भिक्षु- नाम मगर (बेंगकोक , थाइलैंड)
यतिखेर नेपालमा हिन्दूहरूको महान पर्व भनेर चिनिने बडा दशैंले घर आगनमा पाइला टेकिसकेको छ । तर यो पर्वले नेपाली समाजमा समानता को सट्टामा बि-समानता सृजना गरिदिएको छ । कुनै एउटा सम्प्रदायले उसको बाचर्श्व कायम राख्नको लागि कुनै एउटा अदृष्य शक्तिलाई खुशि बनाउने बहानामा अरु सम्प्रदाय माथि दमन गरिएको एउटा कु-प्रथा हो ।
एउटा अदृष्य शक्तिको नाममा निर्दोष निहत्था प्राणीको आहुती (वलि) दिने गरिन्छ पूजाको नाममा l एक पल्ट सोचौ त नेपालमा यो घटस्थापनाको दिनबाट दशमीको दिन सम्ममा कति निर्दोष प्राणीले ज्यान गुमाउछ होला ?? आफ्नो स्वार्थको लागि एउटा निर्दोष प्राणीले उसको आमुल्य जीवनको आहुती दिनु पर्ने कस्तो पद्दती होला ??
हामी मानव जसरी आफ्नो आमाको गर्व प्रवेश पछि क्रमिक बृदिसंगै यस संसारमा आउछौ त्यस्तै सम्पुर्ण प्राणी पनि त्यहि पद्दतीमा यो संसारमा आउछ । जसरी हामिलाई आफ्नो जीवन जति सुन्दर प्यारो लाग्छ त्यति नै अरु प्राणीले पनि उसको जीवन सुन्दर र प्यारो लाग्छ ।
त अरु प्राणी र मनिसमा के फरक छ ? हामी बिबेकशिल प्राणी एक पल्ट सोचौत के ती प्राणी हरूको जीवन पनि हाम्रो जस्तै जीवन होइनर ?? धर्म (पुण्य) प्राप्ती को लागि त मेत्ता (प्रेममय भाव) मुदिता (दया भावना) करुणा (कारुणिक आनन्द) र उपेक्खा (धैर्य) हुनु पर्दछ तब मात्र पुण्य प्राप्ती हुन्छ l अरुको हत्या, हिंसा गरेर कहीले पुण्य प्राप्ती हुदैन त्यहा त पाप मात्र हुन्छ ।
पूजाको अर्थ सायदै नेपाली हिन्दूहरूले बुझ्न सकेनन, पुजाको अर्थ त सेवा गर्नु, गुण-गान गाउनु, महिमा गाउनु हो, तर नेपालमा पूजा भनेको कुनै अदृष्य शक्तिलाई खुशि बनाउन र आफ्नो स्वार्थको लागि निर्दोश प्राणीको बली दिनु चाँही पूजा रे कति अनौठो छ सायद पूजाको कुनै महत्व भएन यहाँ । न त हामिलाई कुनै देवी, भगवतीले बली दिएर खुशि बनएको बदलामा केही फिर्ता गरेको नै छ ।
बिबेकशिल मानव अझ बूद्दिजिवी भन्नेहरू नै ती अदृष्य शक्ति माथी विश्वाश गरिरहेको देख्दा अचम्म लाग्छ मलाई अझ आफ्नो स्वार्थको लागि भाकल गरेर माग्ने गर्छन । कसैले त मैले फलनो देवीलाई भाकल गरेको थिए पूरा भयो नी त्यो देवी त साक्षत रहेछ भन्ने गरेको पनि पाईन्छ ।
हामी मानब फेरि एकपल्ट ठन्डा दिमागले सोचौ त हामिले आटेको काम हाम्रो मिहनत, परिश्रमले पूरा भयो की त्यो अदृष्य शक्तिले पुरा गरि दियो होला ??? पक्कै पनि तपाईंले सोची सक्नु भयो त्यो काम तपाईंको मिहनत, परिश्रमले मात्र पूरा भएको हो । कुनै अदृष्य शक्तिले पूरा गरेको होइन । भगवान बुद्धले भन्नु भएको छ :
“पूजा च पुजनेय्यानं, एतं मङलमुत्तमं”
पूजा गर्न योग्यलाई मात्र पूजा गर्नु पर्दछ । जुन गरेको पूजाले सम्पुर्ण प्राणी जगतको हित होस् ।
जनजाति र दशैं
विगतमा जस्तै यसपली पनि नेपालमा जनजाति समुदायले दशैंलाई बहिस्कार गर्दै आएको छ तर पनि नेपालको संचार माध्यमले खासै कुनै महत्व दिएको पाइदैन । जसले गर्दा समाजमा समानताको सट्टामा असमानताको पर्खाल खडा गरिदिएको छ । जसरी हिन्दूहरूले दशैंलाई सिन्धुघांटीको सभ्यतासँग जोड्ने प्रयास गरेता पनि कुनै आधार पाइदैन यो एउटा समाजलाई दिग्भर्मित गराउने अर्थहिन कुरा मात्र हो ।
दक्षिण एशियामा दशैं मनाउने देश नेपाल मात्र होइन भारत, श्रिलङ्का, बङ्गलादेशमा पनि दशहराको नाममा मनाउने प्रचलन रहेको छ । तर त्यहा मनाउने दशैं वा दशहरा र नेपालमा मनाउने दशैं नितान्त फरक किसिमको पाईन्छ । नेपालमा दशैंको शुरुवात निकै फरक किसिमको छ ।
बर्तमान नेपालको गोरखा जिल्लाको माझकोटमा खड्का मगर राजाले राज्य गर्दथ्यो । त्यहि राज्यमा बस्ने मगर गंगा राना मगर द्रब्य शाहको प्रलोभनमा पारेर गंगा राना मगरको सहयोगमा द्रब्य शाहले खड्का मगर् राजालाई हत्या गरेर शासन गरेको थियो ।
खड्का मगर राजाको हत्या गरे पछि आफू द्रव्य शाह राजा भएको खुशियालीमा आश्विन शुक्ल पुर्णिमा भरी बिजयको हर्षोल्लास गर्दै टीका लगाएर बिजय मनाएका थिए (१), यहि घटनालाई वार्षिकोत्सवको रुपमा मनाउनु पर्ने विधान बनाए पछि यहि कालन्तरमा सस्कृती बनेर दशैं मनाउने प्रचलन बनेको हो । यसरी मगर राजालाई मारेर मनाउने यस्तो सस्कृती हामि मगरले मनाउनु भनेको हामि कमजोर छौ भनेर लाचरिता प्रकट गर्नु हो ।
हुनत पछिल्लो उदाहरणहरू पनि नभएको होइन ! तिनै द्रव्य शाहका सन्तती पृथ्वी नारायण शाहले काठमाण्डौमा जयप्रकाश मल्ललाई हरएर काठमाण्डौमा दशैंको सस्कृती भित्रिएका थिए । जुन अझै पनि फुलपातीलाई गोरखाबाट ल्यार हनुमानढोकामा भित्रियाउने चलन रहिरहेकै छ ।
त्यस्तै पृथ्वी नारायण शाहले पूर्वतिर राज्य बिस्तार गर्ने क्रममा पूर्वमा रहेको किपट प्रचलनलाई निस्तेज पारेर राई, लिम्बुहरू लाई “सुव्वांगी” दिएर सरकारी सेना मार्फत दशैं र दशैंमा वली दिने प्रथाको बिकास गरेको थियो ।
कसैले दशैं मनायो की मनाएन भन्ने प्रमाणको लागि बली दिएको प्राणीको रगतमा हात चोबेर “पञजा छाप” घरको भित्तामा लगाउने पर्ने नियम पनि बनाए जुन प्रचलन अझै पनि रहेको छ । त्यसैले यसरी हामी माथी गरिएको दमन रुपी विभेदपुर्ण दशैं लाई बहिष्कार गरौ ।
दशैं र बुद्ध धर्म
इशा पूर्व २५६ मा अशोक महाराजलाई युद्ध देखि घिर्णा लागेर सम्पुर्ण शास्त्र युद्ध त्याग्नु भयो र आफूले आँफैलाई धर्म युद्धमा जित्नु भयो त्यहि दिनलाई बिजया प्राप्ती मानेर खुशियाली मनाउन थाले (२) । श्रमणेर निग्रोधको धर्म उपदेश सुनेर अशोक महाराजले सम्पुर्ण शास्त्र युद्ध त्याग्नु भएको थियो ।
यहि सम्झनामा दान-पुण्य गरेर धर्म उपदेश सुन्ने मान्यजनबाट अशिर्बाद थाप्ने प्रचलन थियो । वास्तबिक बिजय प्राप्ती त आफूले आफूलाई जितेको दिन मात्र प्राप्त हुन्छ, हामी भित्र रहेका रिस, राग, द्रेष, मोह, क्रोधलाई हामी स्वयंले जित्न सकिउ भने मात्र वास्तबिक बिजय प्राप्ती हुन्छ त्यहि सहि जित हो । अरु लाई हत्या, हिंसा गरेर कहीले बिजय प्राप्ती हुदैन ।
१, बी के राना मगर, हिमालयन भ्वाइस, दशै पछि तिहार र जनजाति ।
२, बौद्ध दर्पण पेज नं ११४