इन्द्रेणी सभ्यताको विकास नै हो मुलुकको लागि दीर्घकालीन निकास

Read Time:19 Minute, 37 Second

 

– चन्द्र बहादुर श्रीस मगर

मुलुकको राजनिती अहिले कुनै राजनैतिक एजेण्डा भन्दा पनि प्रधानमन्त्रीको कुर्सीमा मात्र अड्किएको छ । सत्ता पक्ष जसरी पनि कुर्सीमा टा“सिरहन चाहन्छ भने प्रतिपक्ष कुनै पनि हालतमा कुर्सी प्राप्त गर्न । उक्त कुर्सी दौडमा राष्ट्रपतिले कहिले तिब्र गतिमा र कहिले थाक्दै बारम्बार थपिरहने “म्यादी इन्धन” ले अझ रोमाञ्चक गति थपेको छ । राष्ट्रपतिको उक्त “म्यादी इन्धन” मा विदेशीहरुद्वारा थपिएको भनिएको “लुव्रिकेन्ट” ले “प्रधानमन्त्री कुर्सी दौड” को उक्त खेल प्रधान न्यायाधिश सम्म आइपुगेको छ । यो सत्ता लोलुपताको चरम तुच्छ छिनाझपटिमा जनता, मुलुक र दुरगामी निकास जस्ता कुराहरु पुर्णत ओझेलमा परेका छन् । बर्तमान राजनितीक खेलको तौरतरिका देख्दा यस्तो लाग्छ कि प्रधानमन्त्रीको कुसीर्को कुनै एजेण्डागत महत्व नै हुंदैन । त्यो कुर्सी केवल आनन्दको लागि हो, शानको लागि हो, शक्ति प्राप्तीको लागि हो, आफ्नो दुनो सोझ्याउनको लागि मात्र हो, तर देश र जनताको हितमा काम गर्नको लागि भने होइन ।

सम्बिधान सभा जिवितै रहुञ्जेल राजनैतिक नेत्तृत्वले केवल कुर्सी प्राप्तिको लागि बहुमत र अल्पमतको खेलमा मात्र त्यसको उपयोग गर्यो । तर सबै जाति, भाषा, धर्म, क्षेत्र, लिंग, बर्गलाई समेट्ने संविधान निमार्णको लागि कहिल्यै उपयोग गरेन । कति सम्म भने जननिर्वाचित संविधान सभाका विषयगत समितीहरुले गरेको निर्णय कार्यान्वयन गर्न पनि यी राजनैतिक नेत्तृत्वले दिएनन् । फलस्वरुप संविधान सभाको कुनै उपलव्धि विना नै हत्या गरियो र संग संगै नेपाली जनताको पुनरसंरचित नेपालमा आफै शासक बन्ने सपनाको पनि हत्या गरियो । 

नेपाली कांग्रेसका सभापति सुशिल कोइरालाको यो उमेर सम्म पनि कुनै लाभको पद धारण नगरेको र पद लोलुप नभएको भन्ने जुन छवि निर्माण भएको थियो अहिले कुनै ठोस अग्रगामि एजेण्डा विना प्रधानमन्त्रीको पदको लागि चोरबाटो बाट (किन भने बर्तमान सम्बिधानमा संविधान सभाको सदस्य मात्र प्रधानमन्त्री हुन सक्ने प्रावधान छ) हाम फालेको देख्दा उनको मन भित्र बर्षौ देखि सुषुप्त अवश्थामा रहेको पद लोलुपता सतहमा छताछुल्ल भएको छ । त्यस्तै जति दबाएर राखे पनि एमाओबादी अध्यक्ष प्रचण्डको पदलोलुपता गोरखामा विष्फोट भयो । दुई दुई ठाउ“बाट जनताले लोप्पा ख्वाए पनि एमाले नेता माधव नेपालले प्रधानमन्त्रीको कुर्सीमा मन थाम्नै सकेनन्, जति गालि र बेइज्जत खपेरै भए पनि प्रमको कुर्सीको स्वाद चाखेरै छाडे । त्यस्तै सोहि पार्टिका जनजाति र उत्पिडित समुदाय विरोधी भनेर कुख्याति कमाएका अर्का नेता केपी शर्मा ओलिले जनताबाट तिरस्कृत (गत सम्बिधान सभाको चुनावमा) र आफ्नै कार्यकर्ताबाट दुत्कारित (एमाले पार्टिको गत महाधिबेशनमा) भए पनि प्रधानमन्त्रीको कुर्सीमा नै नजर गाडेर घुटुघुटु थुक निल्दैछन् । 

विद्धान छवि भएका प्रधानमन्त्री बाबुराम भटटराईको प्रतिपक्षी द्धन्दमा आए आफु पनि मल्ल युद्धको लागि तयार भएको तथा गोलि खान तयार भएको अभिव्यक्ति सुन्दा लाग्छ उनी घामले विद्धान भएका हुन र प्रधानमन्त्री भन्ने संस्थाको कुनै गरिमा र अभिभावकीय भुमिका नै हुंदैन । उनी गोली खान तयार छन् तर प्रधानमन्त्रीको कुर्सी कुनै पनि हालतमा छाड्न तयार छैनन् । प्रधानमन्त्री हुनु भन्दा अगाडि जनतामा उनी प्रति जुन किसिमको विश्वास र आकर्षण थियो कुर्सीको गरिमा कायम राख्न नसक्दा ती सबै धुलीसात भएको छ । नेपाली जनताले आफु सतीले श्रापेको मुलुकको नागरिक भएको अनुभुत गर्दै भन्न बाध्य भएका छन्  जुन जोगी आए पनि कानै चिरेको ।

माथि उल्लेखित विवरण बतर्मान नेपालको तितो यथार्थ हो । नेपाली राजनितीको मुल प्रवाहमा र शिर्षनेत्तृत्वमा मुलुकको निकासको सान्दर्भिक एजेण्डाहरुले कहिल्यै पनि महत्व पाएन । कुर्सीको लागि कुर्सी, कसैको लागि मैले खाइराखेकोले बानी पर्यो त्यसैले फेरि पनि खानको लागि कुर्सी, कसैको लागि मैले आज सम्म खान पाएको छैन त्यसैले मलाई नै कुर्सी । तर अब यसरी मात्र मुलुक चल्नेवाला छैन । अथवा मुलुक जेनतेन चले पनि दीर्घकालीन शान्ति, स्थिरता र उन्नति सम्भव छैन ।

त्यसैले अव सम्पुर्ण नेपाली राजनिती र समाजले मुलुकको उन्नतिको लागि एउटा एजेण्डा तय गर्नै पर्ने भएको छ – ईन्द्रेणी सभ्यताको विकासको एजेण्डा । श्रोत र साधनले सम्पन्न मुलुकको आदर्श विकासको एजेण्डा । सबै तह र तप्काले फल्न र फुल्न पाउने ईन्द्रेणी सभ्यताको विकासको एजेण्डा । जुन सभ्यताको विकास भयो भने मुलुकमा शान्ति र स्थिरता कायम भै दीर्घकालीन प्रगति हुन सक्नेछ ।

के हो इन्द्रेणी सभ्यताको विकास ?

बगैंचामा एकै खालको भन्दा बिभिन्न प्रजाति, रङ्ग, बासना, आकार आदि भएका फुलहरु फुल्यो भने त्यो बगैंचा सुन्दर एवम् मनमोहक देखिन्छ । सलाद खाने बेलामा एकै परिकारको भन्दा विभिन्न परिकारको भयो भने त्यो एउटै खाले परिकारको भन्दा स्वादिस्ट हुन्छ, खाउं खाउं लाग्ने हुन्छ । इन्द्रेणीमा सबै खालको रङ्ग देखिने भएर नै आकर्षक भएको हो । विभिन्न रङ्गहरुको संगम भएको रङ्गिविरङ्गी कपडाहरु जति आकर्षक देखिन्छ, यसको ठीक विपरित आमा बाबुको दुःख विसाउन बर्खी बार्दा लगाउने एकल रङ्गको कपडाले दुःख मात्र देखाउंछ, आकर्षण पैदा गर्दैन ।

सप्त रङ्गी ईन्द्रेणीले आफैमा अनुपम सौन्दर्य मात्र होईन मानव सभ्यतालाई सन्देश दिन सक्ने धेरै गुढ अर्थहरु पनि बोकेको हुन्छ । ईन्द्रेणीको सात रङ्गहरु सा“च्चिकै सुन्दर छन्, मनमोहक छन् । साथै ती सबै रङ्गहरु यसरि मिलेर बसेका हुन्छन् कि प्रत्येक रङ्गले अरुको अस्तित्वको सम्मान गरेको हुन्छ । ती सात रङ्गहरु छुट्टिंदैनन् पनि । छुट्टिएर अलग अलग बसेमा त्यसको सौन्दर्यको महिमा पनि कम हुंदै जान्छ । ईन्द्रेणीको अस्तित्वको लागि आवश्यक घाम, पानी, जमिन, आकाश सबैको साझा हुन्छ । कुनै पनि रङ्गले आङ्खनो अलग अस्तित्वको लागि घाम, पानी, जमिन, आकाश छुट्टै लिएर छुट्टै बस्ने कुरा गर्दैनन् । किन भने तिनीहरुलाई थाहा छ अलग भै बसेमा त्यो फगत एउटा रङ्ग होला तर अनुपम सौन्दर्य बोकेको ईन्द्रेणी हुन सक्दैन ।

त्यसैले जसरी सप्तरङ्गी ईन्द्रेणीमा सबै रङ्गको अस्तित्व बराबर हुन्छ, उनीहरु एक अर्काको अस्तित्वमा आफ्नो रङ्गको अस्तित्व र बढ्ता सौन्दर्य देख्छन्, एक आपसमा मिल्छन, अनि शान्ति र सहअस्तित्वको अभ्यास गर्छन् त्यो अत्यन्तै सौम्य र सभ्य देखिन्छ । यस्तै खालको सभ्यताको विकासलाई नै यहा“ “ईन्द्रेणी सभ्यताको विकास” भन्न खोजिएको हो । किनभने सबैको अस्तित्वले समान मान्यता पाएको, सौम्य, आकर्षक सभ्य समाज निर्माणको एजेण्डा आजको नेपालको प्रमुख एजेण्डा हो ।  

नेपालमा इन्द्रेणी सभ्यताको विकास किन ?

विगत अढाई शय बर्ष देखि नै नेपालका आदिबासी जनजातिहरु, दलितहरु, मधेशीहरु, कर्णालीबासी, महिला तथा विभिन्न क्षेत्रका जनताहरु सामाजिक तथा राजनितीक रुपमा बहिष्करणमा र बञ्चितीकरणमा परेका छन् । उनीहरुले राज्य सञ्चालनको बागडोर कहिल्यै सम्हाल्न पाएनन् । अझ कथित हिन्दु बर्णाश्रम धर्मले दलित र जनजातिहरुलाई तल्लो दर्जामा राख्ने तथा पेशागत रुपमा पनि तल्लो खालको पेशा अंगाल्नको लागि बाध्य पार्यो र महिलाहरुलाई आफ्नै घरमा पनि घरेलु नोकरको जस्तो हैसियत मिल्यो । पछिल्लो समयमा खास गरी राजा महेन्द्र शाहको पाला देखि मधेशीहरुलाई कथित राष्ट्रियताका नाममा विदेशीको जस्तै व्यवहार राज्यबाट भयो । कर्णाली क्षेत्रका जनतालाई राष्ट्रियताको समस्याले नपिरोले पनि कुनै अर्कै ग्रहका मानिसलाई जस्तो व्यवहार गरी शिक्षा, स्वास्थ्य, खाना, नाना, छाना जस्ता आधारभुत सेवा र सुविधाहरुबाट पनि बञ्चित गरियो ।

महिलाहरु निर्णायक स्थानमा पुग्नबाट बञ्चित गराईए र बालविवाह, बहुविवाह, दाईजो, बोक्सी, छाउपडि, घरेलु हिंसा जस्ता विभिन्न सामाजिक उत्पिडनहरुबाट प्रताडित भैरहे । यसरी विभिन्न जाति, क्षेत्र, लिङ्ग तथा आम उत्पिडित समुदायहरुलाई राज्यको श्रोत साधन, सेवा सुविधाहरुमा पहुंच पुग्नबाट बञ्चित गराईयो । जातीय, धार्मिक, भाषिक, सामाजिक, सांस्कृतिक, क्षेत्रीय र लैङ्गिक विविधताको यथार्थतालाई स्वीकार नगरी एक जाति–बाहुन, एक धर्म–हिन्दु, एक भाषा–पर्वते खस, एक लिङ्ग–पुरुष, एक क्षेत्र–काठमाडौ लाई मात्र मलजल गरियो, हुर्काइयो, बढाईयो र मान्यता दिइयो । फल स्वरुप त्यस्तै व्यवश्था गर्ने एकल जाति, क्षेत्र, लिङ्ग र बर्गहरुले मात्र राज्य सञ्चालनको बागडोर सम्हाल्न पाए र श्रोत साधनहरुमा हालिमुहाली गर्न पाए । तर त्यसबाट बञ्चित एवम् उत्पिडितहरुले पुर्पुरोमा हात राखेर पिल्सिनु बाहेक अरु उपलव्धि केहि भएन । समग्रमा भन्नु पर्दा नेपालमा विद्यमान सप्त रंगी ईन्द्रेणीमा केवल एकल रंगलाई मात्र बढावा दिईयो र अरु सुन्दर रंगहरुलाई छायांमा पारियो ।

जसले गर्दा न त मुलुकले शान्ति, सुख र संबृद्धिले लेस भएको सप्त रङ्गी ईन्द्रेणीको सौन्दर्य प्राप्त गर्न सक्यो न त शताव्दियौं देखि पिल्सिएका जनताले राहतको महशुस गर्न नै पाए । बरु मुलुकले शान्ति, स्थिरता र विकासबाट पनि टाढै रहनुपर्यो । अब हुने राज्यको पुनरसंरचनामा सबै जाति, बर्ग, क्षेत्र, लिङ्ग र उत्पिडित समुदायहरुको हक अधिकार सुनिश्चत हुनै पर्दछ । अनि मात्र ईन्द्रणी सभ्यताको विकास हुन सक्छ ।  तर विडम्वना ! हाम्रो देशका सामाजिक, सांस्कृतिक र राजनैतिक परिपाटीले सप्त रंगी ईन्द्रेणीको स्वरुप धारण गर्न नसकेर माथि उल्लेख गरिए झैं हाल बर्खी बारेर कुरुप एकल रंगको स्वरुपमा छ । जहां सबै जात जाति, भाषा, धर्म, क्षेत्र, बर्ग, लिङ्ग आदि कसैले पनि खिल्न पाएको छैन । छ त केवल एकल जाति, एकल भाषा, एकल धर्म, एकल क्षेत्र, एकल लिङ्ग र बर्गको मात्र हालिमुहाली । अनि सबै उत्पिडीत समुदायहरु सबै खाले सेवा सुविधाबाट बञ्चितीकरणमा पारिएका छन् र धेरै सुन्दर रङ्गहरु देख्न नसकिने अ“ध्यारो आहालमा चुर्लुम्म डुवेका छन् । 

नेपालमा ईन्द्रेणी सभ्यताको विकासको लागि विभिन्न बलिया आधारहरु छन् । भौगोलिक दृष्टिकोणले हेर्ने हो भने हाम्रो देश नेपालले जम्मा १४७,१८१ बर्ग कि.मि. मात्र क्षेत्रफल (संसारको जम्मा ०.०३ प्रतिशत मात्र) ओगटेको भएपनि संसारकै सबै भन्दा अग्लो भुभाग सगरमाथा र संसारकै सबै भन्दा होचो भुभाग कचनाकलन हाम्रै सुन्दर भुमि भित्र पर्दछन् । यति सानो तर विविधतायुक्त हाम्रो सुन्दर मुलुकमा ८.९० प्रतिशत प्रजातिका चराहरु, ३.९६ प्रतिशत प्रजातिका स्तनपायी जनावरहरु, ३.७२ प्रतिशत प्रजातिका पुतलीहरु, २.२ प्रतिशत प्रजातिका जलचरहरु, २.७६ प्रतिशत फुल्ने बनस्पतिहरु, २.४७ प्रतिशत उभयचरहरु आदिलाई आश्रय स्थल दिएको छ -श्रोत :(IUCN and UNEP-WCMC, 2010)। भौगोलिक र जैविक विविधता मात्र होइन, सामाजिक – सांस्कृतिक विविधता तर्फ ध्यान दिने हो भने वि.सं. २०६८ सालको जनगणनाले यति सानो मुलुकमा पनि १२५ जात जाति, १२३ मात्तृ भाषाहरु र १० खालको धर्महरु  मुलुकमा रहेको तथ्याङ्क सार्वजनिक गरेको छ ।

यद्यपि यसलाई तथ्याङ्क भन्दा पनि मिथ्याङ्क मान्ने नेपालीहरुकै संख्या उल्लेख्य छ । नेपाल आदिबासी जनजाति महासंघको अनुसार १० खालको जनजातिहरुको यस तथ्याङ्कले (मिथ्याङ्क ?) अस्तित्व मेटिदिएको छ । पहिचान हुन बांकि विभिन्न जाति तथा जनजातिहरुको संख्या यो भन्दा निकै बढी छन् भनेर आम रुपमा नै भनिन्छ । यस्तो प्रकारको भौगोलिक र जातिय विविधताले प्रचुर सांस्कृतिक विविधताहरु एउटा सानो देशले यति सजिलै आत्मसात गरेको छ । माथि उल्लेखित भौगोलिक, सामाजिक, सांस्कृतिक र जैविक विविधताहरु प्रकृति प्रदत्त सुन्दर ईन्द्रेणी हो ।

अबको हाम्रो राजनैतिक तथा सामाजिक एजेण्डा पनि यो सुन्दर मुलुकमा “ईन्द्रेणी सभ्यताको विकास गर्ने” भन्ने हुने हो भने यसले पक्कै पनि गौतम बुद्ध जन्मेको यस मुलुकलाई शान्ती र उन्नति तर्फ डोर्याउन सकिन्छ । नेपालमा पनि त्यस्तै ईन्द्रेणी सभ्यताको विकास हुन जरुरी छ । मुलुकले अब संविधान सभा वा संसदीय निर्वाचन, संविधानसभा पुनर्रस्थापना, सम्विधान निर्माण, जनमत संग्रह वा जस्तो सुकै कार्यदिशा समाते पनि ती कार्यदिशाको प्रमुख एजेण्डा “ईन्द्रेणी सभ्यताको विकास” हुनै पर्दछ । कसैले कसैलाई पनि ठूलो जातको र सानो जातको, हिमाली पहाडी र मधेशी, धनी र गरीव, महिला र पुरुष, यो धर्म र त्यो धर्मको आधारमा विभेद गर्न पाईदैन । यदि विभेद गरियो वा विभेदको कारण अलग अस्तित्व खोजियो भने ईन्द्रेणी सभ्यताको विकास हुन सक्दैन ।

जसरी ईन्द्रेणीको रङ्गहरुले छुट्टै अस्तित्व खोज्दा साथ ईन्द्रेणीको अस्तित्व रहंदैन, त्यसै गरी नेपालीले पनि एकले अर्काको अस्तित्वको सम्मान नगर्ने र त्यसैको कारणले छुट्टै बस्न खोज्ने हो भने नेपालको अस्तित्व पनि खतरामा पर्दछ । नेपाल चार जात छत्तिस बर्णको मात्र होईन सबै जात, भाषा, धर्म, क्षेत्र, लिङ्ग र बर्गको साझा फुलबारी भएमा मात्र ईन्द्रेणी सभ्यताको विकास हुन सक्छ । सबै जाति, भाषा, धर्म, संस्कृतिले खिल्न पाएमा मात्र सप्तरंगी ईन्द्रेणीको स्वरुप धारण गर्न सक्दछ । ईन्द्रेणी सभ्यताको विकासले मात्र यो मुलुकमा दीर्घकालीन शान्ति र उन्नति स्थापना गर्न सकिन्छ ।

chandrashrees@hotmail.com

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %