फेरि पुन विवादकै कुरा : ईतिहासलाई बङ्ग्याउने कुतर्क

Read Time:19 Minute, 0 Second

  मुसहाङ्ग झेंडीमगर

राज्यसत्ता डकटममा प्रकाशित र पछि संघिय एक्सप्रेसमा साभार “मगर होईनौ भन्नेहरु पुन हैनन् घर्ती हुन्” भन्ने लेखलाई खण्डन गरी २६ फाल्गुण २०६९ मा यसै मिडिया मार्फत प्रतिक्रिया दिनुहुने मित्र मेजन पुनमगरज्युको केही भनाईहरु सकारात्मक छन तर केही तर्कहरु र भनाई विरोधका निम्ति विरोध र अतिरन्जित खालका भएको र यसले नकारत्मकतालाई प्रशय दिएको हुनाले त्यसबारे प्रष्ट तुल्याउन चाहन्छु । उक्त लेखको आशय घर्तीमगर भित्र परेका उपथरहरुले पुनमगर लेख्नै नपाउने भन्ने होईन मगर समुदाय एक आपसमा विभाजन हुनै नसकिने गरी रहेका छन भन्ने थियो, मात्र जातिय विभाजनको प्रयासमा केही समूहहरु सक्रिय लागेको हुनाले ईतिहासका पाटा स्मरण गराइएको मात्र हो । कसैले पुन या थापा लेख्यो भन्दैमा टाउको दुखाईको विषय पनि थिएन, सबैले स्विकारेकै थिए । भोली थापा, राना, रोका, घर्ती, बुढाहरु भित्र बाट पनि यस्ता कुरा उठे तिनका ईतिहास पनि कसै न कसैले  जगसामु उजागर गरीदिए त्यसमा आपत्ति गिरनुपर्ने जस्तो लाग्दैन । किनकी त्यसबाट स्वस्थ संवादको थालनी हुन्छ, आफ्नै समूदयले त्यसको फर्इादा उठाउन सक्छ ।

Eden Vansitart ब्रिटिशले खटाएका ती व्यक्ति थिए जसको काम नेपालका लडाकू जातिको समाजशास्त्रिय अध्ययन गरी कुन जाति भर्ती हुन योग्य छ र कुन जाति छैन भनि रणनीतिक दस्तावेज बनाई बेलायतलाई बुझाउनु थियो जसको पहिलो संस्करण सन् १८९० मा प्रकाशित भएको थियो । मेजन जी ले भने झै नेपालमा डिभाईड एण्ड रुलको खातिर उनी आएका थिएनन् । किनभने त्यसबेला सुगौली सन्धि पनि भई सकेको थियो अझ सिरमोर बटालाईन (हालको दोस्रो गोर्खा राईफल्स) ले सन् १८५७ मा ठूलो भारतिय सैनिक विद्रोह दबाउन सफल भएको र त्यसमा नेपालले सहयोग पुर्याएको हुंदा बेलायती साम्राज्यले हालको बाँके, बर्दिया, कैलाली तथा कन्चनपुर जिल्ला फिर्ता गरेको थियो ।  यि Eden Vansitart को पुस्तकको विरोध गर्नेहरुमा हिंजसम्म नेपालका सत्तासीनहरु अर्थात ब्राहमण र क्षेत्रीहरु थिए किनभने उनले नेपालका धेरै खोल्न नहुने ईतिहासलाई (जातीय थिचोमिचो) उजागर गरिदिएका थिए । मेजनजीले पनि आफुलाई त्यही लहरमा उभ्याएको देख्दा आश्चर्य लागेको छ । Hamilton र Eden Vansitart हरु त्यस्ता व्यक्ति हुन् जसले अमरसिंह थापा, भिमसेन थापा आदि मगर हुन भनि प्रष्ट उल्लेख गरेका थिए । तिनले क्षेत्री भनि भ्रमपूर्ण इतिहास कोरेर समाजलाई भ्रम छर्ने बाहुन इतिहासकारहरुको कृत्य उदांगो पार्दे शाह राजाहरुको जातीयता र वंशज पनि उत्खनन् गरिदिएका थिए । त्यसैले ति समुदायका बुद्धिजिवीहरुबाट यी समाजशास्त्रीहरुलार्इ समाज भांड्न आएको आरोप लगाइएको थियो, लगार्इदैछ । तर मेजनजी जस्ताहरुले यि कुराहरु जगजाहेर गरीदिदा यि लेखकलाई महान विद्धान ठान्ने तर जब आफनो थर अर्कै थरमा पर्छ भनि उल्लेख गरिदिंदा त्यो विदेशी समाज भाड्न माहिर हुन्छ भनि  विश्लेषण गर्नु न्यायोचित हुन्छ र ? 
भेनसिटाटले पुनमगर भित्र ३४ वटा उपथर उल्लेख गरेका छन । तिनले अधिकांश पुन लेखाउने धवलागिरीका मगरहरुको उपथर भने घर्तीमगर भित्र रहेको खुलाएका छन । मेरो लेखाई काट्न मेजनजी ले डा. केशरजंग बरालमगर तथा पत्रकार प्रदिप थापागर तथा स्वंय आफुले प्रकाशित गरेको थर र उपथरलाई प्रमाणका रुपमा प्रमुखताका साथ प्रस्तुत गरेको देखियो तर भेनसिटाटले उल्लेख गरेका घर्तिमगरका उपथर भने उल्लेख गर्नु भएको देखिएन । वहाँद्धारा प्रस्तुत उपथर तालिका आफैले एस.एल.सी परिक्षा दिएर आफैले उत्तरपुस्तिका जाँचेर सत्य हो भनि पास गरेको जस्तो देखियो । यदि भेनसिटाटका पुस्तक गलत छन भने डा.बराल, प्रदिप थापामगर तथा वहांका थर संकलन पनि विद्धत वर्गले गलत नै मान्ने छन किनभने २० वर्ष अघि मात्रै लेखिएको उहांहरुका पुस्तक भन्दा डेढ शताब्दी अघि नेपाल आएका व्यक्तिले लेखेको पुस्तकमा पक्कै पनि यहाँहरुले देखेको भन्दा त्यस बेला वास्तविक नेपाल र नेपाली देखेको हुनुपर्छ ।
 
मेजनजीका तर्क अनुसार यदि पुन लेखाएरै भर्ती भएको भए विश्वयुद्ध भन्दा पहिले लेखिएको पुस्तकमा पुनमगर भित्र कसरी ३४ वटा उपथर समावेश भयो र ? भन्ने छ तर तर्क त यस्तो पनि त गर्न सकिन्छ ।  यिनी समाजशास्त्री नेपाल आउनु भन्दा ४०/५० वर्ष पहिले देखी नै भर्ती हुने चलन चलि सकेको हुनाले पुन लेख्ने चलन शुरु भई सकेकोले सोधपुछ गर्दा केहीले आफनो उपथर लाई पुनमा लेखाए ।  जहाँ सम्म ३४ वटा उपथरको कुरा छ ति मध्ये धेरै उपथर म्याग्दी तिर पाईदैन् । अन्य जाति थकाली, छन्त्याल, गुरुङ्ग तथा बि.के ले पनि पुन लेखाएर भर्ति भएका थिए तर के तिनिहरु पुनमगर समाजमा वा मगर समाजमा अटाएर कार्य गर्न आएकाछन र ? भन्ने वहाँको प्रश्न बालशुलभ तर्क जस्तै प्रतित हुन्छ । दलित र बाहुन क्षेत्री समाजमा मामाको छोरीलाई सखित दिदी बहिनीको मान्यता दिने हिन्दुवादी समाज र संस्कृतीमा हुर्केकाले आफनो मामाको छोरीलाई हकै लाग्ने गरी विहे गर्ने मगर समुदायमा अटाएर बस्ने कल्पना पनि गर्न सकिदैन । तिनलाई शारिरीक बनावटले पनि सँभ दिने कुरा थिएन । अब रहयो थकाली, छन्त्याल र गुरुङ्गको, आफनो फुफुको छोरीलाई बिहेबारी चलाउने यि समुदाय र आफनो फुफुको छोरीलाई भान्जीको पवित्र दर्जा दिने मगर समुदायबिच सगोत्र तारतम्य कसरी हुन सक्छ ?  यिनले जीविका तथा अवसरका खातिर जात फेरेका थिए मगरसंग घुलमिल भई बस्न र जीवन विताउनको लागी थिएन । मगर भएर बस्ने तिनका संस्कारले नै दिदैन् र दिएन । त्यसैले ती किन मगर भएर बसेनन् भन्नु मृच मरिचिका मात्र ठान्न सकिन्छ ।    
मेजनजीले एक वाक्याँशमा “ वहाँलाई थाहा नहुन सक्छ खामी र साई पुनहरुको बास स्थान बाग्लुङ्ग होईन गुल्मी हो र बुढा, रोका घर्तीमगरको बसोबास रुकुम रोल्पा हो भनि ” लेखेर यस लेखकलाई ज्ञान नभएको साबित गर्न खोज्नुभएकोछ । ४ वटा पुस्तक लेखेका लेखकले कुन संदर्भमा त्यो लेखिएको हो त्यसको हेक्का राख्न नसकेको देख्दा अचम्म लागेको छ ।
मैले म्याग्दीकै नजिक रहेका बाग्लुङ्गका खामी, सामी आदी पुनले पनि यिनलाई पुन मान्दैनन् र रोल्पाका थापाको मातृ भाषा खाममगर भए झै पाल्पा र स्याङजा तिरका घर्तीमगरको भाषा ढुटमगर रहेको छ भनेर लेखेको छु । यसलाई बङ्ग्याएर थापा रानाहरु नेपालका जुनसुकै भागमा पाईन्छ  भनेर देखाउन खोजेको र लेखक स्वंय थापामगर भित्र पर्नु हुन्छ भन्ने आरोप लगाउन खोज्नुले सरासर नकरात्मकता हावी भएको महसुस हुन्छ । के बाग्लु¨मा खामी, सामीमगरको बिउ नै नरहेको हो र ? बरु झेंडीमगरहरु थापा होईनन भन्ने जानकारी वहाँलाई थाहा रहेनछ । आकलनको भरमा लेख्नुभएको देखिन्छ । खाम प्रदेशबाट बाह्र मगराँतमा प्रवेश गरेका झेंडीमगरले आफूलाई थापा मान्दैनन् । हो, बेलायत र भारतीय सेनामा भर्ती हुदा केहीले थापा भने अवश्य लेखेका थिए र तिनका सन्तानले अपवादका रुपमा थापा लेखेको हुन सक्छन । 
थाने, दुत, सुत र पहरे चार थर मात्र शुद्ध पुनमगर हुन भन्ने मान्यता र भनाई यो लेखकको नभई म्याग्दीकै पुनमगरहरुको हो तर मेजनजीले झेंडीकै भएको बताएका छन् । के यो मान्यता झेंडीमगरले म्याग्दी जिल्ला भरी घुमेर यि चारलाई मात्र शुद्ध पुन हौ है भनेर उर्दी कसेर भन्न लगाएका हुन् र ? लोकोक्ति त्यसै चल्ने गर्दैनन् । बुढापाकाले उहिले छोरालाई कागती र छोरीलाई अमिलोको उपमा दिने चलन थियो कारण कागतीको बिरुवा हुर्काउन गाह्रो र अमिलोको बिरुवा हुरकाउन सजिलो हुन्छ यो कुरा किसानलाई नै थाहा छ । त्यसै गरी शिशु छोरीलाई भन्दा शिशु छोरालाई  हुर्काउन गाह्रो पर्छ  कारण संक्रमण छिटो हुने गर्छ xx /xy क्रोमजोमलाई मुख्य कारण मानिन्छ । यो कुरा स्वास्थ्यसंग सम्बन्धित स्वास्थ्यकर्मीलाई अझ राम्रो संग थाहा हुनुपर्छ । माथिको लोकोक्तिलाई विज्ञानले प्रमाणीत गरेको छ तसर्थ हावा नचलि पात् हल्लिन्न भने झै म्याग्दीमा चार पुन शुद्ध हुन् भन्ने मान्यता वर्षौ देखी चल्नुलाई अर्थपूर्ण रुपमा हेरिनु पर्दछ ।
 
पुन, थापा, घर्ती एवं रानासंग झेडीमगरहरुको शताब्दीयौं देखीको पारिवारिक सम्बन्ध रहि आएको छ । घर्तीमगरका केही उपथर झेडीमगरका चेलीबेटी (कुटुम्ब) पर्दछन भने केही उपथरहरु मामा (ससुराली), र न्वरान देखी मृत्यु सम्मको संसकार ति कुटुम्बले नै गर्दै आएका छन् । तर मेजन जी ले केही पुनमगरका उपथर घर्तीमगरमा पर्छ भन्दा बिना आधार माथिल्लो र तल्लो लेवलको कुरा उठाउनुभएको छ । मेलै एतिहासिक कालखण्डमा सोलीडोली नचल्ने भुजेल घर्ती आदीहरुसंग झुक्किनु नपरोस भनि चिनजान नभएका घर्तीमगर संग विहेवारी गर्दा सतर्कता अपनाउने चलन थियो भन्ने कुरालाई उल्लेख गरेको थिए । यो सतर्कता त घर्तीमगर आफैले पनि अपनाउने चलन थियो किनभने धेरै मगरहरुले विगतमा मगर संग सोलीडोली नचल्ने अन्य घर्तीसंग झुक्किएर विहेवारी चलाएका प्रशस्त उदाहरणहरु छन् । यती मात्र होईन घर्तीमगर लेखाएर भर्ति भएका बोटे युवकले घर्तीमगर हुँ भनि मगर चेली लगेको र दोस्रो दिन युवकको बिरामी बाबुको मृत्यु भए पश्चात आर्घौ गर्नुपर्छ भन्ने कुरा चल्दा केटाको वास्तविक्ता थाहा पाई युवती माइत फर्केको प्रमाणहरु पनि छन् ।
यो व्यावहारिक पक्ष हो । यदि मेजनजीले विश्लेषण गरे झैं तल्लो र माथिल्लो दर्जा निर्धारण भएको भए झेंडीमगरले घर्तीमगरलाई आफनो चेली दिएर कुनै हालतमा कुटुम्ब बनाउने थिएनन न त थापा र रानाले तिनका चेली आफनो घरमा भित्रयाउथे । त्यसैले व्यावहारिक्ता नबुझी सतही पाराले विश्लेषण गर्नु भनेको आफनो विद्धता माथि आफैले बन्चरो प्रहार गर्नु जस्तै भएकोले यसमा ध्यान पु्याउन अनुरोध छ ।
 पुनमगरका केही उपथरलाई घर्तीमगर हुन् भन्दा होच्याएको प्रतिक्रिया दिनु भएको रहेछ । के थापा लेखाउने दर्लामीहरु पुन हुन् भन्दा दर्लामीले होच्यएको वा तल्लो ठान्ने ? खाम प्रदेशबाट आएका झेंडीहरु घर्ती वा बुढा हुन् भन्दा अपमान गरेको वा होच्याएको ठन्ने ? यदी   कसैले यस्तो अभिव्यक्ति दिन्छ भने उ अति जातिवादबाट ग्रसित भई थरवादमा झरेको समाजशास्त्रिय बुझाई हुन आउछ । त्यस्ता पात्र पछि विस्तारै थरवादवाट पनि ग्रसित भई भाईवादमा झर्न पुग्छ । अरुमाथि थोपरेर आफनो कुरालाई सही साबित गर्नको निम्ति उचालिएको मनोविज्ञान मात्र देखिन्छ, तपाईको तल्लो र उपल्लोको थ्योरी । मगर समानतामा आधारित समाज र जाति हो, मगर भित्र कुनै पनि त्यस्ता कुरा हिजो पनि थिएन र आज पनि छैन ।

 सार्वजनिक रुपमा पत्रपत्रिकामा हामी पुन जाती हौ मगर होइनौ भनेर छापिईरहँदा, राष्ट्रिय दैनिक पत्रिकाहरुमा यस जनगणनामा जातिको महलमा पुन लेखाउने आह्वान छापिरहँदा, पुन जातीलाई आदिवासीमा सुचिकृत गर भन्ने नारा र पहलहरु चली रहँदा ,त्यसले समाज नभाँडिने तर म्याग्दी तिरका केही पुनमगर घर्तीमगर हुन भन्दा “ विखण्डनको विउ रोपेको आरोप लगाउनेले आफुले पनि विखण्डनको विउ नरोपेको नहोला भन्ने के छ ? ” भनेर प्रश्न तेर्साउने र समाज भाँडने आरोप लगाउने अभिव्यक्ति कत्तिको न्यायोचित हुन सक्छ ? यो प्रश्न सबैलाई राख्न चाहन्छु ।
 
मेजनजीले पुनमगर भित्रका उपथर एउटै हो या होईन उसले पुज्ने कुलायनका आधारमा मान्ने हो । अन्य कुनै कुरालाई मान्ने कुरा आउदैन । र त्यही अनुरुप त्यो त्यहि थरको हुन आउदछ भन्ने समाजशास्त्रको जाति अध्ययनको पुरानो परम्परालाई नै सबै भन्दा दह्रो तर्कका रुपमा प्रस्तुत गर्नु भएको रहेछ । तर यो विधि संसारमा असफल भई सकेको अध्ययन हो । उदाहरण को लागि केही मास्की तथा लामथाने (लमाछाने) मगरका कुलायन देउता तथा पुजा गर्ने तरिका एउटै भएपनि ति दुवै फरक थर राना तथा थापा भित्रका उपथरहरु हुन् । एउटै गाहाले पनि कसैले भेडाको साँढे त कसैले कालो संगुरलाई कुलायनमा चढाउछन । मेजन जि को थ्योरी लाई सही मान्ने हो भने पाल्पा तिर बस्ने सबै रानाहरुको कुलायन एउटै हुनु पर्ने हो तर किन छैन त ? उपथर एउटै हो या होईन भन्ने कुलायनको आधारमा मात्र मान्ने भन्नु हुन्छ भने करपाकेलाई कुलायन नमान्ने चोचाङ्गीहरु पनि छन तिनलाई के भन्नु हुन्छ ? के तिनीहरु चोचाङगी होईनन् ? पुन समाजले म्याग्दीका केही रोका, घर्ति बुढाथोकी आदीलाई पनि पुनमा परिभाषित गर्ने जमर्को गरेको छ के तिनिहरु पुन हुन र? तिनका कुलायन तपाई संग मिल्छ ?यदि वहाँको भनाई सत्य हुदो हो त आज म्याग्दीका शेरपुन्जा मगरहरुले पुन लेख्ने आफनो पुरानो चलनलाई त्याग्ने थिएनन्, गर्बुजा र चोचाङगी आदीले थापा लेख्नु कुनै आवश्यक थिएन । ईतिहास भनेको तर्कले प्रमाणित हुदैन, तर्कले त मात्र अनुमान लगाउने काम गर्छ तसर्थ ईतिहास प्रमाणले प्रमाणित हुने विषय हो । मलाई विश्वास छ आज पनि हामी घर्तीमगर हौ भन्ने केही पुनमगर लेखाउने उपथरका बुढापाकाहरु गाँउतिर जिवितै छन् ।
यहाँले आफुलाई मगर संघमा हिडेको व्यक्ति भनि उल्लेख गर्नुभएको रहेछ । तसर्थ मगर संघ, पुन समाज तथा म्याग्दी र पर्वतका मगरहरुलाई पुर्याएको योगदानको तपाई प्रति म सम्मान व्यक्त गर्दछु । भेदभाव रहित समानतामा आधारीत मगर समज निर्माणमा  यहाँको अझ बढी योगदानको अपेक्षा गर्दछु । जय समतावादी मगर समाज ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %