दीपा आले, नेपालगन्ज नेपाल मगर संघ केन्द्रिय समितिका पूर्व अध्यक्ष तथा आदिबासी जनजाति नेता एवं पूर्व महिला, बालबालिका तथा समाज कल्याण मन्त्री गोरेबहादुर खपाङगीमगर यही २०७० बैशाख १२ गते राष्ट्रिय सभागृह अगाडि मोटर साईकलको ठक्करबाट गम्भीर घाइते हुनु भएको थियो । घाईते भई बेहोस भएपछि उहांको उपचारकोलागि तत्काल विर अस्पताल लगियो । विर अस्पतालको आपतकालिन कक्षमा उहांलाई ३ घण्टा राखिएतापनि उहांको स्वास्थ्यमा सुधार नआएपछि तत्काल माइतीघर मण्डला नजिकैको अन्नपूर्ण न्यूरो अस्पताल लगियो । न्यूरो अस्पतालमा उहांलाई भर्ना गरिएपछि आइसुयू कक्षमा बेहोस अवस्थामा उपचार गरियो । उहांको घटना भएको खबर पाए लगत्तै १४ गते घटनाको विस्तृत जानकारी लिन म नेपालगन्जबाट बुद्ध एयर जहाज चडेर काठमाडौ लागे । काठमाडौं पुगे लगत्तै नेपाल मगर विद्यार्थी संघका केन्द्रिय अध्यक्ष रेणुका काउचा र म अन्नपूर्ण न्यूरो अस्पताल पुगौं । उहांको घटनाको बारेमा विस्तृत जानकारी लिन उपचारार्थमा खटिएका डा. प्रितम गुरुङ संग भेट गरियो । डा. गुरुङसंग खपाङगीको स्वास्थ्यको बारेमा सोधपुछ गरियो । साथै उहांको स्वास्थ्य उपचारार्थ अवस्थाको बारेमा मध्येनजर गरियो । पूर्व मन्त्री गोरे बहादुर खपाङगीको स्वास्थ्य स्थीतिको बारेमा डा. गुङगसंग जानकारी लिदा घटना भएको ५ दिनमा उहांको सामान्य होस आएको र स्वास्थ्यमा समेत सुधार आएको जानकारी दिनु भयो । १२ गते खपाङगी माथि भएको मोटरसाईकल दुर्घटाबाट उहांको आंखा, अनुहारको गालामा, टाउंको र शरीरका केही अन्य भागमा समेत गम्भीर चोट लागेको जानकारी पाउनुको साथै उहाको स्वास्थ्य अवस्थाको बारेमा मैले प्रत्यक्ष अवलोकन गर्न पाए । यसरी उहांको घटनाको बारेमा मोटामोटी रुपमा जानकारी लिन सकियो ।
राष्ट्रका धरोहर, राष्ट्रका गहना, राष्ट्रका सपुतका रुपमा चिनिएका साहसिक एवं विद्वान नेता गोरे बहादुर खपाङगीको अवस्था अहिलेपनि पूर्ण रुपमा सुधार हुन नसकेको हामी सबैलाई जगजाहेर छ । उहां माथि घटना घटनु आफ्नो ठाउंमा छ तर घटना घटेपछि उहांको उपचार सहि ढंगले गर्नु पर्ने राज्य पक्षको दायित्य हुनु जरुरी छ । विगतदेखि हालसम्म देश र जनताकालागि सेवामा खटिएका पूर्व मन्त्री खपाङगीको स्वास्थ्य उपचारार्थको लागि सरकार संबेदनशील हुनु पर्दछ । हरेक नेपाली नागरिकले स्वतन्त्र पूर्व बांच्न पाउनु उसको मानव अधिकार हो । त्यसमा पनि विद्वान नेता गोरेबहादुर खपाङगी यो देशको पूर्व मन्त्री तथा जनताले चाहेको विद्वान नेताको हैसियतले पनि उहांको स्वास्थ्य उपचारमा लाग्ने सम्पूर्ण खर्च राज्यले ब्योर्होनु सक्नु पर्दछ । यो आम नेपाली जनताको बुलन्द आवाज पनि हो ।
अग्रज नेता खपाङगीको घटना भएको दिन देखि आज सम्म उहांको बारेमा गहिरिएर बुझ्दा राज्य पक्ष संबेदनशील नभएको बुझिएको छ । हुन त उहांको घटना भएको केही दिनमै गृहमन्त्री तथा राज्यसत्तामा बसेका, राजनीतिक दलका विशिष्ट व्यक्तिहरु उहांलाई दर्शनभेट गर्न नगएका होइनन् तर भेट पछि उहांको स्वास्थ्यकोलागि राज्यले गर्नु पर्ने दायित्व ओझेलमा परेको अथवा हात्तिलाई देखाउने दांत जस्तै भएको बुझ्नमा आएको छ । यसरी उहांको स्वास्थ्यको बारेमा राज्य पक्ष उदासिन हुंदा बास्तवमै भन्नुपर्दछ यति बेला राज्य कहां छ ? राज्य पक्षले उहांको स्वास्थ्य उपचारको लागि टुलु टुलु हेर्नु कतिसम्मको जिम्मेवारी हो भन्ने कुरा बुझ्न आवश्यक छ ।
मुलुकको छवि विस्तारलाई अग्रपंतिमा डोराउन सफल विद्वान नेता खपाङगीले देश र जनतालाई दिएको योगदान राज्यसत्तामा बस्ने शासकहरुले भोल्नु हुंदैन भन्ने लाग्छ । तर नेपालको कानुन दैवले जानुन भन्ने उखानलाई यहांनिर जोड्दै म के भन्नु चाहन्छु भने एउटा दिनरात काम गरी जिविकोपार्जन गर्ने मजदुर संग सहयोग माग्न सजिलो होला तर राज्य सत्तामा आसिन शासक वर्गसंग एउटा नेपाली नागरिकले सहयोग माग्यो भने उसले सहयोग पाउनु त परै जावस झन त्यसको अपमान गरेको पाईन्छ । म स्यम भोक्तभोगि छु २०६९ साल जेठ ८ गते म माथि सांघातिक हमला भई सक्त घाईते भए । तर त्यो घटनाको सुनुवाई र क्षतिपूतिको लागि राज्यले अहिलेसम्म बेवास्ता गरेको छ । कानमा तेल हालेर बसेको छ । म माथि भएको सांघातिक घटनाको न्यायकोलागि राज्यसत्तामा बसेका शासकवर्गले टुलुटुलु हेरिरहेको छ । यो कति सम्मको न्यायोचित हो भन्ने कुरा हामी सबैले बुझ्नु पर्ने जरुरी छ । तर भालुलाई पुराण सुनाए झै राज्यसत्तामा बसेका सत्ताधारीलाई एउटा नेपाली नागरिकले सहयोग र न्यायकोलागि अपिल गर्नु उस्तै उस्तै देखिएको छ । जसलाई बुझेर पनि बुच पचाई रहेका छन् सत्ताधारीहरु ।
नेपाल एउटा बहुजातीय, बहुभाषिक बहुसांस्कृतिक र बहुपहिचानले भरिएको देश हो । यहां बसोबास गर्ने हरेक समुदायका आ आफ्नै पहिचान छ । आ आफ्नै रहनसहनले भरिएको ईतिहास छ । आज विश्वपरिबेश २१ औं शताब्दीमा पुगी सक्यो तर नेपाल लगायत केही मुलुक भने ससाना कुरामा अडकिने काम भईरहेको छ । जसले गर्दा एउटा नेपालीले आफ्नै देशमा आफ्नो परिचय दिन समेत कन्जुसाई गरेको पाईन्छ । यहां वर्ग, क्षेत्र र जातको बारगेनीङ हुने गरेको पाईन्छ ठूलाले सानालाई दमन गरेको पाईन्छ ताकि नेपालभित्र बसेको नेपाली नागरिकको बास्तविक पहिचान पाउनुको साटो त्यसलाई लुकाईन्छ । यसरी नै गुज्रिएको विकासोन्मुख देशमा तल्लो वर्गबाट आएको नेपाली जनताले न्याय होइन अन्यायको घेराबन्दीमा अत्याचार, दमन र शोषणमा जिविकोपार्जन गर्न बाध्ये भएका छन् ।
मुलुकको विस्तारक्रम अहिले पनि संक्रमणकालीन अवस्थामा गुज्रिएको छ । जुन मुलुक संक्रमणकालिन अवस्थामा गुज्रिन बाध्य छन् ती देशका जनताको अवस्था कस्तो होला ? हो तपाई हामी सबैले बुझी रहेका छौ र बुझ्ने प्रयास गरेका छौ. । देशमा लोकतन्त्र आयो भनेर जति नै फूर्ति लगाएपनि जनताले लोकतन्त्रको प्रत्याभूति गर्न भने पाएका छैनन् आज पनि भित्र भित्रै तानाशाहको गन्ध फैलिएको छ । एकात्मक राज्यसत्ताको गन्ध फैलिएको छ । जसले गर्दा वर्गीय, क्षेत्रीय र जातीय आधारमा विभाजन गरिएका ति झुण्ड एवं समुदायहरु ओझेलमा परेका छन् । आफ्नै देशभित्र बस्दा पनि गैरनागरिक जस्तो भएर बस्नु पर्ने बाध्यता आज पनि देख्न सकिन्छ । शक्तिशाली वर्गहरुले भन्ने गर्छन् जसको शक्ति उसकै भक्ति भन्ने उखान आज पनि यो देशमा लागु भईरहेको छ । जसले गर्दा लामो समयदेखि देश र जनताको हितकोलागि योगदान पुराउने अग्रज नेता गोरे बहादुर खपाङगीमगरले आज सम्म गरेको त्याग र तपस्या ओझेलमा परेको छ । यो त एउटा उदाहरण मात्र हो यस्ता सयौं उदाहरणहरु हाम्रो समाजमा छरप्रस्ट छन् जसलाई मध्येनजर लगाउन सकिएको छैन जसले गर्दा पछाडि परेका समुदायहरुले आज पनि विभिन्न समस्या खेप्नु परेको छ ।
समस्या समस्यैले अल्झीएको देशमा जनताको समस्या समाधान गर्न राज्य उदासिन हुनु स्भाविकै हो तर देश र जनताको सेवामा सर्मीत हुने भनेर राज्यसत्तामा गएका सत्ताधारीहरुले आफ्नो मात्र स्वार्थ नहेरी जनताको हितकोलागि केही गरेर देखाउनु पर्दछ तर त्यो माहोल भने आज सम्म बनिनसकेको अवस्था हाम्रो सामु छलंङग छ । पूर्व मन्त्री गोरे बहादुर खपाङगी सक्त घाईते भई अस्पतालको सैयामा बस्न बाध्य भएको कुरा सत्ताधारीले बुझ्नु पर्छ । उहांको स्वास्थ्य उपचारकोलागि राज्यको ढुकुटी खर्च गर्नु पछि पर्नु हुंदैन । जसको शक्ति उसको भक्ति भन्नेहरु स सानो रोग लागेपछि देश विदेशमा गएर राज्यको ढुकुटी खर्च गर्ने गरेका धेरै उदाहरणहरु छन् तर विद्वान नेता गोरे बहादुर खपाङगीको हकमा किन त्यो कुरा लागु हुन सकेको छैन यस बारेमा आम नेपाली जनता स्यम खोजविन गर्नु पर्दछ । आज खपाङगीको स्वास्थ्य उपचारार्थमा लाग्ने बजेट राज्यले खर्च गर्नु पर्ने हो तर राज्य उदासिन भएतापनि उहांको उपचारकोलागि देश विदेशमा बस्ने मगर तथा गैरमगर समुदायहरुले सहयोग गर्नु भएको छ यो राम्रो पक्ष हो । दुःख, सुख, घटना मानिसको जीवनमा आई पर्ने कुरा हुन् यसलाई न त रोक्न सकिन्छ न त छेक्न सकिन्छ कुन समयमा कति बेला के हुन्छ मानिसलाई थाहा हुदैन तर मानिसलाई घटना घट्ने वित्तिकै उसलाई सहयोग गर्नु एउटा मानवीय धर्म हो । यसमा राजनीतिक चलचेल र वर्गीय, क्षेत्रीय र जातीय आधारमा छुटाईनु हुंदैन । आज मलाई केही भएको छैन भनेर छाती फुलाउनेहरुले एक पटक सोच्नै पर्छ एउटा मानवीयताको नाताले । अर्को कुरा अग्रज नेता खपाङगी कार्यक्रममा सहभागी हुन गईरहेको बेला एक्कासी पछाडि बाट आएर मोटरसाईकल मार्फत घाईते बनाउने त्यस्ता अपराधीकतत्वलाई तत्कान कानुनी दायरामा ल्याउनु पर्दछ । उहांप्रति घटेको घटना एउटा घटना मात्र हो या त नियोजित हो यस बारेमा सरकारको गम्भीर ध्यानाकर्षण भई निष्पक्ष छानविन गर्नु पर्दछ ।
अन्तिममा उहांको स्वास्थ्य उपचारकोलागि सहयोग गर्नु हुने सम्पूर्ण देश विदेशमा रहनु हुने आम नेपाली नागरिक प्रति हार्दिक धन्यवाद दिन चाहन्छु । फेरी पनि हामी सबै नेपालीको शुभकामनाले उहांको शिर्घ स्वास्थ्य लाभको कामना गर्दछु ।