पाल्पा/गुम्बेली संयुक्त युवा सञ्जाल, बौघागुम्हा, पाल्पाको सह आयोजना र मगर चलचित्रकर्मी संघ केन्द्रीय समितिको आयोजनामा फागुन १२ गते मगराँतको राजधानी पाल्पाको बौघागुम्हामा १ दिने मगर चलचित्र महोत्सव सम्पन्न भयो । महोत्सवमा २ वटा मगर चलचित्र (वाङ्म मुले र गाउँला– गोठालो) र ४ वटा मगर डकुमेन्ट्री (यऊनाट, कौरा स्याह्क, नाराम र भूँयार पुजा) प्रदर्शन गरिएको थियो । मगर होम स्टे रहेको उक्त स्थानको गाविस भवनमा चलचित्र प्रदर्शन भई रहँदा बौघागुम्हामा रहेको संस्कृति यऊनाट, झ्याउरे, ठूलो नाच सर्वोदय उच्च मा.वि.को प्राङ्गणमा प्रदर्शन गरिएको थियो ।
प्रमुख अतिथि नेपाल मगर संघ केन्द्रीय समिति अध्यक्ष महेन्द्र थापा मगर, बिेशष अतिथि आदिवासी जनजाति समन्वय समिति पाल्पाका अध्यक्ष गमबहादुर थापा मगर र अतिथिहरुमा स्थानीय शान्ति समिति पाल्पाका अध्यक्ष केहरसिंह राना मगर, राष्ट्रिय जनमुक्ति पार्टी केन्द्रीय सदस्य धनकेशर सुर्यवंशी मगर, नेकपा माओवादी जिल्ला सदस्य जहरसिंह सारु मगर, गाविस सचिव रेवती रमण ज्ञवाली, होम स्टे संयोजक टुकबहादुर अर्घाली मगर, नेकपा माओवादी गाविस प्रतिनिधि लिलबहादुर राना मगर, नेकपा एमाले गाविस प्रतिनिधि जुद्ध बागबल मगर, नेका प्रतिनिधि, राजमुपा गाविस प्रतिनिधि खर्कबहादुर आले मगर, प्रअ सर्वोदय उच्च मा.वि. खुमबहादुर राना मगर, उच्च मा.वि. व्यवस्थापन समिति अध्यक्ष चेतबहादुर अर्घाली मगर, महिला वर्ग तथा गाउँ उत्थान समन्वय समिति अध्यक्ष धनिसरा बुच्चा मगर र गुम्बेली संयुक्त युवा सञ्जालका अध्यक्ष चुराबहादुर राना मगर थिए ।
प्रमुख अतिथि नेपाल मगर संघका केन्द्रीय अध्यक्ष मेहन्द्र थापा मगरले तेश्रो मगर चलचित्र महोत्सव भएको हुँदा तीनवटा मोमबत्ती प्रज्वलित गरि कार्यक्रम उद्घाटन गरेलगतै उनलाई मगर चलचित्रकर्मी संघका अध्यक्ष युवराज मास्की राना मगरले ढाका टोपी लगाई दिंदै सम्मान गरेका थिए । सञ्जालका अध्यक्ष चुराबहादुर राना मगरले स्वागत भाषण, मगर चलचित्रकर्मी संघको अध्यक्ष युवराज मास्की राना मगरको सभापतित्वमा चलचित्रकर्मी संघका महासचिव मेजन पुन मगरले कार्यक्रम सञ्चालन गरेका थिए ।
रातको १२ बजेसम्म चलचित्र प्रदर्शन गरिएको थियो । एक–एक पटक देखाउनु पर्ने चलचित्र तथा डकुमेन्ट्रीहरु दोहोर्याएर दुई/दुई पटक प्रदर्शन गरिएको कारण रातको १२ बज्न पुगेको थियो । कार्यक्रममा प्रदर्शन भएकाका चलचित्र वाङ्म मुले र गाउला (गोठाला) का निर्देशक विवेश बुढा मगर/निर्माता तथा कलाकार रुपलाल बुढा मगर र डकुमेन्ट्री यउनाटका निर्माता भीम राना मगर, कौरा स्याह्कका निर्देशक पूर्ण थापा मगर, नारामका निर्देशक प्रतिमाया पुन मगर र भूँयार पूजाका निर्देशक सानुमैयाँ राना मगरलाई पनि प्रशंसा पत्र प्रदान गरिएको थियो । अझै हेर्ने चाहना राखेका दर्शकहरुलाई निकट भविष्यमा माया मेरो गाउँको चलचित्र प्रदर्शन गर्ने वाचासाथ महोत्सव समाप्त भएको छ ।