आतङ्कारी मान्छे

देश सुब्बा

रेखा कविता ९९
 शनिबारको कोसेली
आतङ्कारी मान्छे
 जब दिन थाकेर सुत्छ
 सुत्छन् दिनभरि कराउने
 इमान्दार मान्छे र चराचुरुङ्गी
 अनुहार ढाक्छ पृथ्वीको किरीमिरिङ्ग
 दृश्यहीन अँध्यारोले
 लाग्छ पृथ्वीका सबै उज्याला
 विलय भैसक्यो आकाशबाट
 अध्ँयारोको फाइदा उठाएर
 दिनमा सुत्ने
 चमेरा, लाटकोसेरो
 उत्पात मच्याउँछन् बगैंचा, बारीमा
 दिनमा छोपिएर बस्ने मान्छे
 अँध्यारोको कदमसँगै सल्बलाउन थाल्छन्
 जति जति बाक्लिन्छ अँध्यारो
 उतिउति उनीहरूको योजना, विचार र जोश
 सल्बलाउन थाल्छ
 बाक्लो रातमा पशुपन्छी
 लाछिरहेका हुन्छन् अम्बा, आँप र केरा
 त्यतिखेर मान्छे
 हत्या, आतङ्क लुटपाट मच्याइरहका हुन्छन्
 पशुपन्छी फल दार्ने
 सिलसिलामा कुनै आतङ्क मच्याउँदैनन्
 तर मान्छे मान्छेका लागि
 रातमा आतङ्क मच्याउँछन् ।