जनजाति सम्बन्धि यथास्थितिवादी सोच

Read Time:15 Minute, 10 Second

बलदीप प्रभाश्वर चामलिङ

 हिजो आज आदिवासी जनजातिको संरक्षणको सम्बन्धमा विकृत अभ्यासहरु आइरहेका छन् ।  अदिवासी जनजातिहरुको अवस्था र पहिचानलाई संरक्षण गर्नेकाममा प्रतिगामी सोचको विकास भएको छ । राउटे जातिसंग मलेरियाविरुद्ध प्रतिरोधात्मक अनुवंश छ भन्दैमा उनिहरुलाई जंगलमा नै राखिरहने ? सेर्पा जाति अक्सिजनको अनुपस्थितिमा पनि बाच्न सक्छ भनेर हिमाल नै चढाइरहने ? नेपालका चिडिमार जातिमा एड्ससंग लड्ने वंशानु गुण छ भन्दैमा उनिहरुलाई यौनपेशामा हौसाउने हो ? जनजातिहरुसंग परम्परागत सीपकला छ भन्दैमा डोको, नाम्लो र जाडरक्सी नै बनाउन लागाईरहने ?

“जनजाति” जाति र “राष्ट्र” जाति

“जनजाति” र “राष्ट्र” जातिको विकासक्रमको चरणहरु हुन् । यो अवस्था हो । विकास क्रममा कुनै बेला राष्ट्रको हैसियतको जाति “जनजाति” हुन सक्छ भने जनजातिको हैसियतको जाति “राष्ट्र” हुन सक्छ । विकासको नियममा यो चरणमा जुनसुकै जातिहरु गुज्रिएकै हुन्छ । हिजोका “जनजाति” जाति राष्ट्र र आजका “राष्ट्र” जाति भोलि कुनै कारणले जनजाति हुन सक्छ ।

यो जनजाति शब्द कुनै पनि जातिको संक्रमणीय अवस्थालाई सम्बोधन गर्ने शब्द हो । यो अस्थायी हो । यो जातिको एउटा विकास चरणलाई बुझाउने शब्दावली हो । नेपालको सन्दर्भमा जनजाति भन्नाले सत्ता नभएको समुदायलाई बुझ्नु पर्दछ । जो राष्ट्रको विन्दुमा पुगेका छैनन् उसलाई समाजशास्त्रीय तथा मानवशास्त्रीय कोणबाट कविला जाति भन्दा उपयुक्त हुन्छ । जुनबेला कुनै पनि जातिहरु राष्ट्रको चरणमा प्रवेश गर्दछ त्यो बेला त्यो जाति “जनजाति” नरहेर राष्ट्र हुन पुग्दछ ।

इतिहासमा विकासक्रमको आरोह अवरोधले गर्दा कुनै जाति कहिले राष्ट्र र कहिले जनजाति हुन्छ । जस्तो, किरात जाति हिजो इतिहासमा राष्ट्र थिए । अहिले वर्तमानमा जनजाति भएका छन् । ऐतिहासिकताको आधारमा हिजो किरातीहरु राष्ट्र थिए । विशाल सामाज्य खडा गरेर एक निश्चित सभ्यता र राजनीतिमा उनिहरु एकाकार थिए । आजका आधुनिक प्रशासनिक संयन्त्रका विकासको मूल श्रोत किरातकालीन राज्य व्यवस्था नै थियो । तर कालक्रमले गर्दा किरातीहरु अहिले जनजातिको अवस्थामा रहन गएका छन् । त्यसकारण जनजाति र राष्ट्र भन्ने कुरा जातीय विकासका चरणहरु हुन ।

मानवशास्त्रीय अध्ययनले दिनसक्ने नकारात्मक संदेश अहिले विश्वमा मानवशास्त्रीहरुको अध्ययनको विषय भनेको आदिवासी जनजाति र  उनिहरुको संस्कृति र सामाजिक संगठनहरुको अध्ययन भएको छ  । उनिहरुको अध्ययनको क्षेत्रले संसारमा कस्ता कस्ता मान्छेहरु र उनिहरुको संस्कृति कस्ता रहेछन् भन्ने कुरालाई उजागरमा ल्याउने काममा सहयोग त गरेको छ, तर संसारमा भएका त्यस्ता जातिहरुलाई नयाँ आधुनिक जीवनशैली र संस्कृतिमा ढाल्नु पर्ने भन्दा पनि त्यसमा जानकारी लिने ध्यय मात्र उनिहरुको हो ।

वास्तवमा  मानवशास्त्र विश्वमा रहेका पछौटे र अल्पविकसित जातिहरुको बारेमा थाहा पाउनको लागि मात्र आफुलाई सभ्य ठान्ने पश्चिमा विद्वानहरुले अध्ययनको विषय बनाइएको हो । उनिहरुको अध्ययनको कतिपय निष्कर्षहरुलाई आदिवासी जनजातिहरुले गौरव गर्ने विषय बनाईदियो । यसको सकारात्मक पक्ष त आफ्नै ठाउँमा छ तर यसको नियत र यसको प्रभावबारे विश्लेषण गर्नेु पर्ने हुन्छ ।

वातावरणीय अर्न्तरसम्बन्ध ( Ecosystem) संरक्षण गर्ने, परम्परागत ज्ञानसीप र विशिष्ट अणुवंश भएको जाति नै आदिवासी जनजातिहरु हुन भन्ने उनिहरुको अध्ययनको निष्कर्षले कतै आदिवासी जनजातिलाई झनै पछौटे बनाइरहने त छैन ? तर आज यि कुरामा गौरानुभूति गर्ने वातावरण जनजातिहरुमा वनाइदैछ ।

आदिवासी जनजातिहरुले वातावरणीय अर्न्तरसम्बन्धलाई सन्तुलनमा राखेको कुरा अध्ययनले देखायो । यो कसरी भएको भन्दा आदिवासी जनजातिहरुले प्राकृतिक सम्पदाहरुलाई उपभोग र बर्बाद नगरी संरक्षण गरेको हुनाले भएको हो । उनिहरु प्राकृतिको पूजा गर्दछन् । खोलानाला, ढुँङगामाटो, वनजंगल र हवापानी जस्ता कुरालाई पूजा गर्दछन् । यसरी यस्ता प्राकृतिक सम्पदाहरुको पूजा गर्नु भनेको यसलाई संरक्षण गर्नु यो । यो भयो भने पयार्यवरण जोगिने भो । यसो भएको हुदाँ आदिवासी जनजातिहरुलाई संरक्षण गर्नु पर्दछ भनेर उनिहरुलाई फुक्र्याउने कामको “स्कुलिङ” रहिआएको छ ।

प्रकृतिको संरक्षण गर्ने दायित्व राज्यको होईन ? शासनसत्तामा वस्ने जातिहरुको चाहि काम के हो ? आदिवासी जनजाति चाहि वनजंगल र खोलानालाको पाले बनाएर राख्ने तर अरु जातिलाई चाहि शासनसत्ताको मालिक बनाएर राख्ने कुरालाई बढुवा दिन्छ यो कुराले । यसरी आदिवासी जनजातिहरुलाई प्राकृतिक सम्पदाहरुको संरक्षण र गोडमेल गर्ने खेतालोको हैसियतमा राख्ने मात्र प्रयास भएको छ तर त्यसको  उपभोगमा चाहि बन्चित गरिन्छ । जस्तो आदिवासीले वनजंगल हेरचाह र जोगाउने काम मात्र गर्ने हो । यदि कुनै जनजातिले  घरको खम्बाको लागि जंगलको कुनै एउटा लकडीमात्र काट्यो भने उ जेल जानुपर्छ कि पर्दैन ?

यसै गरी मानवशास्त्रिय अध्ययनले आदिवासी जनजातिहरुमा विशेष प्रकारको रोगसंग प्रतिरोध गर्ने क्षमता भएको अनुवंश वा जिन भएको कुरा पत्ता लगाएको छ । जस्तै नेपालमा राउटे जातिमा मलेरिया प्रतिरोधात्मक क्षमता भएको अनुवंश फेला परेको कुरालाई प्रकाशमा ल्याईयो । यसरी आदिवासी जनजातिहरुको यस्तो वंशीय क्षमता र गुणलाई कायम गराईरहनु पर्दछ भन्ने कुराले उनिहरुलाई हौसला दिएको पाईन्छ । तर यस्तो अनुवंश हरेक जीवप्राणीमा विकास हुने कुरा हो । यो प्रकृतिक अनुकुलताको सिद्धान्त हो । 

जसरी राउटेमा त्यस्तो रोगसंग लड्ने प्रतिरोधात्मक अनुवंश रहेको छ भन्दैमा यो कुनै आश्चर्य र गौरवको कुरा होईन । यो गुण राउटेमा हुनु स्वभाविक नै हो । किनकी राउटेहरु वनजंगलमा नै वस्छन् । उनिहरुले राम्रोसंग लगाउने लुगा हुदैन । मच्छरबाट बच्नको लागि उनिहरुले कहिल्यै झुल प्रयोग गर्ने कुरै भएन । यसरी लामो समयदेखि त्यस्तै प्रकृतिमा हुर्केपछि त्यहि प्रकृति अनुकुलतामा उसको शरिर ढल्नै पर्ने हुन्छ । जुन प्रकृतिमा प्राणी बस्नुपर्ने बाध्यता हुन्छ अन्तमा त्यहि प्रकृति अनुकुल प्राणीहरु ढल्नु पर्ने हुन्छ उस्को अस्तित्वको लागि ।

तर, राउटेमात्र होईन, राउटे जस्तै जीउन थाल्ने हो भने वाहुन क्षेत्रीको पनि अनुवंशमा मलेरियासंग लड्ने क्षमताको विकास हुन्छ । राउटेलाई आधुनिक समाजमा ल्याउने कि मेलेरिया प्रतिरोधात्मक क्षमता उनिहरुमा हुने भएको हुदा उनिहरु त्यस्तै अवस्थामा रहनु पर्छ र अरु जाति पनि राउटेझै जीवन निर्वाह गर्नुपर्छ भन्ने हो ?

 जस्तो, शेर्पा  जातिहरुको शरिरमा अक्सिजनको कमी नहुने फोक्सोको विकास भएको हुन्छ र त्यस गुण कायम गराइरहन शेर्पाहरु लागि पर्नुपर्छ भन्ने कुरामा गौरव गर्ने चलन विकास हुन लागे जस्तो देखिन्छ । यसरी शेर्पा जातिहरुमा कहिले पनि अक्सिजन अभाव नहुने फोक्सोको विकास भएको हुदाँ उनिहरु त्यहि फोक्सो विकासमा मात्र लागिरहने ? शेर्पा जातिको मात्र होईन, जो कोहि पनि उचाई भागमा रहने सबै जातिको त्यस्तो गुण आफै विकास भएर  जान्छ । किनकी धेरै उचाईमा वायुमण्डलमा अक्सिजनको अभाव हुने भएको हुदाँ त्यहि प्रकृतिक अवस्थासंग अनुकुलातामा रहनको लागि शरिरको त्यस्तो गुण विकास भएको हुन्छ । शेर्पा जातिको मात्र होईन, अमेरिकाको विल क्लिन्टनको सन्तानहरु पनि हिमाली उचाईमा आएर बस्ने हो भने उनिहरुको पनि शेर्पाको जस्तै अनुवंश विकास भएर  जान्छ । उनिहरु पनि विना अक्सिजन हिमाल चढ्न सक्छन् । यो प्राकृतिक अनुकुलताको कुरा हो ।  यसरी शरिरमा अक्सिजन कमि नहुने हो भन्दै शेर्पाहरु हिमाल मात्र चढिरहने हो ? समाज विकास क्रममा शेर्पाहरुले “हिमाल चढ्ने” काम मात्र होईन, “कुर्सी चढ्ने” काम पनि गर्ने कि नगर्ने ?

पहिचानको नाममा झन पछौटेपन उहि प्राचीन ढुंगे र कृषीयुगको सेरोफेरोमा प्रयोग गरिने आभुषण र गहनाहरु  लगाउने प्रचलन नेपालको आदिवासी जनजातिहरुमा देखिन थालेको छ । शीकार युगमा जनावर मारेर पोल्टामा हाल्न मिल्ने पोषाक हाम्रो पहिचान हो भन्दै कार्यक्रमहरुमा लगाउने चलन पनि चलाईदैछ । हाम्रो पहिचान भन्दै कर्दा र खुकुरीहरु पनि भिरेर हिड्ने चलन पनि गरिरहेका छन् । त्यो जंगली युगमा हिश्रक जनवारहरुबाट बच्नको लागि त्यस्तो हतियारहरु बोकेर हिड्नु पर्थ्यो । त्यो त त्यस बेलाको पहिचान हो । के अहिलेको युगमा त्यहि कुरालाई हाम्रो पहिचान भन्दै हिड्ने हो भने संदेश के जान्छ ? बाहुनहरुको परम्परागत आभुषण भनेको धोती हो । बाहुनहरुले पनि हाम्रो परम्परागत पहिचान भन्दै त्यहि धोती लगाएर सिंहदरवार जान्छन् त ? देश विदेशका राजनीतिक सभा सम्मेलनमा त्यहि धोती लगाएर उपस्थित हुन्छन् वाहुनहरु ? सती प्रथा, नरबली, महाप्रस्थान, भृगुत्पन, तुषानल र छुवाछुत प्रथा जस्ता अमानवीय र अवैज्ञानिक संस्कार र संस्कृतिलाई जन्माउने आर्य सभ्यता हो भनेर विश्वले घृणा गरिरहेको अवस्थामा के वाहुन क्षेत्रीहरुले यो हाम्रो परम्परा थियो र यहि नै हाम्रो पहिचान हो भनेर त्यता तिर फर्कन सक्छन् त ? विश्वका अन्य जातिहरुको पहिचानको प्रतिकहरु कलम, हवाईजहाज, टेलिभिजन, कम्प्युटर लगाएत वैज्ञानिक उपकरणहरु हुन्छन् र त्यसको पहिचानको स्वामित्व माथि उनिहरु गौरव गर्छन । तर विश्वका आदिवासी जनजाति भनिएकाहरुको पहिचान उहि खुकुरी, बन्दुक, धनुवाण, ढोलझ्याम्टा, जनवारको हड्डीछाला र पन्छिहरुको प्वाखहरु हुन्छन् ।

के बाराक ओवामाले हिजो मेरो पिता पुर्खाले केन्यामा जे गर्यो म पनि त्यहि गर्छु भनेर जनावरको छाला र जनावर कै हड्डीको गहना लगाएर वासिङ्टन डिसीको राष्ट्रपति भवनमा प्रवेश गर्छ होला ? हो, अहिलेका राष्ट्र जातिहरु पनि हिजो त्यहि चरण पार गरेरै आएका हुन् । उनिहरुले पनि धनुवाण नै चालाएका थिए । धोति नै लगाएका थिए । जनावर जन्तुका अंगहरुको आभूषण र वस्त्र नै लागाएका थिए । बनजंगलको गिठ्ठा भ्याकुर नै खाएका थिए ।

संयुक्त राष्ट्र संघ अर्न्तरगतका अन्तराष्र्टिय श्रम संगठनको महासन्धि १६९ ले विश्वको आदिवासी जनजातिहरुको दिमाग नै भुटिदिएको छ । आई. एल. ओ. १६९ भन्दै खोलानाला र वनजंगलको चौकिदार गर्न आदिवासी जनजाति दौडिरहेका छन् । यहाँ आदिवासी जनजातिलाई संरक्षण गर्नुपर्दछ भनेको विकासको दृष्टिबाट भनिएको होईन । किनकी “संरक्षण” र “विकास” शब्द यहाँ फरक कुरा हो । संरक्षणको नाममा आदिवासी जनजातिहरु जुन अवस्थामा छन् यहि अवस्थामा उनिहरुलाई संरक्षण गरिरहनु हो तर उनिहरुको अवस्थालाई विकास गरेर राष्ट्रमा पुर्याउनु होईन ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %