दीपा आले,
नेपालगन्ज माघ १७ ,गते स्थानीय जनप्रतिनिधिको अभावमा स्थानीय स्वास्थ्य संस्था व्यवस्थापन समितिले उल्लेखनीय काम गर्न नसकेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । स्थानीय स्वायत्त शासन ऐन अनुसार स्वास्थ्य संस्था स्थानीय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएपनि स्थानीय निकाय रिक्त भएको हुँदा समितिले पूर्ण रुपमा काम गर्न नसकेको सहभागिहरुले बताए ।
स्थानीय स्वास्थ्य संस्था व्यवस्थापन समितिका पदाधिकारीको लागि आयोजना गरिएको एक दिने कार्यशाला गोष्ठीमा सहभागी भएका समितिका पदाधिकारीहरुले यस्तो बताएका हुन । स्वास्थ्य सम्बन्धि दिइने सेवा सुविधाहरु समुदायमा सहज रुपमा प्राप्त होस भन्ने उद्देश्यले २०६३ को स्थानीय स्वास्थ्य संस्था व्यवस्थापन समितिको निर्देशिका परिमार्जन गरि व्यवस्थापन समितिलाई सक्रिय गराउन सबै क्षेत्रबाट प्रतिनिधित्व गराएपनि कार्यान्वयनमा समस्या भएको कार्यक्रमका सहभागीले औल्याए ।
कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका वरिष्ठ जनस्वास्थ्य प्रशासक जीवन कुमार मल्लले सर्वसाधारण जनसमुदायमा स्वास्थ्य सेवा सम्बन्धि जनचेतना र जानकारी दिलाउन समितिका पदाधिकारीहरुको महत्वपूर्ण भूमिका रहेको औल्याउनुभयो । उहाँले जनताको घरदैलौसम्म पुगि स्वास्थ्य सम्बन्धिका विभिन्न खाले सेवाहरु बारे जानकारी दिई सर्वसाधारणले अकालमै ज्यान गुमाउने अवस्थालाई निर्मुलिकरण गर्नमा समितिका पदाधिकारीहरुले सक्रिय भूमिका निर्वाह गर्न समेत अनुरोध गर्नुभयो ।
कार्यक्रममा बोल्दै संजालका अध्यक्ष पूर्णलाल चुकेले स्वास्थ्यसंग बाँच्न पाउनु हरेक नागरिकको नैसर्गिक अधिकार भएको हुँदा पनि स्वास्थ्य बारेको सम्पूर्ण जानकारी दिन समितिको दायित्व रहेको बताउनुभयो । प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र, काठमाडौको सहयोगमा सम्पन्न भएको गोष्ठिमा जिल्ला जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरिक्षक राम बहादुर मल्लले स्थानीय स्वास्थ्य संस्था व्यवस्थापन समितिको काम, कर्तव्य, अधिकार आदिका बारेमा प्रस्तुति गर्नु भएको थियो ।
कार्यक्रम जिल्ला संजाल बाँकेका सचिव उमा थापामगरले संचालन गर्नु भएको थियो । बुधबार नेपालगन्जमा स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण जिल्ला सञ्जाल बांकेको आयोजनामा भएको कार्यक्रममा व्यवस्थापन समितिका अध्यक्ष, सदस्य सचिव र महिला सदस्य गरि ३५ जनाको सहभागिता रहेको थियो ।