आलु, आलुको ढेँडो र दुई छोराहरू

Read Time:8 Minute, 57 Second

बिजय हितान,यु के, सेप्टेम्बरमा सधैं सीम सीम पानी बर्षिने बेलायतमा गत शनिबार घमाइलो रह्यो । यसै न्यानो मौसमको फाईदा लिंदै म र दुई छोराहरू मिलेर हाम्रो फुल्तरबारिमा फलेको आलु खोस्रियौँ । घर पिछाडीको स्यानो जग्गालाई म किन फुल्तरबारी भन्छु भने त्याँहा फुल पनि फुलाइन्छ, तरकारी पनि उमारिन्छ । बेलायतमा गोरा मालिकबाट बेल्पाली (बेलायती नेपाली) ले घर किन्नु भन्दा अगाडी प्रायजसोको फुलबारी हुन्छ । बेल्पाली त्यो घरको मालिक बनेपछी फुलबारी राता रात् तरकारि बारिमा परिणत हुन्छ । तपाइ एक महिना पछि त्यो घर जानोस फुलको सट्टा हरिया पार्सेका साग, राता गोलभेँडा र पिरा खुर्सानी उम्रेका हुन्छन् । छोराहुरुले सोधे – फुल न रोपेर किन तरकारी रोपेको गार्डनमा ? मैले भने – बाबु हो, बास्तबमा फुलबारी भन्दा तरकारिबारि बढी बातावरण मैत्री मानिन्छ ।‘ आफूले उपभोग गरिने तरकारी घरैमा उम्रेपछी बजारमा किन्न परेन, जुन हजारौँ माइल तरेर आएको हुनसक्छ । टाढा टाढाबाट ढुवानी गरिएको माल महँगो पनि हुन्छ, कार्बन-पदचिन्ह (कार्बन फुटप्रिन्ट) पनी बढी हुन्छ । उच्च कार्बन-पदचिन्ह (कुनै बस्तु उत्पादन गरेर उपभोक्ता सम्म ढुवानी गरेर पुग्दा उत्सर्जन हुने कार्बण्डाइअक्साइडको मापदन्ड) नै पृथ्वीमा जलबायु परीवर्तनको मुख्य कारक हो ।
त्यसपछि मैले फेरि भने-जाउ बाबु हो कटेरो (सेड) बाट कुटी कोदाली झिक । आज मौसम राम्रो छ, आलु पाकिसकेको छ, खन्नु पर्छ । त्यो जाबो दुई चार ड्याङ आलु मै आफै खन्थे । तर उनिहरुलाई सम्मिलित गर्नाका कारण, एकैछिन भएपनि कम्प्युटर बाट टाढा रहुन भनेर हो । अर्को चाहिं हामि कृषि प्रधान देसबाट आएका, खेतिपाती कसरी गरिन्छ भनि सिकुन भनेर पनि हो । याँहाका स्थानिय बालबच्चालाई दुध के ले दिन्छ भनि सोद्धा टेस्कोले भनि उत्तर पाइएको चर्चा त तपाईं  हामिले सुन्ने गरेको हो । मेरा छोराहरू त्यहि मानसिकतामा न रहुन भनेर पनि उनिहरुलाई यस आलु खन्ने कार्यमा सम्मिलित गरिएको हो । खन्दै गर्दा, अप्रिल महिनाको सुरुमा चिसो स्याँठले कठङ्रिदै आलुलाई रोपेको उनिहरुलाई मैले सम्झना गराएँ । घरमा उत्पन्न हुने हरियो मैलाबाट तयार भएको जैबिक (कम्पोस्ट) मल प्रयोग गरेर होला, आलुहरू ठुल्ठुलै भएका रहेछन् । आलु खनेर आधा घण्टामा सिद्दिएछ । घरमै उम्रेको चिज बाँडिचुँडी खानुपर्छ भनेर, स्याना स्याना पोका बनाएर मेरा छिमेकीहरू- नबिन साहेब, बिनु बैनि, दुबु साला, पुस्पा साली र कान्छा मामालाई आलु बाँडिदिए । श्रीमतीले त्यस साँझ सुँगुरको चोक्टा (पोर्क चप) बिजुली-अगेनामा बफाइन, केराउ र गाजर उमालिन, र घिउ (बटर) मिसाएर आलुको ढेँडो पकाइन । हामिले खुबै मिठो मानेर खाएका थियौ । म बालक छँदा गाउँमा घर पिछाडीको गरामा फुपैहरूसँग आलु खनेको र स्याना स्याना आलुलाई सिन्कामा उनी अगेनाको तातो भुब्रोमा घुसारि पोलेर खाएको याद आयो ।
 
खाना खाइसकेपछी टेबलमै बसेर हाम्रो पालामा महेन्द्र मालामा एउटा हास्य निबन्ध पढेको चर्चा गर्न मन लाग्यो एकैछिन दुई छोराहरूसँग । जसमा आलुको बौगुणी रुपलाई व्याख्या गर्दै भनिएको थियो- आलु मासुसँग पनि सुहाउने, सिन्कि, मसेप्रा, पार्सेको साग जे सँग पनि मिसाएर पकाउँदा स्वादिलो हुने । पिंडालुको जति दाह्री जुङा न आएकोले आलु पिँडालु भन्दा कान्छो हुनुपर्छ ।  आलुलाई तरकारीको रुपमा मात्रै प्रयोग नगरेर उखान-टुक्कामा पनि प्रयोग गरिन्छ, जस्तै तालुमा आलु फल्यो । पल्टन घरमा पद्दोन्नती पनि हुनु छोरापनी जन्मनु तालुमा आलु फल्नुको एक उदाहरण हो । पल्टन घरमा आलुको परिकार आलुदम एक प्रचलित टिटबिट हो । मेरा यी कुराहरूले छोराहरूलाई झ्याउ लागेको मैले महसुस गरें । अनी कुरा बटारेँ आलुको सुनाम नेपालमा मात्रै फैलिएको होला भनेको त बेलायतमा यसको महत्व झनै रहेछ् ।‘ अनी म पटेटो क्रिस्प, फिश एन्ड चिप्स, म्याकडोनल्डको बर्गर एन चिप्सको कुरा गर्न सुरु गर्छु । अनी त  उनिहरुमा जाङर बडेको देख्छु ।

मैले उनिहरुलाई अगाडी भने ढेँडो धेरै थरीको हुन्छ । कोदोको, फापरको, गउँको, अनी आलुको । समुन्द्र सतहदेखी करिब ६००० फिट माथी चुरे पर्बतका लेखमा फलेका कोदो र फापरको पिठो बेलायतका दोकानमा पाउँदा मलाइ अचम्म लाग्छ । हामि याँहा समुन्द्र सतहदेखी २०० फिट माथी बसेर कोदो र फापरको ढेँडो खान्छौँ । सम्झन्छु कुन बुडी बजैले झरिमा रुझी रुझी त्यो फापर रोपिन होली ? कुन बुहारीले ढेकिमा कुटिन होली ? अनी  कुन ढाक्रे बाले पसिना झार्दै बोकेर सदरमुकाम झारे होलान् ? खेती गर्नलाई आईमाई र बुढाबुढीहरू मात्रै त बाँकी छन् गाउँमा ।  तन्नेरी केटाहरू त ब्यस्त छन अरबमा श्रम बेच्न । त्यो फापरको पिठो आयो होला तान्सेन, बुट्वल, गोरखपुर, कल्कत्ता बन्दर्गाह, अनी सामुन्द्रिक मार्गहुँदै बेलायतमा । करिब ४५०० माइल दुरी तय गरेको यो पिठोको कार्बन-पदचिन्ह अवस्य धेरै हुनुपर्छ । जे सुकै भएपनि कति मिठो हुन्छ है माछाको बाक्लो झोलसङ त्यसको ढेँडो !
नेपालमा बढी भात खानाले नेपाल गरीब रहेको र बेलायतमा बढी आलु खाइनेले बेलायत धनी भएको जस्तो लागेछ जेठो छोरालाई । किनकी धान खेती गर्न गार्हो छ आलु खेती सजिलो ।  आलु कुनै पनि मौसममा अनी ओरालो भिरालो जग्गामा पनि फल्छ  तर धानलाई सम्मो जग्गा, गर्मी, ओसिलो र बढी पानी चाइने हुन्छ ।  त्यसैले बजारमा चामल महँगो पर्छ आलु सस्तो । छोराहरूले भने, त्यसो हो भने नेपाल धनी हुन छ भने आलुको ढेँडो खान पर्यो । नेपालका सहरमा ढेँडो खानेलाई गिज्याइन्छ नी भन्दै मह जोडीको एक हास्यब्याङ नाटकमा हरिबम्स काठमान्दुको एक गल्लिमा याँहा त ढेँडो खांदा रहेछन्, हेर तु भन्दै दौडेको सम्झना गराएँ मैले छोराहरूलाई । अनी सतर्क गराएँ मैले उनिहरुलाई कसैलाई नभन्नु है हामिले ढेँडो खान्छौँ भनेर । कान्छाले हामि सबैले खाएको थालीहरू भान्साघरतिर लग्दै भन्यो हामिले कहाँ आलुको ढेँडो खाएको हो त, म्यास पटेटो पो खाएको । हो भात मात्रै सधैं न खाएर म्यास पटेटो पनि खान सिके हामि नेपाली पनि गोरा जस्तै धनी कतै हुन सकिन्छ कि ?                

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %