सुलभ तामाङ वाङ्मय पुरूस्कार २०१२ सम्बन्धि प्रेस विज्ञप्ती

याम्बुरी बुक प्वाइन्ट
अनामनगर, काठमाडौं

मितिः २०६९ पुस २३ गते
विगत दुईवर्षदेखि सुलभ तामाङ प्रतिभा प्रतिष्ठानले स्व. सुलभ लामा तामाङको नामबाट विभिन्न विधाका पाँच पुरस्कार प्रदान गर्दै आएको यहाँहरुलाई विदितै होला । यसपटक हामीले ती पाँच पुरस्कारलाई समायोजन गरेर जनही २५ हजार रुपियाँ रहने गरि नेपाली र तामाङ वाङमयको दुइवटा पुरस्कार बनाएको सगर्व सुनाउन चाहन्छु । प्रतिष्ठानका मुल ध्येय वाङमयमा केन्द्रित हुने रहेको र विगतमा वितरण गरिएको पुरस्कार विधागत हिसाबले निकै फराकिलो हुन गएकोले यसपटक सुलभ तामाङ वाङ्मय पुरस्कार र सुलभ तामाङ नेपाली वाङ्मय पुरस्कार नामाकरण दुइ पुस्कारमा समायोजन गरिएको हो । यी दुइ पुरस्कार उदेष्य तामाङ तथा नेपाली वाङमयका उत्कृष्ट कृतिलाई प्रोत्साहन गर्नू रहेको छ ।

साथै यसपटकदेखि पुरस्कार वितरण गर्ने जिम्मा याम्बुरी बुक प्वाइन्टले लिएअनुसार प्रत्येक वर्ष पुरस्कार वितरण गर्नुभन्दा अघि पुरस्कार पाउने व्यक्तित्वहरुको नाम घोषणा गरेझैं यस वर्ष पनि सम्मानित व्यक्तित्व र पुरस्कृत कृतिको नाम घोषणा गर्न चाहन्छु ।

पुरस्कार स्रष्टा पुरस्कार पाउनुपर्ने आधारहरु
सुलभ तामाङ वाङ्मय पुरस्कार  अमृत योन्जन–तामाङ  तामाङ वाङ्मयका भाषा र साहित्य विधामा दशकौंदेखि उल्लेखनीय योगदान पुरयाउदै आउनुभएको वहाँले यस वर्ष ‘तामाङ साहित्यको इतिहास’  नामक गहन कृति लेख्नुभएको छ । उहाँको सोही कृतिलाई पुरस्कृत गरिएको हो ।
सुलभ तामाङ नेपाली वाङ्मय पुरस्कार डा. प्रदीपमान तुलाचन  मुस्ताङ भोटखोलाको स्थानीय जनजीवनसँग जोडेर गाउँघरको साधरण जीवनशैली, शहर बजारीया तथा शक्ति र पदमा रहेकाहरुको लोभीपन, शोषण, पश्चिमी देशको विलासीता र मानवको कमजोरी आदिको अन्तरसम्बन्धलाई रोचकताका साथ मानवीय भावले आख्यानिकृत गरी लेखिएको ‘भोटखोला’ नामक उपन्यासका लागि

पुरस्कारको मापदण्ड
१. पुरस्कारको नाम (क) सुलभ तामाङ वाङ्मय पुरस्कार २०१२ र (ख) सुलभ तामाङ नेपाली वाङ्मय पुरस्कार २०१२ हुनेछ ।
२. प्रत्येक पुरस्कारको राशी रू. २५,०००/– (पच्चीस हजार) को हुनेछ । विजेतालाई ताम्रपत्रसहित प्रमुख  अतिथिमार्फत् पुरस्कार वितरण गरिनेछ ।
३. तामाङ वाङ्मय पुरस्कार तामाङ भाषा, साहित्य, लोकसाहित्य, इतिहास, संस्कृति, कला, दर्शन, विज्ञान आदि विषयका वर्षभरिमा प्रकाशित कृतिमध्ये उत्कृष्ट एउटा कृतिलाई दिइनेछ । कृतिकार तामाङ इतर पनि हुन सक्नेछ ।
४. नेपाली वाङ्मय पुरस्कार नेपाली भाषा, साहित्य, लोकसाहित्य, इतिहास, संस्कृति, कला, दर्शन, विज्ञान आदि विषयका वर्षभरिमा प्रकाशित कृतिमध्ये उत्कृष्ट एउटा कृतिलाई दिइनेछ ।
५. प्रत्येक वर्षको जनवरी १ तारिखको दिन एउटा ३ सदस्यीय कृति छनौट समिति गठन गरिनेछ, जनवरी ७ तारिखमा दिन दुवै पुरस्कारको घोषणा गरिनेछ र माघ १ गतेको दिन पुरस्कार वितरण गरिनेछ ।
६. कृति छनौट समितिमार्फत् उत्कृष्ट कृतिको छनौट गरिनेछ । समितिले छनौट आधार तयार गरी वर्षभरिमा प्रकाशित कृतिमध्ये उत्कृष्ट एउटा/एउटा कृतिको छनौट गर्नेछ ।
७. अङ्ग्रेजी वर्षलाई कृति प्रकाशन वर्ष मानिने छ ।

पुरस्कारको उद्देश्य
१. नेपालका नेपाली तथा तामाङ भाषाका उत्कृष्ट कृतिलाई प्रोत्साहन गर्न ।
२. दुवै भाषाका वाङ्मयको सिर्जनाशिलता र गुणस्तरीय बढाउन ।
३. स्रष्टाको सिर्जनशीलताको सम्मान गर्नका साथै उनीहरूको हौसला बढाउन र प्रोत्साहन गर्न ।
४. राष्ट्रको पहिचान उठाउन ।