अमरद्दीप मोक्तान
पुष्पकमल दाहाल उर्फ प्रचण्ड द्वारा धनुषा जिल्लको क्षेत्र नं. –५ को महेन्द्रनगरमा आउदो चुनावमा मधेसबाट चुनाव लड्ने उद्घोष तथा मधेसबाट चुनाव जितेर मधेसको पक्षमा संघियता सहितको संविधान लेख्ने उद्घोष गरे । प्रचण्डले समयको मर्म, पहाडी जनताको प्रचण्ड विरुद्ध आक्रोशलाई बुझेर मधेसबाट चुनाव लड्ने उद्घोष गरेका हुन् । प्रचण्डद्वारा पहाडी क्षेत्र बाट चुनाव लड्ने दुस्साहस नगर्नुको कारण पहाडी जनताले प्रचण्डलाई राम्रो शिक्षा दिने तैयार रहेको थाहा भएर भयातुर भई उक्त घोषणा गरेका हुन् । एमाओवादीको उदगम स्थल मानिने मगरात क्षेत्रबाट यसपाली कथंकदाचित चुनाव भए एमाओवादी पार्टीको सफाया हुने निश्चित छ । त्यस क्षेत्रका जनता यति सम्म आक्रोसित छन् कि त्यहाँ एमाओवादी उम्मेदवारले कुनै कार्यक्रम समेत गर्ने स्थितिमा छैनन् । पहाडबाट तिरस्कृत एमाओवादी तथा अध्यक्ष प्रचण्डले मधेसलाई रोजेर मधेसी जनतालाई मूर्ख बनाउन खोजेको हुन्, आज नेपालमा विद्यमान रहेको अस्तव्यस्त स्थितिका मुख्य जिम्मेवार व्यक्ति प्रचण्ड नै हुन् भन्दा अन्यथा हुने छैन । अन्तरीम संविधानलाई धुजा–धुजा बनाउने तथा न्यायपालिका लाई समेत इतिहासमा कलंकित बनाउने योजनाकार प्रचण्डद्वारा मधेसबाट उम्मेदवारी दिने घोषणाबारे यत्ति मात्रै भन्न सकिन्छ, पहाडको अनिष्टकारी ग्रह मधेसमा सर्ने भयो ।
झुटको पोको, बाचाका व्यापारी, विश्वास गर्नै नहुने पात्र प्रचण्डको मधेसबाट चुनाव लड्ने उद्घोषले पहाडी जनतामा हर्षको सञ्चार भएको छ । प्रचण्डको झुट र फरेवी बयान यति धेरै छन् कि जसको वर्णन गरिए एउटा ठूलो पुस्तकको निर्माण हुन सक्छ । कुरा फेर्न यति सिपालु छन् प्रचण्ड तैपनि पटक–पटक कुरा फेरेकोमा किन्चित पनि पश्चाताप बोध गर्दैनन् प्रचण्ड । भारत विरुद्ध सुरुङ्ग युद्ध गर्ने प्रचण्डको उद्घोष, भारतीय झण्डा माथि बुटले कुल्चेको पोष्टर छाप्ने माओवादी नै हुन् । १२ पटक सम्म मधेसवादी दलको बहिष्कारका कारण प्रधानमन्त्री बन्न नपाउँदा खिन्न भएर विदेशी प्रभुले गर्दा अर्थात् भारतलाई इंगित गर्दै अभिव्यक्ति दिने प्रचण्ड नै हुन् । आजभोली नेपालका अन्य नेताको तुलनामा बढी भारतीय परस्त देखिने नेता पनि प्रचण्ड नै हुन् भन्ने नेपाली जनतामा सर्वविदित् नै छ । नेपालको प्रधानमन्त्रीको रुपमा भारत भ्रमणको क्रममा भारतीय पत्रकारले प्रचण्डलाई भारत विरोधी किन भन्ने प्रश्न गर्दा प्रचण्डले सोझै नकार्दै “राम भारत अयोध्याको, सीता जनकपुर नेपालको हामी कसरी भारतको विरोधी हुन सक्छौं ? ” नेपाल भारतको रोटी बेटीको सम्बन्ध छ भन्ने बयान प्रति आश्चार्य प्रकट गर्दै प्रचण्डको बहुरुपीया चरित्र बारे लेख प्रकाशित भएका छन् । प्रचण्डलाई नेपाली जनताको प्रश्न छ, कपिलवस्तु, गौर नरसंहारको प्रतिवेदन किन सार्वजनिक भएन ? कसले त्यो प्रतिवेदन सार्वजनिक गर्न दिएनन् ? नेपाली जनता जान्न आतुर छन् । २०६३/०६४ पश्चात् हालसम्म विदेशी नागरिकलाई लाखौ नागरिकता दिने दुस्प्रयास गरेको कारण देखाउदै मधेशबाट चुनाव जित्ने आकांक्षा प्रचण्डले राखेका होलान् तर राष्ट्रघात गर्नेलाई कसैले पनि विश्वास गर्दैनन्, मनन गर्न जरुरी छ ।
प्रचण्डद्वारा उद्घोष गरिएको जनयुद्धमा जातिय मुक्तिको नाममा पहाडका सोझा, सरल आदिबासीको रगतको खोलो बगेको छ । नेपाल गणतन्त्र भए पश्चात्को दृष्य हेर्दा आदिबासीको स्थिति बिगत् भन्दा प्रत्येक क्षेत्रमा अवनति भएको छ, समग्रमा भन्नु पर्दा सबै क्षेत्रमा आदिबासी उपेक्षित भएका छन् । मधेशबाट प्रचण्डद्वारा उम्मेदवारी दिने घोषणाको सन्दर्भमा मधेशी जनताले गम्भिर रुपमा मन्थन, चिन्तन गर्नु पर्ने देखिन्छ । पहाडले प्रचण्ड पोषण गर्दा धेरै गुमाएका छन्, अब मधेशी जनताले गुमाउने हुन् वा जोगाउने हुन उनीहरुको हातमा छ । पशुमा स्याल लाई धूर्त र चतुर भन्ने गरिन्छ, यदि नेपाल अधिराज्यमा स्याल जस्तै धूर्त र चतुर व्यक्ति चयन गर्न जनमत भए निश्चित रुपमा प्रचण्डको नाम अग्रपंक्तिमा हुनेछ । एमाओवादीलाई दुइ तिहाइ बहुमत दिए संघियता, पहिचान सहितको संविधान प्राप्त हुने जस्ता प्रचण्डको बोली मात्रै हो, प्रचण्ड हृदयमा संघियता, पहिचानको चाहना विल्कुलै छैन भन्ने कुरा ठोकुवा गर्न सकिन्छ । संघियता र पहिचानको कुरा अब प्रचण्ड, कांग्रेस, एमालेले दिने वा उठाउने कुरा होइन र रहेन । संघियता र पहिचानको कुरा अब सरोकार वालाले जोडदार रुपमा उठाउने र स्थापित गर्ने छन् तसर्थ प्रचण्ड, कांग्रेस, एमाले नेताको बाणी द्वारा संघियता, पहिचान जस्ता बहुमूल्य शब्दमा विराम लाग्नु अत्यन्त जरुरी छ । पूर्ण बहुमत प्राप्त नहुँदा त प्रचण्ड नेतृत्वको एमाओवादीले देशमा अराजकता मच्चाई ब्रह्मलुट गरेको दृष्य नेपाली जनताले अनुभुति गरेका छन् । यदि कथंकदाचित एमाओवादी द्वारा दुइ तिहाइ बहुमत प्राप्त गरे नेपालको स्थिति के होला सजिलै अनुमान लगाउन सकिन्छ । प्रचण्ड द्वारा नेकपा एमाले बाट राजीनामा दिई बसेका राम चन्द्र झा को घरमै पुगी भेट गरेको समाचार सार्वजनिक भएको छ, सम्भवतः राम चन्द्र झा एमाओवादीमा प्रवेश गरेको समाचार सिघ्रता सिघ्र नेपाली जनताले सुन्न पाउनेछन् । भारतीय नागरिकता काण्डमा मुछिएको राम चन्द्र झा पनि मधेशी जनता माझ दुधले नुहाएका नेता को श्रेणीमा पर्दैनन्, अशोक राई संगै एमालेमा संघियता र पहिचान को आवाज उठाएर चर्चामा आएता पनि पछि गएर एमाले मै बसी अन्तरसंघषं गर्ने भनि दोहोरो चरित्र प्रदर्शन गरेका पात्र हुन् राम चन्द्र झा । पहाडी प्रचण्ड तथा मधेस का चतुर मानिने झा ब्राह्मणको मिलनले मधेसमा कस्तो चमत्कार देखाउनेछ हेर्न बाँकी छ ।
प्रचण्डद्वारा मधेसबाट चुनाव जितेर मधेशको प्रतिनिधित्व गर्दै महत्वाकांक्षी राष्ट्रपति हुने इच्छाको बारे बिगतमा राष्ट्रपति बन्ने सपना हुदाहुदै भित्ते राष्ट्रपतिमा परिणत हुन पुगेको धङधङी मात्र हो । राष्ट्रपतिको पद त धेरै टाढाको कुरा हो प्रचण्ड एमाओवादी अध्यक्ष पद बाहेकका कुनै ठूलो पदमा आसिन हुने सम्भावना विल्कुलै नगन्य छ, तसर्थ प्रचण्ड द्वारा राष्ट्रपतिको पद ताक्नु दिवास्वप्न बाहेक केही होइन । मधेसी जनताले मनन गर्ने कुरा के हो भने प्रचण्डले कसलाई मात्र झुक्याएनन् । सेरेमोनियल राजा बनाउछु भनि राजालाई झुक्याए, गिरिजा प्रसाद कोइराला, माधव नेपाललाई राष्ट्रपति बनाउछु भनि झुक्याए, आदिवासी, मधेसी, सुसिल कोइरालालाई प्रधानमन्त्री बनाउछु भनि मुर्ख बनाए । कहिलेकाही आफू स्वयं पनि प्रधानमन्त्री हुने अभिव्यक्ति दिएर मौकामा चौका हान्ने प्रयास गरे । बाबुराम भट्टराईको बाहिर्गमनका लागि स्वतन्त्र व्यक्तिको नाममा संविधानसभा हत्याको वातावरण निर्माण गर्ने सर्वोच्चका मुख्य न्यायधिश खिलराज रेग्मीको नाम प्रस्ताव गरि कांग्रेस, एमालेलाई समेत घुँडा टेकाउदै अन्ततः खिलराज रेग्मीलाई प्रधानमन्त्री बनाएर नै छाडे । प्रचण्डको कारण न्यायपालिका माथि कहिले नमेटिने कालो धव्बा लागेको छ । न्यायपालिकाको गरिमा तथा निष्ठालाई इतिहासमा कलंकित बनाउन समेत चुकेनन् प्रचण्ड । नेपालको अन्तरिम संविधान धुजा–धुजा भई रद्दि कागजमा परिणत भएको छ र त्यसका मुख्य अभियुक्त र कारकतत्व पनि प्रचण्ड नै हुन् । हिन्दुका आराध्यदेव पशुपतिनाथ तथा भगवान् बुद्धको जन्म स्थल लुम्बिनीमा अतिक्रमण गर्ने दुस्साहसी पात्र प्रचण्ड नै हुन् । सञ्चार माध्यम को व्यापकताका कारण मधेसी जनता निश्चय पनि प्रचण्डको बहुरुपीया चरित्र देखि अवगत नै हुनु पर्दछ, तसर्थ प्रचण्डद्वारा मधेसबाट उम्मेदवारी दिने कुराको सन्दर्भमा मधेसी जनता द्वारा प्रचण्डलाई स्वागत गर्ने, तिरस्कार गर्ने, माया गर्ने, विरोध गर्ने, विजय गराउने, पराजित गर्ने वा सचेत हुने मधेसी जनतामा निहित एवं विवेकमा निर्भर छ ।
अन्तमा पुनः दोहोर्याउन चाहान्छु परिवर्तनशील प्रचण्डको मधेसबाट उम्मेदवारीको घोषणा परिवर्तन पनि हुन सक्छ ।
डाँडाखर्क, दोलखा