माघ २३ , पोखरामा जारी अन्डर नाईन्टीन राष्ट्रिय क्रिक्रेट प्रतियोगितामा क्षेत्र नम्बर २ वीरगंज वीजयी भएको छ । पोखरा रंगशालामा भएको खेलमा वीरगंजले क्षेत्र नम्बर ७ जनकपुरलाई १० विकेटले पराजित गरेको हो । ८१ रनको सामान्य लक्ष्य लिएर जवाफी व्याटिङमा उत्रिएको वीरगंजले १३ ओभरमा विना विकेटको क्षतिमा लक्ष्य पुरा गर्यो ।
जितसँगै वीरगंजको सेमिफाइनल प्रवेशको सम्भावना कायमै रहेको छ । यसअघि टस जितेर पहिले व्याटिङ गरेको जनकपुरले २२ दशमलव २ ओभरमा ८० रन बनाएर अलआउट भएको थियो ।
समूह चरणका ३ वटै खेलमा हार व्यहोरेको जनकपुर प्रतियोगिताबाट बाहिरिएको छ । समूह ए बाट भैरहवा यसअघिको २ खेलमा जित हात पार्दै सेमिफाइनल प्रवेश गरिसकेको छ भने अर्को सेमिफानल पुग्ने टोलीको टुंगो भने भोली हुने पोखरा र भैरहवाबीचको खेलको नतिजाले टुंगो लगाउनेछ । भोलिको खेलमा भैरहवाले पोखरालाई पराजित गरेमा वीरगंज सेमिफाइनल प्रवेश गर्नेछ भने पोखराले भारी अन्तरले भैरहवालाई पराजित गरेमा पोखरा सेमिफाइनल प्रवेश गर्नेछ ।