युगले नबुझेको मान्छेः खपाङ्गी

Read Time:14 Minute, 32 Second

बलदीप प्रभाश्वर चामलिङ

 

संघीयता, धर्मनिरपेक्षता र समानुपातिक प्रतिनिधित्व नेपाली राजनीतिक समस्याको समाधान हुन् भनेर भाषणको माध्यमबाट जनतामाझ सबैभन्दा पहिले कोही निस्किएको थियो भने त्यो व्यक्ति उनै गोरेबहादुर खपाङ्गी नै थियो । त्यो ताका यस्तो विचारको उठान गर्नु सानो हिम्मतको कुरो थिएन । करिब दुई दशक अगाडिको कुरा हो, एम. एस. थापा अध्यक्ष रहेको राष्ट्रिय जनमुक्ति पार्टीको  महासचिवको हैसियतमा आफ्नो पार्टीको विचार र सिद्धान्तलाई पिछडाइएको समुदायसम्म पु¥याउन पुलको भूमिका निभाएका थिए बहुचर्चित व्यक्तित्व खपाङ्गीले । त्यो बेला जातीय हक अधिकारको बारेमा कुरा उठाउनु चाने चुने कुरा थिएन । त्यो बेलाका मिडिया अहिले जस्तो प्रजातान्त्रिककरण भैसेको थिएन । त्यस्तो युगान्तकारी परिवर्तनको कुरालाई जनता माझ लग्ने अरु कुनै माध्यम थिएन । यस्तो अवस्थामा पार्टीको विचार र सिद्धान्तलाई जनता माझ पु-याउने एउटै माध्यम थियो, खपाङ्गीको वजनदार भाषण । उनलाई विरोधीहरुले विखण्डनकारी, साम्प्रदायिक र वाहुनविरोधी भनेर दुस्प्रचार गर्ने षडयन्त्र गरियो । तर उनै खपाङ्गीले बोलेको कुरा अहिले यो मुलुकमा सैद्धान्तिकरुपले अविभावकीय भूमिका निभाईरहेको छ । खपाङ्गीहरुको आवाज अहिले राष्ट्रिय मुद्धा भएको छ । मुलुक धर्मनिरपेक्ष राज्य भैसकेको छ । संघीयतामा नगै मुलुकले धरै नपाउने अवस्था भएको छ । तीनै आवाज उठाउने उनै खापाङ्गी अहिले हस्पिटलको मृत्यु शैयामा रहेको छ । उनको यो अवस्थामा यो राज्य बेखबर छ ।

  क्षणिक भौतिक सुविधाहरुलाई तिलाञ्जली दिएर आफ्नो समुदाय र सिंगो राज्यको लागि आफुलाई समर्पित गरेको उनै खपाङगी अहिले गुमनाम तरिकाले मृत्यसंग संघर्ष गरिरहेको छ । खपाङ्गीको यो अवस्था आदिवासी जनजाति र सिगो मुलुकको प्रतिस्ठासंग जोडिएको छ । आदिवासी जनजातिको हकअधिकारको बारेमा बोल्ने हौं भन्नेहरुको लागि र यो मुलुकको प्रजातन्त्रको ठेक्का आफुले मात्र लिएका छौ भन्नेहरुलाई खपाङ्गीको यो अवस्था एउटा गतिलो व्यांग्य हो ।

हिजो खपाङ्गीहरु सत्य कुरा लिएर जनता सामु आउदा अहिलेका कथित जनजाति कर्मीहरु कस्को खेतालो भएका थिए ? हिजो खाङ्गीहरुले मुलुकको सही निकास बताइदिदा त्यसलाई विखण्डन भन्ने तर तीनै खपाङ्गीहरुले भनेको कुरालाई आज आत्मसाथ गर्ने ठूला पार्टीहरु खपाङ्गीको यस्तो अवस्थामा पनि किन  बेखबर छन् ? कि भन्न सक्नुपर्छ, संघीयता, धर्मनिरपेक्षता र समानुपातिक प्रतिनिधित्व अनावस्यक कुराहरु हुन् र खपाङ्गी पनि सम्प्रदायिक हुन् । यो पनि भन्न नसक्ने र ती कुराहरुलाई राजनीतिकरुपमै उठान गर्ने खपाङगीप्रति सहानुभूतिपनि प्रकट गर्न नचाने अहिले मुलधारका हौ भन्नेहरु नै साम्प्रदायिक भएको कुरा उजागर हुदैछ ।

बाहुन बिरोधी बनाइदिएको छवि

गोरेबहादुर खपाङगीलाई बाहुनबिरोधी भएको छविको रुपमा विपक्षीहरुले उभ्याए । तर वास्तविकता यो थिएन । अहिले बाहुनवादको चर्को विरोध त स्वयम बाहुनहरुले नै गर्दै आएको छ । उनले तिनै बाहुनवादको मात्र विरोध गरेका थिए । तर जाति विशेषको विरोधी भनेर नै चिनाउने कोशिस गरियो । यो दुर्भाग्य थियो ।

जसरी कम्युनिष्टहरुले बर्गीयमुक्तिको कुरा गर्दा पुँजीवादको विरोध गर्दछन् । यसको अर्थ पुँजीवादको विरोध गर्नु हो तर पुँजीको होईन । यो व्यक्ति नाफा र लाभको दर्शनलाई प्रश्रय दिने पुँजीवादको विरोध हो तर हर उत्पादनको काममा चाहिने पुँजीको विरोध होईन । पुँजी त कम्युनिष्टलाई पनि चाहिन्छ । ठीक यसरी नै जातीयमुक्तिको कुरा आउदा वाहुनवादको प्रसंग आउनु स्वभाविक हो । यहा बाहुनवादको विरोध गर्नु भनेको जाति विशेष बाहुनको विरोध होईन, आफ्नो मात्र भालो प्रभुत्व जमाउन खोज्ने साम्प्रदायिक प्रवृति बाहुनवादको विरोध हो । यसरी पुँजीवादको विकृति बारे बताइदिदा पुँजीपतिको छोरो पुँजीवादको विरोधमा लाग्छ भने बाहुनवादको खरावीलाई प्रष्ट पारिसकेपछि बाहुनको छोरो बाहुनवादको विरुद्धमा किन नलाग्ने ? यस्तै उद्गार थियो खपाङ्गीको । सबैको भाग राज्यसत्तामा स्थापित गराउने समानुपातिक प्रतिनिधित्वको पक्षपाति कुनै जाति विशेषको विरोधी हुन सक्छ ?

उहा अझैपनि प्रष्ट हुनुहुन्छ कि संघीयता जातीय आधारमा हुनुहुदैन । तर राजनीतिक नीति निर्माणको तहमा चाहि जातीय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व हुनुपर्छ भन्ने कुरामा वहा दृढ हुनुहुन्छ ।

राजावादी भएको आरोप

भूपि शेरचनले लेखे झै यो देश हल्लैहल्लाको देश हो । यहा हल्ला भए पुग्छ । हल्लालाई नै वास्तविकता ठान्ने मनोविज्ञान भएको समाजमा खापाङ्गीलाई राजावादी भएको आरोप मज्जाले लगाईयो । तात्कालिन राजा ज्ञानेन्द्रले उनको सरकारमा गोरेबहादुर खपाङ्गीलाई मन्त्री बनाए । त्यो सरकारको नेतृत्व आफुलाई नै देला भनेर काग्रेस र एमाले अपेक्षा गरेका थियो । तर अनपेक्षितरुपमा ज्ञानेन्द्रले त्यो गरेन । यो भएपनि प्रतिगमनको कुरा आयो । त्यो सरकारमा जाने सबै प्रतिगमनकारी भनेर आक्षेप लगाईयो । राजावादी भनेर दोहोलो काढियो । त्यसको मारमा खपाङ्गी नपर्ने कुरै थिएन । तर त्यो प्रतिगामी राजाले बनाएको सरकारमा पछि काग्रेसका शेरबहादुर देउवा र एमालेपनि गए । ठुलादल आफुले सत्ता पाउदा त्यसलाई अग्रगामी र नपाउदा प्रतिगामी भन्ने संस्कारको विकास भयो त्यो वेला ।

तर खपाङ्गी मन्त्री हुदाको सरकारको “म्यान्डेट” तत्काल चुनाव गराएर शक्ति दलहरुलाई नै सुम्पनु भन्ने थियो । राजतन्त्र बचाउने सपथ खाएर उनी मन्त्री भएका थिएन । यदि उनी साच्ची नै राजाको पिछलग्गु भएको भए कमल थापाहरुको फेर समाउन पुग्थे । तर त्यो उनले गरेको पाईएन । वास्तवमा उनी राजावादी भएको कुरा मिथ्या नै हो । उनले अरुले जस्तो अन्तिम समयसम्म पनि “बेबी किङ” को मोह देखाएन । बरु आज प्रचण्डहरुले हिजो राजालाई बचाउन जोरजुलुम गरेर लाग्नेहरुलाई नै संवैधानिक निकायहरुमा नियुक्ति गरेर पुरस्कृत गरेका छन् । यस्तो अवस्थामा कस्लाई राजावादी भन्ने र कस्लाई नभन्ने ?

विवादास्पद “दशै टिका”

दशै टिकाको कुरालाई लिएर खपाङ्गी माथि अर्को आक्रमण भो । त्यो बेला राज्यप्रमुखको हैसियतमा ज्ञानेन्द्रले सरकारका मन्त्रीहरुलाई दशैमा टिका लगाइदिएको थियो । त्यो बेला प्राविधिकरुपले राजा ज्ञानेन्द्र नै मुलुकको राज्यप्रमुख थियो । राज्यप्रमुखले टिका लगाईदिनु त्यस बेलाको रीत नै थियो । के त्यो बेला खपाङगीले टिका नलगाइदिएर साम्प्रदायिकता प्रदर्शन गर्न मिल्थ्यो ? टिका लगाएर होईन, टिका नलगाउदा चाहि उनी घोर साम्प्रदायिक हुन्थ्यो । सबै जातिहरुलाई समान अधिकार प्रदान गरेर राष्ट्रिय सद्भाव र एकता कायम गर्नुपर्छ भन्ने उनको पार्टीको आदर्शमा चोट पुग्न सक्थ्यो यदि उनले टिका नलगाईदिएको भए । हिन्दुहरुको धार्मिक आस्था र संस्कृति माथि चोट र अनादर ठहरिन्थ्यो यदि खापाङ्गीले टिका नलगाईदिएको हुन्थ्यो भने । किन भने मन्त्री भनेको सार्वजनिक व्यक्ति हो । उ त्यो बेला बाहुनको पनि मन्त्री हो । सवै धर्म र आस्था मान्नेहरुको मन्त्री हो । मन्त्रीको दायित्व सबै जनताको सेवा हो । खापाङ्गीको टिका भनेको हिन्दुधर्म र संस्कृतिको कदर हो । सम्मान हो ।

खपाङगी कुनै जाति, समुदाय, वर्ग, धर्म, सस्कृति र सभ्यता बिरोधी नेता थिएन । खपाङगी न बाहुन विरोधी न हिन्दुधर्म विरोधी नै हो । हिजो खपाङगीले त सत्य कुरा मात्र बताएको थियो । वास्तवमा ईतिहासले जनजातिको धर्म हिन्दु होईन र दशैमा टिका लगाउनु पर्दैन । दशै जनजातिको चड होईन र उनीहरुले टिका लगाउनु पर्दैन मात्र भनेको हो । यसको अर्थ यो होईन कि कुनै जनजातिले हिन्दुधर्म मान्नु हुदैन । यो व्यक्तिको स्वतन्त्रता र मानवअधिकारको कुरा हो । व्यक्तिले हिन्दुधर्म मानोस् वा बुद्ध । यो चासोको विषयपनि भएन । तर जनजातिहरु हिन्दुधर्म विरोधी हुनुपर्छ भनेर एलान त खपाङ्गीले गरेका थिएन । जनजातिले मात्र होईन, सार्वजनिक पद बोकेको व्यक्ति जो कोही चाहे त्यो मुसलमान भएपनि हिन्दुहरुले निमन्त्रणा गरेको कार्यक्रममा गएर दशैटिका लगाउनु पर्दछ ।

खपाङ्गीले त्यो बेला दशैमा टिका लगाइदिनु भनेको हिन्दु सस्कारलाई अवलम्बन गरेको नभएर , कदर गरिदिएको हो । यहा भन्दा ठूलो हिन्दुधर्मप्रति सदासयता अरु के हुन सक्छ एउटा प्रजातान्त्रिक नेतालाई ?

 अन्तमा

  यो देशका पिछडिएको समुदायहरुलाई मुलधारमा ल्याउन उनीहरुलाई हिंसामा उतारेर होईन, शान्तिपूर्ण प्रजातान्त्रिक अभ्यासमा सामेल गराउने प्रयत्नको श्रेय उनै खपाङ्गीहरुलाई जान्छ । कम्युनिष्टहरुले जनजाति, दलित र मधेशीहरुलाई जातीय अधिकारको नाममा हिंसामा उतारेर सोत्तर बनाउने काममा “चेक्क एण्ड व्यालेन्स” गरेकै हो खपाङ्गीहरुले । संस्कृत भाषालाई ऐच्छिक बनाउने श्रेय उनै खापाङ्गीलाई जान्छ । उनको छोटो मन्त्रीकालमा उन्कै पहल र प्रस्तावमा संस्कृत भाषाको एकाधिकारलाई अन्त्य गर्दै त्यसलाई ऐच्छिक बनाइयो ।

  यहुदीहरुको नेता थियोडर हर्जलले इजरायल राज्य अस्तित्वमा आउनु अगाडि आफु मर्ने बेलामा उनको डायरीमा यस्तो लेखेर गएका थिए, “यहुदी राज्य स्थापना भैसक्यो । यो कुरा अहिले भनिदिए भने मलाई मान्छेले हाँसी दिनेछन् । तर धेरै टाढा होईन, केही वर्षहरुमा म सही थिए भन्ने कुरा समयले प्रमाणित गरिदिनेछ ।” हो, त्यो यहुदीहरुको छुट्टै राज्य बनाउने कुरा त पुरा भयो भने खपाङगीहरुको सपना किन पुरा नहुने ? किनकी खपाङ्गीहरुले त छुट्टै साम्प्रदायिक राज्य मागेकै होईन । यही सार्वभौम नेपाली राष्ट्रियताभित्र अधिकार र समानता न खोजेका हुन् । नेपालमा बस्नेलाई नेपाली बनाउने अभियान नै खपाङ्गीहरुको सपना हो । यसरी पिछडाइएका, सिमान्तकृत र उत्पीडित समुदायहरु मुलधारमा ल्याउने आन्दोलनको एक अभियन्ता खपाङ्गीको शीघ्र स्वास्थ लाभ होस् जस्को उपादायता अझै सकिएको छैन ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %