माघ १६ ,प्रजातन्त्र र स्वतन्त्रता प्राप्तिका लागि आफ्नो ज्यान बलिदान दिने ज्ञातअज्ञात सहिदहरुको सम्झनामा आज देशभर सहिद दिवस मनाइएको छ । सहिद सप्ताह मुल समारोह समितिको आयोजनामा राजधानीको लैनचौरस्थित सहिदपार्कमा बिशेष समारोहका बीच श्रद्धाञ्जली सभा आयोजना गरेको हो । रत्नपार्कस्थित शान्तिवाटिकामा भई प्रभातफेरी सहित सहिद स्मारक लैनचौरमा पुगेर श्रद्धाञ्जली अर्पण गरिने कार्यक्रम अनुसार प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले अमर सहिदहरुको स्तम्भमा माल्यार्पण गरी सहिदप्रति श्रद्धान्जली प्रकट गर्नुभएको छ । कार्यक्रममा मन्त्रीहरु, सरकारका वरिष्ठ अधिकारीहरु र सुरक्षा प्रमुखहरुको सहभागिता रहेको थियो । नेपाली जनतालाई रैती र प्रजाबाट सार्वभौम सत्ता सम्पन्न नागरिक बनाउन जहानियाँ राणा शासन, निरंकुस पञ्चायती ब्यवस्था र तानाशाही राजतन्त्र बिरुद्ध प्रजातान्त्रिक क्रान्ति र लोकतान्त्रिक जनआन्दोलनहरुमा वीर सपुतहरुले गरेको बलिदानको स्मरणमा हरेक बर्ष माघ १६ गते सहिद दिबस मनाउने गरिन्छ । यस अबसरमा आज सरकारले सार्बजनिक बिदा समेत दिएको छ । जहानियाँ राणा शासनको अन्त्यका लागि ज्यानको बाजी लगाएका नेपालका अमर सहिदहरु शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र दशरथ चन्दका साथै लोकतन्त्र प्राप्तिका लागि बलिदान दिने ज्ञात अज्ञात सहिदहरुको सम्झनामा प्रत्येक बर्ष माघ १० गतेदेखि एकसाता सम्म सहिद सप्ताहको रुपमा मुलुकभर बिभिन्न कार्यक्रम गर्ने गरिएको छ । बि.स १९९७ माघ १० गते राणाशासन बिरुद्ध नेपाल प्रजापरिषद स्थापना गरि जनतालाई आफनो हक र अधिकारको लागि क्रान्ति गर्न उत्प्ररित गर्ने शुक्रराज शास्त्रीलाई टेकु स्थित खरिको रुखमा झुण्डयाएर मारिएको थियो भने धर्मभक्त माथेमालाई त्यसको तीन दिनपछि सिफलमा झुन्डयाइएको थियो । यस्तै दशरथ चन्द र गंगालाल श्रैष्ठलाई भने माघ १५ गते काठमाडांैको बिष्णुमती किनार शोभाभगवतीमा गोली हानी मृत्युदण्ड दिइएको थियो । गणतन्त्र घोषणापछिको सरकारले करिव ८ सय भन्दा बढिलार्ई सहिद घोषणा गरिसकेको छ । यसैबीच सहिद दिवसका अवसरमा राष्ट्रपति डा रामवरण यादवले आज एक सन्देश दिनुहुँदै वीर सहिदको सपनालाई साकार पार्दै स्वतन्त्र एवं निस्पक्ष निर्वाचनद्धारा संविधानसभाको गठन देशलाई संविधानदिन सकेमात्रै सहिदको सम्मान हुने बताउनु भएको छ । राष्ट्रपति यादवले सन्देशमा सानातिना मतभेद विर्सेर राष्ट्रिय हितका लागि एक हुन पनि अपील गर्नु भएको छ । आर्थिक रूपमा समृद्ध र न्यायपूर्ण समाज निर्माणको परिकल्पनासहित लोकतन्त्रका लागि आफ्नो जीवन बलिदान गर्ने वीर सहिदले देखाएको बाटो अनुसरण गर्नु हाम्रा लागि उत्तिकै आवश्यक रहेको पनि उहाँले सन्देश व्यक्त गर्नुभएको छ । यसैगरी, उपराष्ट्रपति परमानन्द लोकतन्त्र तथा गणतन्त्र स्थापना गर्नका लागि सहिदको योगदानको कदर गर्दै निर्भीकरूपमा देश र जनताका लागि आफ्नो जीवनको आहुति दिने सहिदको सम्मान गर्नुपर्ने बताउनुभएको छ । यस्तै सहिद दिवसकै उपल्यक्षमा एक सन्देश दिदै प्रधानमन्त्री डा बाबुराम भट्टराईले राष्ट्र र जनताका हितका लागि आफ्नो जीवन उत्सर्ग गर्ने सहिदप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । उहाँले सन्देशमा नेपालको राजनीतिक इतिहास निर्माण गर्ने क्रममा मुलुकको परिवर्तनका लागि जनताका पक्षमा उभिएर आफ्नो ज्यान बलिदान गर्ने सहिदको योगदान अतुलनीय रहेको समेत बताउनु भएको छ । विभिन्न राजनीतिक दलका नेताहरुले पनि सहिद दिवसका अवसरमा सन्देश दिनुभएको छ ।
आज सहिद दिवस, विभिन्न कार्यक्रम गरिंदै
Read Time:5 Minute, 17 Second