पोखराका नर बहादुर गुरुंगले सारा गुरुङहरुलाई शूद्र बनाइदिए

सरकारी बदमासी एवम् भाटगिरीलाइ तोड्नका निम्ति र कैयन सांस्कृतिक समानता तथा भाषिक वैशिस्ट्यका आधारमा समेत मगर समुदायले आफुलाई “बौद्ध हौँ” भन्नु उचित हुन्छ ।

 
– बि. के. राना

प्राचीन कालमा मगर जाति धार्मिक हिसाबले हिन्दू बौद्ध दुबै थिएन । मूलतः मगरहरु प्रकृति पूजक थिए । प्रकृति पूजक भएकाले उनीहरु झाँक्रीवादी यसै पनि हुने भै हाले । त्यो कुनै आश्चर्यको कुरै भएन । हिन्दू समाज वा समुदाय पनि प्रकृति पूजक नै थियो । यस प्रसंगमा सूर्य, चन्द्र, जल अर्थात गंगाको पूजा केही प्रमुख उदाहरणहरु हुन् । मगरहरु प्रकृति पूजक र झाँक्रीवादी पनि हुनु भनेको ‘बोन धर्म’संग समेत सम्बन्धित हुनु हो ।
 
बुद्धका समयको रितिरिवाज जस्तै: बुद्धले मामाको छोरी बिबाह गर्नु र मगर समाजमा पनि यही प्रथा हालसम्म कायम रहनु एउटा विचारणीय पक्ष छ । तर, यही रितिरिवाज भारतको उडिसा राज्यमा पनि कायम रहेको जनाइएको छ । र, त्यसै आधारमा उडिसाको राजधानी भुवनेश्वरवाट अलिकपर पर्ने अर्को शहर कपिलेश्वर नजिकको ‘लेम्बाइ ‘भन्ने गाउँमा बुद्ध जन्मेका हुन् भन्ने उनीहरुको दाबी रहदै आएको छ । यो दावी फगत दावीका निम्ति दावी मात्र हो भन्ने हाम्रो मान्यता रहेकोछ किनभने बुद्ध ‘लेम्बाइ ‘मा नै जन्मेका थिए भनेर प्रमाणित गर्ने लुम्बिनीको अशोक स्तम्भमा स्पष्ट लेखिएको शिलालेख जस्तो वा अरु यस्तै कुनै ठोस पुरातात्विक प्रमाण त्यहाँ आजसम्म पाउन सकिएको छैन ।
मगर जातिका महिलाहरुको नामका अन्त्यमा ‘धरा, ‘तरा’, ‘सरा’ जस्ता प्रत्यय लागिनु अर्को छलफलको विषय हुनसक्छ किनभने बुद्धका अर्धांगिनी ‘यशोधरा’का नामका अन्त्यमा पनि ‘धरा’ प्रत्यय नै लागेको छ । आज पनि मगर समुदायमा बालिका, युवती वा महिलाहरुको यिनै ‘धरा, ‘तरा’, ‘सरा’ जस्ता प्रत्यय सहितका नाम राख्ने प्रचलन कायमै छ । यो प्रचलन नेपालका अन्य जातजातिमा छैन भन्न त सकिन्न नै तर यदि त्यस्तो नाम अन्य जातजातिमा पनि कहिँकतै भेटिए भने त्यो पछिल्लो चरणको सामाजिक आदान-प्रदान, संश्लेषण वा सम्मिलन (Cultural Exchange or Assimilation) भन्ने मान्नु पर्ने हुन्छ l तर, बेलायती, युरोपेली वा अमेरिकी महिलाहरुको ‘सारा’ (Sara) र मुश्लिम महिलाहरुको ‘सायरा’ (Sayara)आदि उस्तै उस्तै देखिए, सुनिए पनि यी पूर्ण नाम शव्दका रुपमा आएका हुन्छन, प्रत्ययका रुपमा हुदैनन् l अलिक भिन्न लाग्दछ ।
 
 
किन ‘बौद्ध’ भन्नु पर्यो त ?
कुरा धेरै छन् । सबै कुरो गर्न सम्भव छैन यसमा । अब प्राचीन समयदेखि नै मगर समुदाय आफु हिन्दू वा बौद्ध दुबै थिएन भने अहिले आएर उसले किन ‘बौद्ध’ भन्नु पर्यो त भन्ने कुरा सबैको सरोकारको विषय बनेको छ । हामीले पनि उतिखेर मगर समुदायले आफ्नो धार्मिक पहिचान ‘बौद्ध’ हो भन्नु पर्दछ भनिहिडेका थियौं । त्यस भनाईमा हामी आज पनि अडिग नै छौ । यसमा एउटा अत्यन्त गम्भीर कारण छ ।
 
त्यो गम्भीर कारण भनेको के हो भने विक्रम सम्बत 2013 साल बैशाख 20 गते बुधबारका दिन राजा महेन्द्रको राज्याभिषेकका शुभ-मुहूर्तमा नेपालगन्जका दिलमान सिंह थापा मगरले आफू ‘शूद्र’ बनेर राजालाई अभिषेक गरेका कारण त्यसदिन देखि मगरहरुलाई पनि शूद्रका रुपमा हिन्दू वर्णव्यवस्था भित्र बलात् हुलियो l ती ब्राह्मण, क्षत्री र वैश्य नामले चिनिने ‘माथिल्लो भनाउदा’ जातको थिचोमिचोमा तल्लो जातको रुपमा मात्र नभई त्यसदिनदेखि ‘शूद्रका’ रुपमा समेत मगर समुदाय थिचिन वा मिचिन पुग्यो l यसबारेमा 2057 सालमा यस लेखकले वृद्धावस्थाका दिलमान सिंह थापा मगरलाइ काठमाडौँबाट नेपालगंज फोन गरेर ‘किन यसरी सबै मगरहरुलाई शूद्र बनाइदिनु भो त ?’ भनेर प्रश्न गर्दा आफुलाई ‘करकापमा पारेर राजालाई शूद्र बनेर अभिषेक गर्न लगाइएको थियो’ भनेर उहाले भन्नु भएको थियो । यो अत्यन्त दु:खद कुरो हो । थप कुरा के पनि छ लेख्नु पर्ने भने राजा त्रिभुवनको राज्याभिषेकका शुभ-मुहूर्तमा पोखराका नर बहादुर गुरुंगले सारा गुरुङहरुलाई शूद्र बनाइदिए । त्यसैगरी राजा बिरेन्द्रको राज्याभिषेकका शुभ-मुहूर्तमा पदम सुन्दर लावतीले पनि लिम्बूहरुलाइ शूद्र बनाइदिएका हुन् । यो अत्यन्त दु:खद कुरा छ ।
 
निष्कर्ष
आजका मगरहरुले माथि बर्णन गरिएको सरकारी बदमासी र एकाध मानिसहरुको भाटगिरी कुनै पनि हालतमा स्वीकार गर्नु हुदैन भन्ने हाम्रो भनाई रहदै आएको छ । यस्तै यस्तै कारण आज मुलुकमा जातिवाद कायम रहेको छ । र, त्यसले नै नेपाललाई आजको त्यो हालतमा पुर्याएको छ, थप लेखिरहनु नपर्ला । त्यो सरकारी मनपरीलाइ तोड्नका निम्ति पनि ईशाई वा मुशलमानका रुपमा परिचित गराउन त्यति सहज नहुने भएबाट र कैयन सांस्कृतिक समानता तथा भाषिक वैशिस्ट्यका आधारमा समेत आज मगर समुदायले आफुलाई “बौद्ध हौँ” भन्नु उचित हुन्छ । धर्म भन्ने कुरा धारण गर्ने वा स्वीकार गरी अपनाइने कुरा हो l त्यो सधै एउटै रहन सक्दैन । बुद्ध स्वयम् नै पहिलो उदाहरण हुन् ; उनी पहिले हिन्दू धर्मावलम्बी थिए l त्यसैगरी सम्राट अशोक पनि ।

अस्तु ।