सन २००४ मा काठमाडौं अन्तर्राष्ट्रिय माउण्टेन फिल्म फेस्टिबलमा प्रदर्शन गरिएको डकुन्मेन्ट्री गन्तव्य महभीर हालै प्रिन्स जर्ज सिटी, यूनिर्भसिटी अफ नर्थन ब्रिटिश कोलम्बियामा सोम पुन मगरको संयोजकत्वमा त्यहाँ अध्ययनरत सय भन्दा बढी विद्यार्थीहरु माझ प्रदर्शन गरिएको खबर प्राप्त भएको छ । उक्त डकुन्मेन्ट्री करबाकेली अनुसन्धान समितिको तर्फबाट फिमला फिल्मस् प्रोड्क्सनले निर्माण गरेको हो । विदेशीहरुलाई नेपाल चिनाउन यो डकुमेन्ट्री प्रदर्शन गरिएको कुरा संयोजकको भनाई रहेको छ । डकुमेन्ट्रीमा नेपालको धौलागिरी क्षेत्रका पुन मगरहरुले परम्परागत रुपमा मह काढ्दै आईरहेको कुरा देखाईएको छ भने फेरि निकट भविष्यमा यसरी नै प्रदर्शन गरिने कुरा संयोजकले जानकारी गराएका छन् ।
गन्तव्य महभीरका निर्देशक मेजन पुन मगर र डबबहादुर गर्बुजा पुन मगर हुन् भने यो डकुमेन्ट्री मगर समाजको पहिलो डकुमेन्ट्री हुनुको साथै कुनै पनि अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रदर्शन भएको पहिलो डकुमेन्ट्री पनि हो । यसरी करबाकेली अनुसन्धान समितिले निर्माण गरेको डकुमेन्ट्री विदेशमा विदेशी विद्यार्थीहरु माझ प्रदर्शन गर्न सक्रिय भूमिका खेल्नु भएका संयोजक सोम पुन मगरलाई करबाकेली अनुसन्धान समितिका अध्यक्ष दलबहादुर पुन मगर धन्यवाद सहित अझ सक्रिय भूमिकाको लागि आग्रह गरेका छन् । यसै गरि अन्य स्थानहरुमा पनि यस प्रकारको भूमिका अन्य महानुभावहरुले निर्वाह गरिदिएको खण्डमा हाम्रो परम्परागत प्रथा विदेशीहरुले पनि थाहा पाएर नेपाल भ्रमणमा समेत आउन सक्ने कारणले विदेशमा बसेका अन्य नेपाली तथा मगरहरुलाई यसप्रकारको पहल गरिदिनको लागि अनुरोध समेत गरेका छन् ।