१७ फेब्रुअरी, हङकङ
नेपाल सरकारले हङकङको महावाणिज्यदूतमा महेशप्रसाद दाहाललाई गरेको नियुक्ति बदर गर्न माग गर्दै नेपाल आदिवासी जनजाति महासंघ हङकङले विरोधसभा सम्पन्न गरेको छ । उनी हङकङ पुग्न नपाउँदै महासंघले एक कार्यक्रमको आयोजन ा गरी उक्त विरोधसभा गरेको हो ।
सभामा विगत ५–६ वर्षदेखि महासंघले आदिवासी जनजाति मूलका महावाणिज्यदूतको माग गरिरहेकोलाई वेवास्ता गरी गरिएको नियुक्ति बदर गर्न माग गर्दै अध्यक्ष एमबी थापामगरले नगरिए हस्ताक्षर संकलन, धर्ना, रिले अनशन र आमरण अनशनसम्म गर्ने जानकारी दिएका थिए ।
कार्यक्रमको शुरुवातमा महासंघका सदस्य किसन राईले निवर्तमान महावाणिज्यदूत विनोदकुमार उपाध्यायको अवकाश हुने समयमा प्रधानमन्त्री, परराष्ट्रमन्त्री र सत्तारुढ एनेकपा माओवादी अध्यक्षलाई ज्ञापनपत्रमार्पmत मागको बारेमा स्मरण गराइएको जानकारी गराएका थिए । उनले यो मुद्दालाई नेपाली समुदायमामात्र सिमित नराखी अन्तर्राष्ट्रियकरण गर्नु पर्ने बताएका थिए ।
महासंघका सल्लाहकार भूपेन्द्र चेमजोङले मुलुकको हरेक क्षेत्रमा समावेशिताको अभ्यास र प्रक्रिया शुरु भएकोले ९८ प्रतिशत आदिवासी जनजाति रहेको हङकङमा आदिवासी जनजाति मूलका महावाणिज्यदूतको माग राख्नु स्वभाविक रहेको दावी गरेका थिए । उनले यो माग तीन ‘प’ पहिचान, प्रतिनिधित्व र प्रतिष्ठाको लागि भएको बताएका थिए ।
महासंघका सल्लाहकार तथा आदिवासी जनजाति संयुक्त संघर्ष सहयोग समितिका अध्यक्ष भक्त दुराले माग गरिएको लामो समय भइसकेकोले अब कडा पाइला चाल्न आवश्यक रहेको बताएका थिए । उनले संघर्षको विकल्प नभएको बताउदै आन्दोलनका लागि सम्पूर्णलाई आग्रह गरेका थिए ।
महासंघका उपाध्यक्ष दुर्गा गुरुङ ‘मिलन’को स्वगत मन्तव्यबाट शुरु भएको कार्यक्रममा तामाङ घेदुङका अध्यक्ष दुर्गा तामाङ, किरात याक्थुङ चुम्लुङका अध्यक्ष त्रिभुवन लुङफुङवा, तमू ट्हो ह्युलका सचिव युवराज गुरुङ, मगर संघका सचिव बोधविक्रम थापामगर, नेपाल आदिवासी जनजाति युवा संघका उपाध्यक्ष यलम्बरहाङ तुम्बापो, ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संघका अध्यक्ष हेमप्रताप गुरुङलगायतले सम्बोधन गर्दै ऐक्यवद्धता जनाएका थिए । कार्यक्रम सञ्चालक महासचिव हस्त मास्वा रहेका थिए ।
कार्यक्रमको अन्तमा १३ सदस्यीय संघर्ष समिति गठन गरिएको घोषणा गरिएको थियो । उक्त समितिमा भक्त दुरा, भूपेन्द्र चेमजोङ, नरहाङ राई, किसन राई, दुर्गा तामाङ, त्रिभुवन लुङफुङवा, शशि मदन राई, विसन गुरुङ, बोधविक्रम थापामगर, युवराज गुरुङ, यलम्बरहाङ तुम्बापो, तिलक सोमैमगर र किरण लिवाङ रहेका छन् ।
सार्वजनिक गरिए अनुसार पहिलो चरणमा भोलिदेखि हस्ताक्षर संकलन, पर्सी महावाणिज्यदूतावासमा नियुक्ति बदरको मागसहित विरोधपत्र बुझाउने र शुक्रबारदेखि धर्ना शुरु गरिने छ । आवश्यकता अनुसार अनशनसमेत बसिने जानकारी गराइएको थियो ।
महासंघको मागलाई वेवास्ता गरी दाहाल हङकङ आए एयरपोर्टदेखि नै विरोध गरिने र उनको कामकार्वाहीमा वाधा व्यवधान खडा गरिने जानकारी गराइएको थियो । त्यसैगरि सम्पूर्ण संघसंस्थालाई बहिष्कार गर्न आह्वान गर्दै उनको उपस्थितिमा हुने कार्यक्रम रोक्नेसमेतको चेतावनी दिइएको थियो ।
हङकङका महाबाणिज्यदुतलाई एयरपोर्टमै रोक्ने धम्की
Read Time:4 Minute, 42 Second