‘‘सेतो धर्ती’’ नामक उपन्यासमा भुजेल जातिमाथि गरिएको अपमानप्रति कतारका भुजेलहरुद्धारा खेद प्रकट

Read Time:5 Minute, 51 Second

– नारायण भुजेल
नेपाल प्रवासी भुजेल सेवा समाज कतारको मिति २ नोभेम्बर २०१२ का दिन श्री हेमेन्द्र खवास भुजेलको अध्यक्षतामा बसेको बैठकले यस वर्षको मदन पुरस्कार विजेता ‘‘सेतो धर्ती’’ नामक उपन्यासका लेखक अमर न्यौपानेको अति ब्राम्हणवादी अहंकारजन्य शब्द प्रहारले सम्पूर्ण भुजेल÷घर्ती जातिको अपमान गरेको विषयमा खेद प्रस्ताव पारित गर्दै भुजेल समाज सेवा समिति, आदिवासी जनजाति महासंघ समन्वय परिषद कास्की र अन्य भुजेल संघ संस्थादारा सञ्चालित आन्दोलनमा ऐक्यबद्दता व्यक्त गर्ने निर्णय सर्वसम्मतिबाट पारित गरेको छ ।
यति बेला नेपाली समाज संघीय लोकतात्रिक गणतन्त्रको संस्थागत विकासको चरणमा छ । सबै जातजाति, धर्म, लिंग क्षेत्र र समुदायको समान हक अधिकार एवम आत्मसम्मान सहितको विभेदरहित समाज निर्माणको संक्रमणकालमा छ । यस्तो बेलामा नेपालका आदिवासी जनजाति, दलित, महिला, मधेशी र पछाडि पारिएका वर्ग समुदायमाथि विगत २४० वर्ष अगाडि देखि एक छत्र शासन गर्दै आएको अति हिन्दुवादी ब्राम्हणवाद, जसले अरुलाई होच्याएर, दबाएर आफुलाई ठूलो भएको महशुस गर्छ, अरुलाई नीच सावित गरेर आफुलाई सर्वश्रेष्ठ ठान्छ, त्यसको प्रतिविम्वको रुपमा उपन्यासकार अमर न्यौपानेलाई लिन सकिन्छ । आजको २१ औँ शताब्दीको मानव समाज वैज्ञानिक युगमा प्रवेश गरिसक्दा पनि हाम्रो नेपाली समाज भने हिन्दु अतिवादी ब्राम्हणबादको शिकार भइरहेको अवस्था छ । यसलाई जरैदेखि उन्मूलन गर्नु आजको आवश्यकता र चुनौती हो ।
‘‘सेतो धर्ती’’ नामक उपन्यासमा कुनै काल्पनिक पात्रको चरित्रको रुपमा मात्र भुजेल÷घर्तीलाई प्रस्तुत गरिएको छैन, त्यहाँ सिङ्गो जातिलाई नै अपमान गरिएको छ । यो कुनै लेखकीय, प्रकाशकीय, पाठकीय र व्यावसायिक स्वतन्त्रता भित्र पर्ने कुरा हो त ? यदि अमर न्यौपाने जस्ता ब्राम्हणवादी कथित विद्वानहरुको दृष्टिकोणमा कसैको वास्तविक जातीय इतिहासलाई ओझेलमा राखेर ब्राम्हणवादी एकपक्षीय विश्लेषणको आधारमा कुनै जातिको अपमान गर्नु स्वतन्त्रता भित्र पर्छ भने, अब यस्ताखाले स्वतन्त्रताको अन्तिम घडि सुरु भैसकेको छ ।
हामी के कुरामा प्रष्ट हुन जरुरी छ भने भुजेल, घर्तीको जातीय इतिहास आज भन्दा करीब ७०० वर्ष भन्दा पुरानो छ । यिनीहरुको जातीय पेशा भनेको चोयाका डोकाडाला लगायत नाम्लो तथा कपडाका तान बुन्ने र कृषि  थियो । कालान्तरमा पृथ्वीनारायण शाहको एकिकरण पछि नेपालमा एकखाले सामाजिक शोषण, उत्पीडनको जन्मभयो र यो पछि गएर राणाकालमा चरम उत्कर्षमा पुगेको थियो । सोही अवधीमा कतिपय भुजेल, घर्तीहरुलाई पनि दासदासी बनाइएको र विहेमा डोली बोकाउने गरिएको सत्य हो । यो एउटा सामाजिक शोषणको युग थियो । यसबेला भुजेल घर्ती मात्र हैन सबैजसो आदिवासी जनजातिहरु, दलीत, मधेशी र महिलाहरुमाथि सामाजिक शोषण उत्पीडन भएको थियो ।
यस उपन्यासमा लेखकले प्रयोग गरेको ‘‘डोले’’ शब्दले भुजेलको कुनै थर उपथर वा समग्र जातीय पेशा जनाउदैन । यो शब्द ब्राम्हणले मरेको मानिसको क्रियामा काटो खाने भएकोले काटे, टपरे बाहुन भनेर हेला वा अपमान गर्न प्रयोग गरिने शब्द जस्तै हो । आजको लोकतान्त्रिक नेपालमा सबैखाले सामाजिक, साँस्कृतिक विभेदहरुको अन्त्य भई सबै जातजाति भाषा, धर्म र संस्कृतिहरुबीच समान अस्तित्वको आधारमा सभ्य,सुसंस्कृत र संबृद्ध नेपाली समाजको निर्माणमा यस्ता एकल जातिवादी अहंकार जन्य चिन्तन, विचार एवम लेख रचनाहरु गम्भीर चुनौतीको रुपमा रहेको कुरा थप पुष्टि हुन पुगेको छ ।
नेपाल प्रवासी भुजेल सेवा समाज कतारको उक्त बैठकले, ब्राम्हणवाद, अहंकारबाद र सर्वश्रेष्ठवादको बिरुद्दमा एकजुट हुन देश—विदेशमा रहेका सम्पूर्ण भुजेलहरुलाई आह्वान गर्दै आदिवासी जनजातिहरु तथा न्याय र समानताका पक्षधर सम्पूर्ण नेपालीहरुलाई यस्ता प्रहारहरुलाई निरुत्साहित गर्न हार्दिक अपिल गरेको छ । 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %