मगर संस्कृति
नेपाल मगर महिला संघको पन्ध्रौं स्थापना दिवसको अवसरमा प्रस्तुत कार्यपत्र
२०६९ असोज ३ गते
प्रस्तोता–पूर्णमाया पुलामी मगर
महासचिव, ने. म. म. संघ, के. स.
विषय प्रवेश
नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक राष्ट्र भएकोले यहाँ विभिन्न एकसय तीन किसिमका जातजातिहरु छन् । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म र हिमालदेखि तराईसम्म बसोबास गर्ने ५९ आदिवासी जनजातिहरु मध्ये मगर जाति पनि एक हो । जसको जनसंख्या राष्ट्रिय जनगणना २०५८ (२००१) अनुसार नेपालको कुल जनसंख्याको तेस्रो स्थान तथा आदिवासी जनजातिहरुमा पहिलो स्थान भएको मगरहरुको जनसंख्या १६,२२४२१ (७.१४ प्रतिशत) रहेको तथ्याङ्क पाइन्छ । मगर जातिको आफ्नो कुल मर्यादा तथा परम्परागत अनुरुप गरिने जति पनि कार्यहरु छन् त्यसलाई संस्कार भनिन्छ l मगर जातिको आफ्नै मौलिक लोकसंस्कार र लोकसंस्कृतिहरु छन् जुन भौगोलिक भू–बनोट अनुसार विविध प्रकारका छन् । लोकसंस्कृतिमा लोकाचार र कुलाचारको आ–आफ्नै परिधि र बिशेषताहरु छन् । लोकनाच, लोकगीत, लोककथा, लोकबाजा, लोकबोली परम्परादेखि प्रचलनमा रहेका कुलाचार अणुवांशिक विशेषता नै मौलिक लोकसंस्कृतिका प्रतिविम्ब हुन् । पानीको स्रोत मानिने मूल विशेष र कुलको स्रोत मानिने गोत्र वा थर जाति विशेषसँग आबद्ध हुने अनेक विशेषतायुक्त लोकसंस्कृतिमा मगर जातिहरु अत्यन्त धनी छन् । लोकसंस्कृतिमा पानी पधेरो, जात्रातीर्थ, मेलापात, घासदाउरा, चाडपर्वहरु, लेकबेसी, वनपाखा कुनाकन्दरा, गुफा, खोलानाला र रुखपात आदि सबैको उत्तिकै महत्व हुन्छ । लोकसंस्कृतिका प्रतिविम्व यिनै हुन् । लोकसंस्कृतिसँग लोकवार्ता र लोकव्यवहारको अन्योन्याश्रित सम्बन्ध हुन्छ । ऐतिहासिककालदेखि विभिन्न कालखण्डमा स्थापित गरेका मूल्यमान्यता जाति विशेषले आफैमा पचाएका आचारविचार, रहनसहन, व्यवहार र स्थापना गरेका मूल्यमान्यताका संवेदनशील भावनात्मक पक्ष तथा प्रत्यक्ष–अप्रत्यक्ष मा गरेका भोगेका अनुभूति र भौतिक वस्तुका दृश्य वा आध्यात्मिक चेतना र अभिव्यक्ति समेत लोकसंस्कृति कै परिवेशभित्र पर्दछन् । आचार विचार कला कौशलका साथै परिष्कृत भएर विकसित हुँदै आएको ऐतिहासिक परम्परालाई लोकसंस्कृतिकै विशेषणका साथमा महत्व दिइन्छ । लोकसंस्कृतिको यी सबै विषयको प्रतिविम्ब कतै न कतै परेकै हुन्छ । यस्ता लोकसांस्कृतिक पक्षका विविध फाँटहरुमा आ–आफ्ना रीतिरिवाज र कुलपरम्पराले लोकसंस्कृतिको प्रतिविम्व त्यस समाजमा बहुरङ्गी रुपमा प्रर्दर्शित गरेको हुन्छ । कुनै पनि जातजाति र समाजका संस्कृति स्रोतमा कुनै न कुनै दर्शनको प्रभाव हुन्छ र कुन दर्शन आफ्नो स्रोत हो भन्ने कुरामा बुझ्नै पर्ने हुन्छ । जुन समाजमा दर्शनको आधार स्तम्भ जति बलियो हुन्छ त्यो लोकसंस्कृतिको वा समाजको अस्तित्व पनि त्यतिनै चिरस्थायी हुन्छ । आफ्नो संस्कृतिको जगेर्ना गर्ने कुरा मात्र गरेर पुग्दैन त्यस संस्कृतिको दर्शन र स्रोतसम्मका सूक्ष्म धमनीहरुको बारेमा पनि ज्ञान हुनु आवश्यक हुन्छ । यस्ता धमनीहरु अवरुद्ध भए वा चुडेर नाश भए भने संस्कृति नै लोप हुन्छ । लोकसंस्कृति लोकजीवनको अलिखित इतिहास र लोकमानसको काव्यकुञ्ज भएकोले यसको उच्चतम गरिमा त छदैछ तर नेपाली लोकसाहित्य फाँटमा मगरहरुको ऐतिहासिककालदेखि नै लोकजीवनका पद्धतिहरु लोकपरम्पराको रुपमा केवल मौखिक परम्परामा मात्र हस्तान्तरण हुँदै आएको र सांस्कृतिक सिर्जनाहरु समाजभित्रका सीमित व्यक्तिहरु तथा समूहहरुको अभिव्यक्ति हुँदै आए पनि आधुनिक विकाससँगसँगै नयाँ नयाँ प्रविधिहरुको विकास र आधुनिक गीतसंगीतले पनि आजका पुस्ताहरुलाई सहज बनाएको हुनाले परम्परागतका लोकसंस्कृतिहरु प्रति आर्कषण घट्दै गएकोले पनि मगरहरुको मौलिक लोकसंस्कृतिका धमनीहरु आधुनिक विकाससँगसँगै लोप भइसकेका छन् र लोप हुदैंछन् ।
मगरहरु एकतामा विविधता र विविधतामा एकता छन् । मगर जातिहरु भाषिक रुपमा अठार मगरातमा पाम भाषा, बाह्र मगरातमा ढुट भाषा र डोल्पाली मगरहरुमा काइके भाषा गरेर तीन किसिमका भाषामा बोल्दछन् । मगरहरुको यस्ता विविध प्रकारका भाषा, संस्कृति, परम्परा भौगोलिक बनावट अनुसार फरक फरक भएता पनि यो मगरहरुको विविधतामा एकतामा र एकतामा अनेकता नै मगरहरुको विशेषता हो । मगर जातिको संस्कृति जुन मगर समुदायको सामाजिक, भौगोलिक परिवेशका आधारमा र्सिजित भएको प्राकृतिक आवश्यकताको उपज हो । मगर समाजका आफ्नै जातीय संस्कार र संस्कृतिहरु जीवन्त रुपमा गतिशील छन् । मगर समाजहरुमा रुकुम रोल्पाका मगर समाज जसलाई अथार मगरात भनिन्छ भने डोल्पा जिल्लाका डोल्पाली मगर जसलाई रुङ समाज भनिन्छ र त्यसभन्दा पूर्वका मगरहरुलाई बाह्र मगरात भनेर जानिन्छ l जे भएपनि यी सबै मगरहरु अनेकतामा एकता र संस्कृतिमा विविधताका धनी छन् । मगर समाजका संस्कृति अन्र्तगत जन्म संस्कार,कर्म संस्कार मृत्यु संस्कार पूजाआजा विविध किसिमका चाडपर्वहरु (चण्डीपूर्णीमा/बैशाख पूर्णिमा, तिहार, माघेसङ्क्रान्ति आदि), रीतिरिवाज, लोकनाचहरु, लोकगीतहरु लोककथाहरु, उखानटुक्काहरु इत्यादि पर्दछन् भने यहाँ लोकसंस्कृति अन्र्तगत पर्ने जन्म संस्कारदेखि लोकनाच र लोकगीतहरुको मात्र उल्लेख गरिएको छ l
अन्य जातिहरूको जस्तै मगरहरूको पनि आफ्नै जातीय परम्परा अनुसार आफ्नै संस्कार छ l हरेक मानव जातिले गर्ने परम्परागत सम्पूर्ण धर्मकर्म जुन समाजमा सरल तरिकाले स्वीकारिन्छ । संस्कार अनुसार समाज चल्ने पनि गर्दछ l संस्कारले नै समाजको सामाजिक जनजीवनलाई आधार प्रदान गरेको हुन्छ । यही संस्कारले नै मानव जातिलाई धर्म–कर्म, असल कार्य गर्न प्रोत्साहित गर्दछ भने पाप वा कुकर्म जस्ता कार्यहरूमा हतोत्साहित गर्ने गर्दछ । मगरहरूको आफ्नै जातिय संस्कार छ । यस संस्कारलाई तीन समूहमा विभाजन गरिएको पाइन्छ l
अथार मगरातका समाजमा प्रचलित संस्कृतिहरु
जन्म संस्कार
मगर जातिहरुमा अथार मगरहरुको जन्म संस्कारमा बच्चाको जन्म भएपछि नाइटो झर्ने समयानुसार/झरेपछि पाँच दिन वा सात दिनमा आफ्नो खलकको जेष्ठ महिलाले बच्चाको रक्षक देवता बज्यूपरङ्गीको पूजा गर्दै सुस्वास्थ्यको कामनाका साथ आमा बच्चा दुवैलाई तितेपातीको धुप बनाएर सात पटक नाघ्ने, सुनपानी छरेर बच्चालाई दूधभात खुवाएर नाककान छेडेर, जैसी (जो पढेलेखेका छन्) द्वारा बच्चाको नामकरण गरिन्छ l
कर्म संस्कार
कपाल फाल्ने – बालक एक वर्ष वा तीन वर्षको भएपछि रोटीका विभिन्न किसिमका आकृति बनाई एउटा भाडोमा ती रोटीका प्रकारहरु राखिन्छ (पाथी, माना, कलम, हलोजुवा, आदि बनाएर) बालकको कपाल उपलब्ध (जसले कपाल काट्न जानेको हुन्छ) व्यक्तिले फाल्ने गर्दछ । मामाले गर्नुपर्छ भन्ने छैन । यसरी कपाल फालिसकेपछि विविध प्रकारका रोटीहरु अगाडि राखिदिन्छ । बच्चाले जुन आकारको रोटी समात्छ त्यो अनुसार उसको भविष्यवाणी गर्ने गरिन्छ । यस्तो चलन छोराछोरी दुवैलाई समान रुपमा गरिने चलन छ l
विवाह
यस अथार मगरातमा प्राय गरेर मामा चेली फुपू चेला विवाह गर्ने चलन छ । जुन बच्चा जन्मने साथ धागो बाध्ने चलन छ जसलाई साही (बैना) भनिन्छ । यसरी साही गरेको छ भने पछि गएर दुई बीच मन नपरेको खण्डमा यदि केटीले मन नपराएको भएमा केटाले पहिले साही कति दिइएको थियो त्यसको ठीक दोब्बर साही केटालाई तिर्नुपर्छ भने केटाले मन नपराएमा वा वेइमान गरेमा केटाले दिएको साही (वैना/पैसा) खोज्न नपाउने चलन छ । यस्तो वैना दिने चलन बच्चामा धागो नबाधेका युवायुवतीमा पनि सोही अनुरुप लागू हून्छ । यदि केटाकेटीहरु थकान बस्ने (रोदी जस्तै) क्रममा भेटघाट भई मन पराएमा केटाले हामी आउछौ भनेर पातमा ५ वा ७ वटा ढुङ्गा बेरेर दिन्छन् । अथार मगरातका प्राय गरेर असोज, बैशाख, मंसिर, फाल्गुण र असार महिनाको सोमबार, बुधबार र शुक्रबार पारेर विवाह गर्ने चलन छ l
मृत्यु संस्कार
यस समाजमा मृत्यु भएमा मृतकलाई (यदि कुनै कारणवश रुखबाट खसेर, लडेर मरेमा पनि घरमा ल्याइन्छ) राम्रो लुगा लगाइदिएर पानीमा चामल भिजाएर टिका लगाई दुबो पातीको फूल लगाइदिन्छ भने निधारमा चाँदीको कम्पनी रुपैया राखिदिन्छ र ठूलो मान्द्रो उल्टो बनाई ओछ्यान लगाएर उत्तरपट्टि शिर पारेर सुताएर राखिन्छ । विशेष गरेर लासलाई घरभित्र नै राखिने चलन छ । आवश्यकता अनुसार मरेको मान्छेको लास दुई तीनदिनसम्म पनि घरमा नै राखिन्छ । लासको वरिपरि अन्नहरुको घेरा लगाइन्छ । लासको छातीमा तामाको ताउलो घोप्ट्याइन्छ । सामुन्ने माथि दलिनमा कम्पनी माला झुण्डयाइन्छ जसले मृतकलाई स्वर्ग जाने बाटो देखाउँछ भन्ने विश्वास गरिन्छ र घरको छानोमा छ सात हातको सेतो कपडा फिजाइन्छ दमाहा बाजा बजाएर मृत्युको सूचना दिनको लागि कोल्टो ठाउँमा गएर बाजा बजाइन्छ । यसरी मृत्यु संस्कारमा बजाइने बाजालाई पाम भाषामा विप्या भनिन्छ । यस्तो ताल महिला र पुरुष मृतकको छुट्टाछुट्टै ताल हुन्छ । दमाहाको ताल सुनेर महिला वा पुरुषको मृत्यु भएको भन्ने बुझिन्छ । लासलाई विशेष गरेर वनमा लगिन्छ । लासलाई लैजाने समयमा बजाइने बाजाको ताललाई बताउचाला भनिन्छ । ङैतामीले अन्तिम संस्कारका सम्पूर्ण कार्यहरु गर्दछन् । लास लैजादा बाजाहरु बजाएर लैजाने गरिन्छ भने लास लैजादा बाटोमा ङैसिबाङ (मृतकको नाममा खानेकुरामा चढाउने ठाउँ) सम्म लासको मुख घरतिर फर्काइन्छ भने ङैसिबाङबाट लासको मुख वनतिर फर्काएर लगिन्छ । लासलाई लगिसकेपछि घरमा लिपपोत, थाङ्ना जलाउने र झुस्या थुर्ने (काटमार गर्ने) र मलामीहरुलाई खानेकुरा तयार गर्ने गरिन्छ । लास जलाउने वा गाड्ने काम भान्जा ज्वाई खलकले गर्दछन् । उनीहरुलाई सम्मान स्वरुप धरमसिङ (दुई काप्या काठ) हात हातमा दिइन्छ । यसरी मृत्यु संस्कार सम्पन्न नहुन्जेल काम गर्ने टोली लाई छुम्ली भनिन्छ । छुम्लीहरुलाई लेख्ने ढुंगा,विरुवाहरु रोप्न आफ्नो क्षमता र सम्भावना अनुसार जिम्मा दिइन्छ । पाँच,सात र नौवटा वर, पिपल, समी, जग्गर, लाकुरी र पाखुरी आदि विरुवाहरु एक एक वटा तोकेको दिनमा छुम्लीहरुले ल्याउछन् । लेख्ने ढुंगा ल्याइसके पछि जैसीले पहिलो अक्षर थालनी गरेपछि पालोपालो गरि अरु दक्ष व्य्िक्तहरुले ढुंगामा लेख्छन् । मृत्यु संस्कार सम्पन्न गर्ने दिनमा पाछा(चौतारी) बनाएर गाडिन्छ । पाछाको पूजामा छुम्लीहरुलाई पगरी गुथाएर सम्मान गरि दक्षिणा दिई खाना खुवाइन्छ । बिजोर संख्यामा कन्याहरुलाई पनि खाना खुवाएर दान गरिन्छ । यस्तो समयमा बजाइने दमाहाको ताललाई भिराचाला भनिन्छ । बिरुवाहरु पाछाको चारैतिर प्राविधिक रुपमा मिलाएर रोपिन्छ । लेखकी ढुङ्गा लेखिसके पछि मृतक महिला वा पुरुषको स्वरुप पोशाक र गहना पहिराएर पाछामा गाड्ने पहिलो रात जागा बस्ने र मङ्लेनी (शोकशाका गायक) को भावानुसार उपस्थित महिलाहरुले भाव व्यक्त गर्दछन् पालैपालो ढुङ्गाको नजिक गएर आफ्नै शैली अनुसार करुणामय अवस्थामा रहन्छन् । अनि घरबाट ढुङ्गालाई पिठ्यूमा बोकेर मानिस हिडेपछि बाजा बजाउदै भावुक महिलाहरुको लाम पाछातिर जान्छ र सिङ्गारिएको ढुङ्गालाई पोशाक र गहना खोलेर पाछामा प्रतिस्थापन गरि गोवर टासेर अक्षताको टिका लगाई दुवो पातीको फूल लगाएर कुखुरा काटी पूजा गरिन्छ । खासगरी जग्गरको बिरुवालाई सो ढुङ्गाको नजिक रोपिन्छ । भेला भएका आम मानिसहरुको ढोगभेट भला कुसारी गर्ने गाना गाउने, कथाहरु भन्ने महत्वपूर्ण संस्कार सम्पन्न हुन्छ । यस बखतमा आफ्नो मानिसलाई खबर गर्ने र जसरी पनि पुग्ने सामाजिक नियम महत्वपूर्ण छ ।
अथार मगर समाजमा चाडपर्वहरुमा विशेष गरि औंसी, पाँच पूर्णे, दशैं,चैते दशैं र माघे संक्रान्तीलाई मानिन्छ । आंैसी भनेर तिहारलाई भनिन्छ । यसलाई दबाराभा पनि भनिन्छ । पाँच पूर्णेमा बैशाख पूर्णे वा चन्डी पूर्णे, जेठ पूर्णे, मंसिरे पूर्णे, फागुन पूर्णे र सराध पूर्णे पर्दछन् ।
यस समाजमा एक वर्षमा मुख्यतःदुई ऋतु मानिन्छ जस अन्र्तगत उधेली ऋतु र उभेली ऋतु पर्दछन् । उधेली ऋतु माघ महिनादेखि असारसम्म र उभेली ऋतु सावन महिनादेखि पुस महिनासम्म पर्दछ । उधेलीमा सिंगारु, सोरठी, मारुनी, झुमरा,ख्याली,सरेङ्या,पैसारु र जोरास्यायी नाचिन्छ । सिंगारु, सोरठी, मारुनी, झुमरा, ख्यालीमा कथा हुन्छ र यी नाचहरुमा कथासँग सम्बद्ध गीत र बाजामा नाचिन्छ भने यसमा नाच्ने पुरुषहरुको समूहलाई नचारु भनिन्छ । सरेङ्या र पैसारुमा गीत हुदैन, बाजाको तालमा मात्र नाचिन्छ भने जोरास्यायीमा महिलाहरु मात्र नाच्ने गरिन्छ । उभेलीमा सबै नाचगानहरु बन्द गरिन्छ । असारमा भूमे पूजा पनि विशेष रुपमा मनाइन्छ l
डोल्पाका मगरहरुको संस्कृतिहरु
जन्म संस्कार
डोल्पाली समुदायमा बालक जन्मना साथ लामा बोलाएर पूजाआजा गरि (शंख फुकेर) बौद्ध धर्मानुसार लामाले पूजापाठ गरिन्छ । जसलाई स्थानीय स्तरमा साङ भनिन्छ । साङ गरिसकेपछि लामाले कागजमा बाबआमाको नाम तथा बच्चाको न्वारानको नाम राखिन्छ ।नामकरण बुद्धिस्ट किसिमको नाम राखिदिने हुनाले पछि गएर नाम परिवर्तन पनि गर्छन् । माइती पक्षबाट बिजोरसंख्यामा (५,७,९,११) कुखुराहरु र अन्नहरु लिएर आउछन् भने प्रत्येक घरबाट पनि बच्चा जन्मेको घर परिवारलाई भेटघाट गर्न आउने चलन छ । यस संस्कारलाई टसी लगाउने भनिन्छ l
व्रतबन्ध
यस काइके मगर समाजमा बालक ६ वर्ष पुगेर सात वर्ष लाग्दा व्रतबन्ध गर्दछन् ।व्रतबन्ध गरिने बालकलाई बटुक भनिन्छ । विशेष गरेर व्रतबन्ध बैशाख महिनामा बौद्ध पात्रो अनुसार एक गतेदेखि पन्ध्र गते सम्ममा गरिन्छ । ज्योतिषशास्त्र अनुसार लामाले लगन जुराउँदा जो सँग जुर्छ उसले (लगन जुर्नेले)ेसुनले घोट्ने र (कपाल काट्ने) लगन गर्ने र त्यसपछि कपाल काट्न जान्ने मानिसले कपाल काटिदिन्छ । कपाल काट्दा कपाल काटिने बालकको दिदी वा बहिनीले काँसको थालमा कपाल भुईमा झर्न नदिइकन थापेर सुरक्षित स्थानमा लगेर राखिन्छ । इष्टमित्रहरु,आफन्त लगायत सबै गाउलेहरुलाई बोलाएर भोज गरिन्छ । सबैले कोसेली स्वरुप पैसा हाल्ने प्रचलन छ l
विवाह
डोल्पाका काइके मगरहरुले परम्परागत रुपमा मागी विवाह गर्दछन् । सुरुमा बरले (लमी) कुरा चलाएर केटी पक्षबाट मन्जुरी भएपछि सगुनको रुपमा पैसा कपडा केटा पक्षले दिन्छ । यार छिन्नान (टसी लाउने) गर्दछन् । टसी लाउने भनेको भोजपत्रको पातमा घ्यू राखिन्छ र त्यस घ्यू दुलहीलाई लगाइदिन्छ । यसपछि केटी बिहेको लागि पक्का हुन्छ । आफ्नो घरको समय अनुकुल परिस्थिति अनुसार बिहेको तिथि मिति र लगन अनुसार मात्र बिहे गरिन्छ । लगन अनुसार विवाहमा खास गरेर बिजोर संख्या (५, ७, ९, ११) मा रातीमा फोजोम मोजोम (बाबाआमा भएका केटाकेटीलाई फाजोम माजोम भनिन्छ) हरु गहँुको सातुबाट बनाइएको रोटी सहित दुलहीको घरमा पठाइन्छ र सो रोटी दुलहीलाई खान दिएपछि दुलही तानेर ल्याउने गरिन्छ । दुलहा भने घरमा नै बस्दछ । यसरी दुलही लिन गएको बेलामा यदि केटी आफ्नो घरमा नभएर छिमेकीको घर वा साथीको घरमा भएपनि केटीलाई लिन गएका फोजोम मोजोमहरुले तानेर ल्याउँछन् । घरको दैलोमा आइ पुगेपछि दुलही ल्याइ पुरयाएपछि बन्दूक पड्काएर स्वागत गरिन्छ । दैलोमा कुखुरा काटिन्छ र आँगनमा तामाको गाग्रोमा पानी भरेर दुबो राखिन्छ । दुलही सो गाग्रोको पानी मुखमा छर्किएर घरभित्र पस्छिन् । दुलहीलाई घरको पुरानो कपडा(पुस्तादेखि बिहेमा लगाउने कपडा) लगाउन दिएर केटाकेटीको जोडी मिलाउने काम सम्पन्न हुन्छ । बिवाह घरमा नाच्नको लागि आफ्नो कामीहरुलाई बोलाईन्छ । आफ्नो घरको कामीले बिहे घरको मूलीलाई स्याउको पात कानमा सिउराइदिएर कुखुराको भाले ल्याएर दिन्छन् । यसको सट्टामा बिहे घरबाट कामीको परिवारको एक महिलालाई कपडा दिइन्छ । विवाहमा कामीहरुले दिनभरि बाजा बजाउछन् । विवाहकै दिनमा माइती पक्षबाट विहे घरमा माइत मान्न आउँछन् । यसरी आउँदा घर नजिकै आइपुगे पछि रिसाए जस्तो गरि हातमा लठ्ठी लिएर आउने चलन छ । बिहेको तेस्रो दिनमा दुलहीलाई पधेंरोमा पानी लिन पठाईन्छ र यसले दुलही त्यस परिवारको सदस्य भएको जैधानिकता प्रदान गर्दछ l
मृत्यु संस्कार
काइके तथा डोल्पाली मगर समाजमा मृत्य संस्कार बौद्धमार्गी चलन अनुसार पूरा गरिन्छ । कुनै पनि व्यक्ति विशेषको असामयिक निधन हुदा लामालाई खवर पठाईन्छ । लामा आईसकेपछि लामाले केही पूजापाठ गर्छन् । विशेषगरी यसप्रकारको पूजापाठद्धारा मृतकको आत्माको चिर शान्तिको कामना गरिन्छ । यसको अर्को कारण भने मृतकको आत्मा नभड्कियोस् भन्नु हो । लासलाई केहिबेर दियो बालेर राखिन्छ । लामाबाट पूजापाठ भईसकेपछि गाउँका मानिसहरुलाई बोलाईन्छ । त्यसदिन सवैलाई आफ्नो कामबाट घर फकाईन्छ ।
प्राण त्यागेपछि मृतकलाई सुनपानीले छर्किने गरिन्छ । मृत शरीरलाई सेतो कपडाले बेरिन्छ । पूजापाठसहित लासलाई बाँस वा अन्य काठको स्टेचरमा राखेर बेरिन्छ । लासमाथि रेशमको कपडाले छोपिन्छ । उक्त कपडा विशेषगरि रातो वा पहिँलो रङ्गको हुनुपर्दछ । दाहसंस्कारमा करिब ५० मिटर सेतो कपडाको बाटो (लम/Procession) बनाईन्छ । करिब एक वा साढे एक मिटरको दुरीमा रहने गरि निगालोको लौरो राखिन्छ र लासलाई जलाउन लाने बेला लाम लगाएर त्यस सेतो कपडाको पथ बनाईन्छ ।
मृत शरीरलाई मृतकको घर भन्दा केही पर खेतमा लगिन्छ । लमको अघिल्तिर लामाहरु शङ्ख फुक्दै र डमरु बजाउँदै जान्छन । त्यसपछि सेतो कपडाको बाटो र अन्त्यमा लासलाई लगिन्छ । जलाउने ठाउँमा पुगेपछि लामाद्वारा पूजापाठ गरि लासलाई जलाउने तयारी गरिन्छ । सर्वप्रथम घरको सदस्यले दागबत्ती दिन्छ । तयसपछि उपस्थित सवैले पालैपालो दियालो बालेर दागबत्ती दिने गरिन्छ । लासलाई जलाईसकेपछि सवै आ–आफ्ना घरका फर्किन्छन् । प्रत्येकको घरमा दैलोमा धुप बालेर राखिएको हुन्छ । धुपीको धुलो सहितको धुवाँले शरीरलाई चोखाईन्छ । त्यसपछि घरभित्र प्रवेश गरिन्छ । मृत्यु भएको तीन दिन पश्चात गाउँको सम्पूर्ण परिवारलाई पुग्नेगरि रोटी/पूरी पकाईन्छ । यस प्रकारको रोटी मिठेफापरबाट तेलमा हालेर बनाईएको हुन्छ । परिवार संख्या अनुसार एक जना सदस्यलाई ६ वटा रोटीका दरले पुरयाउने गरिन्छ ।
मृत्यु भएको ४९ औं दिनमा फेरि काजक्रिया गरिन्छ । यस दिन मृतकको परिवारले गाउँको प्रत्येक परिवारलाई स्थानीय नापको एक/एक किलो चामल पुरयाउने चलन रहेको छ । लंकमान रोकाका अनुसार मरेको मानिसलाई दाह संस्कार गर्ने धेरै चलन छ त्यो मध्य आर्थिक क्षमता अनुसार पनि गरिन्छ । मरेको लासलाई परम्परागत बिधि अनुसार मगर लामा राखेर अग्लो ठाउँमा लगेर चरा चुरुङङ्गीलाइ काटेर दिने चलन पनि छ l
चाडपर्वहरु
काइके भाषी मगर समुदायमा आफ्नै मौलिक र परम्परागत चाडपर्वहरु छन् । यस समुदायको महत्वपूर्ण पर्व मध्ये छैगो (नयाँ वर्ष),रुङ्मा(चैती), रुङ, याचा, केजा, साउने सँरात(संक्रान्ति),माघे सँरात लगायत दशै र तिहार मनाउने गर्दछन् । छैगो बौद्ध पात्रो अनुसार पुष वा माघ महिनामा मनाइन्छ । यस छैगोले अन्य चाडपर्वहरुको थालनी भएको संकेत गर्दछ । चैती (रुङमा) पर्व चैत महिनामा पर्छ । चैतीमा विशेष गरेर जमराको प्रयोग हुन्छ । चैतीमा त्यहाँका देवताहरु रुङपचा र रुङपुकीको पूजा गरिन्छ । रुङ पर्व चैती बोकेको घरबाट सुरु हुन्छ । यो चाड करिब एक महिनासम्म चल्छ । यस चाडमा गाउँका सबै मानिसहरु घरमै बसी रमाइलो गर्ने, खाने तथा देउतालाई पूजा गर्ने चाडको रुपमा लिईन्छ । याचा पर्व बौद्ध पात्रो अनुसार बैशाख महिनाको तीन गते पर्छ । यस पर्वमा विशेषगरि वाण हान्ने काम हुन्छ । यो पर्व चैती मनाएको एक वर्ष पुगेको खुशियालीमा मनाइन्छ । केजा पनि बौद्ध पात्रो अनुसार बैशाख महिनाका पन्ध्र गते मनाईन्छ । यस पर्वमा परिवारका सदस्यहरुलाई स्वास्थ्यमा विघ्नबाधाहरु नपरोस भनेर मन्दिरहरुमा गएर कमेरो पानीमा घोलेर छर्किने गर्दछन् । यस दिनमा मिठे फापरबाट बनाइएको रोटीलाई पानीमा पकाइन्छ र तिते फापरबाट बनाइएको परिकारहरु खाएर भव्यताका साथ मनाइन्छ । साउने सँरातमा कामीलाई दियालो ल्याउन लगाएर सो दियालोलाई प्रत्येक घरघरको छतमा गोबरले लिपेर सो दियालो बाले पछि कुखुराको भाले काटेर आगो माथि त्यसको रगत छर्किन्छ । गाउँको सबै अनिकाल जाओस सुबिकाल आओस भनेर भन्ने गरिन्छ । यसो गरेमा रोगव्यथाहरु लाग्दैन भन्ने जनविश्वास पाईन्छ । माघे सँरात पर्वलाई विशेष गरि कागको पर्वको रुपमा मानिन्छ । कागको लागि दाल र भात पकाएर भोजपत्रको पातमा सो दालभात राखेर छतमा राखिन्छ र कागलाई खान बोलाइन्छ । कागले खाएपछि मात्र परिवारले खाना खानु पर्छ भन्ने मान्यता रहेको छ । दशैं तिहार लगायत अन्य चाडपर्वहरु पनि मनाउने गरिन्छ l
बाह्र मगरातका समाजमा प्रचलित संस्कृतिहरु
बाह्र मगरातका मगरहरुको संस्कारलाई पनि तीन समूहमा विभाजन गर्न सकिन्छ । यहाँका मगर संस्कार अथारका मगर संस्कार भन्दा केही फरक किसिमका छन् किनभने यी मगर समाजमा हिन्दू धर्मको विशेष प्रभाव परेको पाइन्छ । हिन्दू धर्मबाट प्रभावित भएतापनि यहाँका मगर समाजमा आफ्नो जातीय मौलिक परम्परा अनुसार आफ्नै संस्कार रहेको छ l
जन्म संस्कार
मगर समाजमा जब महिला गर्भवती हुन्छिन् तब देखि नै यो संस्कार सुरुवात हुन्छ । मगरहरूको सबैभन्दा पहिलो संस्कार जन्म–संस्कार हो । मगर महिला गर्भवती भएदेखि जन्म संस्कार शुरू हुन्छ गर्भवती महिलालाई धार्मिक कार्यको लागि अशुद्ध मानिन्छ । विशेष गरेर पारिङ्घे पूजा (मण्डली पूजा) वा बराजू पूजामा र कुल पूजा गर्दा गर्भवती महिला र निजको लोग्ने समेत अशुद्ध मानिन्छ । यसरी गर्भ भएदेखि जन्मेर न्वारान नगर्दासम्म आमा बाबा अशुद्ध हुन्छन् भने आफ्ना तेह्र दिने सम्पूर्ण दाजुभाइहरूसमेत बालक जन्मेदेखि न्वारान नभएसम्म नै अशुद्ध मानिन्छन् । यस्तो समयमा कुनैपनि मांगलिक कार्य गरिदैन सूतक बार्ने चलन छ l
मगरहरुले गर्भवती महिलालाई धार्मिक कार्यको लागि अशुद्ध मादन्छन् । विशेष गरेर मण्डली पूजा, पारिङ्गे पूजामा गर्भवती महिला र निजको पति दुबैलाई अशुद्ध मानिन्छ । बालक जन्मेको दिनदेखि दश दिनसम्म आफ्नो तेह्रदिने दाजूभाईहरु समेत सुटुक बार्ने गर्दछन् । बालक जन्मेको छ दिनमा छैटी मनाउने पनि गरिन्छ । एघारौं दिनमा बाहुन पुरोहित ल्याएर वा पुरोहित नल्याउने ठाउँमा कुटुम्बले न्वारान गरेर बच्चाको नाम राख्ने चलन छ । कुटुम्बले गहुँत, धागो मन्तरेर दिने चलन छ । यसरी कुटुम्बले गउँत दिएर बाबा आमाको हातमा धागो बाँधेर न्वारान गरिन्छ । प्रायःजसो मगरहरुले समय परिस्थिति अनुसार तीन, पाँच, सात, नौ दिनमा पनि कुटुम्बबाट सुनपानी वा गउत दिएर चोख्याउनुका साथै बच्चाको नामकरण गरी न्वारान गरिन्छ ।
एघारौं दिनमा बाहुन पुरोहित ल्याएर वा पुरोहित नल्याउने ठाउँमा कुटुम्बले न्वारान गरेर बच्चाको नाम राख्ने चलन छ । कुटुम्बले गहुँत, धागो मन्तरेर दिने चलन छ । यसरी कुटुम्बले गउँत दिएर बाबा आमाको हातमा धागो बाँधी दिएर चोख्याउने गरिन्छ । पहिलो छोरो जन्मदा न्वारानको दिनमा सार टिका याहाके (फूलटिका दिने) भनेर गाउँका आफ्ना छरछिमेकी, नातेदारहरूलाई निम्तो गर्दछन् फूलटिका लगाइदिने गरिन्छ ।
भात खुवाइ
मगर समाजमा बच्चा जन्मेपछि छोरा भए छ महिनामा र छोरी भए पाँच महिनामा पुरभदै (भात खुवाइ) गरिन्छ । यस दिन सेतो कपडाको भोटो, टोपी लगाई दिएर (विविध प्रकारका) १३ प्रकारका खाना बनाएर पञ्चकन्याद्वारा भात खुवाउने गरिन्छ । यसरी भात खुवाउनको लागि कतै पण्डितलाई दिन हेराएर शुभ समय जुराउँछन् भने कतिपय ठाउँमा मगरहरू आफैंले शुभ साइत मिलाएर राशिफल मिलाएर, राशिफल मिल्ने कन्याद्वारा सबभन्दा पहिले भात खुवाउने गरिन्छ र त्यसपछि अन्य कन्याहरूद्धारा खुवाइ सकेपछि निमन्त्रणमा आउनेहरूले पनि खुवाउने गर्दछन् । पुरभदै गर्दा सकेसम्म रूवाउनुपर्ने प्रचलन छ । रूवाउनको लागि बच्चालाई खुर्सानी पनि मुखमा चटाई दिइन्छ । यति गर्दा पनि बच्चा नरोएमा चिमोटेर रूवाउने प्रचलन छ । प्रायःजसो भद्राई नामको चराको मासु खुवाइने गरिन्छ । यस चराको मासु खुवाएमा बच्चा बाठो–टाठो हुन्छ भन्ने विश्वास मगरहरूमा पाइन्छ ।
छेवर र गुन्यूचोली
मगर समाजमा छोराको छेवर बिजोर वर्ष (पाँच, सात वा नौ वर्ष) मा तिथिमिति हेराएर लगन जुराएर मामाहरुसँग पनि नाम जुराएर आफ्नो मामाबाट छेवर गराउने गर्दछन् । छोरा र छोरीलाई पाँच या सात वर्षमा छेवर गर्ने र छोरीलाई पनि बिजोर वर्षमा नै गुन्यू चोली दिने चलन छ । यसरी छेवर गर्दा शुभ समय, साइतमा गरिन्छ । छेवर गर्दा मामाले गाईको गोठमा दाम्लोले बाधेर अगाडि घाँस र पछाडि गाईको गोबर राखेर गरिने परम्परा छ । यसरी छेवर गर्दा कसैले भोजभतेर गरेर धूमधामसँग गरेको पनि पाइन्छ । परम्परागतरूपमा छेवर गरेपछि छोराको कुनै कर्म गर्नुपर्दैन भने छोरीलाई गुन्यू चोली दिइसकेपछि छोरी बिहे गरेर गए पछि विधवा भए पनि छोरीले चुरापोते र रातो बस्त्रहरू लगाउन वर्जित गरिंदैन । मगर समाजका महिलाहरूमा बच्चादेखि बूढी सबैले चुरा पोते लगाउने गर्दछन् र पोते बिहेपछि लगाउने भन्ने चलन छैन । यसरी मगर समाजका छोरीहरूले बिहे अगाडि नै चुरापोते लगाउने परम्परा छ ।
विवाह
मगर समाजमा बिहे गर्दा लगन्या/मगनी बिहे, प्रेम/चोरी विवाह र जारी विवाहको चलन पाइन्छ । मगर समाजमा फुपू–चेला, मामा–चेली विवाह गर्ने चलन छ । मगर समाजमा लगन्या, मगनी बिहे, प्रेम बिहे/भागी बिहे वा चोरी बिहे गरे जस्तै धागो बाँधेर पनि बिहे गरिने प्रचलन पाइन्छ । मगर समाजमा विधवा–विवाह, विदुर–विवाह र प्रेम–विवाह, भागेर गर्ने विवाहलाई पनि समान मान्यता दिइन्छ । यसरी मगर जातिमा संस्कृतिले नै मागी, प्रेम, चोरी–विवाह र विधवा विवाहलाई टेवा दिइरहेको पाइन्छ ।
मगर समाजमा दुलही घरमा ल्याइसकेपछि सबभन्दा पहिले कुटुम्बले थाप काट्नुपर्छ । थाप काट्नको लागि सम्पूर्ण सरजाम तयार भएपछि गाउँघरका बूढापाका र साइनोले दुलहा भन्दा ठूला मान्यजनहरूलाई बोलाइन्छ । भित्र्याउँदा दैलोमा कुखुराको भाले काटी पूजा गर्ने परम्परा छ । यसैलाई नै “थाप काट्ने” भनिन्छ । ढोकाको दुवै छेउमा गाग्रीमा पानी भरी राखिन्छ । दुलहा र दुलहीलाई घरभित्र भित्रिंदा दुलाहा दुलही दुवैले कुखुराको भालेको टाउको खुट्टाले कुल्चेर पस्नु पर्दछ । यसरी भित्र्याउनुलाई ‘भित्रीडिके’ भनिन्छ । घरभित्र दुलहा दुलही भित्रिसके पछि घरको मूली बाजे, बज्यू , बाबा, आमा लगायत आमन्त्रित बूढापाका र मान्यजनहरूले दही चामलको टिका लगाई दिइन्छ । यसरी दुलही भि«याइ सकेपछि बन्दुक पड्काएर बढाई गर्ने पनि गरिन्छ तर दशवर्षको जनयुद्धले गर्दा बन्दुक पड्काउने परम्परा हराएको छ । यसरी दुलही भित्र्याएको तीन दिनपछि सोधनी जाने चलन छ । सोधनी जाँदा केटापट्टिले केटीको घरमा सगुनको रूपमा एक ठेकी दही, रक्सी, रोटी, बारा, मासु लैजाने गरिन्छ । सोधनी आएपछि केटीको माइतीपट्टिका व्यक्तिहरूले टिका दिने लगन र तिथिमिति जुराएर तोकिदिनुका साथै भारी माग्ने प्रचलन पनि छ । बिहेपछि दुर्गन फर्काउने र माइतीबाट घरमा दैलो कुचनी आउने परम्परा भने पाइन्छ । यसरी मगर समाजमा बिहे गर्ने परम्परा आफ्नै मौलिक किसिमको पाइन्छ । ठाउँ र परिवेशीय प्रभावले गर्दा र हिन्दू परम्पराबाट प्रभावित मगरहरूले हिन्दू परम्पराअनुसार बिहे गर्ने गर्दछन् l
मृत्यु संस्कार
मगर समाजमा मृत्यु संस्कार पनि आफ्नै किसिमको छ । प्राय जसो मगरहरूले लाशलाई जलाउने गर्दछन् भने केहीले नदी किनारमा गाड्ने र नदीमा बगाउने पनि गर्दछन् । मगरहरूले लामाहरू (तन्त्रमन्त्र जान्नेलाई) लाई भने गाड्ने गरेको पाइन्छ । मरेपछि छोराहरू या छोरीहरू नभएको खण्डमा नजिकका दाजुभाइले दागबत्ती दिने चलन छ । दागबत्ती कसैले घरमा दिन्छन् भने कसैले घाटमा गएर दिने गर्दछन् । लाश बोक्दा छोराहरूले काँध दिने गर्दछन् । छोराहरूको कपाल घाटमा नै कुटुम्बले काटिदिन्छन् । किरिया बस्दा खानाको हकमा भने हरियो केराको पातमा एकछाक खाना अदुवा, काँचो केरा, अमिलो अनि फलफूल खाएर बस्ने गर्दछन् भने कपडामा सेतो कपडाको लगौंटी र टाउको छोप्ने सानो सेतो कपडा लगाएर परालमाथि सुत्ने गर्दछन् । सासू–ससुराको किरिया बुहारीहरू पनि बस्ने चलन छ । किरियापुत्रीलाई गाउँका सबै जनाले पालो गरेर कुर्ने गर्दछन् भने कुटुम्बले खानाको बन्दोबस्त मिलाइदिने गर्दछन् । दश दिनको दिन दश गोत्र पनि हिन्दू धर्मको प्रभाव परेका मगरहरूले मात्र गर्छन् भने अन्य मगरहरूले गर्दैनन् । हिन्दू धर्मको प्रभाव भएका मगरहरूले ब्राम्हण पण्डित ल्याई बैदिक विधिविधान अनुसार चोख्याउने गर्दछन् । कतिपय मगरहरूले चोख्याउँदा मासु पनि चलाएको पाइन्छ भने यो चलन आजकल विस्तारै छोड्दै गएको पाइन्छ । यसरी जुठो चोखिने दिन आफ्ना चेलीबेटीहरूले नुन छुवाउने गर्दछन् । कतिपय मगरहरूले चोखिंदा द्विमासे परेमा ११ र १२ दिनमा चोखिने गर्दछन् भने आजकल मगरहरूले बौद्ध धर्म अनुसार आफ्नै मगर पण्डितबाट प्रायः गरेर नौ दिनमा चोखिने गरेको पाइन्छ । चोखिने दिन साँझ÷ बेलुकी मगरहरूले ‘उङ्गयाक भाक्के’ पनि चलन छ । त्यस दिनदेखि मृतकको आत्मा परिवारबाट छुट्टिएर जान्छ भन्ने विश्वास पाइन्छ । तर यो प्रचलन सबै मगरहरूमा पाइँदैन । हिन्दू धर्मअनुसार पुरोहित राखेर सम्पूर्ण कार्य सकेपछि पुरोहित र कुटुम्बलाई दान दिने गरिन्छ । यसरी मगर जातिका संस्कारहरू मौलिक किसिमका पाइन्छन् । मगरहरू देशका विविध ठाउँहरूमा छरिएर बसेका हुनाले त्यहाँको परिवेशीय प्रभाव परे पनि आफ्नो मौलिक परम्परालाई भने यिनीहरूले छोडेको र बिर्सेको पाइँदैन l
पूजाआजा
मगर समुदायमा विविध किसिमका पूजाआजाहरु पनि गरिन्छ । ती पूजाआजाहरु सामुहिक रुपमा गरिन्छ । जसलाई भेजा भनिन्छ । मगर समुदायमा गरिने पूजामा पितृपूजा, कुलपूजा,मायू पूजा, वायु पूजा, मण्डली पूजा र बाजे–बराजू पूजा र हरेलो आदि गरिन्छ । मगरहरुले मायु पूजा, मण्डली पूजा र बाजे–बराजू पूजा सामुहिक रुपमा भेजा गर्दछन् । अन्य पूजा व्यक्तिगत रुपमा गर्ने गरिन्छ ।
नाचन/सोरठी
यो नाच भदौदेखि सुरुवात गरि मंसिर पुषसम्म नाचिन्छ । ठाउँ विशेष अनुसार यस नाचलाई नाचन, सोरठी, मारुनी, नचरी भनिन्छ । पाल्पातिर यस नाचलाई करङच नाच पनि भनेर भनिन्छ । यो नाचमा विशेष गरि हिन्दू धर्मग्रन्थ रामायण र महाभारतको राम चरित्र र कृष्ण चरित्रमा नाच्ने प्रचलन छ । नाचन भन्दा सोरठीको कथावस्तुमा भने अलि फरक पाइन्छ । तापनि यी दुबै सोरठी नाच र नाचन सुरुवात गर्दा विधि पूर्वक लामाले तन्त्रमन्त्रद्धारा मन्त्रिए पछि बटुवा बजाउदै ठेगान लिएर लिएपछि मात्र मिगुरुले बन्धन गीतबाट सुरुवात गर्दछ । यस नाचमा गायक, मारुनी, विजबरे र मादले सबै पुरुषहरु मात्र हुन्छन् । पुरुषहरु नै महिलाको भेषमा मारुनी बनेर नाच्छन् । कतै महिला पनि नाच्ने गरेको पाइन्छ । यो नाच मगर समुदायमा मात्र नभएर अरु जातिहरु पनि मिलेर नाच्दछन् ।
कौरा
माघेसंङ्क्रान्तिदेखि असारमहिनासम्म कौडा नाच नाच्छन् । कौडा नाच सुरु गर्दा पनि नाचन जस्तै विधिपूर्वक बन्धन लिएर नै गरिन्छ । पहिले पहिले कौरा नाच कृष्ण चरित्रमा आधारित भएर र समाजका समसामयिक विषयवस्तुहरुलाई लिएर तथा मायापिरतीका गीत गाउँथे । यस नाचमा युवायुवतीहरुको सहभागिता बढी रहन्छ । कौडामा केटाहरु खैजडी बजाउदै गीत गाउँछन् भने केटीहरु गीत र खैजडीको तालमा हाउभाउ मिलाएर नाच्दछन् ।
घाटु
घाटु नाच बैशाखमा नचाउने चलन छ । यो नाच खास गरि बैशाखे पूर्णिमा/चण्डी पूर्णिमाको अवसरमा नचाइन्छ । घाटुनाच सती घाटु, बाह्रमासे घाटु र कुसुण्डा घाटु गरि तीन किसिमको भए तापनि लोप भैसकेको अवस्था छ भने कुसुण्डा घाटु मात्र कतैकतै नाच्ने गरेको पाइन्छ । यो नाच नचाउनु भन्दा अगाडि घाटुसारेहरुले रोटी रक्सी बनाएर मिगुरलाई मान्न जानु पर्छ । यसरी घाटुसारेहरुले मानी सकेपछि मिगुरले अन्न, माछामासु, लसुन,प्याज आदि लगायत अरुले पकाएको नखाएर चोखो बनेर फलफूलहरु र दूधदही मात्र एक छाक खाएर बस्दछ । घाटु नाच्ने घाटुसारेहरु बिजोर (३,५,७,९) हुनु पर्छ । घाटु नाच पञ्चमी तथा पूर्णिमा तिथि पारेर मात्र सुरु गरिन्छ । घाटुसारेहरुले घाटु नाच्ने समय अवधि भरि आफ्नो सुरक्षा र सहयोगको लागि एकएक जना दाजूभाई बनाउनु पर्छ । घाटुसारेहरु मध्ये जो कान्छी छ उसलाई घाटु नाचको राजा बनाइन्छ । यो नाच असार महिनाको पञ्चमी तथा पूर्णिमा तिथि पारेर विधिपूर्वक पूजाआजा गरि सेलाइन्छ ।
झोरा
मगर समाजमा पनि झोरा तीजको बेलामा नाच्ने गरिन्छ । यो झोरा पनि श्रीकृष्ण जन्माष्टमीदेखि सुरु गरि तीजको पञ्चमीसम्म नाचिन्छ । यो हिन्दू नारीहरुको महान चाड भएकोले यसबाट मगर महिलाहरु पनि प्रभावित छ ।
अन्य लोकगीतहरु
झ्याउरे, ओहली, सालैजो, यानीमाया, सुनीमाया, ठाडोभाका, हुर्रा, मालश्री, जुवारी आदि गीतहरु विशेष गरि चाडपर्व,पूजाआजाहरु, जात्रा, बनपाखामा घासदाउरा गर्दा मेलापात जादाँ तथा फुर्सदको समयमा गाउँका युवायुवतीहरु मिलेर मनोरन्जनको लागि रातीमा गाउने र नाच्ने गरिन्छ । यस झ्याउरेमा युवायुवतीहरुको प्रमुख भुमिका निर्वाह गरेका हुन्छन् भने बुढाबुढीहरुले पनि यसमा महत्वपूर्ण भूमिका निर्वाह गरेका हुन्छन् । गाउँघरमा भने आमा समूहले बिदेशबाट छोरा नाति आएको बेलामा झ्याउरे गीतहरु गाएर रमाइलो गर्ने गरेको पाइन्छ । यसले दिनभरिको कामको थकान बिर्साउनुका साथै मनोरन्जन दिने भएकोले मगर समुदायमा मौलिक परम्परागत रुपमा नै यसरी नाच्ने गाउने प्रचलन रहेको थियो भने आधुनिक विकासको समयसँगसँगै आजभोली यो परम्परा सबै लोप भैसकेको अवस्था छ ।
मगर समाजका यस्ता विविध किसिमका लोकसंस्कृतिहरु आधुनिक विकासको द्रुत गतिसँगसँगै विकृतिका साथै लोप हुँदैछ भने नाचन, सोरठी र घाटु नाच त लोप भैसकेको छ । यसलाई अब हामीले मगरहरुले पनि वास्ता गरेनौ भने यी सबै हामीबाट सदाको लागि हराएर जानेछ ।
समाप्त