प्राणी जगतलाई आफू जस्तै सम्झेर मैत्री, करुणा राखौं ।
विगत चार बर्षदेखि बैंककको “वाट सोमानास राजकिय बुद्ध बिहार” मा रहदै आउनु भएका भिक्षु मगर हंगकंगमा मगर बुद्ध समाजले आयोजना गरेको “शान्तिको लागि बौद्ध शिक्षा” कार्यक्रममा धर्म देशना दिन आउनु भएको अवसर पारेर राज्यसत्ताका लागि भिम थापा मगरले लिएको अन्र्तबार्ता ।
यहाँको परिचय ?
भिक्षु मगर, यो नाम भिडभाँडमा नहराओस भनेर मात्रै दिइएको हो । त्यसैले मगर चाहि मगरको कुलमा जन्मेको नाताले टाइटलको रुपमा मात्रै राखेको हो । यो जात होइन । जात त हो तर भिक्षुसँग जोडिएको जात होइन । अनि जन्मस्थान धनकुटा, सान्ने गा.वि.स. ६ हो । अहिले थाइलैंण्डको रमा चौथो राजाले आफ्नी रानी सोमानासको सम्झनामा बनाउनु भएको “वाट सोमानास राजकिय बुद्ध विहार” मा विगत चार बर्षदेखि बस्दै आएको छु ।
भिक्षु हुने प्रेरणा किन र कसरी मिल्यो ?
म बच्चादेखि नै मगर साथै सम्पूर्ण नेपालीहरुले बुद्ध धर्म मान्नु पर्छ भन्ने मान्छे, किनकि बुद्ध नेपालमा जन्मेको हुनाले । त्यसपछि ५२/५३ सालतिर एम.एस. थापा मगर, गोरे बहादुर खपांगी मगर, वि. के. राना मगरहरुले अन्र्तराष्ट्रिय बौद्ध सम्मेलन गर्न सफल भए । त्यसमा हंगकंग, बेलायत, अमेरिका लगायत बिभिन्न देशका मगरहरुको उपस्थिति रहेको थियो । त्यस समयमा एम. एस. थापा मगर र अरुले पनि कार्यपत्र प्रस्तुत गरेका थिए । तर एम. एस. थापा मगरको कार्यपत्र उक्त सम्मेलनमा पारीत भयो । मगरहरु बौद्ध धर्मालम्बि हुन भन्ने त्यहाँबाट शुरु भयो । त्यही कार्यपत्रलाई ५३/५४ सालमा सुनसरीको धरानमा भएको नेपाल मगर संघको राष्ट्रिय महाधिबेशनले मगरहरु बौद्ध धर्मालम्बि हुन भनी आधिकारीक घोषण गर्यो । त्यसपश्चात मगरहरु द्धिविधामा रहे मगरहरुले जानेको धर्म चाहि कर्मकाण्डमा मात्रै सिमित भयो । अरु समय धर्मलाई बुझ्न सकेनन । यही अबस्थामा ५६/५७ सालमा नेपाल मगर बौद्ध समाज भनेर समिति गठन गरीयो । मुख्य रुपमा सम्पूर्ण मगरहरुलाई बुद्ध धर्मालम्बि बनाउनु पर्छ भन्ने मान्यता बोकेको थियो । पछि नेपाल मगर बौद्ध समाजको दोस्रो अधिवेशन बुटवलको लक्ष्मीनगरमा सम्पन्न भएको थियो । त्यस अबिधेशनबाट म साथीहरुको जबरजस्तीले गर्दा केन्द्रिय उपाध्यक्ष भए । त्यही समयमा मैले बुद्ध धर्मको थेराबादी भिक्षुहरुलाई देखे । भिक्षुहरु देख्नासाथ एक खालको संबेग उत्पन्न भयो । जुन संबेगले चाहि बुद्ध शिक्षाको अध्ययन गर्ने माध्यम भिक्षु जिबन रहेछ भन्ने थाहा भयो । बुद्ध शिक्षा सिक्नु पर्ने रहेछ भन्ने, जान्ने र सिक्ने उत्सुकता बढ्यो । उपाध्यक्ष भैसकेपछि मनमा एक खालको कमजोरी महशुस भयो । के भयो भन्दा उपाध्यक्ष भएर मगरहरुलाई बौद्ध धर्मालम्वि हुनु पर्छ भन्ने नेता त बनियो तर आफूलाई नै बुद्ध धर्मबारे केहि ज्ञान थिएन । अब मगरलाई बुद्धिस्ट बनाउनको लागि पहिले आफै सिक्नु पर्छ र योग्य हुनु पर्छ अनि मात्रै अरुलाई बौद्ध हुँ भन्न सकिन्छ भन्ने मलाई लाग्यो । यसरी बुद्ध शिक्षा सिक्नलाई प्रेरणा जाग्यो । त्यही मान्यताले उपाध्यक्ष भएको १५ दिनमा नै गृहत्यागी भएर भिक्षु बनेर हिडे । त्यही मान्यताको फलस्वारुप मगर बौद्ध समाज हंगकंगको निमन्त्रणामा हंगकंग आई भेटघाट हुने र धर्म देशना सुनाउने अवसर प्राप्त भयो ।
प्रवजित भिक्षु जिवन र गृहस्ती जिवनमा के फरक पाउनु भयो ?
गृहस्थी जिवन र प्रवजित भिक्षु जिवनमा आकाश जमिनको फरक छ । गृहस्थी जिवनमा अचेतनशिल थिए भने अहिले चेतनशिल छु ।
नेपालमा कहाँ कहाँ घुमेर बौद्ध शिक्षा दिनु भएको छ ?
नेपालमा मेचिदेखि महाकालीसम्म बुद्ध शिक्षा सिकाउदै हिड्छु । त्यसैले मैले नेपालको ६५ जिल्ला घुमेर गाउँ गाउँमा बुद्ध शिक्षा दिने कोसिश गरी सकेको छु । अब अरु १० जिल्लामा पनि जाने योजना भैरहेको छ ।
नेपालमा विहार वा चैत्य बनाउने काम पनि गर्नु भएको छ कि ?
नेपालमा मुख्य रुपमा तिन ठाउँमा बुद्ध विहार बनाउने काम गरेको छु । पहिलो सर्खेतको कुनाथरीमा दोस्रो धनकुटाको भेडेटारमा र तेस्रो बाग्लुङको रायोडाँडाको बौद्ध चैत्यलाई विकास गरी अझ ठूलो बनाउने योजना छ । त्यसो त नेपालमा धेरै मगरहरुले जग्गा उपलब्ध गराउनु भएको छ, विहार बनाएर बस्दिनुस भनेर । लुम्विनीदेखि ३ कि.मी. उत्तरमा रहेको रुपन्देही जिल्लाको रुद्रपुर गा.वि.स. का मगरहरुले पनि बुद्ध विहार बनाएर बस्दिनुस भनी जग्गा देखाउनु भएको छ । लुम्बिनी नजिक भएकोले उपयुक्त पनि छ ।
मगरको नाताले विशेष गरेर मगरहरुलाई कस्तो र कसरी धार्मिक रुपमा अगाडि बढाउने योजना बनाउनु भएको छ ?
मगरलाई मात्रै होइन, समग्र रुपमा सम्पूर्ण मानब जातिलाई परीवर्तनको लागि धार्मिक चेतना आवश्यक छ । मगरलाई मात्रै हेर्ने हो भने मगरहरु धार्मिक चेतनामा धेरै पछाडि छन । जसले गर्दा समाजमा परिवर्तन ल्याउन त्यति सजिलो छैन । जुन परिवर्तनको लागि बुद्ध शिक्षा अति जरुरी छ । मगरहरु लगायत अन्य मानव समुदायलाई पनि बुद्ध शिक्षा दिनको लागि नेपालबाट विद्यार्थीहरुलाई बुद्ध शिक्षा र एकेडेमिक शिक्षा अध्ययन गराउनको लागि थाइलैण्डमा लाने गर्छु । तिनीहरुले थाइलैंण्ड बसेर अध्ययन गरेपछि नेपालमा गएर बुद्ध शिक्षा समाजलाई दिन सक्छन । जुन एउटा शान्तिको सन्देश हुनेछ । र म आफैले पनि ध्यान सिकाएर समाज परीवर्तन गर्ने कोशिस गरीरहेको छु । तर मगरहरुलाई परीवर्तन गराउन गाह्रो छ । बुद्ध शिक्षा अनुसार पञ्चशिलको कुरा गर्दा समाज भाड्न आएको पनि भन्छन यस्तो छ हाम्रो समाज । पञ्चशिल भनेको त खासै ठूलो कुरा होइन नैतिकवान जिबन हो । जस अन्र्तगत यि पर्छन ।
१. प्राणी हिंसा नगर्ने ।
२. चोरी नगर्ने ।
३. बेविचार नगर्ने ।
४. झुटो नबोल्ने ।
५. जाड, रक्सी, गाजा, भाङ, धतुरो र जुवा तास नखाने र नखेल्ने ।
यिनै हुन पञ्चशिल भनेको । यी कुरा गर्दा समाज भाडन आयो भने मगरहरुले ।
नेपाल मगर बौद्ध समाजको उपाध्यक्ष हुँदाको समय र अहिले मगरहरुको धार्मिक चेतानाको स्तर कस्तो भैरहेको छ ?
म गृहस्थी जिवनमा हुँदा भन्दा प्रवजित जिवनमा प्रबेश गरीसकेपछि मगरहरुमा धेरै भिन्नता आएको छ । अहिले मगरहरु कुल जनसंख्याको ९ प्रतिशत मध्ये ६ प्रतिशत बुद्ध धर्मालम्बि हुँ भन्ने मान्यता राख्छन । वाँकी ३ प्रतिशत मात्रै हिन्दु, क्रिश्चियन र अन्य छन । किनकि अहिले मैले नेपालका मगरहरुलाई राम्ररी बुझेको छु । अहिलेको जनगणना अनुसार जुन तथ्यांक आयो यो गलत हो । यो एउटा हिन्दु राष्ट्र बनाइनु पर्छ भनेर हिन्दुहरुको जालसाँचो पनि हुन सक्छ । हामी धर्म सापेक्ष होइन कि निरपेक्ष चाहन्छौं ।
प्रवजित भिक्षु कहाँ हुन भयो ?
समणेर प्रवजित नेपालको भक्तपुर स्थित मुनि बिहारमा बनेको हुँ । त्यसपछि भिक्षु उपसम्पदा अहिले बसिरहेको थाइलैंण्डको विहारबाट लिएको हुँ ।
अहिले थाइलैंण्डमा बसेर के गरी रहनु भएको छ ?
ध्यान गर्ने र सिकाउने काम गर्छु । त्यसमा गृहस्थीदेखि विश्वविद्यालय पढ्ने विद्यार्थी समेत हुन्छन । ध्यान शिक्षा यस्तो हो बिना ध्यान सुखको स्वागिर्य अनुभव गर्न सकिन्न । मनलार्इ स्थिर राखी सुख प्राप्त गर्न ध्यान गर्न जरूरी छ l
लामा र थेराबादी भिक्षुमा के फरक छ ?
हामी भिक्षहरु चाहि पटिमुख संवर शिल पालना गर्दछौं । जस अर्न्र्तगत २२७ वटा नियम पर्दछन । जुन नियम भगवान बुद्धबाट निर्देशित छन । तर लामाहरु बोधिसत्व नियम पालना गर्दछन यही भिन्नता हो । थेरावादी भनेको यथार्थाबादी हो, जसमा बुद्धलाई हामी एउटा महामानवको रुपमा हेर्छौं । उहाँको शिक्षा नै मुक्तिको मार्ग दर्शन हो । तर जुन लामाइज्जम छ यो इसाको सातौं आठौं सताब्दीबाट मात्रै बिकास भएको हो । हुन त उनीहरुले पनि पढ्ने त्रिपिटक नै हो । तर संस्कृतमा लेखिएको त्रिपिटकलाई तिबेटियन भाषामा उल्था गरेको तिबेटियन भाषाको त्रिपिटक लामाहरुले पढ्ने र पूजा पाठ (मन्त्रहरु) गर्ने गर्छन । थेराबादी भिक्षुहरु बुद्ध भगवानले बोल्ने भाषा पाली भाषा मै त्रिपिटक पढ्ने र पूजा पाठ (मन्त्रहरु) गर्ने गर्छन । किनकि मुल ग्रन्थको भाषा नै पाली हो ।
भिक्षहरु पनि पुःन गृहस्थी जिवनमा फर्केको सुनिन्छ यहाँको विचार के छ ?
साहै् मार्मिक र अप्ठ्यारो प्रश्न सोध्नु भयो । यसको लागि मेरो परीवारीक कुरा पनि भन्नु पर्ने हुन्छ । भिक्षहरु पुःन गृहस्थी जिवनमा फर्कन पनि सक्छन इच्छा हुनेहरु । भगवान बुद्धले पनि फेरि फर्कन सकिदैन भन्नु भएको छैन । मेरो सन्दर्भमा गृहस्थीमा फर्कन्छु कि फर्कन्न भन्ने कुरामा मेरो पोल खोल्नु पर्ने हुन्छ । किनकि म भिक्षु बन्दा मेरो परिवार र आमाले केहि बर्षको लागि मात्रै भिक्षु बनेर बुद्ध शिक्षा अध्ययन गर्नको लागि अनुमति दिनु भएको थियो । तर अहिले उहाँहरु सकरात्मक हुनुहुन्छ । त्यसैले भिक्षु जिवन छोड्ने सोच बनाएको छैन । भविष्यको कल्पना पनि गरेको छैन । म बर्तमानमा नै रमाउने गर्छु । छोटो तरीकाले बुझ्दा खेरी ९८ प्रतिशत गृहस्थीमा फर्कन्न भन्ने छ ।
अन्तमा यत्रो त्याग गरेर प्रबजित भिक्षु हुनु भएको छ मानव जगतलाई केहि सन्देश दिनु हुन्छ कि ?
मानव जगतलाई सन्देश भन्नु पर्दा सम्पूर्ण प्राणीहरु सुख चाहन्छन । सुख प्राप्तीको लागि होसपूर्वक जिवन जिउनु पर्छ । सम्पूर्ण प्राणी जगतलाई आफु जस्तै सम्झेर मैत्री, करुणा राखौं, शान्ति हुन्छ । रीस, राग, मोह, लोभ, द्धेश भावना त्यागौं । त्यसैमा सवैलाई मंगल हुन्छ ।
यो जगतले बुद्ध बचन पालन गरे शान्ति हुन्छ : भिक्षु मगर
Read Time:13 Minute, 35 Second