मेजन पुन मगर (भूपू सचिव : करबाकेली अनुसन्धान समिति)
म्याग्दी, करबाकेलीलाई पुन मगरहरु आफ्नो कुल मानेर वर्षेनी पुजा गर्दै आईरहेका छन् । धौलागिरीमा बसोबास गर्ने पुन मगरहरुलाई जोड्ने कुनै माध्यम छ भने त्यो कुल— करबाकेली नै हुन् । धौलगिरीमा बसोबास गर्ने पुन मगरहरु जो कोही पनि यदि करबाकेलीलाई पुज्छन् भने उनीहरु एउटै कबिलाका हुन् भन्न सकिन्छ । मैले यहाँ कबिला भनेर लेख्नुको कारण तल खुलाउँने छु । पुन मगरहरु जो करबाकेलीलाई पुज्दछन् उनीहरु एउटै कबिला, स्थान वा भेग वा गाउँ जुन नेपालको पश्चिम क्षेत्रबाट आएकाहरु हुन् भन्न अब उपयुक्त होला भन्ने लागेर छलफलकै लागि लेख्न लागेको छु । यसर्थ एउटै कबिलामा बसोबास गरेका हामी मानवहरु करबाकेली जो त्यस कबिलाका पूर्वज हुन् उनलाई संस्मरण गर्दै वहाँका सन्तान रामचन र कुलचनलाई बिशेष आदर साथ वर्षेनी संस्मरण वा कुल पुजा गर्दै आईरहेका छन् । वा करबाकेलीका सन्तान भए पनि समयान्तर बसाईसराई र विवाह बन्धनमा बाँधिन सजिलोको लागि कालान्तरमा धेरै थर हुँदै आएको हो ।
कहिले काही हामी बीच प्रश्न गर्ने गरिन्छ— एउटै पूर्खाका सन्तान हामी फेरि किन र कसरी थर फरक फरक भए ? यस्ता प्रश्नहरु उठ्नु स्वभाविकै हो । माथि कबिला भनेर लेख्नुको अर्थ यहाँनेर जोड्न चाहन्छु । करबाकेलीको युग— घुमन्ते युग हो । उनी पश्चिमदेखि पूर्व राम्रो जीवनको खोजीमा आएका हुन् । शिकार गर्ने, मह शिकार गरि खाने युगका उनको समय भनेको अहिलेको युग निश्चितै होइन । गृहस्थी जीवनमा प्रवेश गरिसकेको तर कृषि युग अर्थात एउटै थातथलोमा बसिनसकेका उनीहरु घुम्दै फिर्दै पश्चिमबाट यस क्षेत्र तर्फ आएका हुन् । थर भन्ने कुरा त पछि जन्मेको कुरा हो । पृथ्वीमा तीनप्रकारका नश्ल छन्— मंगोल, निग्रो र ब्राह्मण । यसर्थ यी सबै नश्लहरु भित्र पाइने थर/उपथर– समयान्तरसँगै जन्मेका हुन् । नश्ल भन्नाले वर्ण वा समुदाय भन्ने जनाउँछ । यसर्थ हरेक नश्ल भित्रका थर (पत) पनि पछि समयसँगै जन्मेको हो । यो कसरी फरक रहन गयो भनेर टाउको दुखाईको विषय अब हाम्रो मात्र होइन । यी कुराहरुलाई छाड्दै अब हामी प्रगतिको कुराहरुमा केन्द्रीत हुन आवश्यक छ । किनकि पहिले पहिले सात पुस्ता कटे विहे गर्न मिल्छ भनिन्थ्यो । केही पहिले तीन पुस्ता कटे हुन्छ भनियो तर अहिले आफ्नो नातागोता नभेटेको गोत्र फरक परे हुन्छ भन्ने सम्मको कुरा उच्च जाति भन्नेहरुमा भनिन थालिसके यसर्थ हामीले पनि यस्ता कुराहरुमा बढी सोचाई नगरी हाम्रो जातिको स्थायित्व तथा भविष्यसम्मको योजना बनाउनु अबको अपरिहार्य कुरा हाम्रो अगाडि आएको छ– जस्तो लाग्दछ । उदाहरणको लागि नेपाली नायिका ऋचा घिमिरे र निर्देशक शंकर घिमिरेको गोत्र फरक परेकै कारण विवाह भई छोरा जन्माई सकेका छन् । यसर्थ यस्ता कुराहरुले समाज रनभुल्लमा नपरिकन अगाडि बढे कति राम्रो हुन्थ्यो भन्ने मनमा लागेर यी कुराहरु लेखेको छु । तर क्याप्टन साहेबहरुले सञ्चालन गरिरहेको हाम्रो समाजमा मेरो यी लेखाई र भनाईको कुनै महत्व छैन भन्ने सोचाई आउँदा आउँदै पनि लेख्ने म– निश्चितै पनि मुर्ख हुँ । हुन त फेरि पनि भूपू बिना समाज अगाडि बढ्न सक्दैन यो पनि सत्य हो । पेन्सन थाप्ने उनीहरु पेन्सनबाट आफ्नो गृहस्थी जीवन सजिलै सञ्चालन गरेका छन् । बेलाबेलामा आर्थिक सहयोगहरु गरेकै छन् । तर नेपालमै पेशा गरेर बसेका अन्यलाई वहाँहरु झै सामाजिक काम गर्न हिंड्न गाह्रो पर्छ । केही समय हिंड्छन् र समयसँगै सेलाउँछन् । आफ्नो घरव्यवहारले च्याप्दै जान्छ र सुस्ताउँछन् । यसर्थ सामाजिक रुपमा भु.पु.हरुको देन समाजमा यथेष्ट हुँदाहुदै पनि लाहुरे हुँदाको बेलामा झैं कमाण्ड गर्न खोज्ने बानी र माथिल्लो पदको धङधङी अझै कायम राखिराख्दा काम गर्न अप्ठ्यारो हुन्छ । यो कुराको मनन् गर्नु पर्छ । र, सबैको कुरा सुनेर त्यही अनुरुप कार्यन्वयन गरेको खण्डमा समाजमा वहाँहरु जस्तो उपयुक्त व्यक्ति अरु कोही छैनन् ।
विगत एक दशकदेखि करबाकेलीको बारेमा खोज तथा अनुसन्धान गर्दै आईरहेको करबाकेली अनुसन्धान समिति कुनै विधिवत दर्ता भएको संस्था होइन तर समाजको विविध विषयहरु केवल रे रे कै भरमा र झाँक्रीहरुको ओखामा थियो । र, यही नै त्यो पहिलो संस्था हो जसले हाम्रो समाजका विविध विषयमा खोज कार्य गरि आफ्नो गौरवपूर्ण एक दशक २०६९ साल मंसीर १२ गते काफलडाँडामा आयोजित करबाकेलीको थान उद्घघाटनको दिनमा विघटन अर्थात समापन गरेको छ । तर यो समापन होइन । म फेरि भन्छु– यो करबाकेली अनुसन्धान समितिको समापन कदापि होइन । यो शुरुवात हो एउटा अर्को यात्राको । फरक तरिकाले अझै अगाडि बढ्ने प्रथम विन्दुको शुरुवात हो । अरुले कसरी बुझेका छन् । मैले यसरी बुझेको छु । हामीले यो एक दशकमा असोचनीय कार्य गरेका छौं । प्रथम पटक २०६० मंसीर २३ गते महभीर खोज तथा अनुसन्धान गर्दा नेपालमा आपतकालिन अवस्था थियो । महभीर खोज कार्य गर्न जाँदा सुरक्षा निकायमा सेनालाई जानकारी पत्र लेखेर सेनाबाट पत्र लिएका थियौं भने त्यो पत्र माओवादी जनमुक्ति सेनाले भेटेको खण्डमा त्यतिबेलाको स्थिति के हुन्थ्यो ? त्यो महभीर खोज गर्ने क्रममा कोही भीरबाट खसेर दुर्घटना भएको भए हाम्रो हालत के हुन्थ्यो ? कसैले पनि कल्पना गरेका छैनन् ? प्रथम पटकको खोज कार्य अपुरो भो भन्ने कुरा तथा यो समितिले खोज कार्य राम्रो गरेन भन्ने प्रश्नको जवाफ हामीले २०६२ माघ ६ गते पुनः दोश्रो पटक महभीर खोज कार्य गरि प्रतिउत्तर दिएका छौं । यतिमात्र होइन चित्र जस्तो छ भन्ने अनकन्टार ठाउँहरुमा करबाकेली अनुसन्धान समिति पुगेको छ । त्यो बेला दुर्घटना भएको भए ? र, यी यात्राहरुको क्रममा करबाकेली अनुसन्धान समितिको कोषबाट कुनै खर्च गरेका छैनौं । प्रथम पटक महभीर खोज कार्य गर्दा नै करबाकेली अनुसन्धान समिति अठ्ठासी हजार घाटामा थियो । सो करबाकेली अनुसन्धान समितिमा आर्थिक नै थिएन । कुलप्रति हामी सकारात्मक सोचाई राख्दै एवम्रितले आ–आफ्नै खर्चमा काम गर्दै आयौं । यसैको फलस्वरुप तैले आँट म पुरयाई दिन्छु भने झै करबाकेली बारेमा समय समयमा गरिएको काममा हामीलाई करबाकेलीमा आस्था राख्नुहुने व्यक्ति व्यक्तिबाट सहयोग प्राप्त भएको छ । यो सहयोग विना यहाँसम्मको यात्रातय गर्न असमर्थ हुने निश्चित हो ।
करबाकेली बाबाको राष्ट्रिय स्तरको थान निर्माणको लागि चामबहादुर गर्बुजा द्वय काफलडाँडामा नै बसेर निर्माणमा संलग्न नहुनु भएको भए थान निर्माण यसरी सम्पन्न हुन अझै समय लाग्दथ्यो । र, जुन तरिकाले बेलायतको बसाईलाई पनि एकातर्फ राखेर कुलको लागि निशुल्क तीन वर्ष जनश्रमदान गरि काम गर्नु भयो यो साह्रै सराहनीय कार्य हो । यसको मनन समयले गर्ने/गराउने छ ।
करबाकेली अनुसन्धान समितिले यो एक दशकमा आफ्नो घरको पिठो खाएर कार्यक्रम गरि आएको छ । बेला बेलामा आयोजना भएको कार्यक्रमको लागि समाजबाट सहयोग प्राप्त भएकै हो । यसरी सहयोग प्राप्त भएकै कारणले माथिनै लेखिसकेको छु– हाम्रो यात्रा थान निर्माणसम्म आउने थिएन । मेजर टेकबहादुर पुन (बुदुजा) को निकै गुणगान गरि समाजको कार्यक्रम भएको अवसरमा अहिले वहाँको फोटो राखेर कार्यक्रम गर्ने गरेको पाएको छु । तर स्वर्ण जयन्ती समारोह धुमधामसाथ करबाकेली अनुसन्धान समितिले आयोजना गरयो । २०१३ माघ १३, १४ र १५ गते समाज गठन गर्दा समितिमा रहेका सबै व्यक्तिहरुको संस्मरण गरि कार्यक्रम सम्पन्न गरेको छ । (फिमला अंक १५, फागुन–बैशाख, ०६४–०६५) के जिल्ला जिल्लामा पुन समाज गठन भएको थिएन र ? समाज गठन भएको भएतापनि स्वर्ण जयन्ती समारोह गर्ने सोचाई सायदै समाजमा रहेका व्यक्तिहरुको मनमा आयो होला भन्ने लाग्दछ । जेहोस् करबाकेली अनुसन्धान समितिले ठाउँ ठाउँमा गठन भएका पुन समाजको प्रतिनिधि र गाउँ गाउँबाट आएका प्रतिनिधिहरुको उपस्थितिमा स्वर्ण जयन्ती समारोह भव्यताका साथ तीन दिनसम्म आयोजना गरि सम्पन्न गरयो । यसरी आयोजना गर्न महत्वपूर्ण योगदान औलो गाउँका बासिन्दाले गरेका थिए । गाउँ माथिको पहिरोबाट पिडित औलो गाउँका बासिन्दाहरुले त्यो दुःखलाई बिर्सेर हाँसी हाँसी कार्यक्रम आयोजना सम्पन्न गर्न सराहनीय कार्य गरेका थिए । यसर्थ धन्यवाद औलो गाउँलाई । कसैलाई लाग्ला– महभीर गाउँ, औलो गाउँ र अहिले काफलडाँडाका बासिन्दाहरुले सहयोग नगरेको भए अनुसन्धान समितिले केही गर्न सक्ने थिएन । हो– कार्यक्रम गर्ने सोचाई करबाकेली अनुसन्धान समितिको हो तर स्थानीय व्यक्तिहरुको सहयोग विना आयोजित भएका कुनै पनि कार्यक्रमहरु यसरी सफलतापूर्वक सम्पन्न हुने थिएन । यसर्थ करबाकेली अनुसन्धान समितिको कार्यक्रममा स्थानीय आयोजकहरुको महत्वपूर्ण योगदान छ भन्नै पर्दछ । स्थानीय आयोजक तथा स्थानीय प्रत्येक व्यक्ति व्यक्तिहरु सबै धन्यवादका पात्र छन् । वहाँहरुलाई नसम्झनु गलत हुने छ ।
साथै करबाकेली बाबाको राष्ट्रिय स्तरको थान निर्माणमा पुन समाज बेलायतले अहिलेको अवस्थामा ४८ प्रतिशत आर्थिक सहयोग संस्थागत रुपमा संकलन गरेको छ । यो महत्वपूर्ण सहयोगकै कारण थानले पूर्णता पाएको छ । यसो भनिरहँदा पुन मगर समाज हङकङलाई नसम्झनु मुर्खता हुने छ । किनकि पुन मगर समाज, हङकङले प्रथम पटक महभीर खोज कार्य गर्दा ५० हजार सहयोग संकलन गरि खोज कार्य सफलताको कामना सहित सम्प्रेषण गरेका थिए । यसर्थ समाजमा आवद्ध पदाधिकारी तथा हङकङबासी पुन मगरहरुलाई धन्यवाद । साथै करबाकेली समाज रुपन्देही, पुन कल्याणकारी समाज कावासोती, पुन मगर उत्थान समाज चितवन, पुन समाज पोखरा, पुन समाज काठमाडौं, म्याग्दी मगर समाज काठमाडौंले पनि बेला बेलामा आर्थिक सहयोग गर्नु भएकै हो । यसर्थ सचिवको हैसियतले सबै संस्थालाई धन्यवाद व्यक्त गर्न चाहन्छु ।
महभीर खोज कार्यपश्चात करबाकेली अनुसन्धान समितिले २०६३ माघ १३, १४ र १५ गते पुन मगरहरुलाई संगठन गर्न थालनी गरिएको प्रथम भेला आयोजना भएको ५० वर्ष पुगेको अवसर पारेर औलो गाउँमा नै स्वर्ण जयन्ती समारोह कार्यक्रम सम्पन्न ग¥यो । साथै २०६५ असोज २५ र २६ गते काफलडाँडामा करबाकेली भेटघाट तथा छलफल कार्यक्रम, २०६६ कार्तिक २४ देखि मंसीर ११ गते हुकाम–मैकोट यात्रा, असोज २०६७ मंसीर ९ गते झाँक्री सम्मेलन तथा २०६७ जेष्ठ ३ र ४ गते करबाकेलीको थान शिलान्यास गरि २०६९ मंसीर १२ गते थान उद्घाटन साथ यो समिति विधिवत विघटन भएको छ । यस समितिले करबाकेली नामक पुस्तक (दुई वटा), करबाकेली पुजा विधि र करबाकेली थान निर्माण शुरुवातदेखि समापनसम्म नामक पुस्तक प्रकाशन गरि आफ्नो एक दशकमा ४ कृतिहरु प्रकाशन गरेको छ । साथै करबाकेली, हिमला, फिमला, रामचन र कुलचनको फोटो र करबाकेली थानको फोटो अंकित सोभिनार, थान अंकित पोष्ट कार्ड समेत बनाएको छ । अब करबाकेली अनुसन्धान समितिले २०६० सालदेखि थान उद्घाटन २०६९ मंसीर १२ सम्मको झलकहरु समेटेर करबाकेली नामक डिभीडि निकाल्ने जमर्को गर्दैछ ।
कार्यक्रमको प्रमुख अतिथिको लागि ईण्डिया जाने कार्यक्रमलाई मिलाएर समाजसेवी डा. महाविर पुनले समय दिनु भयो । राजनैतिक व्यक्तिहरुलाई प्रमुख अतिथि बनाए प्रचारप्रसार हुने थियो भन्ने कुरा नआएको होइन । तर करबाकेली पूर्णतः समाज भित्रको कुरा भएको हुँदा र सामाजिक रुपमा महाविर दाईले धेरै गर्नु भएकै कारण हामीले वहाँको समाजप्रतिको त्यो आस्था र वहाँको त्यो देनलाई सम्मान गर्दै वहाँलाई नै प्रमुख अतिथि बनाउने निर्णय करबाकेली अनुसन्धान समितिले ६ महिना अगाडिनै निर्णय गरेको थियो । यसमा धेरैले सकारात्मक रुपमा लिएका छन् । वहाँको पहलमा नै यो थान उद्घाटन कार्यक्रम ईन्टरनेटमा लाईभ प्रसारण गर्न सफल भयौं । महाविर दाई तपाईले समय दिनु भयो लाईभ प्रसारण गर्न पहल गरिदिनु भयो यसमा धन्यवाद— किसन पुन र तपाईलाई । ईन्टरनेटमा लाईभ प्रसारण हुनुको साथै पुन समाज युकेबाट अध्यक्ष अतिप्रसाद पहरे पुन मगर, उपाध्यक्ष एक फगामी पुन मगर र पूख्र्यौली समुहका संयोजक बिल पुर्जा पुन मगर लगायत अन्य सदस्यहरु देउबहादुर पुर्जा, बलबहादुर पुर्जा, माया पुर्जा र रुपा पुन उपस्थित भएर कार्यक्रम अन्तर्राष्ट्रियकरण भएको छ । यसर्थ तपाईहरुलाई पनि धन्यवाद । थान निर्माणमा बेलायतबाट सहयोग प्राप्त भएकै हो अझ प्रत्यक्ष उपस्थिति जनाएर करबाकेलीको आस्था नेपालमा बस्नेहरुको मात्र हुँदैन हामी बेलायतबासी पुन मगरहरुको पनि छ भनेर जनाई दिनु भयो । डा. महाविर पुन र बेलायतबाट तपाईहरुको सहभागिताले धेरै राम्रो सन्देश गएको छ । यसर्थ तपाईहरुलाई धन्यवाद ।
करबाकेली अनुसन्धान समिति विघटन हुनुको पनि कारण छ । करबाकेलीका कुराहरु हिजो रे रे को अवस्थामा छँदा खोज कार्य गर्ने कुराहरु यथेष्ट रुपमा थिए । तर समितिको तर्फबाट महभीर खोज कार्य तथा पश्चिम हुकाम–मैकोटसम्मको यात्रा गरिसकेको अवस्थामा अझ बढी के चिजको खोज गर्ने भन्ने कुरा मनन् गर्नुको साथै समितिमा रहेका हामीहरु निकै लामो समयदेखि समितिमा रहिरहेको कारण हामीमा नयाँ भिजनहरु नआएको हुन सक्ने स्थितिलाई पनि मध्यनजर गरि समिति विघटन गरेका हौं । करबाकेली अनुसन्धान समिति विघटन भए पनि करबाकेली बाबा संरक्षण समितिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुप धारण गरेको छ । हामीहरु भएकै कारण हामीसँग काम गर्न अप्ठ्यारो मानेका व्यक्तिहरुले अब यस समितिलाई सहयोग गरे पनि हाम्रै जित त हो भन्ने ठानेका छौं । यस समितिले खोज कार्यमा होइन अब काफलडाँडामा बाँकी रहेका अन्य भौतिक निर्माणको लागि आर्थिक संकलन, प्रचारप्रसार र जनमानसमा करबाकेलीको प्रभाव अर्थात पहुँच पुरयाउने कुराहरुमा ध्यान केन्द्रीत गरि काम गर्नु पर्ने देखिन्छ । र, निस्वार्थ रुपमा काम गरयो भने संसारमा असम्भव भन्ने केही छैन । हामी समितिमा नरहेपनि बाहिरदेखिनै सहयोग भईरहने छ । के गर्नु पर्छ— मेरो तर्फबाट निरन्तर गरिरहने छु ।