Desh Subba
रेखा कविता १००
शनिबारको कोसेली
कसले गर्छ शासन
अति भएर होला
बाघ गर्जेको डाँडापाखा
चट्याङ पड्केको आँधीबेरी
अब केही हुन्छ यो मुलुकमा
कि फुट्छ मुटु कसैको
कि भाला निस्केर माटोबाट
रोप्छ दानव वृक्षलाई
‘कानायाङ्वा’ भन्दा भयानक
यो दानव वृक्षले
अंकुरित हुन खोजिरहेका
मकै, गहुँ, धानका टुसाहरूलाई
बिउबाट निस्किन नपाउँदै
सेपेर मारेको छ
फेरि टुसाउने खोज्ने मुनाहरूलाई
सरिसृप घाँसले बेरेर
मार्दैछ ‘महाभारत’मा जस्तो
केही आश लाग्दा
‘काङ्सोरे’ मुनाहरू
टाउको भरि रहर बोकेर
आकाशतिर बढिरहेका छन्
यी प्राकृतिक फूलहरूका
भाषा मासिएका छन्
लिपि मेटिएको छ
हिँडिरहेको छ ‘बुढासुब्बा’ जस्तो
काँधमा पहिचानको ‘धनुकाँड’ बोकेर
खोजिरहेको छ
एउटा ‘विजयपुर मुलुक’
अब हेर्न बाँकी छ
कसरी हुर्किन्छ बिरुवा र
शासन गर्छ त्यो मुलुक ‘विजयपुर’ l