राष्ट्रपति डा.रामवरण यादवले प्रमुख दलहरुलाई बोलाएर लम्बिदो राजनीतिक, संवैधानिक संगै बजेट संकट समेत सल्टाउन आग्रह गरे लगतै सत्ताको नेतृत्व समाल्दै आएको नेकपा माओवादी र प्रतिपक्ष दलहरुबीच बसेको शुक्रवारको संयुक्त बैठक पनि सहमति जुटाउन असफल भयो ।
स्रोतका अनुसार माओवादीले वर्तमान सरकारलाई नै राष्ट्रिय सरकारको स्वरुप दिनु पर्ने अडान दोहोरयाएकाले सहमति जुट्न नसकेको हो । बाबुराम भट्टराई नेतृत्वको सरकारको तत्काल राजीनामाको माग गदै आएका कांग्रेस र एमालेले माओवादीको यस्तो प्रस्तावलाई अस्वीकार गरिदिएका छन् । माओावादीले यही सरकारलाई निरन्तरता दिने गरि सहमतिको प्रस्ताव राखे पछि बैठक विना निष्कर्ष टुंगिएको कांग्रेस नेता रामचन्द्र पौड्यालले बताए ।
संविधानसभा विघटन पछि वर्तमान सरकारले गत साउनमा एक तृतियाँश बजेट जारी गरेको थियो, तर उक्त बजेट कार्तिक मशान्तमा सकिनै लाग्दा मुलुक आर्थिक संकट तिर धकेलिदै छ । राष्ट्रपतिले सरकारलाई दलीय सहमति बेगर बजेट नल्याउन सुझाव दिइसकेका छन् । यता प्रमुख दलहरु भने राष्ट्रिय सहमतिको सरकार नबन्दा सम्म बर्तमान सरकारलाई बजेट ल्याउन नदिने अडानमा देखिन्छन् । यद्यपी माओवादी पार्टीको शुक्रवारको बैठकले कार्तिक मशान्त भित्रै बजेट ल्याउने निर्णय गरेको छ । माओवादीले विश्वासको बतावरण बनाएर सहमति नगर्दासम्म बजेट ल्याउन नदिने प्रतिपक्ष दलहरुको अडान कायम छ । तत्काल राजनीतिक सहमति गरेर दलहरु अगाडि बढ्न ढिला गर्ने हो भने देशमा राजनीतिक र संवैधानिक संकटका साथै आर्थिक संकट थपिने निश्चित छ । राजनीतिक दलहरु सत्ताको नेतृत्व कसले गर्र्ने भन्ने झगडामा समय खेर नफाली बेलैमा राजनीतिक संवैधानिक र आर्थिक संकटबाट देशलाई जोगाउन राजनीतिक सहमति गर्नुको विकल्प देखिन्न । तर दलहरुबीच बढ्दो अविश्वासले देशमा झन् भयावह संकट आइलाग्ने हो कि भन्ने आमजनताको मनमा आशंका पैदा गरि दिएको छ ।
(राज्यसत्ता नेपाल व्युरो )
सत्ता नेतृत्वकै झगडाले राजनीतिक गतिरोध फुकेन
Read Time:2 Minute, 56 Second