पटक –पटक सहमतिका लागि दलहरुलाई समय सिमा तोक्दै आएका राष्ट्रपति डा. रामबरण यादवले शुक्रवारको बैठकमा भने त्यस्तो समय सिमा तोकेनन् । मुलुक गम्भीर संकट तिर धकेलिएको भन्दै चिन्ता व्यक्त गर्ने गरेका राष्ट्रपति यस अगाडिका दलीय बैठकमा भन्दा निकै नरम ढंगले प्रस्तुत भएको नेताहरुले बताएका छन् । संविधानसभा विघटन पछि सहमतिका लागि राष्ट्रपतिद्धरा डाकिएको पाँचौ वैठक पनि औपचारिकतामा मात्रै सिमित बन्न पुग्यो । शुक्रवार भएको दलीय बैठकमा सहमति भन्दा दिवा भोजमा मात्रै सिमित बनेको माओवादी अध्यक्ष प्रचण्डले बैठक पछि सञ्चारकर्मीलाई प्रतिक्रया दिए । यस अगाडिको बैठकमा दलहरुले असोज मशान्तसम्ममा सहमति जुटाउने प्रतिवद्धता जनाएका थिए । आफ्नो भूमिकाकाबारे चलेको जुहारीले राष्ट्रपति र प्रधानमन्त्री बीच तितो बढेको बेला शुक्रवारको बैठकमा भने राष्ट्रपतिले आफ्नो भूमिका बारे पनि परार्मश गरेका थिए । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले आफ्नो भूमिका र आगामी कदमबारे पनि दलहरुसंग राष्ट्रपतिले सुझाव मागेको बताए । दलहरुलाई निश्चित समय सिमा तोकेर सहमतिको लागि दबाव दिइदै आएका राष्ट्रपतिले आफ्नो पछिल्लो भूमिकाबारे व्यापक टिकाटिप्पणी भएपछि पछाडि हटेको हुन सक्ने आशंका छ । तर राष्ट्रपतिले दलहरुलाई सहमतिका लागि दबाब सृजना गर्नु साटो नरम भैदिदा दलहरुले अझ गतिरोध लम्ब्याउने हुन् कि भन्ने आशंका पनि आमजनतामा पर्न थालेको छ ।
(राज्यत्ता नेपाल व्युरो )