मगर हैनौं भन्नेहरु पुन हैनन् घर्ति हुन्

Read Time:15 Minute, 13 Second

          – मुसहाङ्ग झेंडी मगर

म्याग्दी जिल्लाको उत्तरपुर्वका शिख, पागदार, हिस्तान, बेग तथा दोबा आदी गाउँ बाट बसाई सराई गरी शहर पसेका केहि व्यक्तिहरुबाट शुरु भएको पुन समाज नेपालको शुरुका दिनहरुमा उद्देश्य राम्रा भएतापनि पछिल्लो समय सिमित व्यक्तिहरुको स्वार्थ र उद्देश्य पुरा गर्न हिंडिरहेको देखिन्छ । कुनै एतिहासिक आधार बिना पुन जातिको  अस्तित्वको मुद्दा उठाईनुलाई त्यसैसंग जोड्न सकिन्छ ।  पुन छुट्टै जाति हो वा मगर नै हो भन्ने  अध्ययन नै नगरी तथा त्यसको धरातलमा नपुगी कसैले टँुगो लगाउन सक्दैन । तर पुन समाजले अहिले त्यहि गरिरहेकोछ । हचुवाको भरमा पुनलाई छुट्टै जाति भनि दावी गरिरहेकोछ । त्यसले  अहिले  मगर  समाजमा विखण्डनको विउ रोपिदिएकोछ ।
 
ऐतिहासिक पहिचानको चिरफार
   यस्ता संवेदनशील प्रश्न उठाउदै एउटा थर समाजबाटै छुट्टिने कुरा गर्दा समेत मगरसंघले यसप्रति ध्यान दिएको देखिदैन । तर यथार्थता र मागबीच रहेको यस भिन्नताबीच केहि तथ्य छन् जसलाई यहाँ केलाउने प्रयास गरिएकोछ ।   बुढा, रोका, घर्ती, थापा, पुन, आले तथा राना मगर जाति भित्रका प्रमुख थर हुन् । यि थर भित्रका उपथरहरु लगभग १२०० को हाराहारीमा छन । ईतिहास नै पल्टयाउने हो भने आज पुन जातिको छुट्टै अस्तित्वको वकालत गर्ने  म्याग्दीका अधिकांश पुनहरु खासमा पुन नभई घर्ती हुन् । आज आफूलाई खाँटी पुन हुँ भन्ने पाईजा, गर्बुजा, तिलिजा, रामजाली, फकामी, शेरपुजा, पुर्जा आदी ईत्यादीहरु सबै घर्तीमगर हुन् । अहिले पनि पाल्पा, पश्चिम स्याङ्गजा, गुल्मी, रोल्पा तिरका बुढापाका मगरले यिनलाई पुन मान्दैनन् । यी त टाढाका कुरा भए बाग्लुङ्गका खाईपुन तथा सायपुनहरुले पनि यिनीहरु पुन हुन् भनि स्विकार्देनन् । म्याग्दी जिल्ला भित्रै पनि सुत, दुत, थाने र पहरे यि चारलाई मात्र शुद्ध पुन ठानिन्छ । यी चार पुन बाहेक अन्य गर्बुजा, पुर्जा, तिलिजा, फगामी आदीहरु घर्तीमगर हुन्   भन्ने कुरा १८६० को दशकमा नेपाल आएका अंगे्रज अनुसन्धाता Eden Vansitart ले आफ्नो महत्वपुर्ण पुस्तक Tribe, clans & cast of Nepal (1894) मा उल्लेख गरेकाछन् । यस अनुसन्धानले पश्चिम स्याङ्गजा र गुल्मीका बुढा पुरानाका भनाई, बाग्लुङ्गका सायपुन र खामीपुनहरुको मान्यता तथा म्याग्दीभित्रै चलिआएको चलन र मान्यतालाई प्रमाणित गरिदिएकोछ ।  Vansitart  ले आज भन्दा १२० वर्ष उहिल्यै यस तथ्यमाथि प्रकाश पारिसकेकाहुन् ।          
      मगर समाजका निम्ति  यो नमिठो यथार्थ हो तर ऐतिहासिक कालखण्डमा यस भेगमा  ( गण्डकी र धवलागिरी) थापा, राना, आले, पुन, बुढा आदी थरका मगरहरुले घर्तीमगरसंग विहेवारी गर्दा चनाखो हुनुपथ्र्यो र चिनजान नभएका घर्तीमगरसंग तीनका पुस्तौ सम्मका नालीबेली बुझेर मात्र विहेवारी चलाउने चलन थियो ।  भुजेल घर्ती वा अन्य लेनदेन नचल्ने घर्तीसंग झुक्किएर विवाहवारी गर्न नपरोस भनी यस्तो सतर्कता अपनाईने गरिन्थ्यो । तर राप्ति तथा भेरी अञ्चल तिर भने यो समस्या थिएन जसले गर्दा त्यस क्षेत्रका घर्तीमगरहरु आफुलाई गर्वका साथ घर्तीमगर भन्ने गर्थे र गर्छन । यी कारणले पनि विगतमा पश्मिाञ्चल क्षेत्रका धेरै घर्तीमगरहरु थापामगर, रानामगर तथा पुनमगर भएका हुन् । उदाहरणका निम्ति बाग्लुङ्गका चोचाङ्गी र काला घर्तीले थापा लेख्दछन भने म्याग्दी तथा पर्वतका चोचाङ्गी र काला घर्तीमगरले आफुलाई पुन भन्दछन् ।
         
          यहाँ निर गोर्खा भर्तिको उल्लेख गर्नु पनि आवश्यक छ । किनभने गोर्खा भर्ति पनि यो विवादको कारक मध्येको एक कडी हो । सर्वप्रथम ब्रिटिश साम्राज्यले सन् १८१५ देखी चार वटा गोर्खा बटालाईन खोलेर गोर्खालीहरुलाई ब्रिटिश फौजमा भर्ना लिएको थियो । सन् १८१६ देखी विधिवत रुपमा गोर्खा भर्तिको शुरुवात भएको देखिन्छ । तर त्यस भन्दा अगाडि नै ब्रिटिशले मगर युवाहरुलाई आफ्नो फौजमा भर्तिगरी चीनको तिब्बतमा प्रयोग गरी सकेको थियो । मगर पछि मात्र ब्रिटिश सेनामा गुरुङ्गको प्रवेश भएको थियो । लिम्बु र राईलाई धेरै पछि मात्र भर्ति गर्ने गरिएको इतिहास छ । ब्रिटिशको योग्यताको मापन अनुसार अनुशासित तथा लडाकु भनि मगर जातिलाई सबैभन्दा बढी भर्ना गर्ने चलन थियो । बेलायतको यस्तो अध्ययन कालान्तरमा सहि सावित भयो ।  १३ मध्य ६ वटा भि.सी, जर्जक्रश तथा अन्य बहादुरीका पदक सबैभन्दा धेरै यहि जातिले जितेर देखायो । यसको आधारमा स्वाभाविक रुपमा मगरका केहि थरहरुले बेलायती सेनामा भर्ना हुने योग्यता राख्न थाले ।
यसले गर्दा आफ्नो उपथर वा मुल थर नलेखी भर्ति हुन थापा, राना, रोका, आले, पुन तथा बुढा लेख्ने चलन चल्यो । यसले गर्दा मगर समुदायभित्र एउटै सिंजाली दाजुभाई पनि कोहि  पुन, राना तथा थापा भए भने कोहि भाई गर्बुजा थापा र पुन भएर भर्ति भए । यस्ता उदाहरण प्रशस्त भेटिन्छन् । यतिमात्र होईन क्षेत्री, वाहुन, नेवार, थकाली, छन्त्याल, ठकुरी र दलित सम्मले मौकाको फाईदा उठाई थापा, राना, आले तथा पुन जस्ता मगरका थर प्रयोग गरेर ब्रिटिश, भारत तथा सिंगापुर आर्मीमा भर्ति भएका प्रसस्त उदाहरणहरु छन् । हिंजो म्याग्दी र पर्वत जिल्लाका तिलिजा, पाईजा, खोर्जा, पुर्जा आदी सम्पुर्ण घर्तीमगर भित्रका उपथरहरुले भर्ति हुँदा पुन लेखेकाहुन् ।  हाल पुन मगर होईनन् भन्नेहरु कुनैबेला थर बदलेर पुन भएकाहरु धेरै छन् ।
         
       यि आन्दोलनकारीले खाम भाषा पुनहरुको भाषा हो भनेर हल्ला गरिरहेकाछन् तर बुझनु पर्ने कुरा के छ भने खाम भाषा अठार मगराँतमा बस्ने सम्पुर्ण मगरहरुको भाषा हो । चाहे त्यो रोल्पामा बस्ने थापा, राना होस या रुकुमा बस्ने पुन, रोका होस या प्यूठानमा बस्ने बुढा र घर्तीमगर होस खाम सबैको साझा र मातृभाषा हो । कुनै थर विशेषको भाषा होईन । आश्चर्यको कुरा के छ भने पुन जातिको अलग्गै पहिचान माग्नेहरुले नै यो भ्रम फैलाईरहेकाछन् । जाति चाहिं छुट्टै भन्ने तर खाममगर भाषालाई भने आफ्नो घोषणा गर्न खोज्ने यो कस्तो खाले जाति पहिचानको खोजी हो बुझ्न सकिएको छैन ।
 
          जातिको अलग पहिचानको माग गर्नेहरुको ठूलो दलिल मध्ये एउटा फरक संस्कार र संस्कृति हो । पुनहरुको रहनसहन, भाषा, धर्म, खानपान तथा संस्कार र संस्कृती आदि अन्य थरसँग नमिल्ने हँुदा पुन छुट्टै जाति हुन् भनि दावि गरिएकोछ । म्याग्दीमा खाम भाषा नबोलिएपनि यी खाम भाषा आफुहरुको रहेको दावी गर्छन् । यिनका अन्य तर्कहरुमा मगरले बंगुर खान्छन पुनले भंैसी खान्छन् । मगरले कुलायनमा संगुर चढाँउछन भने पुनले भेडाको साँढे चढाँउछन् । जबकी म्याग्दी तिरका पुनहरुको संस्कार संस्कृति रुुकुम तिरका पुन संग मिल्दैन न त गुल्मी तिरका पुन संग मिल्छ । बरु रुकुममा बस्ने बुढा, रोका, थापा तथा गुल्मीका पुन, थापा, राना आदीको संस्कार संस्कृतिमा समानता भेटिन्छ ।
यस्ता संस्कार संस्कृतीको दलिल पेश गर्नेहरुलाई यो जानकारी पनि नहुन सक्छ कि रुुकुम मैकोट तिरका उलुङ्गे पुनहरुले आफ्नो कुलायनमा कालो सुंगुर चढाउदछन, जबकी उनिहरु आफुलाई शुद्ध पुन ठान्दछन् । यसैगरी उनिहरुको दलिल अनुसार कुलायनमा अन्य मगरले सुंगुर चलाउछन् पुनले भेडा भन्ने रहेको छ । शायद तिनलाई थाहा नहुन सक्छ अधिकांश थापा, राना, घर्ती, आले, रोका, पुन र बुढा मगरहरु लगभग ९० प्रतिशतले भेडाको साँडनै चढाउने गर्दछन, कुलायनमा । गाहा, सारु आदि केही मात्र मगरले आफ्नो कुलायनमा कालो सुंगुर चढाउने गदर्छन भने सोमै आदी केहीले मात्र बोका र कुखराको भाले प्रयोग गर्ने गर्दछन् ।
म्याग्दी तिरका पुनहरुले पनि आफुहरुलाई रुकुम मैकोट तिर बाटै आएको भन्न पछि पर्दैनन् । जहाँसम्म पुनले भैंसी खान्छन् अन्यले सुंगुर खान्छन् भनि खानपानको भिन्नताको कुरा उठाईएको छ यो आफैमा हाँस्यास्पद छ । थापा, राना भित्र धेरै यस्ता उपथरहरु छन जसले सुंगुर खादंैनन् । कोही थापा, रानाले खसी पनि आफ्नो घरमा हुल्दैनन् भने धेरै थापा, राना, बुढा तथा घर्तीमगरहरुले विगतमा गोरुको मासु खाने गरेको तथा कुलायनमा गोरु चढाउने गरेकाथिए जुन पछि हिन्दु राज्यसत्ताले बन्देज लगाईदिएकोथियो ।
 

ब्याम्बो घर्तीमगर, करपाके, तथा शिद्ध लखन थापालाई धेरै ठाँउमा पुज्ने गरिन्छ । धौलागिरी क्षेत्रमा मगरहरुले करपाकेलाई कुलदेउता अझ भनौ ईष्टदेउताको रुपमा पुज्ने गर्छन तर रुकुम, रोल्पा तथा सल्यान तिरका पुनमगरलाई करपाके बारे केही जानकारी छैन । तर छुटै जातिको पहिचान खोज्नेहरुले म्याग्दीकै संस्कार र संस्कृतिलाई पुनको संस्कार संस्कृति भनि प्रचार गरिरहेकाछन ।
          यहाँ मनन् गर्नुपर्ने कुरा के छ भने आज सबै मगरहरु एकआपसमा छुट्याउन नसकिने गरी घुलमिल भएर बसेका छन । रोल्पाको थापामगरको मातृभाषा खाम भए झै स्याङ्गजा र पाल्पाका घर्तीमगर र पुनको भाषा ढुट छ । डोल्पाको बुढामगरको मातृभाषा काईके छ भने रुकुमका बुढाको भाषा खाम । अर्घाखाँची तथा पश्चिम पाल्पा तिरका पुनहरु आज थापा मगर भएर बसेका छन भने म्याग्दीका शिख र स्वाँत तिरका केही राना र थापाहरु पुन भएका छन् । यसैगरी बाग्लुङ्गका सिंजाली पुन बनेका छन भने तनहँुका सिंजाली थापा छन र म्याग्दीको मध्य पश्चिमका झीं, दगनाम तथा चिमखोलाका गर्बुजाहरु थापा भएका छन भने पुर्व तिर लाग्दै जाँदा गर्बुजाहरु पुन भएर बसेका छन ।
हिजोसम्म जसले जुनसुकै थर अपनाएपनि कसैलाई आपत्ति र सरोकारको विषय थिएन तर आज अलग्गै जातिय पहिचानको कुरा उठाईएको हुनाले मात्र यस कुरालाई स्मरण गराउन खोजिएको हो । पुनले मात्र होईन थापा थरले पनि भोलीका दिनमा अलग जातिय पहिचानको मुद्दा उठान गरे पनि त्यो सम्भव देखिदैन किनभने थापामगर भित्र पहरे, सुत, दुत, रामजाली, दर्लामी जस्ता धेरै उपथरहरु विद्यमान छन । यस्तो संजाल घर्तीमगर, रानामगर, पुनमगर आदीमा पनि विद्यमान छ ।

पुनलाई मगर हैन भनि भ्रम फैलाउनेहरुको अर्को तर्क के पनि छ भने यदि पुन जातिको रुपमा आदिवासी जनजातिमा सूचिकृत हुन सकेको खण्डमा आदिवासी जनजाति महासंघ, नेपाल सरकार तथा विदेशी दातृ निकाय  (NGO)  बाट राहत, सुविधा, अवसर तथा डलर आदी प्राप्त गर्न सकिन्छ र जातिको विकास द्रुतगतिमा अगाडी बढाउन सकिन्छ । यसरी सरकारी सुविधा तथा विदेशी निकायबाट प्राप्त हुने अवसर र आर्थिक सहयोगका खातिर जातिय पहिचानको मुद्दालाई उठाईएको हो भने भोली तिनलाई छुट्टै पहिचान दिएपनि फेरी लोभका खातिर अर्को जातिय पहिचानको कुरा उठिहाल्ने छ । त्यहि पुनभित्रका अन्य उपथरहरुले फेरि अर्काे छुट्टिने आन्दोलन गर्ने डर छ । यस्ता कृयाकलापले मगर जाति उल्टो बाटो तिर लम्कने त निश्चित नै छ आदिवासी आन्दोलन पनि ओरालो लाग्ने प्रष्टै छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %