गोरे बहादुर खपाङ्गीमगर
विर्सनै लागे जस्तो छ । वि.सं. २०४५ साल तिरको सम्झना गर्दै छु । तात्कालिन नेपाल लाङ्घाली संघको राष्ट्रिय सम्मेलन पोखरामा हुँदै थियो । संघको सम्मेलन लाङ्घाली भवन, चिप्लेढुङ्गामा भै रहेको अवस्थामा वर्तमान नेपाल आदिवासी जनजाति महासंघ निर्माणको प्रस्ताव सम्मेलनले पारित गर्यो । सम्मेलन मुस्किकले प्रतिनिधिमुलक थियो । खुल्ला मैदानमा गर्न सकेका थिएनौं । त्यसवेलाका राजा विरेन्द्रको पश्चिमाञ्चल विकास क्षेत्रको भ्रमण थियो । शाहिमुकाम पोखरा । त्यसैवेला पोखरा हर्तालमा थियो । शहर सुनसान, पञ्च्यात व्यवस्था विदा लिन हतारमा थियो । जे होस् ।
महासंघको उद्देश्य बारे पनि सम्मेलनमा धेरै नै छलफल भयो अन्तत्वगत्वा त्यसमा पनि मत्यैकता भयो । महासंघको उद्देश्यबारे एकाध बुँदाहरु निर्णय गरियो ।
१. मुलुकका सवै जातिय संगठनहरु महासंघका सदस्य संगठनहरु हुने ।
२. मुलुकमा देखा परेका जातिय समस्याहरु सदस्य संगठनसंग परामर्श लिन महासंघले उनिहरुलाई परिपत्र गर्ने ।
३. सदस्य संगठनहरुबाट आएको लिखित परामर्शहरु बहुमतको निष्कर्षमा जाने ।
४. यहि निर्णय सदस्य संगठनलाई महासंघले जानकारीको लागि परिपत्र गर्ने ।
५. महासंघको सचिवालयको अल्पमत/बहुमत सँग तत्वीषयमा सरोकार नहुने ।
६. सदस्यसंगठनहरु सार्वभौम रहने, आदि ईत्यादि ।
पञ्च्यात व्यवस्थाको अवसान पछि २०४७ बैशाख २२ गते काठमाडौंको महेन्द्र रत्न बहुमुखि क्याम्पस ताहाचलको सभाकक्षमा जातिय समस्याका सरोकारबालाहरु लगभग २०० भन्दा बढिको संख्यामा उपस्थित भए र महासंघ स्थापना एक स्वरले गरे । जन्मको नाउँ “नेपाल जनजातीय महासंघ” राखियो । जनजातियको साटो जनजाति राख्ने पक्ष अति अल्पसंख्यक भए । ति मध्य एक म आफै पनि थिएँ । महासंघ बामे सर्न थाल्यो । प्रारम्भमा यसको सचिवालय महासचिवले संचालन गथ्र्यो, झण्डै–झण्डै यो संस्था राष्ट्रसंघकै ढाँचामा निर्माण भएको थियो । पोखरामा यसको विजारोपण गर्दा ताका सुरेश आले र म मा यहि अवधारण थियो । नेपाल मगर संघको सिफारिसमा जानुभएको सुरेश आले जी. महासंघको प्रथम महासचिव बन्नुभयो । अवधि ३ वर्षको हुने गथ्र्यो । महासचिव बन्ने आधार जातियता थियो । यसको अर्थ एउटै जातिले लगातार दोहोर्याएर बन्न पाउँदैन थियो । उसले अर्कोपल्ट बन्नको लागि आफ्नो पालो कुर्नुपथ्र्यो । सायद अद्यावधि महासंघमा यहि परम्परा छ ।
समय हिंडिरह्यो, हिंड्दै छ, हिंडिरहने छ । महासंघले समय सापेक्ष/निरपेक्ष आफुलाई बदल्दै लग्यो । यसपछि महासचिवमा परशुराम तामाङ्ग, बालकृष्ण माबुहाङ्ग, ओम गुरुङ्ग बन्दै गए । त्यसपछि पासाङ शेर्पा अध्यक्ष बने । हाल राजकुमार लेखि (थारु) अध्यक्ष हुनुहुन्छ । जुन अवधारणा माथी यो महासंघको प्रारम्भिक ईमारत बनेको थियो । त्यसमा सुरेश आलेकै कालमा परिवर्तन आउन थालेको थियो । महासंघले यसको सदस्य संगठनको सार्वभौमिकता अपहरण गर्न थाल्यो । आले पश्चातका हरुले उहि बाटो अख्तियार गर्दै लग्यो । महासंघले जातीहरुको आत्मनिर्णयको अधिकार सचिवलायबाट पारित गरि सदस्य संगठनहरुलाई सोही अनु्रुप गर्नु भन्ने परिपत्र पठाउन थालियो । सदस्य संगठनहरुमा यो विषय बारे विल्कुलै छलफल गर्ने समय दिइएन । संगठनको स्वरुप जातिय, निर्णय राजनितिक हुन थाल्यो । अद्यावधि महासंघका कतिपय निर्णयहरु राजनितिक प्रकृतिका छन् । म आशा र विश्वासमा छु कि आउनेहरुले यसमा समसामयीक सुधार गर्दै जालान् ।
हामी मध्य धेरैलाई थाहा होला अमेरिकाका आदिवासी (रेड ईन्डियन, हाल नेटिभ अमेरिकन) को लागि अमेरिकाली गोरा सत्ताले सुरक्षित क्षेत्रको व्यवस्था गरिदिएको छ । आदिवासिलाई आइ.एल.ओ. १६९ निर्णय बमोजिम एकरत्ति तल माथि नहुने गरि यो व्यवस्थामा राखेको छ । त्यसैमा नेटिभ अमेरिकनहरु मग्न छन् । वासिङ्गटन डि.सि.का गोरा सत्ताधारिहरु पनि मग्न छन् । त्यहाँका रेड ईन्डियनका इतिहाँस संघर्षमय छ । असंख्यले पाँच सय वर्ष अघि आफ्नो भूमिमा युरोपेलीहरुको पहिलो पाईला देखि नै स्वाभिमानी अमेरिकि आदिवासीहरुले त्यसको विरुद्धमा ठुलो–ठुलो युद्ध गरेका छन् । वासिङ्गटन, न्यूयोर्क आदि शहरुहरु रेड ईन्डियनका चिहानहरुमाथी बनेका हुन् । यिनिबारे अध्ययन गर्न आज पनि उनका किताबहरु खुल्ला छन् । उनले लडेका युद्धका इतिहाँसहरु, इतिहाँसकै गर्तमा छन् । रेड ईन्डियनहरु आज ईतिहाँस विहिन झैं भएका छन् । रगत र पिडाले भरिपुर्ण इतिहाँसको ठाउँ आत्मसन्तुष्टिले ओगटेको छ । वासिङ्गटनका हिजोका मालिक आज अमेरिकाको खोल्सा खोल्सीका राजा भएर आनन्दी मनले साग र सिस्नो खाएर बसेका छन् । राष्ट्रसंघिय (अन्तर्राष्ट्रिय श्रमसंगठन आई.एल.ओ.)ले आदीवासीको यो आनन्दी मनलाई साक्षी किनाराको रुपमा सदर गरिदिएको छ । विश्वका आदिवासी ठालुहरु आई.एल.ओ.का कर्मठ साक्षी भएका छन् र उनका आदिवासीहरु विविध किसिमका समस्यालाई लिएर आज पनि आन्दोलनरत छन् । दुर्भाग्य अमेरिकाली नेटिभ अमेरिकन अमेरिकामा हुँदै गर्ने राष्ट्रपतिय चुनाव बारे विल्कुल वेखबर रहन्छन् यसमा उनिहरुनिर राजनैतिक चुनावको सहभागी बन्न नपाएको गुनासोको आभाष देखिंदैन उनिहरुमा ।
अब म पुनः नेपालकै क्षितिजतर्फ आउँदै छु । म मगर भएर पनि मगर जाती र नेपालका अनन्य जातीहरुबारे विद्धवता राख्ने मान्छे होईन । म जहाँ पुँगें, जे देंखें त्यहि कुराको सवाई कहन्छु । नेपाल आदिवासि जनजाति महासंघको न्वारनको नाउँ यसप्रकारको थिएन । यो नाउँमा परिवर्तन आएको छ । यसमा आदिवासि शब्दको प्रयोग थिएन । कालारन्तरमा यसको प्रयोग हुन थाल्यो । के यो शब्द राख्दा नेपाली आदिवासि अगुवाहरुको माझ व्यापक छलफल भएको हो ? यदि हो भने यसको जानकारी श्यामश्वेतमा आदिवासि बसोवासमा आएको छ ? आदिवासिबाट जातिलाई बाहिर ल्याई संघर्षमा अघि लागेकाहरुले अन्य मनस्क रुपमा स्विकारोक्ति जनाउनु पर्दाको पिडा कम गराउन मल्हम पट्टिको रुपमा आदिवासि र जनजाती शब्द फरक छन् भन्ने देखाउन यिनको विचमा एउटा तेर्सो धर्साको प्रयोग भयो । लामो समयसम्म यो यहि अवस्थामा रह्यो । नमालुम हिजो आज एक्कासी यो धर्सो गायब भएको छ । आदिवासि चारित्रिक विशेषतालाई यसको कउनै मतलब छैन । यी र यस्तै हर्कतले नेपाली आदिवासिलाई त्यसतर्फ अभिमुख गराउँदै छन् जहाँबाट आदिवासिका जातिहरु बाहिर आएका थिए । मेरो विचारमा आई.एल.ओ. १६९ ले मर्फिया दिँदै आदिवासिको प्रगतिशिल स्वरुप जनजाति पनि लुप्त गराउँदै लग्नेछ, फगत रहन्छ आदिवासि ।
नेपाली माटोले यहाँका आदिवासिलाई अस्टेलियाका आदिवासि अबओरिजन, अमेरिकाका नेटिभ अमेरिकन, क्यानाडाका आदिवासी फस्ट न्याशन, भारतका आदिवासी, जापानका आदिवासी आइनु, बाङ्गलादेशका आदिवासी चक्मा भन्दा भिन्न बनाएका छन् । नेपाली आदिवासी, आदिवासी मात्र नभई जनजाती भएको छ । दृश्य/अदृश्य ताकतहरु नेपाली आदिवासिहरुलाई प्रगतिशिलताबाट स्थिरतातर्फ लानेमा भगरिथ छन् । म लेख्छु कम, बोल्छु बेसी । यसैक्रममा आदिवासि शब्दको चरित्रबारे व्याख्या गर्दा यसलाई मैले प्रगतिशिल, विकाशसिल, अग्रगामीको ठिक उल्टो स्थिर पाएको छु । यो हुनु आफैंमा एउटा ऐतिहाँसिक आदर हो । नेपालले देशको स्वरुप ग्रहण गरे पछि यहाँका अग्रिम वासिन्दाहरुले आदिवासिको सेहरा स–सम्मान प्राप्त गर्दै आएको छ । तसर्थ यो शब्दले हाम्रो मनमा बास गर्दै आएको छ । यसबारे हामी कुनै किसिमको सम्झौता गर्न तयार छैनौं र गर्दा पनि गर्दैनौं र गर्नुपनि हुँदैन । यहाँ चर्चा मात्र यसको विशेषताको गरेको हुँ । यो आदिवासिसँग पितृभूमि छैन । मातृभूमि छ । यो भनाई आदिवासिको लागि सार्वभौम छ । यो अर्थमा यो सामुद्रिक जहाजको पन्क्षि हो । बासको लागि जहाजै चाहिन्छ ।
आदिवासीको सन्दर्भमा स्वर्गिय डा. हर्क गुरुङ्ग पटक–पटक आफ्नो उद्गारमा मलेशियाको आदिवासी बारे सम्झना व्यक्त गर्नुहून्थ्यो । त्यहाँका आदिवासीलाई भुमिपत्र भन्ने गरिन्छ । यसैक्रममा वहाँले मलेशियाका पुर्व प्रधानमन्त्री डा. महाथिर बिन महम्मदले भन्नुभएको कुरा उठाइरहनु हुन्थ्यो । महाथिरको भनाई थियो मलेशियामा तिन जाति बसोबास गर्छन् । एउटा चिनियाँ मुलका, एउटा भारतीय मुलका र अर्का चाहिँ मलेशियाकै भुमिपुत्र । कथम्कदाचित् मलेशियामा डरलाग्दो विपक्ति चाहे प्राकृतिक होस् चाहे मानव निर्मित आउन थाल्यो भने अगाडि भनिएका दुई जातिहरु आ–आफ्नो पितृभूमि फर्केर आफूलाई सुरक्षित राख्ने योजनामा हुन्छन् । तर दुर्भाग्य, मलेशियाका भुमिपुत्रका लागि पितृभुमि नभएको कारणबाट उनिहरु मलेशियाका धर्ति फाटेमा त्यहीं समाहित हुन्छन् । आदिवासिको परिभाषा महाथिरले यसप्रकार दिनुहुन्थ्यो भनि डा. हर्क गुरुङ्ग सगर्व आदिवासिहरुको जमघटमा भन्ने गर्नुहून्थ्यो ।
नेपाल मगर संघको दोश्रो र चौथो राष्ट्रिय महधिवेशनको प्रसँग राख्न चाहन्छु । दोश्रोमा नेपाल लाङ्घाली परिवार संघबाट परिवार झिकियो र चौथोमा लाङ्घाली शब्द झिकेर त्यसको ठाउँमा मगर राखियो । लाङ्घाली शब्द मगर प्रतिनिधिहरुको लागि मगर शब्द भन्दा कता हो कता प्रिय भएको रहेछ भन्ने कुरा मैले चौथो राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा पाएँ । प्रतिनिधिहरुको भावना र भावुकताले बहसमा लामो समय लियो । अन्त्यमा वास्तविक धरातलमा प्रतिनिधिहरु आए, आउनै थियो । आज पर्यन्त लाङ्घाली शब्द संज्ञा विशेषण भई कतिपय ठाउँमा कार्यरत छ । मगर जाति हो, भाषा होईन । भाषाको रुपमा मगर भाषा भनिन सक्ला । स्थायी पहिचान जाति हो । अन्य पहिचान बैधानिक छन् । अस्थायी छन् । अनि परिवर्तनशिल पनि छन् । यहि स्थाई पहिचानले सम्मानित हुन चाहेको छ । थाहा नपाउनेहरुलाई यो सम्मानयुक्त पहिचान कर्मठ अगुवाहरुले दिंदै जानुपर्ने हुन्छ । त्यो सम्मान नेपालको सन्दर्भमा सिंहदरबारमा जनजातिले खेल्न सक्ने निर्णायक भुमिकाबाट मात्र प्राप्त हुन्छ । अन्य आदरयुक्त पहिचानहरु तपशिलमा छन् । यो सम्झौता विहिन छ । संघबाट लाङ्घाली शब्द झिक्दा त्यसको अपमान होईन, त्यसले उपयुक्त र सक्षम शब्द “मगर” को लागि स्थान रिक्त गर्नुपरेको मात्र हो । यसरी नै हामिले आदिवासि शब्दको स्थानमा जनजातिलाई राख्न सक्षम हुनुपर्छ । यस्तो निर्णय वेलामा गर्नुपर्दा पिलोलाई निर्ममतापूर्वक निचोरेर खिल निकाले झैं नै हो । आउने दिनमा जनजातिको स्थानमा राष्ट्रियता र राष्ट्रियताको स्थानमा राष्ट्र आउँछ र यसको लागि नेपाली आदिवासिहरु र यसबाट बाहिर आएका अगुवाहरुले हरेक विकासको स्वागतार्थ तम्तयार रहनुपर्छ, बाधक बन्नु हुँदैन । अन्यथा हाम्रो भाग्य लेख्ने कार्य “भावि” कै मा बन्धक रहिरहनेछ ।
यो राष्ट्रिय मगरमालाको अन्त्य गर्नु अघि थोरै शब्दमा घरेलु मामलाको प्रसँग पनि कोट्याउन चाहन्छु ।
नेपालमा मगर वा यस्तै अन्यले जानेर वा नजानी आ–आफ्नो जातिय संगठनको निर्माण गर्दा वा गर्दै रहँदा नामाकरणमा कहिँ कतै आदिवासि शब्द को प्रयोग गरेको पाईदैंन । साँच्चै भन्नुपर्दा, यो निर्माण दुधको दुध पानीको पानी नै थियो । यसमा प्रदुषण थिएन र यो अवस्था अहिले सम्म पनि छ । यो नामाकरणमा आदिवासि शब्द थप्नुपर्छ भन्ने सोंच सम्म पनि यसका अगुवामा छ जस्तो लाग्दैन ।
आरनबाट अर्जापेर ल्याएको हतियारले जति वेला पनि बोसो काट्दै रहनुपर्यो भने यसको दाँत त झर्दैन तर यसको पाईन उत्रेर यो भुत्ते हुन जान्छ, यो सर्वमान्य छ । नेपाली आदिवासिको अवस्था यस्तै नहोला भन्न सकिने नेपालको वर्तमान अवस्था देखिदैन ।
सरकारबाट सहयोग प्राप्त आदिवासि जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानको प्रारम्भिक नाम नेपाल राष्ट्रिय जानजाति विकास समिति नै थियो । कालान्तरमा यसमा पनि आदिवासि शब्दको प्रयोग भएको छ । अब म यसबारे पट्यार लाग्ने गरि लेख्न मन पराउँदिन । तथापि केही साधारण कुराहरु मात्र लेख्न मन लागेको छ । हाम्रो बाटो लामो र दिर्घकालिन छ । यसको बावजुद यि बाटो अप्ठ्यारा पनि छन् । लामो यात्रामा थाक्नु स्वभाविक छ । थकाई मार्नू पर्छ तर लक्ष्य प्राप्त नगरि फर्कनु बुद्धिमानि कदापि होईन ।
अन्त्यमा एकाध वैचारिक कुरा राखेर म आफ्नो लेखनि रोक्न चाहन्छु । आदिवासि सिधा साधा हुन्छन् । यस्तो वचन हामिले आफ्नो गाउँ–ठाउँमा गैर आदिवासि बाट श्रवण गर्दै आएका छौं । यस्तो आदिवासि मुलतः देशभक्त हुन्छन् । तसर्थ इतिहाँसमा ब्रिटिश भारतसँगको युद्धका नायकहरु देशभक्त थिए । यसलाई मध्यनजर गर्दा सामान्यतयाः आदिवासि समाज देशभक्त हुन्छ राष्ट्रवादि हुँदैनन् । राष्ट्रवादि विकासशिल छ । जनजातिको विकास राष्ट्रियतामा पुगेपछि मात्र राष्ट्रवादि भावनाको सहि र सटिक रुपमा विकास हुने गर्छ । यसकारण विगतको संविधान सभामा २१७ जना मात्र आदिवासिहरुलाई सभासद्को रुपमा लगिएको थियो । तसर्थ पनि उनिहरु त्यहाँ देखिने गरि कउनै प्रकारको राजनितिक भूमिका खेल्न सफल भएनन् । मधेशीहरु मुस्किलले ८०/८५ जनाजति सभासद् थिए । उनिहरुले नेपाली राज्यसत्तामा आधा हिस्सा प्राप्त गरे । विडम्बना, उनिहरुले आफुलाई कहिल्यै आदिवासि वा जनजातिको संज्ञा वा विशेषणबाट सुशोभन गर्ने कार्य गरेनन् । फरक यहि हो ।
यसको विट मार्नु अघि अप्रासाङ्गिक नै सहि, चैत्र १,२०६९ को दिन गठित मन्त्रिपरिषद्को अध्यक्षको नेतृत्वमा निर्माण हुने मन्त्रिपरिषद्मा मलाई लाग्छ जनजातिहरुको प्रतिनिधित्व गराईएला झैं छैन । यसको एउटा प्रमुख कारण बहालवाला प्रधानन्यायधिशको अध्यक्षतामा मन्त्रिपरिषद् गठनको लागि स्वतन्त्र व्यक्तिहरुको चयन सामान्यतयाः (विशेषतया ?) व्यूरोक्रेसिका पुर्व वा बाहालबालाहरुलाई मन्त्रिपरिषद्का सदस्य बनाइने सर्त राखिएको छ । जुन शर्तमा जनजातिहरु विरलै छन्, यो शर्त आफैंमा षडयन्त्रमुलक छ भन्ने वास्तविकता ढिलो चाँडो आदिवासिका जनजातिहरुले बुझ्दै जानेछन् । जे भए पनि बाँचौं, देख्न पाईन्छ र गर्न पाईन्छ ।
राष्ट्रिय मगरमाला सातौं भाग धोविघाट, ललितपुर मितिः २०६९ चैत्र २ गते (१५ मार्च २०१३)