मगर चलचित्रकर्मी संघको गतिविधि

Read Time:14 Minute, 24 Second

सार्थक चलचित्र निर्माण, अधिकार र व्यवसायिकता
सामाजिक रुपान्तरणको लागि कला– आजको आवश्यकता

मगर चलचित्रकर्मी संघ
प्रथम महाधिवेशन पूर्व अगाडि संघले गरेका कार्यक्रमहरु

मगर चलचित्र २०५१ सालबाट बन्न थालेको भए पनि यो सदरमुकाममा मात्र प्रदर्शन भईरहेको थियो । मगर चलचित्र बनेको छ भन्ने कुरा सदरमुकामदेखि टाढा बसोबास गर्ने मगरहरूलाई खासै थाहा छैन । यो मगर चलचित्रकर्मीहरूकै कमजोरी हो । र, विविधतापूर्ण समाज भएको हुँदा विविधता नै हाम्रो पहिचान हो भन्ने वातावरण निर्माण गर्न मगर संघमा काम गर्ने व्यक्तिहरुले सोंच बनाउन सकिरहेका छैनन् । मगर समाज भित्रको विविधतालाई एकरूपतामा ल्याउनु पर्छ भन्ने नारा अब जातीय स्वायत्तता र आत्म निर्णयको कुरा उठिरहेको अवस्थामा हाम्रो जस्तो बहु–सँस्कृति भएको समाज भित्र पनि यो कुरा लागू हुन्छ । यसैले विविधता नै हाम्रो सम्पत्ति हो भन्ने मानसिकता हामी सबैले बनाउनु पर्दछ । यसर्थ हाम्रै समाज भित्रबाट नै थुप्रै आफ्नै मौलिक संस्कारहरू उजागर हुन सक्छ र हुनु पर्छ भन्ने मान्यता मगर चलचित्रकर्मी संघको रहेको छ । मगर चलचित्रकर्ममा संलग्न व्यक्तिहरुको छलफलबाट मगर चलचित्रकर्मी संघ गठन गर्नु आवश्यक ठान्दै काठमाडौं जिल्ला प्रशासन कार्यालयमा १०४/०६५/०६६ दर्ता नंबर प्राप्त गरि आफ्नो पहिचान कायम राख्न प्रयासरत छ ।

मगर चलचित्रकर्मी संघको गतिविधि
१) मगर साहित्य र मगर चलचित्र विषयक विचार गोष्ठी
मगर चलचित्रकर्मी संघ दर्ता प्रोशेसमा रहँदै नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सहयोगमा नेपाल आदिवासी मगर प्रतिष्ठानसँगको सहकार्यमा मगर साहित्य र मगर चलचित्र विषयक विचार गोष्ठी नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सभाहलमा प्रतिष्ठानका सदस्य सचिव लोकबहादुर थापा मगरको प्रमुख आतिथ्यमा विचार गोष्ठी सम्पन्न ग¥यो । गोष्ठीमा ७ वटा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरि छलफल गरिएको थियो ।

२) मगर चलचित्र बजार बिस्तार तथा मगर सचेतना अभियान ०६६
संस्कृति कुनै पनि राष्ट्रको ढुकढुकी हो । यो कुनै पनि राष्ट्रको वैभव हुन्छ, नीधि हुन्छ र आत्मा हुन्छ । यो विना राष्ट्र निर्जीव र निस्तेज हुन जान्छ । संस्कृति माथि विचार विमर्श गर्नु मानव जाति माथि विचार विमर्श गर्नु हो किनभने यसको केन्द्रमा मानिस नै हुन्छ । मानव नै संस्कृतिको रचयिता हो र साथसाथै यसको रचना पनि हाम्रो इतिहास बोध संस्कृतिको अभिन्न हिस्सा हो । संस्कृति आफ्नो व्यापकतम र विशालतम अर्थमा शिष्टता र सभ्यतासँग सम्बद्ध एवम् समाविष्ट हुन्छ । नेपाल एउटा बहुजाति, बहुभाषिक र बुहसाँस्कृतिक देशको रुपमा परिचित देश हो ।
मगर चलचित्रकर्मी संघले पश्चिमाञ्चलको ५ जिल्लाको १२ वटा ठाउँमा मगर चलचित्रको बजार बिस्तार तथा मगर समाजमा रहेका असल सुशासन, प्रथाजनिक कानुन लगायत संस्कृति–संस्कारहरू डकुमेन्टेसन गर्न परीक्षण स्वरूप चलचित्र प्रदर्शन र छलफल कार्यक्रम आयोजना गर्ने परियोजना प्राप्त ग¥यो । यसको लागि स्थानीय आयोजकसँग सहकार्य १२ वटा स्थान मध्ये ६ स्थानमा १ दिने प्रशिक्षण कार्यक्रम समेत सम्पन्न गरेको छ ।

३) मगर चलचित्र महोत्सव ०६६
मगर चलचित्रकर्मी संघ संगठित भएर मगर चलचित्रको बजार बिस्तार, चलचित्रकर्मीहरुको आपसमा चिनजान, मगर साहित्यकारसँग चिनजान गर्नको लागि प्रथम शहीद लखन थापा मगर दिवस (फागुन २) र मगर दिवस (फागुन १५) को उपलक्ष्यमा फागुन ८ गते जावलाखेलको स्टाफ कलेजमा सूचना तथा सञ्चार मन्त्री शंकर पोखरेलको प्रमुख आतिथ्यमा एक दिने मगर चलचित्र महोत्सव ०६६ आयोजना गरि सम्पन्न गरयो । गोष्ठीमा ओहोली समूह तनहुँको कौरा नृत्य, हिमालयन ई.बो.स्कूलको यऊनाट प्रदर्शन, नेपाल मगर महिला संघ टुसाल परिवारको मगर परिकार, सिरहाबाट आएको थारु परिकार, नेपाल आदिवासी मगर प्रतिष्ठान र मगर लेखक संघको – संयुक्त वृहत पुस्तक प्रदर्शनी राखिएको थियो ।

४) चलचित्रको मूल अभिलेखन तालिम
एउटा गुणस्तरीय चलचित्र निर्माण गर्नको लागि मेरुदण्डको रुपमा चलचित्रको स्क्रिप्ट लेखन रहने गर्दछ । यदि स्क्रिप्टको गुणस्तर नै कमजोर रहेमा पुरै चलचित्र राम्रो होला भन्ने कल्पना नगरे पनि हुन्छ । त्यसकारण, एउटा गुणस्तरीय चलचित्र निर्माण गर्नको लागि सर्बप्रथम स्क्रिप्ट राईटिङ्मा विशेष ध्यान दिनु पर्ने आवश्कता मगर चलचित्रकर्मी संघले महसुस गरि चलचित्रको स्क्रिप्ट लेखन तालिम आयोजना कार्यक्रम चलचित्र विकास बोर्डको सहयोगमा मिति २०६७ असार ७ देखि मिति २०६७ असार १३ गते सम्म ललितपुरको महिला प्रशिक्षण तालिम केन्द्रमा आयोजना गरि सम्पन्न भयो ।

५) मगर चलचित्र सेन्सर कार्यक्रम
मगर चलचित्रकर्मी संघले मगर चलचित्र अवलोकन समिति निर्माण समेत गरेको छ । जसमा नेपाल मगर संघको भाषिक उपाध्यक्ष, नेपाल मगर महिला संघ, मगर संस्कृतिविद्य, स्थानीय बुद्धिजीवि र मगर चलचित्रकर्मीहरुको एक समितिले चलचित्र मगर संस्कार र संस्कृति अनुरुपको छ, छैन अवलोकन गरि मगर चलचित्रकर्मी संघलाई लागि शिफारिश गरि सोही अनुरुप मगर चलचित्रकर्मी संघले प्रमाण पत्र उपलब्ध गराउने प्रक्रिया अगाडि बढाई सकेको अवस्था छ । यसरी आफ्नो जातिको चलचित्र अवलोकन गरि आफ्नो संस्कार, संस्कृतिमा निर्माण भएको छ वा छैन भन्ने यो कार्य अन्य आदिवासी जनजाति चलचित्र संघमा पनि सकारात्मक रुपमा लिईएको पाएका छौं ।

६) मगर चलचित्र महोत्सव (धरान)
मगर चलचित्रको धरातल निर्माण तथा बजार बिस्तार गर्ने अवस्थामा गुज्रिरहेको मगर चलचित्रलाई जति बढी ठाउँमा प्रदर्शन गर्न सकिन्छ त्यति नै बढी यसको बजार बिस्तार हुने मनसाय लिएर विभिन्न स्थानमा चलचित्र महोत्सव गर्ने सोचाईलाई मुर्तरुप दिनेक्रममा मगर चलचित्र महोत्सव पुर्वको धरानमा आयोजना गर्न सफल भयो । नेपाल मगर संघ, धरान नगर समितिसँगको संयुक्त आयोजनामा ०६८ साल माघ १ गते मगरहरुको महान पर्व माघे संक्रान्तिको अवसरमा मगर चलचित्र महोत्सव आयोजना गरि सम्पन्न भयो । कार्यक्रममा प्रथम मगर चलचित्र लङ्घनका निर्माता डि.बि.पुलामी मगरलाई दोसल्ला ओडाएर सम्मान समेत गरिएको थियो । मगर चलचित्रकर्मी संघको तर्फबाट अध्यक्ष युवराज मास्की राना मगर, उपाध्यक्ष सञ्जोग लाफा मगर, महासचिव मेजन पुन मगर, सचिव प्रतिमाया पुन मगर, प्रथम मगर नायक राज थापा मगर र मगर चलचित्रकर्मी लाल पुन मगरको उपस्थिति रहेको थियो ।
 
७) मगर चलचित्र सम्भावना, अवसर र चुनौती विषयक दुई दिने गोष्ठी
 लम्जुङ जिल्लाको बेसी शहरमा काशिम राना मगरको सक्रियतामा मगर चलचित्र सम्भावना, अवसर र चुनौती विषयक दुई दिने गोष्ठी २०६९ असार ८ र ९ गते सम्पन्न भयो । गोष्ठीमा मगर चलचित्र सम्भावना र अवसर विषयमा मगर चलचित्रकर्मी संघका अध्यक्ष युवराज मास्की राना मगरले कार्यपत्र प्रस्तुत गरेका थिए भने कार्यपत्र माथि चलचित्रकर्मी तथा चलचित्र पत्रकार विजयरत्न तुलाधर, चलचित्र समीक्षक तथा राजनीतिज्ञ केशव सूर्यवंशी मगर तथा नेपाल मगर संघका महासचिव तथा मगर चलचित्र निर्देशक नविन रोका मगरले टिप्पणी गरेका थिए । कार्यपत्र माथि सहभागीहरुले समेत आ–आफ्नो धारणा राखेपश्चात मगर चलचित्रका चुनौतीबारे कार्यशाला गोष्ठी आदिवासी जनजाति चलचित्र महासंघका महासचिव तथा मगर चलचित्रकर्मी संघका सचिव प्रतिमाया पुन मगरले संचालन गरेकी थिइन ।

८) जिल्ला समिति गठन
 मगर चलचित्रकर्मी संघ विभिन्न जिल्लाहरुमा पनि गठन गर्नु अपरिहार्य भएको तर मगर चलचित्रकर्मीहरु हरेक जिल्लामा नभएको अवस्थामा जिल्ला तथा अञ्चल समन्वय समिति निर्माण गरि मगर चलचित्रकर्मी संघको कार्यक्रममा मगर चलचित्रकर्मीहरुलाई सहभागी गराउनु पर्ने भएको हुँदा लमजुङमा आयोजित मगर चलचित्र, सम्भावना, अवसर र चुनौती विषयक गोष्ठीको अवसरमा तनहुँ र रुपन्देही जिल्ला समिति निर्माणको लागि संयोजकहरु तोकियो । यसैको प्रतिफल स्वरुप मगर चलचित्रकर्मी संघका महासचिव मेजन पुन मगरको उपस्थितिमा दानबहादुर आले मगरको अध्यक्षतामा ७ सदस्यीय मगर चलचित्रकर्मी संघ, जिल्ला समिति तनहुँ तथा मगर चलचित्रकर्मी संघ, केन्द्रीय सदस्य शंकर गाहा मगरको उपस्थितिमा श्याम थापा मगरको अध्यक्षतामा ९ सदस्यीय मगर चलचित्रकर्मी संघ, जिल्ला समिति रुपन्देही गठन भयो । यस्तै गरि पुर्वको धनुषा जिल्लामा भुवन थापा मगरको अध्यक्षतामा ७ सदस्यीय धनुषा जिल्ला समिति पनि गठन भएको छ ।

९) भावी कार्यक्रम
९.१ नेपाल भरिका मगर चलचित्रकर्मीहरुलाई संघमा आवद्ध गराई सहयोग र सहकार्यको वातावरण तयार गर्ने ।
९.२ संघमा आवद्ध मगर चलचित्रकर्मीहरुलाई बेला बेलामा क्षमता अभिवृद्धि सम्बन्धी तालिम दिने ।
जस्तै ः लेखन, प्राविधिक, कलाकारिता ।
९.३ उत्कृष्ट मगर चलचित्र बनाउन तथा प्रदर्शनको लागि सशक्त रुपमा प्रर्वद्धन गर्ने ।
९.४ मगर चलचित्रलाई हलहरुमा प्रदर्शनको लागि पहल गर्ने र हल निर्माणको लागि वातावरण तयार पार्ने
९.५ मगर चलचित्रको राष्ट्रिय र अन्तर्राष्ट्रिय चलचित्र महोत्सव गर्न वातावरण निर्माण गर्ने ।
९.६ चलचित्रमा संलग्न मगरहरुलाई सदस्यता विवतरण अझ प्रभावकारी तरिकाले गर्ने ।
९.७ मगर चलचित्रलाई बजारमा सहज तरिकाले उपलब्ध गराउने ।

अन्त्यमा, हजार माइल हिंड्न पनि एक पाइला चल्नै पर्छ । समय लाग्छ, सुधार हरेक क्षेत्रमा हुन्छ । मगर चलचित्र बनाउने क्रममा स्तरीयता पनि क्रमैसँग आउँछ । यसमा सुधार आवश्य हुन्छ । तर संरक्षण, प्रवद्र्धन अन्य समाजले गर्ने होइन । यसको लागि तपाई हामी नै सचेत हुँदै अग्रसर हुने कुरा हो । भोलिको मगर चलचित्रहरुको आधार निर्माण गर्न हामी सबैको सहकार्य र संलग्नताबाट नै हुन्छ । हामी फुटेर होइन जुटेर मगर चलचित्रको भविष्य निर्माण हुने हो । एक थुकी सुकी, हजार थुकी नदि भन्ने उक्तिलाई यथार्थमा परिणतको लागि हामी सहकार्य गरौं भन्ने कुरा जाहेर गर्दै मगर चलचित्रकर्मी संघ सधैं तपाईहरुको सहयोग र सल्लाहको आश गर्दछ । धन्यवाद ।

मेजन पुन मगर
(महासचिव)
मगर चलचित्रकर्मी संघ

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %