शुन्दर गुरूगं,बुटवल
सहमतिको दुहाई दिएर संक्रमणकाल लम्बाउने काम पुनः सहमतिको नाममा भएका असहमतिले गरेको छ । दलहरु बीच सहमति भए प्रधानमन्त्री डा. बाबुराम भट्टराईको पुरानो बोली र प्रधानमन्त्री डा. भट्टराईले राजीनामा दिए सहमति गर्ने विपक्षी दलका बोली रुपी गोली निसानामा नलाग्दा सहमतिको बाजा बजेको छैन् । जहिले पनि असहमतिका बाजाहरु बज्दा जनता वाक्का दिक्क प्याक्क भएका छन् भन्ने कुरा बुझ्न आवश्यक छ । अब बैशाषमा हुने भनिएको संविधान सभाको पुनः निर्वाचन जेष्ठमा गर्ने भनेर प्रधानमन्त्रीले प्रस्ताब अगाडि सारेका छन् । जुन छेउ न टुप्पाको छ । दलहरु बीच सहमति भए पो जेष्ठमा निर्वाचन हुन्छ । तर दलहरु बीचमा सहमति हुने कुनै टुंगो छैन् । सबैको नजर सत्ता र कुर्चीमा छ । यस्तो अवस्थामा सत्ता र कुर्चीको दृष्टिकोण परिवर्तन गरी देश, समाज र जनताको दृष्टिले राजनीतिलाई हेर्नु पर्ने हो । तर हाम्रा नेता र नेतृत्वलाई ती आँखा भगवानले किन दिएनन् । अब भगवानसँग नेपाली जनताले सोध्नु पर्ने भएको छ । तेतीस कोटी देवीदेवता भएको देशमा कुन भगवानसँग सोध्ने हो त्यति विवाद भएर असहमतिको थुप्रो आइ लाग्ला । त्यसैले सहमतिको सुझावहरु पनि दलहरुलाई दुहाई दिए सरह नै हुनेछ । किनकी नेता पनि जनताकै थुप्रोबाट गएका हुन् । अर्का कुरा राजनीतिलाई कमाई खाने भाडो बनाइएको छ । जुन उद्योगमा परिणत भएको छ । जहाँ देश, समाज र जनताप्रतिको उत्तरदायी र सेवाभाव हराएरको छ , हाम्रो देशका सबै दलका नेताहरूमा ।