारी नीति हो भने तामाङ्गले तामाङ्गलाई शत्रु ठान्ने प्रवृत्ति पनि एक हो । अनुहारमा तामाङ्ग देखिने तर तामाङ्ग– तामाङ्ग बिच विभाजनको रेखा कोर्ने शत्रुको पहिचान गरी त्यस्ता शत्रुलाई निस्तेज पार्न अत्यन्त जरुरी छ । छिमेकी भारत वर्षमा तामाङ्ग समुदायले प्रत्येक क्षेत्रमा पहिचान स्थापित गरि सकेका छन् । तामाङ्ग समुदाय बाट साहित्यकार, संगीतकार, गायक, बुद्धिजीवि, डाक्टर, ईन्जिनियर, राजनैतिज्ञ लगायत राम्रो स्थान प्राप्त गर्न सफल हुन सक्छन् भने नेपालमा किन र कुन कारणले हुन सकेन त्यस प्रति चिन्तन र मनन गर्न अत्यन्त जरुरी छ । तामाङ्ग जातिले एकजुटताको प्रदर्शन मात्र गरे नेपालको ठूलो भन्दा ठूलो शक्ति नतमस्तक हुन बाध्य हुने छन् । तामाङ्ग जातिमा राष्ट्र हाँक्न सक्ने राजनीतिज्ञ, बुद्धिजीवि तथा खारिएका जोशिला यूवा शक्तिको समुह विद्यमान छन् । तामाङ्ग स्वाभिमान जागरणको ज्योति प्रज्वलित गर्ने समय आएको छ, जागरण ज्योति प्रज्वलित हुन साथ तामाङ्ग नेपालको ठूलो शक्तिमा परिणत हुने छ । तामाङ्ग कुलमा जन्मेकोमा अभिषाप होईन गर्व गर्न सिक्नु पर्छ । तामाङ्ग विशाल शक्तिको मालिक हो, तामाङ्ग लगायत आदिवासी समुदाय को अधिकार स्थापित गराउन दृढ संकल्पका साथ अगाडी बढ्ने समय आएको छ । तामाङ्ग जातिले बुझ्नु पर्ने महत्वपूर्ण कुरा के हो भने एमाले, कांग्रेस, माओवादी, मधेसवादी तामाङ्ग जातिका भाग्य विधाता होईनन्, तामाङ्गले आफ्नो स्वर्णिम भविष्यको मार्ग सार्थक बनाउन मार्ग आफैले तय गर्नु पर्दछ । तामाङ्ग पूर्वाग्रही मुखौटाधारी एमाले, कांग्रेस, माओवादीका कारण तामाङ्ग समुदायको अवनति एवं दुर्गति भएको हो । तामाङ्ग जाति खाडी मूलुकको चालिस डिग्री तापमानमा श्रम बाँड्ने होईन, नेपालमा सेना, प्रहरी, कृषि, निजामति सेवामा आफ्नो उपस्थिति दर्ज गराउन तत्पर भएर लाग्नु पर्दछ । भारतको विभिन्न जाति संग प्रतिस्पर्धा गर्दै भारतीय लोकसेवा, प्रान्तिय सेवामा यदि तामाङ्ग उतिर्ण हुन सक्छन् भने नेपालको लोक सेवा उतिर्ण गर्न सकिन्न भन्ने भ्रम मात्रै हो । तामाङ्ग जाति कसैको भरमा नभई आफ्नो बुद्धिबल तथा बाहुबलले आफ्नो भाग्य निर्माण गर्न सक्षम छ भन्ने सन्देश प्रवाह गर्नका निमित्त स्वाभिमानका साथ सम्पूर्ण तामाङ्ग दाजुभाई दिदी बहिनी ऐक्यबद्धता प्रदर्शन गर्ने समय आएको छ ।
नेपाली जनतामा चुनावको चाहना नभएता पनि नेपालका स्वघोषित ठेकेदार चार दल चुनाव प्रति त्रास भएता पनि चुनावी चर्चामा व्यस्त देखिन्छन् । नेपाली जनताको मनस्थिति विल्कुलै चुनाव विपरित छ, जनतामा चुनाव प्रति कुनै उत्साह छैन । संविधान निर्माणका लागि भनी जनभावना विपरित लादिएको चुनाव कसैको इशारामा ग्राण्ड डिजाइन तहत तैयार गरिएको हो । यो खिलराज नेतृत्वद्वारा गरिने भनिएको चुनाव नेपाललाई गन्तव्यहीन दिशा तर्फ लाने षडयन्त्र हो । विघटित संविधान सभाले प्राप्त गरेको उपलब्धिलाई संस्थागत नगरी पुनः शुन्य बाट शुरु गर्ने प्रक्रिया खास गरि आदिवासी समुदायको अधिकारलाई धरापमा पार्ने ठूलो षडयन्त्र हो । यदि कथंकदाचित चुनावको मिति तोकिए वा चुनाव हुने भए तामाङ्ग लगायतका आदिवासी समुदायले मनन गर्ने कुरा के हो भने विगतमा आदिवासीको मतमा विखराबका कारण त्यसको ठूलो घाटा आदिवासी समुदायलाई नै भयो, तसर्थ तामाङ्ग लगायत आदिवासी समुदायले अब रणनीतिक प्रकारले मतको प्रयोग गर्न जरुरी छ , कुनै पनि हालतमा मतको दूरुपयोग हुनु हुदैन । भोट दिँदा पार्टी भन्दा जातिलाई प्राथमिकता, आदिवासी हितचिन्तक पार्टीलाई पहिलो प्राथमिकता, दोश्रोमा काग्रेस, एमाल,े माओवादी, मधेसी दल बाट कुनै शसक्त आदिवासी उम्मेदवारको उम्मेदवारी छ भने त्यस्ता आदिवासी उम्मेदवार लाई प्राथमिकता दिनु पर्दछ, याद रहोस् कांग्रेस, एमाले, माओवादी पार्टी मजबुत भए कोइराला, झलनाथ, प्रचण्ड मजबुत हुने हुन् आदिवासी हितचिन्तक पार्टी वा आदिवासी समुदायको प्रतिनीधिले विजय हासिल गरे आदिवासीको सपनारुपी संघिय प्रदेश तथा संघियता सहितको संविधान बन्न सक्ने सम्भावनाको द्वार खुल्नेछ । विगतको कटु यथार्थलाई स्मरण गर्दै पार्टी होइन जाति, आदिवासीको विजय राष्ट्रको विजय हो । एउटा सानो सचेतना र सजगताले तामाङ्ग लगायत आदिवासी समुदायका आउने सन्ततिको सुन्दर भविष्यको मार्ग प्रशस्त हुने छ भने भूल दोहो¥याइए तामाङ्ग लगायत आदिवासी पुनः १०० वर्षको लागि दास एवं दोयम दर्जाका नागरिक बन्ने छन् । अन्तमा प्रसङ्ग तामाङ्ग जाति तर्फ फर्कदा पुनः दोहो¥याउन चाहान्छु, तामाङ्ग जातिले एक आपसमा वैरभाव, पद प्रतिष्ठाको मोहलाई तिलाञ्जली दिएर विशाल तामाङ्ग समुदायको ऐक्यबद्धता प्रदर्शन गर्दै स्वर्णिम भविष्यको गन्तव्य तर्फ प्रस्थान गर्नु नै पर्छ यहि नै आम तामाङ्ग समुदायको जनचाहना हो ।