छुटेका जातजातिलाई जनगणनाको नतिजामा समावेश गर्नु पर्छ : सरोकारवालाहरु

Read Time:10 Minute, 3 Second

राष्ट्रिय जनगणना २०६८ को नतिजामा जात जातिको संख्या छुटेकोले त्यस तथ्याङकको विश्वसनीयता माथि प्रश्न तेर्सिएको सरोकारवालाले बताएका छन् । छुटेका जातजातिलाई कसरी समावेश गर्न सकिन्छ तथ्याङक विभाग बेलैमा सचेत हुनु पर्ने पनि उनीहरुले औल्याएका छन् । जातजाति जनगणनामा नसमेटिनु उनीहरुको अस्तित्व नै मेटिनु सरह भएको विभिन्न जातिजाति तथा धार्मिक संघसंस्थाका प्रतिनिधि तथा अधिकारकर्मीहरुले बताएका छन् । 
राष्ट्रिय जनगणना २०६८ को नतिजा कति विश्वसनीय कति अविश्वसनीय भन्ने शीर्षकमा राज्यसत्ता डटकमले काठमाडौंमा आयोजना गरेको बहसमा सहभागी आदिवासी जनजाति तथा धार्मिक तथा जातजातिका संघसंस्थाहरुले यस्तो कुरा बताएका हुन् ।
भुजेल समाजका बुद्ध घर्ती, संघीय समाजवादी पार्टीका गोपाल ठाकुर, ब्राहमण समाज नेपालका ओम शर्मा चापागाईले जनगणना २०६८ को नतिजामा १२ वटा जाति नै लोप हुदा तथ्याङक विभाग उनीहरुलाई कसरी समेट्न सकिन्छ भन्ने कुरामा गम्भीर हुनु पर्ने बताए । जनगणनाले बर्ष पिच्छे निकाल्ने इयर बुकमा सामान्य सुधार भए पनि गर्नु पर्ने उनीहरुको भनाइ थियो । राष्ट्रिय क्रिश्चिय महासंघका सह अध्यक्ष इशु जग कार्कीले क्रश्चियनहरुको संख्या जनगणनामा केही बढेको देखिए पनि त्यो संख्या ज्यादै न्युन भएको र धेरै क्रिश्चियनहरु समिटिन नसकेको बताए । जम्मा १ दशमलव ४ प्रतिशत कश्चियनको संख्या देखिनुले जनगणनाको विश्वसनीयतामा प्रश्न उठेको बताए । राज्यको स्रोत र साधन खर्च गरेर हरेक १० बर्षमा आयोजना हुने जनगणनाबाट वास्तविक तथ्य आउनु पर्र्ने कुरामा उनले जोड दिए ।
सुनुवार सेवा समाजका मनप्रसाद सुनुवारले ०५८ सालको जनगणनामा सुनुवारको जातिको जनसंख्या ९५ हजार २ सय रहेकोमा ०६८ सालमा ५५ हजार मात्रै देखिनु आफैमा विचारणीय कुरा भएको बताए ।  दश बर्षमा ४० हजार सुनुवार घटेकोले तथ्याङक विभागको तथ्याङकमा खोट लगाउनु पर्ने ठाउ रहेको उनले बताए । गणकहरुको लापर्वाही आदि कारणले सही तथ्याङक जनगणनामा आउन नसकेको उनले बताए । ०६८ सालको जनगणनालाई सही मान्न नसकिने उनको भनाइ थियो । भुपू सैनिक संघका यमबहादुर बुढाथोकी मगरले जनगणनामा शहर केन्द्रित प्रचारप्रसार हुनु र ग्रामिण क्षेत्रमा प्रचार प्रसार नपुग्नुले पनि सही तथ्याङक आउन नसकेको बताए । ०५८ सालमा भन्दा यस पटक २५ वटा जाति थपिएकोले ०५८ सालको तथ्याङक पनि सही नभएको अहिले पुष्टि भएको उनको भनाइ थियो । सरकार र समाजिक संघ संस्थाले आगामी दिनमा जनचेतना जगाउने काम गर्नु पर्ने उनले बताए । विदेशमा बस्ने नेपालीहरु पनि यो जनगणनामा नसमेटिएकाले जनजगणनाको विश्वसनीयता माथि शंका उब्जिएको उनले बताए ।  गणक छान्ने विषयमा पनि समावेशीता नीति हुनु पर्ने उनले औल्याए । विश्व हिन्दु महासंघका अध्यक्ष दामोदर गौतमले जनगणनामा कोही पनि छुट्न नहुने छुट्नु अन्याय भएको बताए । छुटेकालाई समावेश गर्ने रणनीति अपनाउनु पर्ने उनले औल्याए । जातजातिको संख्या छुटेको नाममा समाजमा झगडा र सद्भाव विथोल्ने काम गर्न नहुने गौतमको जोड थियो ।
आदिवासी जनजाति सूचिकरण कार्यदलका डा. ओम गुरुङले आदिवासी जनजाति किन छुटे त्यसको विस्तृत व्याख्या जरुरी रहेको बताए । सूचिकृत जाति मध्य १२ किन हटे चित बुझदो जवाफ तथ्याङक विभागले दिनु पर्ने र विदेशमा जाने नेपालीहरु पनि जनगणनामा समावेश गर्नु पर्ने उनले औल्याए ।  दुई सय  भन्दा कम रहेका जातिको गणना नगरेको तथ्याङक विभागले बताए पनि त्यो संख्या भन्दा कम रहेको कुसुण्डा जाति समावेश भएको उनले बताए । जातिहरु जनगणनामा नसमेटिदा उनीहरु राज्यको सुविधाबाट समेत बञ्चित हुने हुदा उनीहरुलाई समावेश गर्न जरुरी रहेको उनले औल्याए ।
मगर बौद्ध समाज नेपालका देउ बहादुर राना मगरले जनगणनामा खटिने गणकहरुले मनोमानी प्रश्न सोध्ने र अप्ठ्यारोमा पार्ने गरेकाले पनि सही तथ्याङक आउन नसकेको बताए । मगर संघका नवीन रोक्का मगरले जनसंख्या सिधै  राज्यसत्तासंग जोडिने र महत्वपूर्ण रहने कारण कोही जाति पनि छुट्न नहुने बताए । २०६८ सालको जनगणनामा धेरै जात जातिको संख्या घटेको र केही जात जाति पूरै छुटेको कारण जनगणनाको रिर्पोट नै आदिवासी जनजातिले जलाएको प्रसङग उनले कोट्याए । भिन्तुना मिसा खल यलकी शुसीला कार्कीले गणकको लापरर्वाहीकै कारण सही तथ्याङक आउन नसकेको बताए । जनगणनाको नतिजा सुधार गर्न संस्थाको तर्फबाट ज्ञापन पत्र प्रधानमन्त्री बाबुराम भट्टराईलाई समेत दिइसकेको उनले चर्चा गरिन् ।  आइफाका सन्जोग लाफा मगरले जनगणनामा सोधिने प्रश्न र प्रयोग गरिने प्रश्नावली अस्पष्ट रहेकोले सही नतिजा नल्याएको बताए ।  किन आदिवासी जनजातिहरुले तथ्याङकलाई बर्तमान समयमा गम्भीर रुपमा लिन पुगे त्यस बारेमा राज्यका निकायले गम्भीर रुपमा सोच्नु पर्ने भएको उनले बताए । तथ्याङक सही नआउनुमा सही नियत नभएको प्रष्ट भएको उनले औल्याए । जनगणना हुनु अगाडि नै जातजातिका प्रतिनिधि जनगणनाका लागि भोलिन्टियर राख्न माग गरेको, तर तथ्याङक विभागले त्यसलाई स्वीकार नगरेको उनले बताए ।
त्रिभुवन विश्व विद्यालयका जनसंख्या विभागका प्राध्यापक योगेन्द्र गुरुङले जनगणनामा पुरापुर सही नहुने र केही गल्ती देखिए मात्रै त्यो विश्सनीय हुने र सानो गल्ती हुन जरुरी हुने शैद्धान्तिक पाटो बारे प्रकास पारे । दुई सय संख्या रहेका जातिलाई लिएको भए पनि १० वटा जाति समेटिन सक्थ्यो तर समेटिएन । जनगणनाको रिपोर्ट पूरै सच्याउन नसकिने भए पनि आउने रिपोर्टमा केही सुधार गर्न सकिने गुरुङले बताए । सबै जाति र भाषा भाषीको अस्तित्व रहेकाले उनीहरु छुट्न नहुने उनले जोड दिए ।
केन्द्रिय तथ्याङक विभागका निर्देशक डा. रुद्ध सुवालले जनगणनाको रिपोर्ट सुधार हुने गुन्जायस नै नरहेको बताए । जनगणनामा केन्द्रिय तथ्याङक विभागकै कर्मचारीको बदमासी नहुने पूर्ण व्यवसायिक रुपमा काम गर्ने गरे तापनि गणकहरुबाट हुने गरेका गल्तीलाई अगामी  दिनमा सञ्चाउन सकिने उनले बताए । २०४८ साल देखि मात्रै जातजातिको प्रश्नावली सुरु गरेको उनले बताए ।  ०५८ सालको जनगणनामा भन्दा यस पटक २५ वटा जाति थपिएको र उत्तरदाताले दिएको उत्तरकै आधारमा नतिजा आएकाले तथ्याङक विभागको कुनै नियत यसमा नलुकेको प्रष्ट पारे । जनगणना लिने कार्यले एक सय बर्ष पूरा गरिसकेको अवस्थामा आगामी दिनमा  समय सुधाउदो परिर्वतन जरुरी रहेको उनले बताए ।  तथ्याङक विभागका अर्का निर्देशक ज्ञानेन्द्र बज्राचार्यले तथ्याङक विभागले ओएम आए लगायतका उच्च प्रविधिको प्रयोग गरेर प्रशोधन गर्न नसकेको र स्रोत साधनको कमीका कारण पनि तथ्याङकमा केही त्रुटि देखिएको त्यस्ता त्रुटि आगामी दिनमा नदोरयाउने प्रतिवद्धता व्यक्त गरे । त्रुटिको दर ०५८ सालको जनगणनामा ४ दशमलव ७  रहेको र अहिलेको जनगणनामा त्यो दर ३ दशलव ७ मा झरेको उनले जानकारी दिए ।
 राज्यसत्ता डटकमका निर्देशक हुम बहादुर थापाको स्वागत तथा पत्रकार सन्तगाहाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
–राज्यसत्ता नेपाल व्युरो

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %