जातीय राज्य जनजाति हित विरुद्ध छ

Read Time:10 Minute, 39 Second

 श्री शिवलाल थापा मगर वरिष्ठ उपाध्यक्ष,राष्ट्रिय जनमुक्ति पार्टी

 लामो समयदेखि आदिवासी जनजाति आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्दै आएका आदिवासी जनजाति नेता तथा राष्ट्रिय जनमुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष श्री शिवलाल थापा मगर वर्तमान राजनितिक संकटबाट मुलुकलाई कसरी निकास दिन सकिन्छ भन्ने बारेमा चिन्तित छन् । एक दर्जन भन्दा बढी संघ-संस्थासंग आवद्ध थापा मगर, नेपाल मगर संघको पूर्व महासचिव समेत हुन् । राज्यसत्ता डटकम तनहुँका प्रतिनिधि खड्क आले मगरले दमौलीमा माघ २५ गते लिएको अन्तरवार्ता

–  तपाई राष्ट्रिय जनमुक्ति पार्टीको वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ । अहिले पार्टीको कार्यक्रम के छ ?

राष्ट्रिय जनमुक्ति पार्टी विगत २२ वर्ष देखि संघीयता, जातिय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व, धर्मनिरपेक्ष, अग्राधिकार लगायतका मुद्दाको लागि लड्दै आइरहेको पार्टी हो । हाम्रो संघर्ष निरन्तर जारी छ । हाम्रो पार्टीको राष्ट्रिय भेला यही २०६९ फाल्गुण २१,२२,२३ गते बाकें जिल्लाको नेपालगञ्जमा हुदैँछ । त्यो राष्ट्रिय भेला सफल पार्न पार्टीका सबै नेता तथा कार्यकर्ताहरु संगठन निर्माण तथा प्रचार प्रसारमा देशभर दौडाहमा लागि परेकाछन् ।

– अहिले मुलुक सत्ता पक्ष र प्रतिपक्ष बीच ध्रुविकृत भईरहेको अवस्था छ । तपाईको पार्टी कुन गठवन्धनमा सहभागी  छ ? 

२०४७ सालमा हामीले संघियताको कुरा गर्दा यहाँका कांग्रेस र कम्युनिष्ट पार्टीहरुले हाम्रा नेता तथा कार्यकर्ताहरुलाई बेईजत गरे, खिल्ली उडाए, अपमान गरे । त्यतिमात्र होइन सामाजिक वहिष्कार गर्न सम्म पनि पछि परेनन् ।  लक्ष सही थियो, बाटो ठीक थियो ।  जनमुक्ति पार्टीको यही हाँगो समातेर ने।क।पा माओवादीले सशस्त्र आन्दोलन गर्यो । फलस्वरुप सफल भयो र सत्तामा पुग्यो । हामीले व्यालेटको बाटो रोज्यौ । माओवादीले बुलेटको बाटो रोजेको कारणले छिटो सत्तामा पुगे ।
मुलुकमा जबसम्म पहिचान सहितको संघियताको सुनिश्चित हुदैन । तब सम्म संविधान निर्माण हुदैन । जबसम्म संविधान निर्माण हुदैन । हाम्रो संघर्ष पनि जारी रहन्छ । जहाँसम्म गठबन्धनको कुरो छ । कांग्रेस, एमाले भनेको एउटा फोहोर फाल्ने कन्टेनर जस्तै हो । जहाँ संघीयता चाहिदैन भन्ने फोहर पनि त्यहि छ , नेपाली जनताले मसानघाटमा पुर्याई सकेको राजालाई फर्काएर ल्याउनु पर्छ भन्ने फोहर पनि त्यहि गठबन्धन भित्र छ ।

पहिचान बिनाको संघीयता खोज्ने फोहर पनि त्यसैमा सामेल छ । त्यस्तो गठबन्धनमा लाग्नु भनेको आफ्नो खुट्टामा आफैले बन्चरो प्रहार गर्नु जस्तै हो । एकिकृत माओवादीले कम्तिमा पनि संघियताको लाइन छोडेको छैन । फेरी नेपालमा विद्यमान ३२ वटा राजनितिक दलहरु मध्ये २० वटा दलहरु प्रचण्ड नेतृत्वको गठबन्धनमा सहभागी छन् । हाम्रो पार्टी पनि यही संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनमा सहभागी छ ।

कांग्रेस, एमालेको गठबन्धन भनेको संघीयता विरोधीहरुको गठवन्धन हो र यसमा चार पाँचवटा पार्टीहरु मात्र सामेल छन् ।

 – प्रचण्ड पक्षको गठबन्धन भनेको सत्ता पक्षको गठबन्धन हो । बावुराम सरकारले धेरै गल्ती गरेर राष्ट्रिय-अन्तराष्ट्रिय क्षेत्रमा बदनाम गरेको कुरा प्रतिपक्ष, नागरिक समाज र बुद्धिजिविहरुले जोडतोडका साथ उठाई रहेका छन् ।  तपाईहरुले किन यो गठबन्धनलाई साथ दिई रहनु भएको छ नि ? 

होइन, होइन । गठबन्धनमा बस्यो भन्दैमा माओवादीले गल्ती गर्यो । सरकारले गल्ती गरेमा भने त्यसलाई आँखा चिम्लेर समर्थन गर्नुपर्छ भन्ने छैन । हाम्रो गठबन्धन संघीयताको लागि मात्रै हो । अन्य कुरामा हाम्रो समर्थन रहदैन । हाम्रो पार्टीको निर्णय के छ भने २० प्रतिशत गठबन्धनको काम गर्ने र ८० प्रतिशत पार्टीको काम गर्ने भन्नेछ ।

– राष्ट्रिय जनमुक्ति पार्टीलाई जातीय राज्य मागेको आरोप लागेको छ नि ?

हाम्रो पार्टी स्थापना कालदेखि नै जातीय राज्यको विरुद्धमा उभिएको पार्टी हो । हामीले त एक जाति विशेषको बाहुल्यता कायम रहने गरी स्वायत्त राज्यको माग गरेका हौँ । हामीले मगरको राज्य, गुरुङ्गको राज्य, राईको राज्य, लिम्बुको राज्य, थारुको राज्य मागेका छैनौँ । र मगराँतको नाममा राज्य माग्यो भन्दैमा, त्यसलाई मगरको राज्य माग्यो भन्ठान्नु सरासर गलत हो । मगर भनेको जाति हो मगराँत भनेको भूगोल हो ।

हामीले भूगोलको आधारमा, भाषाको आधारमा, संस्कृतिको आधारमा, ऐतिहासिकताको आधारमा राज्यहहरुको प्रस्ताव गरेका हौँ । साँच्चै भन्ने हो भने बाहिर जातिको नाममा राज्य नमागे जस्तो देखाउने तर भित्र एकलौटी ढँगबाट सत्ता कब्जा गरेर खाईरहेको जाति भनेको बाहुन नै हो । जस्ले एक जातीय हैकमबादको जातीय राज्य  अढाईसय बर्ष अगडि नै चलाई राखेका छन् ।
-मुलुकको वर्तमान राजनीतिक गतिरोधलाई निकाश दिने तपाईको पार्टीको कार्यक्रम के छ ?

आफूलाई ठूलो पार्टी भनेर कहिल्यै नथाक्ने कांग्रेस, एमाले, एमाओवादी संग मुलुकलाई निकाश दिने कुनै पनि कार्यक्रम छैन र निकाश दिन पनि चाहदैन । किनकि केन्द्रीकृत शासनभित्र बसेर एकजातीय हैकमबाद चलाई रहन पल्केकाहरुलाई थाहा छ कि यहाँ संघीय राज्य बनेमा अधिकार जति आदिवासी जनजाति, दलित, मुश्लिम, मधिशे, महिला, अल्पसंख्यक समुदायको हातमा जान्छ ।
यी ठूला दलहरुले मुलुकलाई निकाश दिन नसक्ने कुराको ठहर राष्ट्रिय जनमुक्ति पार्टीले गरेको छ । त्यसकारण हाम्रो पार्टीको निर्णय के रहेको छ भने अब मुलुकलाई साँच्चीकै निकाश दिने हो भने साना राजनितिक दलहरु मध्ये राष्ट्रिय जनमुक्ति पार्टीलाई सरकारको नेतृत्व दिनु पर्छ । नेपालको सन्दर्भमा हाम्रा पार्टीका अध्यक्ष एम।एस। थापा नै संघीयताको संस्थापक भएकोले उहाँलाई नै हामीले प्रधानमन्त्रीको प्रस्ताव गरेका छौँ । साना दलहरु प्रायको एम।एस। थापालाई समर्थन रहेको छ । एमएस थापाको नेतृत्वको सरकारले मात्र निर्वाचन गरी मुलुकलाई निकाश दिन सनक्छ भन्ने हाम्रो ठहर छ ।

– नेपालका आदिवासी जनजातिहरुले राष्ट्रसंघीय महासन्धीको धारा १६९ अन्तरगत जल, जमिन, जँगल को मागलाई तिब्र रुपमा अगाडी सारेका छन् । के यी ३ वटा मागहरु पूरा भएपछि आदिवासी जनजातिहरुको आन्दोलन समाप्त हुन्छ त ? 

महासन्धीमा उल्लेख भएका मागहरु निश्चित रुपमा ठीक छन् । जल, जमिन, जँगल आदिवासीहरुको हातबाट खोसिएर गैर आदिवासीहरुको पहुँचमा गएकोमा कुरामा कसैको दुई मत छैन । त्यो यहाँका आदिवासीले फिर्ता पाउनु पर्छ । तर हामीले के कुरा बुझ्नु पर्दछ भने जसको हातमा राज्यसत्ता छ उसैले जल, जमिन, जँगल कब्जा गरेको छ । नेपालको सन्दर्भमा हिजो आदिबासी जनजातिहरुको राज्यसत्ता थियो र जल, जमिन, जँगल पनि उसैको हातमा थियो । तर अहिले बाहुनको हातमा राज्यसत्ता भएकोले जल, जमिन, जँगल पनि उसैको हातमा छ । अतः आदिवासी जनजातिहरु सामाजिक कुरामा मात्र नअल्झी राजनीतिक अधिकारको लागि लड्न सक्यौँ र राज्यसत्तामा पुग्न सकेमात्र हाम्रो हित हुनेछ ।
राजनीतिक अधिकार प्राप्तिको लागि राजनीतिक भर्याङको आवश्यक पर्दछ । सही किसिमको राजिनितिक दलको पहिचान गरी त्यसको भर्याङमा उक्लन सके मात्र आदिवासी जनजातिहरुको भलो हुनेछ । राज्यसत्ताको नेतृत्वमा पुगेपछि मात्र आदिवासी जनजातिको आन्दोलन सफल हुन्छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %