राज्यसत्ता, हंगकंग, ७ अप्रिल, आदिवासी जनजाति महासंघ हंगकंगले महाबाणिज्यदूत महेश प्रसाद दाहालको नियुक्तिको खारेजीको माग गर्दै काउलुन पार्कदेखि चिम सा चई इष्ट स्थित महाबाणिज्यदूताबास कार्यालयसम्म विरोध ऱ्याली प्रदर्शन गरेको छ । उक्त ऱ्याली कार्यालय परीसरमा पुगेर कोण सभामा परीणत भएको थियो । सभामा नै उपस्थित भएका बाणिज्यदूत किरण शाक्यलाई माग पत्र बुझाइएको थियो । ऱ्यालीमा निम्न नाराहरु लगाइएको थियो ।
महाबाणिज्यदूत महेश दाहालको नियुक्ति खारेजी गर ।
एकल जातिय हैकमबाद मुर्दावाद l
आदिवासी जनजाति मुलको महाबाणिज्यदूत नियुक्ति गर ।
आदिवासी जनजाति एकता जिन्दावाद ।
आदिवासी जनजाति मूलको नेपाली महावाणिज्यदूत माग गर्दै आन्दोलनरत नेपाल आदिवासी जनजाति महासंघ हङकङले आवश्यक परे अनसन बस्ने र महावाणिज्यदूतावासमा तालाबन्दी गर्ने उद्घोष गरेको छ ।
महेशप्रसाद दाहाललाई हङकङको लागि महावाणिज्यदूत नियुक्त गर्ने नेपाल सरकारको निर्णयपश्चात संघर्ष समिति गठन गरेर आन्दोलनमा रहेको महासंघले विरोधर्यालीसंगै पहिलो चरणको कार्यक्रम समापन गर्दै उक्त उद्घोष गरेको हो ।
र्यालीपश्चातको कोणसभालाई सम्बोधन गर्ने क्रममा शेर्पा समाजका सदस्य तथा महासंघका निवर्तमान महासचिव निमा शेर्पाले आवश्यक परे अनसनको लागि आफूले अगुवाइ गर्ने र तालाबन्दी गर्न पनि पछि नपर्ने उद्घोष गरेपछि महासंघले धन्यवादसहित उनलाई समर्थन जनाएको हो ।
विरोधपत्र, धर्ना, हस्ताक्षर संकलन, पर्चा, पोस्टरसंगै आन्दोलनमा उत्रेको महासंघले कौलुनपार्कदेखि महावाणिज्यदूतावाससम्म विरोधर्यालीको आयोजना गरेको छ । नौमतीबाजालगायत जातीय बाजागाजासहितको र्यालीमा दाहालको नियुक्ति खारेज गर, आदिवासी जनजाति मूलको महावाणिज्यदूत नियुक्ति गर, एकल जातीय हैकमवाद मूर्दावाद, महासंघको माग पूरा गर, आदिवासी जनजाति एकता जिन्दावादजस्ता नारा लगाइएका थिए ।
विरोधर्याली हङकङेली नेपाली समुदायको लागि ऐतिहासिक रहेको महासंघले दावी गरेको छ । वि.सं. २०६२/६३ को नेपाल सरकारविरुद्ध स्थानीय नेपालीले निकालेको सयजना जतिकोभन्दा तीन दोब्बर सहभागिता रहेको र्यालीमा किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ, किरात सुनुवार समाज, तामाङ घेदुङ, शेर्पा समाज र मगर संघ मौलिक भेषभुषा र गाजाबाजासहित सहभागी रहेका थिए ।
कोणसभा सञ्चालक संघर्ष समितिका सचिव किसन राईले महासंघको आन्दोलनलाई भोक लागेको बच्चालाई बाबुआमाले खानेकुरा नदिए आागनमा निस्किएर छिमेकीले सुन्ने गरि ‘भोक लाग्यो’ भनेर कराएकोजस्तै रुपमा लिनु पर्ने बताएका थिए । उनले आन्दोलन आन्तरिक रुपमा नेपालमामात्रै सञ्चालन गर्दा सुनुवाइ नभएपश्चात हङकङमा गर्नु बाध्य भएको जिकिर गरेका थिए । सोही क्रममा उनले हङकङमा आन्दोलन शुरु गरिएपश्चात बढी चर्चा पाएको पनि दावी गरेका थिए ।
कोणसभालाई सम्बोधन गर्दै महासंघका भूतपूर्व अध्यक्ष भूपेन्द्र चेमजोङले विगतमा महावाणिज्यदूतावासको कामकार्वाही आदिवासी जनजाति प्रतिकूल भएको कारण आफ्नै समुदायको महावाणिज्यदूत माग गरिएको जानकारी गराएका थिए । उनले ९८ प्रतिशतभन्दा बढी आदिवासी जनजाति मूलका नेपाली रहेको हङकङमा सोही समुदायको महावाणिज्यदूत माग गर्नु स्वभाविक रहेको बताएका थिए ।
हङकङ तामाङ घेदुङका सल्लाहकार हेमबहादु तामाङले हङकङमा नेपालीको उपस्थितिको मूल आधार बेलायती गोर्खा भूपू सैनिक रहेको र ती समुदाय अधिकांश आदिवासी जनजाति मूलको रहेको कारण महासंघको माग जायज रहेको बताउदै आन्दोलनमा एक्यवद्धता जनाएका थिए ।
महासंघको मागप्रति ऐक्यवद्धतासहित पूर्ण सर्थन जनाउनेहरुमा महासंघ तथा दुरा समाजका सल्लाहकार भक्त दुरा, यायोक्खा अध्यक्ष शशि मदन राई, सुनुवार समाजका अध्यक्ष नरेश सुनुवार, मगर संघका महासचिव बोधविक्रम थापामगर, तमू ट्हो ह्युलका निवर्तमान सचिव युवराज गुरुङ, चुम्लुङकी सदस्य उर्मिला बेघालगायत रहेका थिए ।
सोही क्रममा नेपालका परिवर्तित मन्त्री परिषद्का अध्यक्षलाई सम्बोधन गरिएको ज्ञापनपत्र कार्यवाहक महावाणिज्यदूत किरण शाक्यलाई हस्तान्तरण गरिएको थियो । सोही अवसरमा पाठ गरिएको उक्त ज्ञापनपत्रमा महेशप्रसाद दाहालको नियुक्ति खारेज गर्न माग गरिएको छ । दाहाल आए विरोध, बहिष्कार र असहयोग गर्ने चेतावनीसहित महासंघको माग यथासिघ्र पूरा गर्न माग गरिएको छ ।
समापनको क्रममा महासंघका अध्यक्ष मैनबहादुर थापाले सहभागी सम्पूर्णलाई धन्यावाद ज्ञापन गर्दै पहिलो चरण सकिएकोले बैठकपश्चात चाडै अरु कार्यक्रम सार्वजनिक गर्ने बताएका थिए ।