नेपाली कांग्रेस पार्टी भित्र असन्तुष्ट रहेका जनजाति नेताहरु मध्ये पूर्व सभासद् कुमार राई सहित करीब तीन दर्जन नेताहरुले बुधवार राजधानीमा एक कार्यक्रम गरि पार्टीबाट राजीनामा दिएको घोषणा गरेका छन् । संविधानसभाबाट संविधान बन्न नसक्दा आदिवासी जनजाति, मधेशी, दलित, मश्लिम महिला कर्णालीवासी साथै सिमान्तकृत अपसंख्यकहरुले भोग्दै आएको २५० बर्षको पीडाबाट मुक्त हुन नसकेको र संविधानसभा विघटन हुनुमा नेपाली कांग्रेस समेत दोषी रहेको जनाउदै उनीहरुले सामूहिक राजीनामा दिएका हुन् । तीन दशकदेखि कांग्रेसमा सक्रिय रहेका राई नेपाली कांग्रेसबाट समानुपातिक तर्फबाट संविधानसभाको सभासद् थिए ।
नेपाली कांग्रेसमा आवद्ध आदिवासी जनजाति अगुवाहरुले ११ बुँदे माग कांग्रेस केन्द्रिय समितिमा बुझाएको तर पार्टी उक्त माग प्रति गम्भीर नभएकाले दल त्याग गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । नेपाली कांग्रेस पार्टी परित्याग गर्ने अन्य नेता तथा कार्यकर्ताहरुमा संखुवासभाका पूर्व सांसद् दुर्गामणी देवान, सिन्धुलीका उपसभापति बुद्धराज राई , ओखलढुंगाका जुद्धबहादुर राई, म्याग्दीका टिकाप्रसाद गौचन, नवलपरासीका राजकुमार महतो, नुवाकोटका सुवास तामाङ, दोलखाका नोर्साङ शेर्पा, दोलखाकै कोपिला थामी लगायत छन् । नयाँ पार्टी निर्माण कार्यदलका संयोज चैतन्य सुब्वाको आतिथ्यतामा भएको पार्टी परित्याग कार्यक्रममा नयाँ राजनीति शक्ति निर्माणमा नेताहरुले जोड दिइएका थिए । पार्टीबाट राजीनामा दिएका मध्ये अधिकांश नयाँ पार्टीमा जाने निश्चित भएको छ । पार्टीमा असन्तुष्टि जनाउदै फरक विचार समूहको नेतृत्व गरिरहेका इन्द्रबहादुर गुरुङले भने राजीनामा दिएका छैनन् । नयाँ पार्टीमा गुरुङ सामेल हुने यस अगाडि निश्चित जस्तो बनिसकेको थियो । जनजाति नेताहरु पार्टी छाड्ने क्रम सुरु भएपछि नेपाली कांग्रेसले पदाधिकारी बैठक गरि आदिवासी जनजाति नेताहरुका मागलाई लोकतान्त्रिक र संवैधानिक रुपबाटै सम्बोधन गर्न तयार रहेको जनाएको छ । आदिवासी जनजातिका माग र मुद्धाप्रति कांग्रेस गम्भीर रहेको र पार्टी भित्र परामर्श गरेर जायज मागलाई सम्बोधन गरिने सभापति सुशील कोइरालाले बताएका छन् । यसैबीच आदिवासी जनजाति नेताहरुको मागका विषयमा रायसुझाव दिन केन्द्रिय सदस्य भीमबहादुर तामाङ संयोजकत्वमा गठित समितिले आजै आफ्नो प्रतिवेदन पार्टीलाई बुझाएको छ । उक्त प्रतिवेदन प्रति पनि आफ्नो असन्तुष्टि रहेको नेता इन्द्र बहादुर गुरुङले बताएका छन् ।
यता एमालेका उपाध्यक्ष अशोक राईले पनि बिहीवार एमाले परित्याग गर्ने सार्वजनिक गरिसकेका छन् । कांग्रेस र एमालेका अधिकांश जनजाति नेताहरु नयाँ राजनीतिक शक्ति निर्माणको लागि पार्टी छाड्ने लहरले ठूला पार्टीमा भुइँचालो गएको छ ।
(राज्यसत्ता नेपाल व्युरो )