बलदीप प्रभाश्वर चामलिङ
लर्ड पाल्मस्र्टनले सत्रु, मित्र र स्वार्थबीचको त्रिकोणात्मक सम्बन्धलाई प्रष्ट पार्दै भनेका थिए, “हामीसंग स्थायी मित्र र अस्थायी सत्रु हुदैन । तर आफ्नो स्वार्थचाही स्थायी रहन्छ र त्यो स्वार्थको पछि लाग्नु आफ्नो कर्तव्य हो ।” यहि भनाई नै अहिले कुनैपनि मुलुकको वैदेशिक नीतिलाई निर्धारण गर्ने सिद्धान्त बनेको छ । आफ्नो राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर जुनसुकै वैदेशिक नीति अवलम्बन गर्नु त्यो मुलुकको राजनेतलाई पनि छुट रहने ट्रेन्ड बनेर गइरहेको विश्व परिवेश हो अहिलेको । यो बेला एमाओवादीको नेता प्रचण्ड राष्ट्र अध्यक्षकै हैसियतको हवाला दिएर चीन र भारत भ्रमण गरेर आएको छ । उनले भ्रमणताका नेपालको सिगो राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखे वा राखेन त्यो विस्तारै प्रकाशमा आउदै जाला । उनको भ्रमणले विदेशी दुईदेशको वैदेशिक नीतिलाई नेपालको स्वार्थमा ढाल्न नसक्ला । तर उनले अन्त नभएपनि छिमेकी मुलुकका दिग्गज नेताहरुसंग उठबस गर्न खोजेर आफ्नो नीजि व्यक्तित्वलाई चाहि अन्तराष्ट्रिय करण गर्न खोजेको जस्तो देखियो । किनकी त्यस्तो सम्बन्धले स्वदेशमा भैपरिआउन सक्ने उनको नीजि सुरक्षा र पार्टी विस्तारमा केहि भूमिका चाहि खेल्न सक्छ । उनको भ्रमण बारे चर्चा गर्नुभन्दा पहिला छोटकरीमा नेपाल, चीन र भारतबीचको सम्बन्ध उल्लेख गरिएको छ ।
नेपाल–चीन सम्बन्ध :
नेपालको चीन र भारतसंगको सम्बन्ध पौराणीक कालखण्ड देखि हुदैआएको हो । तर अहिलेको आधुनिककालको सम्बन्ध विस्तारमा धेरै रणनीतिक स्तरहरुमा विकास भैसेको छ । चीनले नपाललाई तिब्बती अखण्डताको चासोमा राखेर हेर्दै आएको छ । निर्वासित तिब्बती सरकारले नेपालको भूमि प्रयोग गरेर स्वतन्त्र तिब्बतको पक्षमा गतिविधि गर्न नसकोस भन्ने उस्को पहिलो चिन्ताको कुरा हो । अर्को चीन आफै विश्वको उदाउदो शक्ति राष्ट्र भएको हुदा क्षेत्रीयरुपमा आफ्नो शक्तिप्रभाव प्रदर्शन गर्न चाहन्छ । उसले आफ्ना छिमेकी राष्ट्रहरुमा कुटनैतिक उपश्थितिलाई घनीभूत बनाउन चाहन्छ । अनि उस्ले आफ्नो मुलुकमा उत्पादित वस्तुको बजारपनि नेपालमा चाहन्छ । यसरी तिब्बती अखण्डतालाई नियन्त्रण गरिरहने, उदाउदो शक्तिराष्ट्रको रुपमा छिमेकी मुलुकमा कुटनीतिक प्रभुत्व जमाउने र उस्को बजार विस्तार नै उस्को राष्ट्रिय स्वार्थ हो । र यही स्वर्थले नै उस्को नेपालसंगको सम्बन्ध विस्तारको नीति तया गर्ने छ ।
यता नेपालको स्वर्थ चाही आर्थिक लगानी भित्र्याउने र चीनसंग सम्बन्ध कायम गरेर दक्षिणलाई साइजमा ल्याउने कुराले चीनसंगको सम्बन्ध निर्धारण हुने कुरा हो । नेपाल र चीनबीच कुनै सिमाविवाद छैन र नेपाललाई सार्वमौम अखण्डतामा चीनबाट हुने कुनै खतरा छैन । यसो भएको हुदा चिनीया सहयोग भित्र्याउनु नै नेपालको स्वर्थ हुन्छ ।
नेपाल–भारत सम्बन्ध सन् १९५६ मा तत्कालिन नेपालका प्रधानमन्त्री टंकप्रसाद आचार्यले भारत भ्रमणको बेला भनेका थिए, “नेपाल चीन र भारतबीचको पुल बन्न तत्पर रहेको छ ” । यसो भन्दा भारतपक्ष नाराज भएका थिए । विभिन्न संञ्चारमाध्यमबाट त्यसको भारत पक्षले खण्डन गरेको थियो । त्यसै गरी सन् १९५७ मा चाईनिज प्रधानमन्त्री चाउ एनलाई नेपाल आएर भनेका थिए, “चाईनिज जनता र नेपालको जनता एउटै रगतका हुन् ” । चाईनिज प्रधानमन्त्रीले यसो भन्दापनि भारतले असन्तुष्टि प्रकट गरेका थिए । यसरी कुनै तेश्रो मुलुकले नेपाललाई प्रशंसा गर्दापनि भारतलाई असह्य हुनुको कारणहरु छन् ।
स्वतन्त्र भएपछि भारतको स्वार्थ भनेको भारतीय युनियनमा अरु छिमेकी राज्यलाई मिलाउनु थियो । यो स्वार्थ सिद्धान्त सिक्कीम काण्डसम्म सफल भयो । अहिले समय धेरै पर गइसकेको छ । उस्ले अब कुनै छिमेलीलाई त्यसो गर्न सक्दैन । तरपनि उस्ले अन्यक्षेत्रबाट आफ्नो प्रभुत्व जमाउन नै चाहन्छ किनकी उपनि आफुलाई क्षेत्रीय शक्तिको रुपमा चिनाउनु छ । कुनैपनि छिमेकी राष्ट्रहरुमा प्रभुत्व कायम गर्ने अन्तर्राष्ट्रिय राजनीतिको छुट विषयलाई उस्ले प्रयोग गर्न चाहन्छ । विदेश नीति सम्बन्धमा “गुजराल डक्ट्रीन” नै त्यो स्वर्थको कुटनैटिक सस्करण हो । जस्ले आफु ठूलो दाइको हैसियतमा रहेर आफ्ना छिमेकीहरुलाई भाइ सरह व्यवहार गर्ने नीति राख्दछ । यहि नीतिमा नै नेपालपनि उस्को सुचिमा रहि आएको छ ।
चीन भारत सम्बन्ध :
सुरुका दिनमा चीन र भारतबीचको सम्बन्ध तिक्तमा रहेको इतिहास छ । यो उनीहरुको सिमाविवादको कारणले भएको हो । जसरी नेपाल आफ्नो सिमा थिचोमिचोमा भारतसंग गलफक्ती गर्नुपरेको छ त्यसरी नै भारत चीनसंग उस्को सिमा सम्बन्धि कुटनैतिक स्तरमा रोइकाराई गर्दै आएको छ । तात्कालिन प्रम जवहारलाल नेहरुले चाईनिच सेनालाई उस्को भूमिबाट लखेट्ने अभिव्यक्ति दिएपछि चीनले भारतलाई पेलेर भारतीय भूमि ब्रह्मपुत्र र आसामसम्म आइपुगेको थियो । सन् १९६२ मा भएको यो युद्ध भारतको लागि लज्जास्पद थियो । सन् १९६५ मा पाकिस्तान र भारतबीच युद्ध भएपछि “तास्केन्ट” मा भएको शान्ति सम्भौतामा भारतले अपमानित सहनुपर्यो भनेर लालबहादुर शास्त्रीको हस्ताक्षर गरेको केहि छणमै हार्ट अट्याक भएर मृत्यु भए झै चिनभारतको सिमाविवादको घाउलाई साम्य पार्न नपाउदै नेहरुको सन् १९६४ मृत्य भएको थियो । उनीपछिका उत्तराधिकारीहरुले यो सिमाविवादलाई नसुल्झाई अरु कुनैपनि क्षेत्रमा भारत र चीनको सम्बन्ध विस्तार हुनेछैन भनेर घोषण गर्दै आएपनि अहिले भारत यो अडानमा झुक्नुपरेको छ । सिमा सम्बन्धि “लाईन अफ एक्च्युअल कन्ट्रोल” मा नै भारतले चित्त बुझाउनु परेको छ । अहिले सिमाविवादलाई थाती राखेर अन्य अर्थिक तथा रणनीतिक सम्बन्ध विस्तारमा चीन र भारको सम्बन्ध विकास हुदैजादैछ । अहिले चीन भारतबिचको सम्बन्ध भनेको प्रतिद्वन्दीको रुपमा भन्दापनि प्रतिस्पधीको रुपमा अगाडि बढेको छ ।
चीनले नेपाल र भारतलाई एउटै कुरामा केर्ने भनेको निर्वासित तिब्बतीहरुलाई आफ्नो भूमि चाईना विरुद्ध प्रयोग हुन नदिने । सबैभन्दा पहिले भारत र नेपाललाई यसविषयमा स्पष्ट पारेर मात्र सम्बन्धको अरु सुचिमा प्रवेश गर्ने गरेको छ चीन । चीनलाई यो कुराको आश्वस्त पार्न नै नेपाल र भारतले चीनसंगको सम्बन्ध सुधार भएको कुरा ठान्ने गरेको छ ।
प्रचण्डको दौडाहा र राजनीतिक विज्ञापन :
प्रचण्ड पहिले चीनको भ्रमण गरे । अनि स्वदेश आए । चुपलागेर बस्न आट गरेनन् । “रात रहे अग्राख पलाउछ” भने झै उस्ले आलोआलै फेरि भारतको भ्रमण गरे । उनले अपेक्षा गरेभन्दा बढि भ्रमण सफल भएको कुरा उनले मिडियालाई भने । प्रचण्डले माथि उल्लेखित गरिएको नेपाल, चीन र भारतबीच कायम हुने परम्परागत आपसी विदेश नीतिहरुलाई विश्लेषण गरेर नेपालको राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखे की राखेनन् भन्ने कुरा प्रमुख हो । जसरी भारत र चीनले नेपाललाई प्रयोग गर्न चाहन्छ त्यसरी नै नेपालले पनि उनीहरुलाई कज्याउने कुटनीतिक स्तर कायम गर्ने पहलको शुरुवात प्रचण्डले गर्नसक्यो ?
यद्यपि, प्रचण्डले राष्ट्रको स्वार्थ भन्दापनि आफु र आफ्नो पार्टीको धारणाहरुलाई बुझाउन र कन्भिन्स गर्न नै भ्रमणको प्रयोजन भयो भन्दा अपरिपक्वता नहोला । उसको सातौ महाधिवेशनले लिएको लाईन र आफुहरु बहुदलीय प्रतिस्पर्धात्म प्रजातन्त्रमै आएको कुरालाई पुष्टी गर्न दुबै देशका नेताहरुलाई निवेदन गर्न उनले चुकेनन् ।
संविधानसभाको निर्वाचनको पूर्वसन्ध्यामा यसरी प्रचण्डको चीन र भारत भ्रमणले अबको नेपालको उदयीमान शक्ति आफ्नो पार्टी नै भएको सन्देश छिमेकीलाई दिन भ्याउनुले प्रचण्डहरुलाई आत्मरती र गौरानुभूति मिलेको छ । राज्यप्रमुख तथा सरकारप्रमुख हुदाहुदैपनि यसरी कुनै दलको नेताको तर्फबाट झण्डै राजकीय हैसियतको भ्रमण गरेर विदेशी नेताहरुसंग भलाकुसारी गर्नु एक त प्रचण्डहरुलाई आत्मारतिको कुरा हो भने भोलीका दिनमा आफुनै सत्तामा हावी हुने भएको हुदा छिमेकीले भ्रमणमा निम्तो दिएको हो भन्ने खुराक जनता र विपक्षी माझ फ्याल्न सफल भएको छ ।
यसरी प्रचण्डलाई नै झिकाए छिमेकीहरुले सम्बन्धविस्तारको कुराकानी गर्नुले प्रचण्डहरुलाई नै भावि शक्तिको रुपमा अन्तराष्ट्रिय जगतले स्वीकारेको कुरालाई दाबी गरेर यो संविधानसभाको चुनावको सेरोफेरोमा प्रचण्डहरुले आफ्नो राजनीतिक विज्ञापन गर्न पछिपर्ने छैनन् । यसको लागि उनीहरुले छिमेकीले बडो चासोका साथ प्रचण्डको भ्रमणलाई रिसेप्शन गरेको र प्रचण्डसंग भएको वार्ता नै नेपालको आधिकारिक सम्बन्धविस्तारको सुत्र हो जस्तोगरी लिईको कुरालाई आधार मान्नेछन् ।
विदेश नीति र सम्बन्धको प्रयासमा स्वार्थ लुकेको हुन्छ । प्रचण्डको छिमेकी भ्रमणमा र छिमेकीले प्रचण्डलाई डाकेर ठूलै हैसियतका साथ भलाकुसारी गर्न खोज्नुमा पक्कैपनि स्वार्थ लुकेको हुन्छ । प्रचण्डको स्वार्थ त आफु विदेशीको आखोमा धोईपखालीनु थियो, त्यो पुरा भो । तर दुई छिमेकीको स्वार्थहरु चहि के हुन् त्यो अरु चासोको कुरा हो । छिमेकीले गरेको स्वागतमा धाप खाएर आए भनेर गौरव गरेरमात्र हुन्न । कसाईले आफ्नो छोरा–छोरीलाई खुवाईपियाइ गराउनु र खसी–रागोलाई खुवाईपियाई गराउनुको प्रेमको निष्कर्ष अवस्यपनि फरक हुन्छ ।