बुटवल,यही आउंदो फागुन २१ गते देखि २३ गते सम्म नेपालगञ्जमा सम्पन्न गईराखिएको राष्ट्रिय जनमुक्ति पार्टीको राष्ट्रिय भेलालाई सार्थक बनाउनका लागि व्यापक तयारी गरिएको पार्टीका प्रचार विभाग प्रमुख टोप अस्लामीले बताउनु भएको छ । भेलालाई व्यापक रुपमा सफल बनाउनका लागि पार्टीका केन्द्रीय नेताहरु देशव्यापी रुपमा खटीरहनु भएको पनि प्रमुख अस्लामीले बताउनु भयो । यसै सन्दर्भमा यही माघ २६ गतेका दिन राष्ट्रिय जनमुक्ति पार्टी, केन्द्रीय सम्पर्क कार्यालय, बुटवल अन्तरगतका १२ जिल्लाका संघीय परिषद सदस्य र संघीय सभाका सदस्यहरुलाई राष्ट्रिय भेला सम्बन्धमा पुनर्ताजगी गर्ने काम भएको छ । बुटवलमा सम्पन्न कार्यक्रममा पार्टी महासचिव केशव सूर्यवंशीले भेलाको बारेमा सदस्यहरुलाई पुनर्ताजगी गराउनु भएको हो । केन्द्रीय सम्पर्क कार्यालय, बुटवलले आयोजना गरेको सो कार्यक्रममा राष्ट्रिय भेला सम्बन्धमा हालसम्म भए गरेका प्रगतिहरु बारेमा छलफल समेत गरिएको थियो । यसै सन्दर्भमा यसै कार्यालय अन्तर्गतका १२ जिल्लाका अध्यक्षहरु र जिल्ला ईन्चार्जहरुलाई आज ‘ब्रिफिङ्ग’ का साथै निर्देशन गर्ने कार्यक्रम रहेको छ ।
दाङ्गमा पत्रकार सम्मेलन पार्टीको राष्ट्रिय भेला सम्बन्धमा दाङ्ग, सल्यान र प्यूठान जिल्ला-क्षेत्रका पार्टी कार्यकर्ताहरुलाई भेटघाट गर्ने क्रममा दाङ्गको तुल्सीपुरमा पत्रकार सम्मेलन कार्यक्रम गरी कार्यक्रम बारेमा जनतालाई जानकारी गर्ने काम सम्पन्न भएको छ । राष्ट्रिय जनमुक्ति पार्टी, दाङ्ग जिल्ला समितिको आयोजनामा तुल्सीपुरमा राखिएको सो कार्यक्रममा पार्टी महासचिव केशव सूर्यवंशी प्रमुख अतिथि हुनुहुन्थ्यो । संघीय परिषद सदस्यहरु अशोक पुन, रविन्द्र उच्च नेपाली, लीला पुनको समेत उपस्थिति रहेको सो कार्यक्रम जिल्ला अध्यक्ष जित बहादुर बुढाको अध्यक्षता र सचिव मुक्त बुढाको सन्चालनमा सम्पन्न भएको थियो ।
राष्ट्रिय भेला तयारीमा समितिको बैठक सम्पन्न २०६९ फागुन २१ देखि २३ सम्म बाँकेको नेपालगञ्जमा सम्पन्न हुन गईरहेको पार्टीको राष्ट्रिय भेलालाई थप व्यवस्थित गर्नका लागि कार्यकर्ताहरुलाई आवश्यक निर्देशन र हौसला प्रदान गर्न भेला आयोजक समितिका नेताहरु नेपालगञ्जमा केन्द्रित हुनु भएको छ । सोही अवसरमा मध्यपश्चिम र सुदूरपश्चिमान्चलका जिल्ला प्रमुखहरुको सहभागिता सहित भेला आयोजक समितिको बैठक पनि सम्पन्न भएको छ । आयोजक समितिका संयोजक एवं पार्टी संघीय परिषदका उपाध्यक्ष केपी पालुङ्वाको अध्यक्षतामा बैठक माघ २० गते बसेको हो । बैठकमा पार्टी महासचिव केशव सूर्यवंशी, स्थायी समिति सदस्य रत्न राना, संघीय परिषद सदस्यहरु अशोक पुन, मोहन सारु, टीकाराम शर्मा, एमबी शाह लगायतका केन्द्रीय नेताहरुको सहभागिता रहेको थियो ।
भेलालाई सम्पन्न गर्नका लागि बैठकले थप जिम्मेवारी बाँडफाँड पनि गरेको छ । जस अनुसार खाद्य व्यवस्थापन उपसमिति संयोजकमा संघीय परिषद सदस्य एम.बी.शाह, मञ्च व्यवस्थापन उपसमिति संयोजकमा संघीय परिषद सदस्य लाल बहादुर राना, स्वयंसेवक परिचालन उपसमितिमा संघीय परिषद सदस्य मोहन सारु, अतिथि सत्कार उपसमिति संयोजकमा राष्ट्रिय महिला मोर्चाका केन्द्रीय अध्यक्ष मनु थापालाई जिम्मेवारी तोकिएको हो । बैठककै सिलसिलामा त्यस क्षेत्रका सात जिल्लाहरुका लागि भेलाको पर्चा र सहयोग रसिदहरु पनि वितरण समेत गरिएको छ ।
बाँके जिल्ला अधिवेशन सम्पन्न:
यसैबीच बाँके जिल्लाको जिल्ला अधिवेशन पनि सम्पन्न गरिएको छ । अधिवेशनलाई पार्टीका महासचिव केशव सूर्यवंशीले उद्घाटन गर्नु भयो । अधिवेशन उद्घाटन गर्दै महासचिव सूर्यवंशीले संविधान सभाले जेठ १४ गते सम्म प्राप्त गरेका उपलब्धीहरुको रक्षा गर्दै थप उपलब्धीका लागि पार्टीले जनस्तरबाट संघर्ष गर्नुपर्ने बताउनु भयो । सो अधिवेशनमा स्थायी समिति सदस्य रत्न राना, संघीय परिषद सदस्यहरु अशोक पुन, मोहन सारु, टीकाराम शर्मा, एम.बी.शाहले राष्ट्रिय भेलालाई भव्यता पूर्वक सम्पन्न गर्नका लागि स्थानीय तहबाट सकृय रुपमा लाग्नु पर्ने बताउनु भयो । कार्यक्रममा साँस्कृतिक मोर्चाका उपाध्यक्ष धन कुमारी पुन, राष्ट्रिय युवा मोर्चा बाँकेका तिलक राना, बाँके क्षेत्र नं. १ का अध्यक्ष झक बहादुर खासु, क्षेत्र नं. २ का अध्यक्ष रुद्र बहादुर राना, कोहलपुर न.पा.का अध्यक्ष श्रीबहादुर पुन लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । अधिवेशन संयोजक धन सिंह रानाको सभापतित्व र सचिव धन बहादुर पुनको सञ्चालनमा सम्पन्न भएको थियो । जिल्ला अधिवेशनले धन सिंह रानाको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । जसमा उपाध्यक्ष धन कुमारी पुन र शेर बहादुर शाही, सचिव धन बहादुर पुन, सहसचिव टोप बहादुर राना, संगठन सचिव नर बहादुर थापा, कोषाध्यक्ष कृष्ण बहादुर बुढाथोकी चुनिनु भएको छ । सदस्यहरुमा क्रमशः तिलिसरा राना, यनु राना, लाल बहादुर गाहिन, मान बहादुर वि।सी।, रुद्र बहादुर राना, झक बहादुर खासु, टेक बहादुर गुरुङ्ग, दिलमान थापा, झक बहादुर बारी, दुर्गा बहादुर थापा, दीपक कुमारी थापा, दुर्गा साठीघरे मगर, मेघराज थापा, सन्त बहादुर थापा, शान्ति थापा र डी.बी. झेंडीलाई चयन गरेको छ । नवनिर्वाचित जिल्ला पदाधिकारी तथा सदस्यहरुलाई पार्टी महासचिव केशव सूर्यवंशीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको थियो ।