जातीयताको लत बाहुनलाई नै किन यो विध्न !

Read Time:10 Minute, 6 Second

शक्तिकुमार पुन, जनजातिले देश विखण्डन गर्न थाले । मधेसीले राष्ट्र टुक्रयाउन प्रपन्च शुरु गरे । दलितले समाजलाई छिन्नभिन्न बनाउन लागे भन्दै कथित राष्ट्रियताको स्वागं फुक्न शुरु गरेका ‘क्रान्तिकारी’ गायक जीवन शर्मा, कलाकार हरिवंश आचार्य, अधिवक्ता भिमार्जुन आचार्य जस्ताहरुलाई नै बढी जातीयताको लत छ भन्ने प्रमाणित हुदै गैरहेको छ । यिनले गीत नै बनाएर राज्यबाट बहिष्कृत भएकाहरुलाई देशद्रोहीको रुपमा परिभाषित गर्ने राजनीति शुरु गरेका छन् । कथित राष्ट्रवादी आन्दोलनको शुरुआत गरेका छन् । पञ्चायतकालमा नेपाली काग्रेंस लगायतका दलका कार्यकर्ताहरुलाई तत्कालिन मण्डले सत्ताले यसरी नै ट्रिट गर्ने गरेको स्मरण यी स्वघोषित राष्ट्रवादी जमातका ब्यवहारले देखाउन शुरु गरेको छ ।
मसालका नेता तथा प्रगतिशील गायक र लेखकको रुपमा ख्याती कमाएका पाका कलाकार जिवन शर्माको ‘ देशै जान थाल्यो टुक्रा टुक्रा परेर…..’ भन्ने गीतले त्यहि एकजातीय साम्प्रदायिकता छरिरहेको छ र पुरानो सत्तालाई कसरी बचाउने भनेर हारगुहार गरिरहेको छ । त्यसैगरि वकालत गरि पेट पाल्ने भिमार्जुनले चर्चित कलाकार हरिवंश अचार्य, राजेश हमाल, बैंकर अनिल शाह जस्ताहरुलाई अभिनय गराएर स्वंय आफुलाई मुख्य हिरोको रुपमा प्रस्तुत गरिएको गीत निकालेका छन्, जसको शब्द र आशय नै जनजाति र मधेसीबाट देश बचाउनुपर्छ भन्ने छ ।
जो नवौं शताब्दिको आसपास मुहम्मद गौरीको डरलाग्दो आक्रमण थेग्न नसकि हुलकाहुन नेपाल छिरेर यहाँका रैथानेहरुको शरण लिई बसे र तिनका चेलीबेटी विवाहवारी गरी आफ्नो नयाँ अध्याय शुरु गरे । आज तिनै अन्नदातालाई उनीहरु सामुदायिक रुपमा देश विखण्डन बनाउन थाले भन्दै भट्टयाउन थाल्नुको सोझो अर्थ के हो भने यी आफ्नो जातीय सत्ता गुम्ने डरले भयाक्रान्त छन् । चाहे त्यो मसालका होऊन या काग्रेंसका या एमालेका या माओवादीका ती साम्प्रदायिक सत्ताको स्वरुप यताउति नभैकन परिवर्तन चाहन्छन् र त्यो हल्लनासाथ अरुलाई विखण्डनकारी, साम्प्रदाकिताको क्षेप्रयास्त प्रहार गर्न शुरु गरिहाल्छन् । अहिले भैरहेको त्यहि हो । तर यो कुरा जीवन शर्मासंग जोवन विताएका थुप्रा जनजाति कलाकारले भ्याउ पाएका छैनन् । माओवादीका बहुसंख्यक लाल सेनाहरुलाई महसुस नै भएको छैन । बिझेकै छैन । राजनीतिक चेतनाको संबेदना भए पो बुझ्थे । तिनलाई जुन मशीनमा राखेर जे बनाउन खोजिएको थियो त्यो भन्दा बढी बन्न नसक्नु स्वाभाविकै हो ।
सत्ताधारी जाति आफ्नो पहिचानका लागि जिज्यान फालेर लागिरहेका छन् भन्ने माथिको सानो उदाहरण हो । यसपालि खिलराज रेग्मीलाई सर्वश्व सुम्पेर हामी फेल भयौं चुनाव गराउनोस् भन्दै नाटक मन्चन गर्ने ४ दल र केही मधेसी नेताहरुको स्वार्थ प्रष्ट छ । तिनले आफ्नो हातबाट शनैशनै सत्ताको कमान फुत्कन थालेको पत्तो पाएका र रोक्न नसकिने अवस्था बढेपछि निर्दलीयता भएता पनि रेग्मीको हातमा सत्ता दिएका हुन् । किनकी दलीय ब्यवस्थामा अधिकार, समानता र लोकतन्त्रका मुद्दा उठ्छन् । त्यसो भएपछि अधिकारको बॉडफाँड गर्नुपर्ने हुन्छ । तर निर्दलीय ब्यक्ति कसैप्रति उत्तरदायी हुनु पर्देन ।  दलका नेता पो मत माग्न घर दैलोमा फर्कनुपर्छ, तिनलाई जनताले झपार्छन माग राख्छन् नदिए बलजफ्ती गर्छन् सडकमा जान्छन् । तर जसको कुनै त्यस्तो उत्तरदायित्व हुदैंन त्यसले कसैको कुरा सुन्नु नै पर्देन । जनजाति, मधेसीका मुद्दालाई सम्बोधन नै गर्नु परेन । त्यति नगरेपछि बाहुन सत्ता सधैं बचिरहने भयो । यहि स्वार्थका निम्ति बाहुनकै वर्चश्व भएका ४ दल र मधेसी दल ( तिनमा पनि मधेसी बाहुनकै वर्चश्व छ) एकमत भएका हुन् । यस्ता कुराले जनजाति, मधेसीलाई किन छुदैंन भने यो तिनको विजनेश नै होईन । न बाउले गरेको न बाजेले सिकाएको !
बाहुन क्षेत्रीले सत्ताको सबै संयन्त्र कब्जा गरेर बस्दा देशमा केहि हुदैंन । समानता, लोकतन्त्र, गणतन्त्र सबै हुन्छ तर त्यसमा मिलेर हामीलाई पनि भागबन्डा गर भन्दा देश टुक्रन शुरु गरिहाल्छ ! बाहुन क्षेत्रीले सत्ताका हरेक संयन्त्रमा ब्रम्हलुट गरेर नपुगी सडकबाट मच्चिन बाहुन क्षेत्री समाज खोलेर जातीय अधिकारका कुरा गर्दा पनि देश केहि हुदैंन तर जनजाति, मधेसी, दलितले आफ्नो जातीय संस्था मार्फत राज्यमा भाग खोज्दा राष्ट्र टुक्रन शुरु गर्छ । यो टाठाबाठाका राजनीतिक बुझाईका कारण भैरहेको छ । एउटा वर्ग जो सत्तामा कुन्डली मारि बसिरहेको छ, तिनले सबै कुरा बुझिरहेका छन् र त्यसरी नै चाल चलिरहेका छन् । अर्कोतिर सत्ताबाट बहिष्कृत समाज छ जसलाई सत्ताले अचेतनको बडेमानको घनले ठाकिठोकि घनचक्कर बनाएर उनीहरुको सोंच्ने शक्ति नै गुम बनाईदिएको छ । त्यस्तो समाजमा देश टुक्रयाउन थाले भन्ने डर शोषितहरुकै काँधमा थोपरेर आफ्नो परम्परागत सत्ता लम्ब्याउने खेल पुरानै तिकडम भित्र पर्दछ । हाल यहि हत्कण्डा हाम्रो देशमा अपनाईदै छ ।
सत्ताधारीहरु आफ्नो जातीय सत्ता बचाउन कति सजग छन् भन्ने कुरा गएको साता काठमाण्डुमा चलेको २ दिने पण्डित सम्मेलनले पनि प्रष्ट पार्दछ । तिनले आफ्नो हितार्थ गरेको २७ बुँदे निर्णय र आचारसंहिता सहितको जारी गरिएको घोषणापत्र गजबको छ । त्यसले जनै, टुप्पी र निधारमा चन्दनको टीका र पोशाक नलगाउने, चुरोट सेवन गर्ने, मद्यपान गर्नेलाई पण्डितको मान्यता नदिने भनेको छ । त्यसमा राखिएको आचारसंहिता अनुसार, पण्डित, पुरोहित र पुराणको विरोध र अपमान गर्नेको घरमा पुरेत्याई नै नगर्ने भनिएको छ । देशभरबाट ५ सय पण्डितहरुको सुझाव संकलन पश्चात बनाइएको भनिएको उक्त नियममा गाई र भ्रुणहत्या महापाप भएकोले आफ्ना यजमानलाई त्यसो नगर्न सम्झाउन भनिएको छ ।
हाल जनजाति र दलित समुदायले आ–आफ्नै समुदायबाट कर्मकाण्डी पण्डित उत्पादन गरेपछि यी संकटमा पर्दे आएका थिए । सबैभन्दा बढी शास्त्रीय विरोध पनि यी पण्डितले यहि समुदायबाट ब्योहोर्नु परिरहेको सन्दर्भमा पण्डितको विरोध गर्नेको कर्मकाण्ड नै नगर्ने भनिएको छ ।
 त्यसैगरि राज्यले अहिले धमाधम गौ हत्या गरेको आरोपमा जनजातिहरु समात्दै जेलमा कोचिरहेको बेला पण्डितहरुको निर्णयले झन बढी कट्टरता हुन राज्यलाई उक्साउन खोजेको देखिन्छ ।
आफ्नो जातिका लागि एकजुट हुन कसैलाई छेकवार छैन । तर यस्ता कृत्य आफ्नो समाजको हितार्थ भन्दा पनि आफु ईतरका जातिहरुलाई साईजमा राख्ने दुर्नियतबाट आएको देखिन्छ । यो नै सबैभन्दा घातक देखिन्छ । किनकी यस्तो मानसिकताको ब्याकअपमा सत्ताको शक्तिशाली डण्डा छ । यस्ता कृत्यले द्धन्द्ध बढाउने काम मात्र गर्छ । त्यसैले यसरी जातीय समानताका मुद्दालाई छेकवार लगाउन छाडेर कसरी सबैलाई राज्यको प्रवाहमा ल्याएर द्धन्द्ध कम गर्न सकिन्छ भन्नेतिर सत्ताधारी सचेत समुदायहरु लाग्न जरुरी छ । त्यो नै संभावित जातीय द्धन्द्धबाट मुलुकलाई बचाउने  अचुक औषधि हो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %