‘शुद्ध नामावली, स्वच्छ निर्वाचन’ नारा दिएर नेपालमा पहिलो पटक सुरु गरिएको फोटो सहितको मतदाता नामावली संकलन गर्ने कार्यले तिव्रता पाएको छ । फोटो सहितको मतदाता नामावलीमा व्यक्ति आफै उपस्थित भएर विवरण टिपाउनु पर्दछ । निर्वाचन आयोगले गएको दुई बर्ष यता फोटो सहितको मतदाता नामावली संकलनका लागि नाम दर्ता र फोटो खिच्ने काम गरिरहेको छ । व्यक्तिको घर –घरमा निर्वाचन आयोगका प्रतिनिधिहरु पुगेर विवरण लिने काम अहिले सकिए पनि निर्वाचन आयोग वा जिल्ला प्रशासन कार्यालयमा व्यक्ति आफै पुगेर आफ्नो विवरण र फोटो दिन सक्ने व्यवस्था आयोगले मिलाएको छ । छुटफुट भएका मतदाताका लागि भन्दै निर्वाचन आयोगले यस्तो व्यवस्था गरेको हो । यस कार्यका लागि आयोगले जनशक्ति देश भरका निर्वाचन आयोग र जिल्ला प्रशासनमा खटाएको छ । निर्वाचन हुन करीब ७० दिन बाँकी रहदासम्म व्यक्तिले फोटो सहितको मतदाता परिचय पत्रका लागि विवरण टिपाउन सक्ने निर्वाचन आयोगले जनाएको छ । यसका लागि विदेशमा बस्ने नेपाली स्वदेश फिर्ता हुदाँ आफ्नो विवरण पायक पर्ने स्थानमा पुगेर टिपाउन सक्ने छन् । विदेशमा रहेका करीब २१ लाख नेपालीका लागि निर्वाचन आयोगले विदेशमै फोटो सहितको मतदाता नामावलीका लागि विवरण टिपाउन सक्ने विशेष व्यवस्था अहिले गरिसकेको छैन । यद्यपी स्वदेशमा आएका नेपालीहरु भने काठमाडौंको निर्वाचन आयोग वा प्रशासन कार्यालय वा जिल्ला स्थित ती कार्यालयहरुमा पुगेर पनि मतदाता नामावलीका लागि विवरण सहित फोटो खिचाउन सक्ने छन् र मतदानको अधिकार सुनिश्चित गर्न पाउने छन् । यस कार्यको लागि व्यक्तिको नागरिकता अनिवार्य हुन्छ ।
के हो फोटो सहितको मतदाता परिचयपत्र ?
मतदाताको विवरण, फोटो, तथा औंलाको रेखात्मक छाप समेत भएको कम्युटरमा प्रविष्ट विवरणलाई नै फोटो सहितको मतदाता नामावली भन्ने गरिन्छ । निर्वाचनको समयमा त्यही विवरण अनि फोटो सहितको परिचय पत्र मतदातालाई प्रदान गरिन्छ र त्यसै आधारमा व्यक्तिले मतदान गर्न पाउँछ ।
मतदाता नामावलीमा शुद्धता कामय गरि आगामी दिनमा हुने निर्वाचनलाई स्वतन्त्र, स्वच्छ र विश्वसनीय तुल्याउन मतदाताको परिचानको लागि फोटो र औंलाको रेखात्मक छाप सहितको मतदाता नामावली तयार पार्ने उदेश्यले निर्वाचन आयोगले मतदाता नामावली संकलन गरेको हो । यस्तो खाले मतदाता नामावली संकलन देशमा पहिलो पटक भैरहेको छ । यस अगाडिका निर्वाचनमा फर्जी भोट हालिएको र निर्वाचनको विश्वसनीयता अनि वैद्यता माथि प्रश्न तेस्सिए पछि निर्वाचन आयोगले यस्तो चलाखी गरेको हो । अगामी निर्वाचनलाई बढी वैज्ञानिक विश्वसनीय बनाउन फोटो सहितको मतदाता नामावली संकलन कार्यले सहयोग पु¥याउने निर्वाचन आयोगका प्रवक्ता शारदाप्रसाद त्रितालले बताए ।
मतदाता नामावलीकै आधारमा सरकारले राष्ट्रिय परिचय पत्र पनि वितरण गर्ने तयारी गरिरहेको छ । नागरिकता शैलीकै उक्त परिचय पत्र व्यक्ति र सरकार दुवैका लागि उत्तिकै महत्वपूर्ण बन्ने छ । त्यसकारण पनि फोटो सहितको मतदाता नामावलीले विशेष अर्थ राख्छ । यस अगाडि निर्वाचन हुन करीब तीन महिना बाँकी रहदा आयोगले मतदाता नामावली अध्यावधिक गर्ने परम्परा थियो, तर त्यो परम्परा समेत तोड्दै आयोगले दुई वर्ष यता फोटो सहितको मतदाता नामावली संकलन कार्यलाई प्रमुखताका साथ अगाडि बढाएको छ । गएको आषाण मशान्तसम्ममा देश भरिमा १ करोड ३ लाख व्यक्तिको फोटो सहितको मतदाता नामावली संकलन गरेको आयोगले जनाएको छ । काठमाडौंमा मात्रै करीब ४ लाख ५० हजार व्यक्तिले फोटो सहितको मतदाता नामावलीका लागि विवरण टिपाएका छन् ।
संविधानसभा मार्फत् नयाँ संविधान नबनिसकेको अवस्थामा जनताहरु फेरि निर्वाचनबाट सही राजनीतिक व्यक्तिलाई आफ्नो अमूल्य मत दिएर निर्वाचित गरि आफ्ना अधिकार संविधान मार्फत् सुनिश्चि गर्न चाहेकाले पनि आयोगको यो कामले जनताको सहभागिता अनि साथ पाएको हो । हाल मतदाता नामावली संकलन कार्य जारी रहे पनि ३० लाख बढी व्यक्ति फोटो सहितको मतदाता नामावली संकलनमा छुटेको हुन सक्ने आशंका आयोगले गरेको छ । वैदेशिक रोजगारमा जानेहरु उपस्थित भएर विवरण टिपाउन असुविधा भएका कारण पनि मतदाता नामावलीहरुमा यो ठूलो संख्या सहभागी हुन सकिरहेको छैन । आयोगले विदेशमा बस्ने गैरआवासीय नेपालीलाई कसरी निर्वाचनमा सहभागी गराउन सकिन्छ भन्नेमा गृहकार्य गरिरहेको निर्वाचन आयोगका प्रवक्ता शारदाप्रसाद त्रितालले बताए । विदेशमा बस्ने गैरआवासीय नेपालीका लागि मतदान गर्ने अधिकार सुविधाजनक रुपमा प्रदान गर्न छुट्टै व्यवस्था गर्ने योजना अगाडि बढाउने तयारी गरिरहेको उनले बताए । निर्वाचनको मिति तय भैनसके पनि दलहरु निर्वाचनमा जाने निर्णय गरिसकेकोले आमजनतामा निर्वाचनप्रतिको चासो र महत्व निकै बढेर गएको छ । विगतका निर्वाचनबाट पाठ सिक्दै निर्वाचनलाई कसरी स्वच्छ, वैज्ञानिक र विश्वसनिय पार्ने भन्नेमा निर्वाचन आयोग वेलैमा तातेको देखिन्छ ।
–राज्यसत्ता नेपाल व्युरो