निर्मल श्रेष्ठ
हङकङ, आश्विन १३ – भूपेन्द्र सिलवालको मृत्युसँगै नेपालबाट पहिलोपल्ट सन् १९६४ को ओलम्पिकमा सहभागी पुस्ता अन्त भएको खबरले गतसाता निकै चर्चा पायो । ६६ वर्षीय नामसिंह थापालाई भने यो समाचारले एकैपटक दोहोरो पीडा दियो । थापा नेपालको प्रतिनिधित्व गर्दै हङकङबाट सीधै जापानको टोकियो पुग्ने चार बक्सर मध्येका एक हुन् । चारैजना खेलाडी त्यतिबेला बि्रटिस गोर्खा सैनिकमा कार्यरत थिए ।
‘भूपेन्द्रको मृत्युको खबरले जति दुःखी बनायो, हामी जीवित छँदै पहिलो पुस्ता समाप्त भयो भन्ने कुराले निकै पीडा दियो,’ १८ औं ग्रीष्मकालीन ओलम्पिकको मार्चपासमा सिलवालसँगसँगै राष्ट्रिय झन्डा पछ्याएको सम्झँदै शुक्रबार राति कान्तिपुरसँगको कुराकानीमा थापाले भने, ‘कस्तो विडम्बना जिउँदोलाई समेत मरेको भनी हल्ला चलाइयो ।‘ ओलम्पिकपछि बक्सरहरू सम्पर्कमा नरहेको भन्ने कुरामा समेत उनले आपत्ति जनाए । २०६० सालमा राष्ट्रिय खेलकुद परिषद्ले नेपालको गौरव बढाएको भन्दै पहिलो ओलम्पिकमा सहभागीहरूलाई पचास हजार रुपैयाँसहित कदरपत्र प्रदान गरेको थियो । जुन उनले समेत पाएका थिए । तत्कालीन सदस्य सचिव किशोरबहादुर सिंहले नै थापालाई आफ्नो कार्यकक्षमा कदरपत्रसहित चेक दिएको उनले बताए ।
त्यतिबेला ओलम्पिकमा सहभागी अन्य तीनसमेत जीवितै रहेको थापाले खुलासा गरेका छन् । भीमबहादुर गुरुङ, रामप्रसाद गुरुङ र ओमप्रसाद पुन हङकङबाट जापान पुग्ने अन्य तीन खेलाडी थिए । ‘लामो समयदेखि सम्पर्कमा नरहे पनि नजिकका साथीभाइहरूले ओमप्रसाद पोखरा, रामप्रसाद चितवन र भीमबहादुर भारतमा बसोबास गर्ने गरेको सुनाएका छन्,’ उनले भने । सन् १९८६ मा बेलायती गोर्खा सैनिकको क्याप्टेन पदबाट अवकाश पाएका थापा विगत १६ वर्षदेखि यतै छन् । पुर्ख्यौली घर स्याङ्जा मनकामना गाउँ विकास समिति, बलेउ भएका उनी हङकङ-नेपाल आउजाउ गरिरहन्छन् ।
ओलम्पिकमा सहभागी हुँदा थापा १८ वर्षका रहेछन् । ‘सुरुमै पाका उमेरका अनुभवी खेलाडीसँग भिड्नु परेकाले पनि पहिलो चरणमै हारियो,’ प्रतिद्वन्द्वी रोबर्ट जोन अमेरिकी सेनामै कार्यरत रहेको उल्लेख गर्दै उनले भने, ‘आफू बराबरीकासँग परेको भए ढाल्छु नै भन्ने आँट थियो तर भाग्यले साथ दिएन ।‘ नेपालका तर्फबाट ओलम्पिक खेल्ने सबै चाँजोपाँचो बि्रटिस सेनाका बक्सिङप्रेमी कमान्डरहरूले नै मिलाएको उनले बताए ।
‘उतिबेला म हङकङमा बक्सिङको चर्चित खेलाडी थिएँ,’ फूर्तिलो देखिने उनले भने, ‘हाम्रा कमान्डरले अनुभवका लागि भए पनि सहभागिता जनाउनुपर्छ भनेर हौसला दिएका थिए ।‘ ‘उता जानुपर्ने भएपछि हङकङस्थित लियाजन अफिसले नागरिकताबिनै पासपोर्ट दियो,’ उनले थपे । ओलम्पिकमा सहभागी हुन चार नेपाली बक्सर र तीन अफिसियलका लागि एक सय बढी क्षमताको कार्गो जहाज नै उडाइएको समेत उनले सम्झे । एथलेटिक्सतर्फका अन्य दुई खेलाडी भोला सिलवाल र गंगाबहादुर थापालाई पहिलोपटक उनले ओलम्पिक भिलेजमै भेटेका थिए । ओलम्पिक पुस्तकमा भूपेन्द्र सिलवालको नाम भने भूपेन्द्रबहादुर केसी उल्लेख छ । जनरल नरशमशेर राणाको नेतृत्वमा जापान पुगेको नेपाली टोलीमा बक्सिङ संघका अध्यक्ष मृगेन्द्रशमशेर राणा, सुशीलशमशेर राणा, मोहनराज जोशी, द्वारिकाराम भगत -व्यवस्थापक) लगायतका अफिसियल थिए ।
‘हामी सेनामा भएकाले आफ्नो इच्छाले हिंड्डुल गर्न पाइँदैनथ्यो,’ उनले भने, ‘नेपाल र हङकङबाट गएको टोली एउटै भवनमा बसेका भए पनि खेलाडी र अफिसियलसँग मार्चपासकै बेला सामान्य कुराकानी भएको थियो ।‘ हङकङबाट गएको बक्सिङ टोलीको व्यवस्थापन बेलायती सैनिकका मेजर ज्याक किनले गरेका थिए । प्रशिक्षकमा सैनिक कमान्डर विल्ली टिंगल र ब्रुगेस थिए । ‘हाम्रा अफिसरहरू पनि नेपाली पोसाकमै मार्चपासमा हिंडेका थिए,’ थापाले भने, ‘हजारौं दर्शकहरूका माझ आफ्नो मुलुकको प्रतिनिधित्व गर्दा अत्यन्तै गौरवको अनुभूति भएको थियो ।‘
हङकङको प्रतिनिधित्व गर्दै थापाले यहाँ हुने थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा भिडेको बताए । ‘सन् १९६४ मा मैले हङकङ बेस्ट बक्सर अफ द इयरको उपाधि पाएको थिएँ,’ आफ्नो नाम निकै चर्चामा रहेको उल्लेख गर्दै थापा हौसिए, ‘मलाई उतिबेलै हङकङ आईडी लिन प्रस्ताव गरिए पनि सेनाका अफिसरले हुँदैन भनेपछि रोकिएँ ।‘ हङकङ उतिबेला अहिलेको जस्तो नरहेको सुनाउँदै उनी बोले, ‘यो भन्दा त नेपाल नै स्वर्ग छ भन्ने लाग्यो ।‘ बेलायती सैनिकका बक्सरहरूबीच हुने प्रतियोगिता ‘फार इस्ट ल्यान्ड फोर्सेस‘ को शीर्ष उपाधि पनि उनले जितेका थिए ।
चौध वर्षको उमेरमै बि्रटिस ब्वाइज कम्पनीमा भर्ती भएका थापाले सुरुवाती दिनमा बक्सिङ आफ्नो रोजाइको खेल भने नभएको बताए । ‘हाकिमका करैले मुक्का बर्साउनुपथ्र्याे, म त बक्सिङ खेल्नुपर्ला भनेर शौचालयमा लुक्थें,’ उनी इतिहास खोतल्दै अगाडि बढेे, ‘अफिसरले कान समातेर जबर्जस्ती खेल्न लगाउँदा लगाउँदै यसैमा रस पस्यो ।‘ ओलम्पिकमा सहभागिता जनाएर फर्केपछि भने सेनाले बक्सिङलाई प्राथमिकतामा नराखेका कारण चाहेर पनि निरन्तरता दिन नसकिएको उनले बताए ।
उनले राष्ट्रिय खेलकुद परिषद्ले प्रदान गरेको कदरपत्र र नगद पुरस्कार प्राप्त गर्न निकै संघर्ष गर्नुपरेको दुःखेसोसमेत पोखे । ‘परिषद्ले पहिलो ओलम्पियनहरूलाई सम्मान गरेको नेपाल जाँदामात्र थाहा पाइयो,’ यसबारे आफूलाई कुनै जानकारी नगराइएको बताउँदै उनले भने, ‘ओलम्पिकमा सहभागी हुँदाको परिचयपत्र देखाउँदासमेत परिषद्का पदाधिकारीले विश्वास नगरेपछि एकजना कर्मचारी साक्षी राखेर बल्ल दिए ।‘ सरकारले भत्ताबापत ओलम्पियनलाई दिंदै आएको करिब १ हजार ३ सय रुपैयाँ दुई वर्षजति उनले पनि बुझेका रहेछन् । २०६० सालदेखि भने कसैलाई पनि नदिने भनी रोकिएको उनले खुलाए । ‘तर सरकारले बक्सरका खेलाडीहरू माथि भेदभावपूर्ण व्यवहार गर्यो,’ उनले थपे, ‘कसैलाई नदिने भनिए पनि एथलेटिक्सका खेलाडीलाई भने अझ बढाएर दिएछन् ।‘ पैसाको कुराभन्दा पनि राष्ट्रले खेलाडीप्रति गर्ने व्यवहारको उदाहरण मात्र दिएको उनले बताए । खेलाडी राष्ट्रका गहना भएको उल्लेख गर्दै थापाले पुरानालाई उचित कदर गर्नसके मात्र नयाँ पिंढीलाई हौसला मिल्ने बताए । त्यसो त खेलाडी पनि राष्ट्रप्रति उत्तिकै जिम्मेवार रहनुपर्ने उनको जोड थियो ।
मुलुकका लागि जिउज्यान दिएका खेलाडीहरूलाई जिउँदो हुँदासम्म बेवास्ता गरिने प्रसंग उठाउँदै कुराकानीलाई बिट मार्नुअघि खेलकुद परिषद्का एक पदाधिकारीले यसो भनेको सम्झे, ‘मृत्यु भएपछि कसैलाई खबर गर्न लगाउनुहोला हामी राष्ट्रिय झन्डा ओढाउनेछौं ।‘
कान्तिपुरबाट