२०६९ मंसिर ३० गते, प्रथम सहिद लखन थापामगर स्मृति प्रतिष्ठान, काठमाडौं, दोस्रो साधारण सभाले २०६९ मंसिर ३० गते प्रतिष्ठानका संस्थापक अध्यक्ष रुलबहादुर आलेको नेतृत्वमा दोस्रो कार्य समिति सर्बसम्मतिले चयन गरेको छ । अन्य पदाधिकारीहरुमा उमेशबहादुर राना मगर, दिलप्रसाद मगर, सुवास आले र उषा पुन क्रमशः उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष चयन भएका छन् भने सदस्यहरु सञ्जोग लाफा मगर, किरणबाबु श्रेष्ठ, दिपक तितुङ्ग तामाङ्ग, सानु राना मगर, तमती गर्बुजा मगर, थदेवी पुन मगर, कमला श्रीस मगर, माया हिस्की मगर, श्यामबाबु थापा मगर र दिलिप आले मगर रहेका छन् । एक्काइस सदस्यीय कार्य समितिमा १५ जना साधारण सभाबाट निर्वाचित हुने र बाँकी ६ जना सदस्यहरु निर्वाचित कार्य समितिले समावेशी आधारमा मनोनयन गर्ने व्यावस्था प्रतिष्ठानको संशोधित विधानले गरेको छ । साथै प्रतिष्ठानको शाखा विस्तार, प्रथम सहिदको जन्मथलो तथा सहादत प्राप्त गरेको क्षेत्र र सोको वरिपरिको क्षेत्रको विकासको लागि गुरु योजना बनाई लागू गर्दै जाने, “प्रथम सहिद अध्ययन वृत्ति कोष” स्थापना गरी अध्ययन अनुसन्धान गर्ने आदि भावी कार्यक्रमहरु प्रतिष्ठानले प्राथामिकतामा राखेको छ ।
प्रमुख अतिथि आदिवासी जनजाति महासंघका अध्यक्ष राजकुमार लेखी (थारु) बाट उद्घाटन भएको कार्यक्रमको उद्घाटन शत्रमा प्रमुख अतिथि र इतिहासविद् प्रा.डा. श्रीरामप्रसाद उपाध्यायबाट संयुक्त रुपमा रुलबहादुर आलेद्धारा लिखित एवं प्रतिष्ठानबाट प्रकाशित “प्रजातान्त्रिक आन्दोलनका योद्धाः प्रथम सहिद लखन थापामगर” अनुसन्धानात्मक पुस्तक विमोचन गरिएको थियो । प्रमुख अतिथि तथा अन्य अतिथि, वक्ताहरुले प्रथम सहिद लखन थापामगरको योगदानको चर्चा गर्दै “उनले देखाएको बाटोमा हिडेको भए नेपालको राजनीति अहिलेको जटिल मोडमा आइपुग्ने थिएन” भन्ने व्याख्या विश्लेषण गरेका थिए । साथै राज्यले लखन थापाको योगदानको उच्च मूल्याङ्कन गर्दै उनलाई राष्ट्रिय विभूति एवं प्रथम सहिद अबिलम्ब घोषणा गर्नुपर्ने माग सबै वक्ताहरुले राखेका थिए । अहिलेसम्म यस प्रति कुनै पनि सरकारले चासो नराखेको प्रति उनीहरुले गुनासो पोखेका थिए ।
S. Lapha