बिरालो पस्ने प्वालको निर्माण

Read Time:12 Minute, 2 Second

टोप अस्लामी

नेपालको अन्तरिम संविधानको धारा १५८ लाई टेकेर अध्यादेश मार्फत अन्तरिम संविधानका विभिन्न २४ ओटा धाराहरु संशोधन गरी मूलुकलाई निकास दिने निर्णयका साथ नेपालको राजनीतिमा अर्को अध्यायको शुरुवात गरिएको छ । मूलुकका कथित तीन ठूला दलहरु (एनेकपा माओवादी, नेपाली काँग्रेस, नेकपा एमाले) र मधेशवादी दलको अगुवाईमा यस्तो धृष्टतालाई कार्यान्वयन गर्ने कानूनी प्रावधान नजीरको रुपमा स्थापित हुन पुगेको छ । वास्तवमा यो राजनैतिक अध्यायले लोकतान्त्रिक र समाजवादी आवरणमा कहाली लाग्दो निरंकुश व्यवस्थाको जग बसालेको छ । यही जगमा बहालवाला प्रधानन्यायधीशलाई मूलुकको काम चलाउ सरकार/चुनावी सरकारको जिम्मेवारी समेत दिईएको छ । सम्माननीय खिलराज रेग्मीको नियत ठीक रहेको अवस्था सम्म त स्थिति पुनः ठीक भएर आउला तर त्यस्तो नभएको खण्डमा अब परिस्थिति दलहरुको पकडबाट ज्यादै टाढा जाँदै छ । यथार्थलाई आत्मसाथ गर्ने हो भने यो कदम तीन ठूला दलहरु र मधेशी मोर्चाको हर्कत हो अर्थात यस कदमका हिमायतीहरुबाट अत्यन्त कहाली लाग्दो ‘आत्मघाती’ कदम चालिएको छ ।

मूलुक र जनताको स्वार्थलाई केन्द्रमा राखिएको हुन्थ्यो भने देशको विद्यमान समस्यालाई हल गर्ने सहज उपायहरु हरेक पलपलमा थिए र छन् । तर त्यसो गरिएन । अर्थात लोकतान्त्रिक र दलीय व्यवस्थामा सहज विकल्पहरु हुंदाहुंदै पनि ती विकल्पहरुलाई आत्मसाथ गरिएन र अन्तत्वगत्वा अत्यन्त खराब विकल्पलाई राम्रो विकल्पको हौवा पिटाउंदै अधिकाँश विरोधका वाबजुद अध्यादेशबाट संविधान संशोधन गरी मूलुकलाई सधैंको लागि भड्खालोमा जाक्ने काम कथित ठूला तीन दल र मधेशी मोर्चाबाट भएको छ । यो कदमले विशेष गरी लोकतान्त्रिक मूल्य र मान्यतामाथि चीरकाल पर्यन्त सम्मलाई नराम्ररी धक्का पुर्याएको छ । यथार्थमा भन्नु पर्दा जनताका बलबाट ल्याईएको हाल सम्मको परिवर्तनलाई ती दलहरुबाट आत्मसाथ गर्न नचाहने र नसक्ने कुण्ठित मानसिकताको प्रतिविम्ब यस घट्नाले प्रष्ट्याएको छ । यस कदमका कारण ती दलहरुलाई लोकतन्त्रका हिमायतीहरुले आत्मैदेखि धिक्कारेका छन् ।

कथित ठूला तीन दलहरु र मधेशी मोर्चाद्वारा अनुमोदित यो राजनैतिक अध्याय भविष्यमा ‘बिरालो’कै लागि मार्ग प्रशस्त गरिएको नजीर हो । यस नजीरले के देखाउंछ भने नियत ठीक नभएको कुनै व्यक्ति विशेष मूलुकको कार्यकारी स्थानमा पुग्यो भने त्यसले मूलुकमा कुनै पनि बेला निरंकुशताको डण्डा चलाउन सक्ने भयो । जसले गर्दा लोकतन्त्र र ठूला दलहरुबाटै भनिएका समाजवादलाई आवरण बनाईने तर व्यक्ति विशेषको कुण्ठालाई कार्यान्वयन गर्न यस नजीरले खुल्ला रुपमा मार्ग प्रशस्त गरेको छ । गैरदलीय व्यक्तिलाई मूलुकको सरकार प्रमुखको रुपमा स्थापित गर्नकै लागि अध्यादेश मार्फत संविधान संशोधन गरिने प्रकृयाले निश्चित रुपमा मूलुकको भविष्यमाथि विकराल आशंका र विभिन्न प्रश्नहरु खडा गरीदिएको छ ।

आज कथित ठूला तीन दलहरु र मधेशी मोर्चाले आफ्नो स्वार्थ पुरा गर्नका लागि यो बाटो अपनायो भने भोलीका दिनमा यो अध्यादेशबाट बनेको सरकारले आफ्नो अनुकूल संविधान संशोधन गर्न पाउने कि नपाउने ? यत्ति मात्र नभएर भविष्यमा बन्ने कुनै पनि प्रधानमन्त्रीले आफ्नो अनुकूलको शासन व्यवस्था चलाउनका लागि यसरी नै संविधान संशोधन गरेर अगाडि जान पाउने कि नपाउने ? अर्को कुरा अहिले अध्यादेशबाट कसैको निहित स्वार्थ पुरा गर्नका लागि अन्तरिम संविधान त संशोधन गरियो तर यसलाई छ महिना पछि अनुमोदन गर्ने संसद कहाँ छ ? अन्तरिम संविधानकै धारा १५८ को अनुसार अहिले संविधान संशोधन गरिएको भएता पनि त्यही धाराले बोलेको ‘व्यवस्थापिका संसद’द्वारा अुनमोदन गर्ने आदेशको सम्मान गरिनु पर्ने हो कि होईन ? यसको अलावा प्रधानन्यायधीशलाई सरकार प्रमुख बनाउने मुद्दाको विपक्षमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको छ । त्यसको सुनुवाई पहिले हुनु पर्ने हो कि होईन ? न्यायमूर्तिका रुपमा रहेका सम्माननीय खिलराज रेग्मीलाई के यत्ति कुराको पनि ज्ञान थिएन त ? यही सवालमा सर्वोच्चको निर्णय आउन बाँकी नै थियो । तर यस मुद्दामा ख्याल नगरिनु के न्यायालयको अपमान होईन र ? यी र यस्ता जायज सवालहरु अहिले मूलुकमा ज्वलन्त रुपमा उठ्न बाध्य छन् । त्यत्ति मात्र होईन यस घट्नाले नेपालको राजनीतिक इतिहासमा एउटा ज्यादै नराम्रो नजीरको स्थापना गरेको समेत छ । यसले गर्दा ठूला दलहरुद्वारा अनुमोदन गरिएको मिति २०६९ चैत १ गतेको राजनीतिक अध्याय षड्यन्त्रै षड्यन्त्रको खिचडी भन्दा अरु केही होईन । यस घट्नाले मूलुकलाई दीर्घकालमा अवश्य पनि गतिलो परिस्थितिमा पुर्याउंदैन । नेपालको राजनीतिक घट्नाक्रमहरु र खिलराज प्रकरणलाई आत्मसाथ नगर्ने विपक्षी दलहरु साथै ‘बार’ले अविलम्ब गरेको विरोध प्रदर्शनले यही संकेत गरेको छ ।

हो, मूलुकलाई निकास दिनु पर्ने थियो त विघटित संविधान सभालाई हप्ता दिनकै लागि भए पनि पुनःस्थापना गरेर संविधान संशोधन गरेको भए के झनै नराम्रो हुने वाला थियो त मूलुकका लागि ? यसो गर्दा संघीय लोकतान्त्रिक गणतन्त्रलाई कहाँनिर अप्ठेरो पथ्र्यो ? वैधानिक मान्यतालाई रद्दीको टोकरीमा फ्याँकेर ठूला दलहरुले गर्न खोजेको के हो ? मूलुकलाई निकास दिनु थियो त चोर बाटोबाट हिंड्न नै ठूला दलहरु सहमत हुनुपर्ने बाध्यता कसले ल्याएको हो ? सवाल साना र ठूला दलको बीचको लक्ष्मण रेखा सम्बन्धमा मात्र होईन । लोकतन्त्र र विधिको शासनको खिल्ली उडाउने काम जसरी कार्यान्वयनमा ल्याईएको छ यसले मूलुको भविष्यमाथि नराम्ररी खेलवाड गरेको छ । वास्तवमा केवल कुर्ची मात्र प्यारो रहेछ यहाँका ठूला दलहरुलाई भन्ने कुरा अझ पुष्टी भएको छ । देश र जनताका सवालमा यहाँका ठूला दलहरु कहिल्यै पनि आत्मीय हुन सकेनन् वा देश र जनताका सवाललाई सम्बोधन गर्ने सवालमा यहाँका दलहरु कहिल्यै आक्रामक भएनन् । देश र जनताका सवाललाई सरल रुपमा सम्बोधन गर्दै जाने सवालमा यहाँका ठूला दलहरु कहिल्यै चिन्तित देखिएनन् । के राजनीति भनेको केवल स्वार्थका लागि मञ्चन गरिने खलपात्रहरुको अभिनय मात्र हो ? के नेपालको राजनीतिलाई सधैं षड्यन्त्रको मरुभूमिमा गोलमोटल पारिनु नै ठूला दल हुनुको अर्थ हो ? के ठूला दल बनाईंदैमा त्यसका नेतृत्वहरुले राजनीति, लोकतन्त्र र विश्वमा चलीआएका जनपक्षीय मूल्य र मान्यतालाई लात मार्नै पर्ने हो ? अवश्य पनि यस्ता कमजोर र केटौले प्रवृत्तिहरुको विगविगीले कसैको पनि भलो गर्दैन ।

बहालवाला प्रधानन्यायधीशलाई सरकार प्रमुखको कुर्चीमा बसाउन जुन लहड प्रदर्शन गरियो यसले ती ठूला तीन दलहरु र मधेशी मोर्चा मूलुकका लागि निश्चय नै असफल सावित भएका छन् । किनभने दलहरुको विकल्पमा दल नै दिन नचाहनु उनीहरुको ज्यादै ठूलो अहमता त हुंदै हो त्यही अहम्ताकै कारण उनीहरु मूलुकका लागि पूर्ण रुपमा असफल सावित भएका छन् । जनताले हाल सम्मको बलीदानी र लामो संघर्षबाट प्राप्त उपलब्धीहरु अब कहाँ पुग्ने हो यो वास्तवमै आन्तरिक चासोको सवाल हो । खिलराज प्रकरणका पक्षधरहरुले जे जस्तो गुलियो मन्त्र जपीरहे पनि त्यसमा कुनै सत्यता छैन । जसबाट यो अभिनयको मञ्चन गरियो तिनीहरु कहिल्यै पनि सुधारिन नसक्ने अजीव प्राणीको रुपमा दर्ज भईसकेका छन् । यस राजनीतिक घट्नाक्रमले लोकतन्त्र र विधिको शासन माथि केवल बुकुर्सी मारेको छ । दलीय परम्परालाई नराम्ररी ‘घात’ गरेको छ । केवल बाबुराम भट्टराईलाई फाल्ने निहुमा लोकतन्त्रको घाँटी निमोठिनुले जनताका अधिकार स्थापना हुन अब सजिलो छैन भन्ने सन्देश पनि यो राजनीतिक अध्यायले दिएको छ । यसले अन्धकार भविष्यलाई ढोका खुल्ला गरीदिएको छ । एउटा व्यक्तिका लागि लोकतन्त्रलाई बलात्कार गरेर अध्यादेश मार्फत संविधान संशोधन गर्ने यो परम्पराले शिकारी बिरालोहरुलाई मार्ग प्रशस्त गरीदिएको छ । धिक्कार छ कथित तीन ठूला दल र मधेशी मोर्चालाई जसले संविधान सभालाई षड्यन्त्रपूर्ण तरिकाबाट अवसान मात्र गराएन संघीय लोकतान्त्रिक गणतन्त्रलाई नै मृत्यु शैयाको कालकोठरीमा धकेली दिएको छ । 

 

लेखक: राष्ट्रिय जनमुक्ति पार्टी स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख हुन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %