रेखा, कविता ९८
पुरानो घर
मेरो शैशव बितेको पुरानो घर
जीवनका रंग उप्किएर कात्रो भएको छ
जब खेल्छु म सम्झनामा
यो घरको पुरानो वैशसँग
उप्किन्दै प्याजको पत्रजस्तै
खोलिन थाल्छन् विगत्
कति इतिहास बनेका
कति पहिचान
कति परिवर्तनका उज्याला लहरहरू
ती सबै सम्झनाका ऐनामा
वर्षौदेखि अँध्यारिएका बत्ती
पालोपालो जल्न थाल्छन्
त्यो बत्तीले मलाई उज्यालो दिन्छ
बाटोमा भीर थिए
बौलाउँदा खोला
कष्टका उकालो पहाड
ती सबैलाई नाघ्दै
मनको भारी बिसाउने फूलबारी
अब त्यो फूलबारी
कुनै बाटोमा छहारी दिने
वरपिपलको चौतारी बनेको छ
त्यो चौतारीमा अझै होला
आन्दोलनका झण्डा
रगतका छिटा
गोलीको र्छरा
घरजस्तै यी सबै बिस्तारै
अस्ताउँदैछ दिमागबाट
मेरो घर पुरानो भएको छ
पुरानो घरसँगै सबै पुरानो हुँदोरहेछ ।