‘छापा पत्रकारिता गर्नेलाई मात्र पत्रकार हो भन्न मिल्दैन’: मिलन गाहा मगर

Read Time:13 Minute, 26 Second

  बुटवल स्थित अमर भवनमा आयोजना गरिएको चौथौं अधिवेशन मगंलबार सम्पन्न भए र अधिवेशनले नयाँ कार्यसमितिको अध्यक्ष पदमा मिलन गाहा  मगर निर्विरोध निर्वाचित हुनु भएको छ । गाहा, अहिले समावेशी एफ एम.का स्टेशन म्यानेजरको पदमा कार्यरत हुनुहुन्छ । विगत १५ वर्षदेखि सञ्चार क्षेत्रमा अबद्ध हुनु भएका गाहा, वि.स. २०५५ सालदेखि पोखरा एफएमबाट पत्रकारिता क्षेत्रमा संग्लग्न भएको र क्रम संगै बुटवल एफएम, एबीसी टेलिभिजनका लागि बुटवलको ब्युरो म्यानेजर, लुम्बिनी टेलिभिजनमा कार्यक्रम प्रस्तोता साथै तिलोत्तमा, बुटवल टुडे पत्रिकाहरूमा आदिवासी जनजातिका मुद्दाहरूलाई लेख रचनाहरू मार्फत प्रस्तुत गरि सहभागिता जनाउनु भएको थियो । अनिज रूपन्देहीको अध्यक्ष पदमा र्निविरोध निर्वाचित भएपछिको अनुभव, भावी योजना तथा आदिवासीका मुद्दाहरूलाई पत्रकारिता क्षेत्रबाट प्रस्तुत गर्नका लागि सहमति र सहकार्य अन्यन्तै चुनौती बनेको देखिन्छ । सोही समसामयिक विषयमा अध्यक्षसँग संघीय संवाददाता पवन गुरूङ्गले गरेको कुराकानी :

सर्वप्रथम, अनिज रूपन्देहीको अध्यक्ष पदमा निर्वाचित हुनुभएकोमा बधाई तथा शुभकामना । पहिलेको कार्यसमितिको सदस्य पदमा पनि हुनुहन्थ्यो, तर अधिवेशनको बन्द सत्रमा कार्यसमितिमा केहीं विवाद देखियो नि ?

– बधाई तथा शुभकामना दिनु भएकोमा धन्यवाद । पहिलेको कार्यसमितिमा केहीं प्राविधिक तथा अन्य सामान्य कमि कमजोरीका कारण समस्याहरू देखियो । तर यसलाई ठुलो विवादको रूपमा लिनु हुदैंन । समस्या हरेक समितिमा हुने गर्छ । ति समस्याहरूको समाधान गरि अगि बढनुनै समझदारी हो । मुख्य समस्या भनेको नयाँ सदस्यता वितरण प्रक्रियामा देखिएको हो ।अनिजको केन्द्रिय महासचिव पनि अधिवेशनमै उपस्थितिहुनुभएकोले कसलाई सदस्यता वितरण गर्ने, कसलाई नगर्ने भन्ने कुरा स्पष्ट हुन पुगेको थियो ।

अधिवेशन हुनु एक महिना अगावै देखिनै यसको प्रचार प्रसार बढि देखियो र अध्यक्ष पदका लागि तपाई र टेक ब. मास्के बीच कडा प्रतिस्पर्धा हुने भन्ने हल्ला भएतापनि मास्के जीले उम्मेदवारी फिर्ता लिने अवस्थाको सिर्जना भएको थियो । सो अवस्थालाई कसरी विश्लेषण गर्नु हुन्छ ?

– अधिवेशन जुन प्रकारले प्रचार प्रसार गरियो र मिडिया माझँ चचाँ परिचर्चाको विषय बन्यो त्यसतो अवस्थाको सृजना हुन नपर्ने हो । यसमा मेरो पनि सहमति छ । आगामी दिनहरूमा बेफजुल प्रचार प्रसार हुन नदिन सक्रिय भुमिका खेल्नेछु । र जहाँ सम्म मास्के जीले उम्मेदवारी फिर्ता लिएको अवस्थालाई म दुई कोणबाट हेर्ने गरेको छु । पहिलो त सर्वसम्वतःको आधारबाट र दोस्रो नयाँ आउने पिडिलाई मौका दिनुपर्छ भन्ने आधारबाट । यि दुई आधारलाई टेकेरनै मास्के जीले उम्मेदवारी फिर्ता लिनुभएको हो जस्तो लाग्छ । यसमा कुनै, कसैसंग मन मुटाव नभई लोकतान्त्रिक पद्दतिबाट सबैको सहमतिमा नयाँ पदाधिकारीहरू नियुक्त भएको छ ।

 लोकतान्त्रिक पद्दतिको कुरा गर्नुहुन्छ । तर अनिजको जुन शाब्दीक अर्थ छ, त्यो अर्थ र समावेशीता, नयाँ नियुक्त कार्यसमितिमा त देखिदैनन नि । छापा पत्रकारिता गर्ने भन्दा टेलिभिजन र एफएममा कुनै कार्यक्रम संचालन गर्नेहरूको मात्र सहभागिता देखियो नि ?

– आदिवासी जनजाति पत्रकार संघ अनिजले नेपाल पत्रकार महासंघको विधि र विधानलाई आत्मसात गर्दै अगि बढि रहेको अवस्था छ । यस अर्थमा सो संघको विधि र विधानले छापा पत्रकारिता गर्नेलाई मात्र पत्रकार वा सञ्चारकर्मी हो भनेको छैन् । विधानले समग्र सञ्चार संस्थाहरूमा क्रियाशील अन्य विभागीय कर्मचारीहरूलाई पनि पत्रकारको दर्जा दिएको छ । त्यसैले समावेशीता भएन र “अन्य”हरूको मात्रै सहभागिता देखियो भन्न मिल्दैन् । र आजको आधुनिक युगमा विभिन्न विद्युतीय उपकरणहरूको विकास संगै सञ्चार क्षेत्रमा पनि यसले फडको मारेको छ । यस्तो अवस्थामा समाचार आदान प्रदान गर्न वा कुनै सन्देश फैलाउन छापा पत्रकारिता गर्ने मात्र पत्रकार हो भन्न मिल्दैन त्यसैले नयाँ कार्यसमितिमा नयाँ अनुहारहरू देखिएको छ । अनिज संग आबद्ध भएर केही गरौं भन्ने मनोभावना बोकेर आउनु भएको नवआगन्तुक मित्रहरूलाई म स्वागत गर्दै हाम्रा अग्रज मित्रहरू, सल्लाहकारहरूबाट अपेक्षाअनुरूप सहयोग पाउने छु भन्नेमा म विश्वस्त छु ।

पुराना मानिसमा अनुभवको भण्डार हुन्छ भने नयाँ युवाहरूमा जोस जागरले भरेको हुन्छ । फेरिपनि केहि अनुभवको कमिले आगामी दिनहरूमा चुनौतीहरू न आउला भन्न सकिदैन नि ?

– सबै कुराको राम्रा र नराम्रा पक्ष हुन्छन् । नयाँ कार्यसमितिमा केहि अनुभवको कमि होला तर केहि गरौं र गर्नुपछ भन्ने भावना बोकेर सदस्य बन्नु भएका नयाँ युवाह मित्रहरूको जोश जागरलाई घटन पनि दिनु हुन्न । उहाँहरूको केहि गर्न चाहने भावनाको सम्मान गर्दै सम्भावना खोज्ने तर्फ अगि बढनु पर्छ । प्रगति पथमा अगि बढदै जानुपर्छ । यस अर्थमा अनिजमा रहेका बाधा तथा समस्याहरूलाई एकैपटक समाधान गर्न सक्छौ पनि भन्ने होईन । तर विगतका दिनहरूबाट केहि सिकेर प्रगतिका संकेतहरूलाई सहिं ढगले परिमार्जन गरि विकासको दिशा तर्फ बढनु पर्छ । तर यसका लागि हरेक कोणबाट, हरेक क्षेत्रबाट रचनात्मक सर सल्लाह, सहयोग र सबैको साथ भयो भने कुनै कुरा असम्भव छ जस्तो लाग्दैन् ।

तपाई स्वयंको सञ्चार क्षेत्रमा १५ वर्षको अनुभव छ । अवश्यनै विगतका दिनहरू भन्दा अनिजको चौथो अधिवेशन सम्म आईपुग्दा धेरै आदिवासी युवा युवतीहरूको पत्रकारिता क्षेत्रमा सहभागिता देखिन्छ । यस्तो अवस्थामा सक्रिय भएर अगि बढन चाहेका पत्रकारहरू तथा भावी पिडीलाई आकर्षित गर्नका लागि कस्तो रणनिति बनाउनु भएको छ ?

– हो, विगतका दिनहरू भन्दा आजको अवस्था सम्म आईपुग्दा आदिवासी पत्रकारहरूको बढि सहभागिता देखियो । र सक्रिय भएर लागि रहनु भएको देख्दा पनि खुशी लाग्छ । म यो क्षेत्रमा लागेको १५ वर्ष भईसक्यो । यो समयको दौरानमा विभिन्न उतार चढावहरू पनि अनुभव गरे । पोखरा एफएम बाट सञ्चार क्षेत्रमा लाग्दा शुरूमा मगरको छोरो पनि रेडियोमा राम्रो बोल्न सक्दो रहेछ भन्दा र सुन्दा एकदमै गर्वको महसुस गर्थे किनकि त्यो अवस्था एकदमै दुलर्भ थियो । तर अहिले समय परिवर्तन भएको छ । सञ्चार क्षेत्रमा नयाँ प्रविधि भित्रिएका कारण अहिलेका युवाहरूलाई सजिलो छ । त्यसैले नयाँ युवाहरूलाई आर्कषित गर्नका लागि क्षमता अभिवृद्धिका कार्ययोजनाहरू शीघ्र ल्याउने प्रतिबद्धता जाहिर गर्न चाहे । तर युवाहरू स्वयं पत्रकारिता क्षेत्रलाई राम्रो संग बुझेर अगाडि बढे र आत्मनिर्भर भएर सक्रिय हुन सके पत्रकारिता क्षेत्रमा पनि ठुलो सम्भावना हरू छन् ।

आदिवासीहरूको लाहुरेहुने प्रवृत्ति नेपाली समाजमा अहिले पनि विद्यमान छ, यस्तो अवस्थामा पत्रकारितामा आदिवासी युवाहरूका लागि बढि सम्भावनाहरू छन् भन्नुभयो । के सहिं मान्यमा पत्रकारिता गर्दा जिविकोपार्जन गर्न सक्ने वातावरण बनेको छ त ?

– अहिलेको अवस्था सम्मलाई नियालेर हेर्दा, अझै पनि नेपाली पत्रकारिता क्षेत्रले व्यवसायिकता लिन सकेको छैन् । कुनै पत्रकारले जीवनभर पत्रकारितालाई कर्मनिष्ठ बनाउन सकिरहेको अवस्था छैन् । केहीं सिमित समुहमात्र सफल हुन सकेका छन् । देशको संक्रमणकालीन अवस्थाका कारण केहीं स्वार्थीपना, सञ्चार क्षेत्रमा देखिएका कारण यस्तो अवस्थाको सृजना भएको हो । अहिले पत्रकारिता क्षेत्र व्यवसायिकता भन्दा सामाजिक सेवा तर्फ बढि केन्द्रित भएको छ । त्यस संगै राम्रो पारिश्रमिक पनि न्यून छ । अहिले श्रमजीवी पत्रकारहरूका मागंहरू उठिरहेका छन् । भावी दिनहरूमा परिवर्तनशील समाजमा पत्रकारिता क्षेत्रमा पनि परिवर्तन अवश्य आउनेछ ।

पहिलेको कार्यसमितिले अधिवेशनमा पास गरेको आर्थिक प्रतिवेदनमा कतिको सन्तुष्ट हुनुहुन्छ ?

– जति बजेट पहिलेको कार्यसमितिले छुटट्याईदिनुभएको छ, त्यो अनिजको लागि ठुलो उपलब्धि हो । र यस संगै राम्रा तथा नराम्रा कुराहरूलाई पाठ सोची सिक्दै जाने हो । आगामी कार्यकालका लागि प्रस्तुत भएको बजेटले मात्र सबै कार्ययोजनाहरू सफल पार्न सकिन्छ भन्ने होइन तर यसले बलियो जगको निमार्ण र महत्वपूर्ण भूमिका भने अवश्य खेलेको छ । यस संगै नयाँ संरचनाको निर्माण गर्दै जाने हो र जरूरी पनि छ ।

अन्त्यमा के भन्न चाहनुहुन्छ ?

-सर्वप्रथम तपाई लगायत संघीय एक्सप्रेसका सम्पूर्ण युनिटलाई आफ्नो दुई शब्द र विचारहरू राख्ने मौका दिनुभएकोमा धन्यवाद दिन चाहन्छु । नेपाली समाजलाई परिवर्तनका निम्ति सञ्चार क्षेत्रले महत्वपूर्ण भूमिका खेल्ने भएको हुनाले जतिपनि पत्रकारहरू यस क्षेत्रमा लाग्नुभएको छ, उहाँहरूले कुनै भेदभाव नगरि स्वतन्त्र रूपमा समाज र देशको सेवा गर्नुपर्छ । विगतका दिनहरूमा आदिवासी समुदायका आवाजहरूलाई कुनै सञ्चार क्षेत्रले प्राथमिकता दिनुमा केहिं कञ्जुसाई गरेका कारण अब आदिवासी समुदायको आवाजलाई बुलन्द पार्न आफनै सञ्चार हुनुपर्छ भन्ने सोचका साथ समावेशी एफएमको स्थापना गरिएको हो । त्यसैले म सम्झिन चाहन्छु हाम्रा वरिष्ठ समाजसेवी स्व.मनवीर गरबुजा, क्या. जनक थापा, प्रकाश राना तथा सक्रिय ढगंबाट आफ्नो प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याईरहनुभएका भूपू सैनिकहरूका ति हात हरूलाई हृदय देखिनै धन्यवाद दिन चाहन्छ ।

(बुटवल बाट प्रकाशित अर्ध साप्ताहिक संघीय एक्सप्रेसबाट)

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %