देब पचभैया
पाल्पा, १८ फागुन नेपाल पत्रकार महासंघ पाल्पाका केहि पदाधिकारीहरु मनोमानी रुपमा चलेको भन्दै कार्यसमिति सदस्यहरुले आपत्ति जनाएका छन् । कार्यसमिति सदस्यहरु द्धारा आज जारी गरिएको प्रेस विज्ञप्तीमा महासघंको कार्यशैली प्रति आपत्ति जनाइएको हो ।
पत्रकार महासंघ पाल्पा शाखाका ७ जना सदस्यहरु द्धारा संयुक्त रुपमा जारी विज्ञप्तीमा भनिएको छ ‘नियमित कार्यसमितिको बैठक नबस्ने र केही पदाधिकारीहरूको मनोमानी ढंगले संस्थागत निर्णय र गतिविधि संचालन गर्दै गरेकोमा हामी कार्यसमितिका सदस्यको यस्ता कार्यप्रति ध्यानाकर्षण भएको छ ।’
साथै विज्ञप्तीमा नेपाल पत्रकार महासंघ केन्द्रको आयोजना र पाल्पा शाखाको समन्वयमा आज देखि तानसेनमा सुरु भएको पत्रकारिता तालिमका विषयमा कार्यसमिति सदस्यहरुले बाहिरी श्रोतहरुबाट थाहा पाएको भन्दै तालिमका सहभागी छनौटको आधारबारे संस्थामा कुनै छलफल र निर्णय नभएको उल्लेख छ । संस्थागत निर्णय गरेर अघि बढ्ने भन्दापनि नजिकका व्यक्तिहरुलाई तालिममा सहभागी गराईको प्रति सदस्यहरुले आफुहरुको ध्यानाकर्षण भएको जनाएका छन् ।
‘अरुलाई सूचना प्रवाह गर्ने संस्थाका गतिबिधिकै बारेमा संस्थाकै सदस्यहरु बेखबर भएर बस्नु पर्ने यो परिस्थितिले हामीलाई गम्भीर बनाएको छ । यो तालिम एउटा प्रतिनिधि उदाहरण मात्रै हो, यस्ता क्रम र उपक्रमहरु पछिल्लो समयमा श्रृङ्खलाबद्ध चल्दै आएको छ ’ विज्ञप्तीमा भनिएको छ । विज्ञप्तीमा कार्यसमिति सदस्यहरु कृष्ण कार्की, केशव घिमिरे, गुराँस आत्रेय, कृष्ण दर्नाल, सन्तोष बश्याल, हुमा सूर्यवंशी र नमिता वश्यालले हस्ताक्षर गरेका छन् । यसैविच नेपाल प्रेस युनियन पाल्पा र क्रान्तिकारी पत्रकार सघं पाल्पाले पत्रकार महासघं पाल्पा शाखाका कार्यासमितिका सदस्यहरुले उठाएको न्यायिक आवज प्रति ऐक्यबद्धता जनाएका छन् । प्रेस युनियन, पाल्पा कार्यवहाक अध्यक्ष भरत शर्मा र क्रान्तिकारी पत्रकार संघ, पाल्पा अध्यक्ष टेकनारायण भट्टराईले एक्यबद्धता जनाएका हुन् ।