मर्म विनाको राष्टियता – खपागीं डायरी (भाग ५)

पढ्नु, व्यवहारमा जानु सँगसँगै अध्ययन गर्नु, यसबाट अनुभव सोतः प्राप्त हुँदै जान्छ । यो स्वयंसिद्ध छ । यस अर्थमा म सँग ४० वर्षको व्यहारले, अध्ययनले ज्ञान पनि दिएको छ । मैले महाकाली, मेची, पहाड, तराई घुमेको छु । यो घुमाई भुगोल भन्दा पनि मानव समाज, मानव समाज भित्रको नेपाली समाज, यस भित्र पनि जातिय समाज विशेष गरि मगर समुदायको धेरथोर अनुभव गर्ने सौभाग्य पाएको छु, यसैमा केन्द्रित छ । यसबारणले पनि नेपाली आदिवासी, जनजाति भित्रका विभिन्न जातिय समुदायसँग कतिपय सवालमा, विशेषतामा, मगर समुदायको फरक सोँच भएको हो । यहाँ म स्वर्गिय डा. हर्क गुरुङ सम्झन्छु । “मैले देखेको नेपाल” को अंगे्रजीमा लिखित पुस्तकको भूमिकामा वहाँले कतै लेख्नुभएझैं लागेको छ कि नेपाल बुझ्न नोपल  घुमेकै हुनुपर्छ । आफ्नो भ्रमणमा मैले यसलाई पनि आत्मसात गरेको छु । मेरो यो घुमाईको अनुभवलेनै मलाई कतिपय सावालमा सम्झौता हिन बनाएको छ ।  जुन युद्धमा आफ्नो भूमिका निर्णायक रहन्न, त्यसको लागि चिन्तन निर्णायक गर्दा आफुसँग भएको अमुल्य उर्जा खेर गइरहेको हुन्छ । प्रसँग नमिल्ला तरपनि त्यहिँबाट यहाँसम्म आएको छु । प्रसँग बस स्वर्गिय गजेन्द्र नारायण सिंह, सप्तरि निवासी, नेपाली काँग्रेस पार्टि परित्यक्त, ले प्रारम्भमा दलविहिन पञ्च्यात शासन प्रणाली भएको कारणबाट होला । “नेपाल सद्भावना परिषद्” गठन गर्नुभो । तराईमा यो परिषद् स्थापित हुँदै गयो । सामाजिक, राजनितिक र आर्थिक रुपबाट पिडित मधेसी समुदायको लागि सिंह ज्यू मसिहानै हुनुभएको थियो । बहुदलिय शासन प्रणालीको पुनः बाहालि पश्चात यो परिषद् पार्टिमा रुपान्तरित भयो । २०४८ सालको पहिलो आम चुनावमा यसले संसदमा ६स्थान प्राप्त गर्यो । यो पार्टी संघिय शासन प्रणालीको पक्षधर थियो । त्यसैगरि एम.एस. थापाको अध्यक्षतामा रहेको “नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा” आफ्नो प्रारम्भिक कालमै संघिय शासन प्रणालीको पक्षधर थियो । यस अर्थमा यि दुवै राजनितिक दल समकालिन थिए । मलाई लाग्छ मोर्चाले संघियताको स्वरुपको चित्र अस्पष्ट राखेको थिएन । यसकारण एक दिन एउटा घटना संघियता सम्बन्धमा हुन जान्छ । घटना यसप्रकार रहेको छः  दिन कुन हो थाहा छैन । वि.सं. २०४७ हो । सुश्री भद्र कुमारी घले निवास मैतिदेवीमा वहाँ लगायत श्रद्धेय खगेन्द्र जँग गुरुङ्ग, स्व. काजीमान कङ्दङ्वा, एम.एस. थापा, गोरेबहादुर खपाङ्गी, स्व. कृष्णराज आङ्देम्वे, चन्द्र्रप्रसाद योङया लगायत त्यहाँ उपस्थित भएका अन्य संघियता सम्बन्धी छलफलकै लागि भेट भएका थियौं । छलफल विहानैबाट प्रारम्भ थियो । मलाई लाग्छ, यो काम ५ भण्टा भन्दा कम भएन । काजीमान कङ्दङ्वा अलि पछि आउनुभएको थियो र एउटा कागजमा नेपालको नक्सा अंकित सवैको सामुन्ने राख्नुभो । डा. हर्क गुरुङ्गले बनाएर दिनुभएको नक्सा भन्दै काजिमान कङ्दङ्वाले आफ्नो कुरा राख्नुभो । वहाँबाट सार्हो हुन थालेपछि मैले त्यहि भवनको पल्लो कोठाबाट डा. गुरुङ्गलाई फोन गरें । वहाँको जवाफ थियो काजिमानले आफ्नो विचार डा. गुरुङ्गको नाममा बेच्दै छ । खगेन्द्रजंग गुरुङ्ग, काजिमान कङ्दङ्वा र भद्रकुमारी घले मुलतः १२ ओटा एकल जातिय राज्यको पक्षधर हुनुहुन्थ्यो कुरा मिलेन एम.एस. थापा, म र हाम्रा पक्षकाहरु अन्त्यमा आफ्नो गन्तव्य तर्फ लाग्यौं ।  त्यसबेलाको हाम्रो अडान “संघात्मक सरकार” विकासको लागि हो भने जातिय हक अधिकारको लागि “जातिय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व” । यो विचार कुनै जाति विशेषको लागि नभएर बहुजातिय नेपालको लागि थियो । जातिय मुक्ति चाहनेको लागि यो विचार गुदि नै थियो भने अन्य (गैर जनजाति) को लागि शान्तिको सम्झौत थियो । यि विचारमा म आज पनि अडिग छु र त्यस्तै परि रहे अडिगै रहनेछु । म पुनः जोडि दिएर भन्न चाहन्छु कि सामाजिक, राजनितिक र आर्थिक रुपले पछि रहेका समस्त नेपाली जनताको लागि यो विचार साझा विचार हो । मुलुकका जनता पुर्णरुपले खुला राजनितिक प्रतिस्पर्धामा जान सक्षम नहुन्जेल यो भन्दा कारगर बाटो छैन । नेपालको संविधानले यसलाई अवलम्बन गरेकै हुनुपर्छ । यो विचार पद्धतिबाट मुलुकमा बादि देखि बाहनु सम्मले, मेहतर देखि पण्डित सम्मले सामाजिक, राजनितिक, आर्थिक रुपमा समानुपातिक दामासाहि भाग पाउनेछन् ।  माथिका दुई विचार मध्ये संघियता सम्बन्धमा राज्य संविधान सभाको निर्वाचनमा मौन रह्यो भने समानुपातिकता लाई विकृत बनाउन मिश्रित निर्वाचन प्रणालीको आधारमा चुनाव गराईयो । यहि समानुपातिक भने छापाबाट अनावश्यक हो–हल्ला गराईयो । परिणाम गिरिजाप्रसाद कोइराला समानुपातिकको कोटामा सभासद् , दुई निर्वाचन क्षेत्रबाट पराजित माधव कुमार नेपाल सभासद् बनाइए ।  अझा नेकपा मोआवादिले संवैधानिक रुपमै पार्टि अधिनायकत्व कायम गराउन पुर्ण समानुपातिकको ढिडोरा पनि काफि नै मचाए । निर्वाचनलाई निरकुंश बनाउनु १० हजार मतदाता नामावली निर्वाचन प्रयोजनको लागि दल दर्ताको शर्त बनाइयो । यसबाट नेपाली काँग्रेस नेकपा एमाले र नेकपा माओवादिलाई टाढै राखियो । यस्तो पक्षपात प्रारम्भमै यि तिन पार्टीले संविधान सभामा जाने हत्कण्डा अपनाइएको थियो । १० हजार मतादातको नाम यि तिन पार्टीले जुराउनु नपर्ने ।  निर्वाचनमा नेपाली बालिगहरु जो देशबाहिर छन् बञ्चित गराइएको छ । यस्तै अनेकन नराम्रा काम निर्वाचनले, निर्वाचन आयोगले गर्न सकेको छ । समयमा उल्लेख हुँदै जालान् ।  म पुनः जातिय जनसंख्याको आधारमा समानुपातिक राजनितिक प्रतिनिधित्वको कुरा गर्न चाहन्छु । वास्तविकतामा यो विचार आरक्षणको उच्चतम रुप हो । एउटा कुनै कार्यक्रममा खाना खाँदै गर्दा डा. कृष्ण भट्टचनले मलाई भन्नुभो, थकालीको जनसंख्या अनुसार यो समानुपातिकको विचारधार उपयुक्त छैन थकालीको लागि । मैले खासै वहस गरिन । मुलुकको झण्झटलाई अंकगणितले दिएको आधार वर्तमान नेपालको लागि उचित मात्र नभई सहि र सटिक समाधान पनि हो । मगरले पहिलोपटक नेपालको विषम राजनितिक समाधानको लागि उठाएको कारणबाट यो विवादित भएको हो भने सिद्धान्त नेपालको वर्तमान अवस्थामा यो स्विकार्य छ । यसको अर्थ यो परित्यक्त होइन । समयले ढिलो चाँडो एक ठाउँमा ल्याउँछ । स्व. गजेन्द्र नारायण सिंहको नेपाल सद्भावना पार्टीले जाति जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्वको विचारलाई आत्मसात गरेको पाईँदैन । यो विचार त्यहाँ (तराई) आज नउठेतापनि भोलि नउठि रहन सक्ला झैं छैन । मैले पटक पटक भन्दै आएको छु कि म संघियता विरोधि होइन । प्रारम्भमा एकल जातिय संघियताको समर्थन गर्नू मैले उचित ठानिन । तर म यसको विरुद्धमा पनि छैन । यसको अर्थ म समर्थन गर्न सक्दिन । एकल जातिय राज्य प्राप्त गर्नको लागि धेरै शर्तहरुको आवश्यकता पर्छ । ति शर्तहरु अकल्पनिय पनि छन् । बादविवाद भएकै छैन भन्ने त होइन बहस चलिराखेकै छ, चल्नुपनि पर्छ । वादे वादे जायते तत्वबोध । यो बोध प्राप्त गरिन्छ भने मलाई पनि एकल जातिय संघियता फाप अफाप जे भएतापनि स्विकार्य नै हुनेछ । मेरो भनाई हालमा यति हो कि इतिहाँसलाई वर्तमान स्थान दिने प्रयास नगर्दा नेपालका जनजाति (आदिवासी-अन्य) दु्रतर गतिमा सिंहदरबार सत्तामा पुग्नेछन् भन्नेमा म कम्तिमा विश्वस्त छु । इतिहाँसको अपमान हुनुहँदैन । म यसको घोर विरोधी छु । यसको अर्थ इतिहाँसले आफ्नै ठाउँमा सम्मान पाउनु पर्छ । अजायब घरमा वर्तमान वस्न सक्दैन । प्रतिपक्षको आलोचना गर्न पाउने अधिकार सत्तापक्षले सुरक्षित राखिदिनु पर्छ, यहि हो लोकतन्त्रको गुदि ।  संस्थाको स्वरुप जस्तोसुकै होस् त्यसले दिर्घकालिन र अल्पकालिन बाटो अपनाएको हुनुपर्छ । यसलाई रणनिति र कार्यनिति भनिन्छ र यो मुलुकको लागि खुला गरिदिनु पर्छ । मलाई लाग्छ  हामी संस्थाबाजले यस्ता कुरालाई स्पष्ट गर्न चुकेको छ जस्तो लाग्छ । यिनै कुराको अस्पष्टता रहुन्जेल कार्यकर्ताहरु भ्रममा रहिरहन्छन् । उदाहरणार्थ मगरको लागि लखन थापाको सवाल रणनिति हो या कार्यनिति यसमा मगर बाहेक नेपाली जनता कुन हदसम्म सहमत छ । यस्तै पृथ्वि नारायण शाहको शालिक भत्काईनु आदि । व्युरोक्रेसी र राजनितिले चलनचल्तिमा रहेको दौरा सुरवाल र ढाकाको टोपी परित्याग गर्नु के हो ?, किन परित्याग गरियो ?, बहस भएको छ ? यस्ता अनेकन साना तिना कुराहरु छन् जसमा विवाद भइरहेको हुनाले आदिवासी-जनजाति नेतृत्वको कुरा परै राखौं सामान्यमा पनि विवाद सुल्टिएको छैन । तसर्थ एकता आकाशको फल भएको छ । त्यसैगरि नेपाली राष्ट्रियताको सवालमा पनि  मत्यैकता हुन सकेको छैन । आज देशभक्तिको कुरा गौण छ । राष्ट्रियताको कुरा मात्रै अगाडि देखा परेको छ । देशभक्तिता र राष्ट्रियता अलग गरेर हेर्न सकिन्छ ? त्यसकारण जनजातिको विचमा यो कुरा उठ्ने गर्यो कि उनिहरुसँग देश छ राज्य छैन यो भनाईले सावित गर्छ उनिहरु राष्ट्रबादि होइनन् । अर्थात् विकासक्रमले अद्यावधि देश मात्र छ भन्ने समुदाय मुलतः देशभक्त हुन् । देशभक्तहरुले आफ्नो परिचय नेपालको इतिहाँसमा ब्रिटिश इन्डियासँग युद्ध गरेर देखाएका छन् । तिब्बतसँग युद्ध गरेर देखाएका छन् । यसको अर्थ हो देशभक्तहरु देशमा आघात परि आउँदा स्वदेशि मात्र नभई विदेशी शक्तिको विरुद्धमा पनि युद्ध गर्दा रहेछन् । देशभक्तितालाई अनुपस्थित गराएर राष्ट्रियता जन्मिन सक्तैन, यो ध्रुव सत्य छ । ४० वर्ष अघि मगरलाई सिंहदरबार पुर्याउने अभियानमा लाग्दा म मा केही नौला अनुभुतिहरु अनुभुत भएका छन् । त्यस सम्बन्धमा म यहाँ छोटो चर्चा गर्न चाहन्छु ।

१. वेद र वेदका चार भाग त्यस मध्ये ऋग्वेदका १३ खण्डहरु, २. वेदान्त र यसका ८ भागहरु, ३.  उपनिषद् र यसका १०८ भागहरु, ४. पुराण र यसका १८ भागहरु, ५. रामायण, ६.  महाभारत, ७. स्मृतिहरु, ८. स्ततेत्रहरु, ९. गिताहरु, १०.  भागवतहरु, ११. स्वस्थानी, १२. सुखसागर आदि इत्यादि ।

  यिनलाई मैले एकमुष्ट ब्राह्मणबादको श्रोत ठान्थे । यसपक्षमा म अहिले पनि विवाद गर्न चाहन्न । ब्राह्मणवादको अर्थ मुलतः नकारात्मक हुन्छ नेपालको सन्दर्भमा । दुधको दुध पानीको पानी छुट्याउने सदासयताबाट मानिस कहिल्यै टाढा भाग्ने प्रयास गर्नुहुँदैन । यस अर्थमा माथि वर्णित पुस्तकहरुमा सकारात्मक ज्ञान पक्षले मलाई घोत्लिन घचघच्यो । तत्पश्चात साँच्चै भन्नुपर्दा म मा रहेको अन्धकार तत्पश्चात शनैशनै विलिन हुँदै गएको अनुभव भएको छ । अब म मुढाग्रही बन्न चाहन्न । सहअस्तित्व छैन भने अस्तित्वै छैन भन्ने बुझ्न थालेको छु । विद्धान विवेकीहरु विश्वमा विमर्श गर्छन् । मुर्खहरु मात्र झगडा गर्छन् । “अहम् अस्मि” भनेझैं पाकिस्तानी गजलकार गुलाम अलिले पनि “हम हैं तो खुदा भी हैं” यसरी एकअर्काको अस्तित्वलाई स्विकार गर्ने दर्शनबाट फ्रान्सका अस्तित्ववादि विद्धान जाँ पाल सात्र्र पनि प्रभावित नभई रहन सक्नु भएन ।  वेद आफैमा सनातन हो धार्मिक होइन । यति हुँदा हुँदै पनि यसभित्र रहेका पचासौं खरावीहरु जनकपुर नगरिका राजा जनकबाट हटाइका छन् तसर्थः उनि राजर्षी भए । त्यति मात्र होइन विदेह पनि कहलाइए । उनि आफैं स्वयं अध्यात्मवादी थिए । उनको दरबारमा अस्टावक्र, गार्गी जस्ता विद्धान विदुषीहरु उपस्थित रहन्थे । यस्तो देखिन्छ यिनिहरुले राजा जनकबाट प्रत्यक्ष अप्रत्यक्ष आफुलाई फाइदा गर्ने कुनै भौतिक पद्धार्थ ग्रहण गरेन तर बनारसबाट आउनुभएका याज्ञवल्कले राजा जनकबाट असंख्य गाईहरु दक्षिणाको रुपमा ग्रहण गरे । यसबाट यो सावित हुन्छ कि ब्राह्मणहरु लिने हुन्छन् दिने हुँदैनन् । यहि स्वभाव (संस्कृति) आजको नेपाली राज्यसत्तालाई सर्पले झैं कुण्डली मारेर बस्ने ब्राह्मणहरुले चरितार्थ गरेका छन् । राजा जनक अध्यात्मवादी थिए । जनकपुरमा जाने जो कोहीले आज यिनको कुटि देख्न सक्छन्, दरवार होइन । तर अर्कातिर यिनकै छोरी सिताको लागि भने विशाल भव्य जानकी मन्दिर दर्शन गर्न सक्छन् । यो सोंचनिय छ ।  भगवान बुद्धले वेदमा भएका बाँकी अवगुणहरु हटाउँदै लगे । त्यसैक्रममा बुद्धले शस्त्रको ठाउँमा शास्त्रलाई अघि ल्याए । बुद्धले बौद्धिक शास्त्रार्थ प्रारम्भ गरे । शास्त्रार्थको बैद्धिक परम्परा बन्दबाट खुलातार्फ लगिदिए । यसलाई सर्वसाधारणको गाउँ गाउँ पुर्याईदिए । यो निश्चयनै एउटा क्रान्ति थियो । नेपालको नाम वेदमा उल्लेख छ । विश्व शब्दकोषले यसको जानकारी हामीलाई गराएको छ । यसबाट थाहा हुन्छ । मगर नेपालको आदिवासी मात्र नभएर प्राचिन जाति पनि रहेछ । मगर अतियुक्ति नहोला  नोपाल भन्दा जेठो रहेछ । यसको संस्कृति र संस्कृतिबाट प्राप्त सभ्याताको प्रत्यक्ष ज्ञान आज पनि विशुद्ध मगर समाजमा व्यपाप्त छ । स्व. दुर्गबहादुर रानामगर पाल्पा निवासी नेपाल मगर संघका केन्द्रिय उपाध्यक्ष भाषण गर्ने क्रममा यो भन्न विर्सन हुन्नथ्यो कि मगरहरु हरप्रकारबाट सुसंस्कृत र सभ्य छन् । अनेकन उदाहरण दिइ दिई यसलाई छर्लङ्ग पार्ने प्रयास गर्नुहुन्थ्यो ।

मितिः २०६९ माघ २० गते २, फेब्रुअरी, २०१३ गोरेबहादुर खपाङ्गीमगर धोविघाट, ललितपुर

क्रमशः