पार्टी एकताको प्रयास कुन रुपमा अगाडि बढेको छ ?
हामीले हाम्रो विचारसंग मिल्ने राजनीतिक संगठनहरु र एमाले काङग्रेसमा असन्तुष्ट जनजातिका राजनीतिक व्यक्तित्वहरुसंग सम्पर्क गरि एकताको प्रयास थालेका छौ । नयाँ पार्टी संभव छैन । त्यसरी जातीय मुक्तिका लागि लड्ने हो भने कहिल्यै पनि लक्ष्य हासिल गर्न सकिन्न । साझा मुद्धा उठाउँन गोलबन्द भएर जानु पर्ने हुन्छ । त्यसैले मेची महाकाली हिमाल पहाड तराई जुन सुकै भूगागको प्रतिनिधित्व गर्ने राजनीतिक दल भए पनि हामीसंग सहकार्य गनुहोस् भनेर हामीले भनेका छौ । सबै मिलौ र एकता गरि महाधिवेशन गरौँ अनि पार्टीलाई अगाडि बढाउँ भन्ने हामीले स्पष्ट भनेका छौ । यसरी एक भएनौ भने हाम्रो मुक्ति संभव छैन भन्ने कुरा हामीले स्पष्ट राखेका छौ ।
कुन– कुन पार्टीसंग छलफल गर्नु भयो ?
संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टी, त्यस्तै संघीय लोकतान्त्रिक मञ्च, जनमुक्ति पार्टी नेपाल, तासालिङ राष्ट्रिय दल (परशुराम तामाङ) अनि मधेशी जनअधिकार फोरम नेपालसंग पनि हामीले पार्टी एकताको विषयमा छलफल गरिसकेका छौ ।
ती पार्टीहरुले के चाहेका रहेछन् त ?
उनीहरुले अहिलेलाई मोर्चाबन्दी गरौँ । पछि एकता गरि जान सकिन्छ भन्ने कुरा गरेका छन् । संघीय लोकतान्त्रिक पाटी
लगायतका केही साना दलहरु चाहि एकता गरेर जाउँ भन्ने कुरामा सहमति जनाइसकेका छन् ।
राष्ट्रिय जनमुक्ति पार्टी अरु पार्टीमा विलय हुने संभावना कतिको छ ?
ठूलो पार्टी भएर मात्र हुन्न विचार मिल्नु पर्छ पार्टीमा गाभिनका लागि । एमाले छोडेका र छोड्ने सुरुमा रहेका केही जनजाति साथीहरुले नयाँ पार्टी गठनलाई अन्तिम चरणमा लगेका छन् । उनीहरुले आदिवासी जनजातिको मुक्ति दिलाउँछौ भन्ने भावना बोकेर पार्टी खोल्न थालेका त छन्, तर कतिपय पार्टी खोल्ने नखोल्ने भन्नेमै अन्यौलमा छन् । एमाले विचारबाट प्रशिक्षित त्यो शक्तिले मेची महाकाली, हिमाल पहाड र मधेशसम्म फैलिएको मत जम्मा पार्न सक्दैन् । त्यसले ठूलो पार्टीको स्वरुप ग्रहण गर्दछ भन्नेमा हामीलाई विश्वास लाग्दैन । हामीले विगत २२ बर्ष देखि जातीय मुक्ति, संघीयता, समानुपातिक र धर्म निरपेक्षताको मुद्धालाई बोकेर हिडेका छौ । गाउँ टोलसम्म पुगेर जनताको अभिमत हामीले बुझेका छौ । माओवादी कांग्रेस र एमालेका नेताहरुले पार्टी खोल्यो भन्दैमा सबै त्यतै लाग्छन् भन्ने त केही पनि छैन । त्यस्तो संभवना नै छैन । डा. कृष्ण भट्टचन र मल्ल के सुन्दर लगायतका आदिवासीहरुले त गणतान्त्रिक मोर्चा र अन्य नामबाट पार्टी बनाउँन त यस अगाडि खोजेका थिए, तर मोर्चा पनि बनाउँन सकेनन् । नामको अगाडि डाक्टर झुण्डाउँनेले पार्टी खोल्ने वित्तिकै आदिवासी पिछडिएका अनि मुश्लिम दलित र मधेशी आइहाल्छन् भन्ने हुदैन । पार्टीमा विचार र त्यसको कार्य नीति अनि वास्तविक आदिवासी र पिछडिएका बर्गको मुक्तिलाई पार्टीले आत्मसाथ गदै त्यस लक्ष्य हासिल गर्न सक्छ कि सक्दैन त्यसलाई ख्याल गदै मानिसहरु पार्टीमा आउँने हुन् ।
अहिले घोषणा हुने क्रममा रहेको नयाँ पार्टीको कार्यदलसंग पनि तपाईहरुको छलफल भयो कि ?
हामीले उनीहरुसंग पनि छलफल गरिरहेका छौ । पृथ्वीसुब्वा गुरुङ, इन्द्रबहादुर गुरुङसंग पनि हामी निरन्तर छलफल गरिरहेका छौ । उहाँहरु नयाँ पार्टी खोल्ने मनस्थितिमा पनि देखिनु हुन्न । पार्टीसंग नै मार्गेनिङ गरिरहेको अवस्था छ । जनजाति सबैले आफू आफूले पार्टी खोल्दै गएर त्यसले काम दिदैन । पुरानो र आदिवासी जनजातिको मुद्धालाई सुरु देखि उठाउँदै आएको राष्ट्रिय जनमुक्ति पार्टी नेपालमा गोलबन्द हुनु पर्ने एमाले नेता पृथ्वी सुब्वा गुरुङले समेत भन्नु भएको छ ।
अहिलेको परिस्थितिमा जनजातिको हक अधिकारका लागि खोलिएका पार्टीहरु एक भएर जाँदा उचित कि फरक फरक विचार समूह अगाल्नेको झुण्ड बनेर जाँदा उचित हुन्छ ?
अहिलेको अवस्थामा संघीयता, समानुपातिक र धर्मनिरपेक्षताको मुद्धालाई संरक्षण गरि संविधानमा लेखाउँनका लागि त्यसमा सहमत हुने संघीयता पक्षधर शक्ति एक हुनु पर्छ । त्यसका लागि हामीले के त्याग गर्नु पर्छ त्याग गरेर जान तयार छौ भनेर हामीले चितवनको हालै सम्पन्न भएको विस्तारित बैठकले पनि निर्णय गरिसकेको छ । त्यस्ता शक्तिलाई हामी कहाँ आउँन हामीले ढोका खुल्ला राखेका छौ । त्यसो गर्न उनीहरुलाई अप्ठ्यारो लागेमा बार्ता छलफल र गोलमेच सम्मेलन गरेर वा अरु के गर्न पर्छ हामीले हदैसम्मको लचकता अपनाएर पार्टी एकता गर्ने नीतिमा जनमुक्ति पार्टी लागेको छ ।
(राष्ट्रिय जनमुक्ति पार्टी, का उपाध्यक्ष केपी पालुङवासंग राज्यसत्ता नेपाल व्युरोले लिएको अन्तरबार्ता)