प्रस्तावित सामाजिक लोकतान्त्रिक बहुल – राष्ट्रिय पार्टीको कार्यदलले के कसरी काम अगाडि बढाएको छ ?
कार्यदलको बैठक यसै हप्ता सकिएको छ । बैठकमा राजधानी बाहिरका धेरै साथीहरु सहभागि थिए । बैठकमा पार्टीको दस्तावेज घोषणा पत्र र विधान माथि छलफल भयो । पार्टीलाई कसरी अगाडि लैजाने र भावी कार्ययोजनाको बारेमा पनि छलफल भयो । प्ररारम्भिक चरणमा काठमाडौंमा अन्तरकृया गर्ने त्यसबाट प्राप्त सुझावहरुलाई समावेश गरेर परिमार्जन गदै अगाडि बढ्ने निर्णय भएको छ । कार्यदलमा करीब १५० जति सदस्य छन् । फेरि कार्यदलको बैठक ४ र ५ भदौमा बस्दै छ । त्यो बैठकले कार्ययोजनालाई अन्तिम रुप दिन्छ । भदौ १० गतेसम्म दस्तावेज प्रकासन गर्ने १६ सम्ममा पार्टीको सैद्धान्तिक पक्षमा काठमाडौंमा अनुशिक्षण कार्यक्रम गरिसके पछि जिल्ला जिल्लामा उनीहरु मार्फत् काम सुरु हुन्छ । काठमाडौमा पनि त्यसै अनुरुप काम अगाडि बढाउँने सोचाइमा छौ ।
मधेशवादी दलहरुसंग पनि तपाईहरुले छलफल गर्नु भयो के छ उहाँहरुको भनाइँ ?
मधेशीहरुको आफ्नै दल छ तैपनि दलमा आवद्ध नभएकाहरुसंग हामीले छलफल गरेका हौँ । मधेशी र दलित अनि मुश्लिम समुदायका केही अधिकारकर्मीहरु पनि हाम्रो अभियानलाई साथ दिने भएका छन् । भदौ २० तिर पार्टीको अवधारणा जिल्ला जिल्ला लैजादा पूर्व सभासद्हरु पनि संगै जाने छन् । असोज १५ सम्म देश व्यापी रुपमा बहस सकिन्छ । त्यस क्रममा जे जति सुझावहरु प्राप्त हुन्छ त्यस पछि पार्टीको विद्यान र घोषणा पत्र अपडेट गरि पूर्ण दस्तावेज जारी गर्नासाथ असोज अन्तिम देखि हामीले संगठन निर्माणमा जाने योजना बनाइरहेका छौ । पार्टी निर्माण सुरु भएको तीन चार महिनामा त्यसले पूर्ण आकार पाउँछ ।
विश्व आदिवासी दिवसका दिन पूर्ण रुपकै नयाँ पार्टी खोलिन्छ भनेर बाहिर भनिएको थियो जनजाति नेताहरुकै मतभेदका कारण पार्टी गठन पछि सरेको भन्ने पनि गरिएको छ वास्तविकता के हो ?
मतभेद होइन, तयारी नपुगेर सिंगो रुपमा पार्टी आउँन सकेन । नाम र घोषणा पत्र मात्र सार्वजनिक गर्ने सहमति अनुरुप बाहिर ल्याइएको हो । घोषणा पत्र अनि पार्टीको नाममा व्यापक बहस गरेर मात्र पार्टी गठन गर्ने भन्ने सुझाव पनि उपयुक्त लाग्यो अनि त्यही अनुरुप जाने निर्णय गरियो । आदिवासी जनजातिको राजनीतिक सम्मेलन पनि नयाँ पार्टी विश्व आदिवासी दिवसका दिन घोषणा हुने अपेक्षाका साथ सकिएको थियो ।
पार्टीको नाम र घोषणा पत्र सार्वजनिक गर्ने क्रममा ठूला पार्टीमा विद्रोह गरिरहेका जनजाति नेताहरु पनि देखिएनन् नि यसले मतभेद छ भन्ने देखाउँदैन र ?
पार्टीको नाम र घोषणा पत्र सार्वजनिक गर्ने क्रममा उहाँहरु नआउनुको अर्कै पाटो छ । पार्टी पनि गठन नभएको र आफू संलग्न पार्टी पनि छोड्ने अवस्था नहुदा नैतिक संकटका कारण उहाँहरु नआउनु भएको हो । पार्टी नछोडीकन त्यस्तो कार्यक्रममा आउँन उहाँहरुलाई निश्चित रुपमा अप्ठ्यारो थियो । उहाँहरुसंगको समझदारी मै काम भएको हो ।
कार्यदलमा प्रायः प्राज्ञिक र बौदिक व्यक्ति मात्र छन् नेताहरु किन अगाडि आउँन चाहेका छैनन् ?
कार्यदलमा नेताहरु छन्, तर जिल्ला स्तरका मात्र छन् । माथिल्लो तहमा पुगेका नेताहरु कार्यदलमा छैनन् । अधिकारकर्मी र बौद्धिक ब्यक्ति अलि बढी नै राखिएको छ ।
पार्टीको नेतृत्व अब कसरी जान्छ नेतृत्वमा अलि विवाद छ भनिन्छ किन ?
प्रस्तावित विधान अनुसार पार्टी निर्माण माथिबाट होइन तल्लो तहबाट गरिनु पर्छ भन्ने छ । नेपालमा कोही पनि त्यस्तो व्यक्तित्व छैन जसलाई देखाएर जनताहरु धेरै प्रभावित हुन सक्ने । जनताले तत्काल पत्याउँने खालको व्यक्तिलाई नेपालले जन्म दिएको छैन त्यो निकै दुर्भाग्यको कुरा हो । त्यस कारण हामीले तल्लो तहबाट नेता बनाएर लैजाने त्यसको आवश्यकता पनि पूरा गर्न खोजेका छौ । वढी समय नेतृत्व नगर्नका लागि एउटा अध्यक्ष मण्डल बनाएर सामूहिक नेतृत्वको अवधारणा पनि अगाडि बढाएका छौ । जुन अहिले कुनै पार्टीमा पनि देखिन्न । त्यसले सबैले नेतृत्व गर्ने अवसर पनि प्राप्त गर्दछ साथै नेतृत्व निरंकुश हुने प्रवृत्ति पनि देखा पदैन । यो प्रक्रियाबाट जो नेता बन्छ बन्छ भन्नेमा हामी छौ । एमाले कांग्रेस लगायत अन्य पार्टी छोडेर आउँनेहरु पनि यही प्रकृया भित्रै रहन्छन् ।
पार्टी छाडेर नयाँ पार्टी खोल्छौ भन्ने जनजाति नेताहरु पनि अहिले चुप बसिरहेका छन् । नयाँ पार्टीमा सबै विचार समूहलाई कसरी गोलबन्द गर्ने योजना बनाइरनु भएको छ ?
उहाँहरु पार्टीले आफ्ना मुद्धा सम्वोधन गरेन पनि भनिरहनु भएको छ र पार्टीमा रहिरन सक्ने अवस्था पनि भएन भन्नु भएको छ । पार्टी छोडिसकेको अवस्था पनि छैन । उहाँहरुको के रणनीति हो बुझन सकिएको छैन । त्यस्तो शैली र व्यवहारले जनताको जे जति उपेक्षा छ त्यसमा खासै असर पादैन । उहाँहरु आफै अनिर्णयको बन्दी बनिरहनु भएको छ । जति ढिलो निर्णय गर्नु हुन्छ उहाँहरुलाई नै घाटा हुन्छ । त्यसका लागि हामीलाई असोज १५ सम्मको समय दिनु भएको हो । त्यस बेलासम्म उहाँहरुले कसरी जाने सोच बनाउनु भएको छ उहाँहरुलाई नै थाहा होला ।
यो पार्टीमा सामेल नभई अन्य शक्ति पनि बन्यो भने के गर्नु हुन्छ ? फरक– फरक विचार समूह एकै ठाउँमा मिलेर राजनीति गर्न सकिएला र ?
अलग अलग विचार मान्ने अलग शक्ति बनाएर लगे पनि हुन्छ, तर त्यो एमालेको सानो जत्था मात्र हुन्छ । कांग्रेसले ग¥यो भने कांग्रेसको मात्र समूह हुन्छ । यो विषय निकै जटिल पनि छ । दुई ध्रुवका व्यक्तिलाई एकै ठाउँमा मिलाएर राख्न सजिलो पक्कै हुने छैन । हामीले दस्तावेजमै सैद्धान्तिक र संगठनात्मक दुवै रुपले मिलाउँन खोजेका हौ । जातीय मुद्धा सुल्झिए पछि पार्टी अगाडि बढ्ने निश्चित दर्शन र विचारले नै हो । पार्टी पिच्छेका नेताहरुले आफू आफूमा तयारी गरे जस्तो लाग्छ त्यसले झन् शंका पैदा गराउँन सक्छ ।
स– साना जातीय पार्टीहरु पनि यसैमा गाभिन्छ कि ?
स– साना सबै पार्टीलाई गाभ्ने हाम्रो प्रयत्न रहन्छ । अथवा एक किसिमको एलान्स जस्तो बनाएर पार्टी नै सदस्य हुने गरि संघीय ढाँचाबाट पनि जाने विकल्प पनि अगाडि सारेका छौ ।
बाहिर हेर्दा त नयाँ पार्टी कम्युनिष्ट विचार बोक्ने जस्तो देखिन्छ । वैचारिक रुपमा कसरी जाने कोशिस गदै हुनु हुन्छ ?
अहिले प्रजातन्त्र र समाजवादको संगम बन्न सक्छ भनेर सोचिएको छ । दस्तावेजले पनि प्रजातन्त्रवादी र समाजवादीहरु दुवैको पार्टी हो भन्ने देखाउँछ । विश्वव्यापीकरणको अवस्थामा लिभरल डेमोक्रेशीलाई पनि ग्रहण गर्दछ । समाजवादको पनि सफल प्रयोगलाई आत्मसाथ गर्दछ । असमानता र गरिब मुलुकमा त्यस्तो शैद्धान्तिक कुरा उपयुक्त हुन्छ भनेरै सोचिएको हो । युरोपका कतिपय देशमा सोसल डेमोक्रेट्सकै बाहुल्यता देखिन्छ ।
पार्टी जन्मिनु पछाडि सामाजिक आन्दोलन अनिवार्य मानिन्छ, तर अहिले सामाजिक आन्दोलन उत्कर्षमा पुगेको भन्न सकिन्छ त ? नयाँ पार्टीलाई कसरी जनताको माझमा स्थापित गर्नु हुन्छ ?
पहिचानको राजनीति नै अहिले उत्कर्षमा छ । तर मुद्धा त एक पटक समाधान भए पछि सकिन्छ र नयाँ मुद्धा आउँछ । त्यसैले मुद्धामा मात्र केन्द्रित हुनु हुदैन पार्टीको विचार नै प्रमुख बन्नु पर्छ । आदिवासी जनजातिको मुद्धा ककसले बोकेर नै यो अवस्था सम्म ल्याएको छ । स्वायत्तता, पहिचान, आत्म निर्णयको कुरा नै ककसले प्रस्तावित मात्र ग¥यो । संघीयताको विवाद कायम छ । संविधान नबनेको स्थितिमा त्यो मुद्धा जिउँका त्युँ नै छ । त्यही मुद्धा मै अहिले एक खालको आन्दोलन छ नै । त्यही मुद्धालाई नै पार्टीले समातेर लैजान्छ । राज्यको पुनः संरचनाको मुद्धा सकिए पछि आम मानिसको जीवनसंग जोडिएका मुद्धा नै स्वतः उठ्छ ।
जातीय पार्टी बनाउँन लागेको भन्ने आरोप पनि छ नि यहाँहरु माथि ? विगतमा जातीय पार्टी सफल देखिनन् । सफल नहुनु पछाडि के कारण हुन सक्ला ?
विगतमा जन्मिएका पार्टी कस्ता थिए त्यो त व्याख्खा गरिरहनु पर्ने छैन । साँघुरो कुरा लिएर गैइयो भने सानो लक्ष्य मात्र हासिल हुन्छ । सिमित लक्ष्य बोकेर हिडेको कारण त्यो परिणाम भोग्नु परेको हो । आदिवासी जनजातिको नाममा राजनीति गर्नेहरुले जनजातिको मुद्धा के भन्ने नै थाहा पाउँन सकेनन् । उत्पीडित समुदायको वास्तविक सेन्टीमेन्ट के त्यो नै उनीहरुले समात्न सकेनन् । स– साना विवादमा फस्ने अनि विभाजित बन्ने रोग नै लाग्यो उनीहरुमा । यसका साथै जातीय पार्टी असफल हुनुमा धेरै कारण छन् । मुद्धा समाधान नहुदासम्म त्यो मुद्धालाई बोकेर हिडे पनि त्यही समुदायको मात्र पार्टी बन्न हुन्न भन्ने हाम्रो मान्यता हो । पार्टी साझा बन्नु पर्छ तर उत्पीडन पनि साझा हुन सक्छ । जनजातिको एकखाले अरु समुदायको अर्काे खालको पनि हुन सक्छ । उत्पीडनमा रहेका सबै एक ठाउँमा बसेर लड्यो भने मात्रै ठूलो शक्ति निर्माण हुन्छ । जो जातीय रुपमा अरुलाई शासन गरिरहेको छ उसले मात्र जातीय पार्टी भन्ने गरेको छ । त्यो हेराइँमा नै पूर्वाग्रह राखेर गरिएको छ । देशमा २४० बर्ष त एकल जातीय शासन सत्ता सञ्चालन रहेको तथ्य लुकाएर लुक्दैन । कांग्रेस र एमाले जस्ता पार्टीहरुले हामी माथि जातिवादी पार्टीको आरोप लगाउँदै छन् । तर उनीहरु वास्तविक रुपमा संघीयता विरोधी हुन् । संविधानसभाको राज्य पुनः संरचना समितिले पटक पटक आफ्नो आधिकारिक धारणा राख्न आग्रह गर्दा समेत उनीहरुले आफ्नो धारणा राख्नै सकेनन् । समितिले त्याएको प्रतिवेदनलाई जातीय राज्य भनेर विरोध मात्र गरिरेह उनीहरु । भित्रको संरचना भन्दा पनि नाममै टाउँको दुखार्इँ बनेको छ त्यो निकै सतही विवाद हो जस्तो लाग्छ । जातीवादीको नाम देखाएर सामाजिक सद्भाव विरुद्ध विख छर्ने काम एमाले र कांग्रेसले गरिरहेका छन् । यस्तो कामले समाज झन् धु्रवीकरण तिर जान्छ ।
पार्टीको घोषणापत्र प्रति कतिको सुझाव आएको छ ? पार्टीको नाम फेरिन्छ कि ?
सुझावहरु आएका छन् । पार्टीको सिद्धान्तसंग जोडेर नाम राखिएको हो । त्यो लामो भयो भन्ने पनि गरिएको छ । सरल र छोटो बनाउनु पर्ने पनि भनिएको छ । पार्टीको नाम फेरिन्छ भन्ने यसै भन्न सकिन्न ।
संघीयतावादीहरुको मोर्चा बनिरहेको छ त्यो मोर्चामा नयाँ पार्टी पनि सामेल हुन्छ कि ?
संघीयतावादीहरुले आफ्नो मुद्धालाई शसक्क्त रुपमा अगाडि बढाउँन मोर्चा बन्दी गर्नु सकारात्मक रुपमा लिन सकिन्छ । हामी त्यो मोर्चामा सामेल हुने नहुने भन्ने समयले निर्धारण गर्दछ । पार्टीले पूर्ण आकार लिए पछि जो जोसंग जसरी जानु पर्छ त्यही अनुरुप जाने विचारमा हामी छौ । पार्टीमा नेतृत्व कसले गर्दछ त्यस कुरामा नै यी कुरा निर्भर हुन्छ ।
आदिवासी जनजातिका साथै मुश्लिम दलित र ब्राह्मणलाई पनि पार्टीमा समावेश गर्न के कस्तो रणनीति लिइएको छ ?
हामीले सबैलाई समेट्न कोशिस गरेका छौ । बाहुन पनि हाम्रो पार्टीमा समावेश छन् । हाम्रो दस्तावेजमा उनीहरुलाई आपति राख्ने विषयमा जति बेला पनि छलफल गर्न तयार छौ । सबै समुदाय गोलबन्द हुनका लागि पाटीले कुनै छेकवार पार्टीमा लगाउँने छैन । धर्म जातका आधारमा छेक्न हुन्न भन्ने हेतुले सबैलाई मिल्ने गरि पार्टी बनाउँदै छौ । बहस जनजातिहरुमा मात्र अहिले सिमित बने पनि विस्तारित रुपले जानु पर्छ भन्ने हाम्रो माध्यता छ । बहस विस्तारै सबै तिर चल्न थालेको छ ।
एकल जातीय पहिचानमा आधारित संघीयता सहितको संविधान पार्टीको लक्ष्य हो त्यो लक्ष्य पूरा गर्न तपाइँहरु सक्नु हुन्छ भन्ने आधार के छ ?
हाम्रो लक्ष्य नै त्यही हो । हामीले यो मुद्धालाई लिएर जनतामा जाने हो जनताले कसलाई पत्याउँछन् भन्ने त्यहीबाट थाहा हुन्छ । संविधानसभाको निर्वाचनबाटै यो कुरा सुनिश्चित हुन्छ भन्ने हामीलाई लाग्छ ।
तपाइँ पहिले पनि पार्टीमा आबद्ध हुनु हुन्थ्यो पछि छोड्नु भयो । अहिले फेरि पार्टीमा सक्रिय देखिन थाल्नु भएको छ । आफ्नै क्षमताको भरमा पहिचान बनाएको व्यक्तिलाई किन पार्टी आवश्यक प¥यो अहिले ?
म विगतमा नेपाली कांग्रेस पार्टीमा रहेर काम गरेको थिए । आफ्नो क्षमता अनुरुप कांग्रेसलाई योगदान दिएको पक्का हो । नेपाली कांग्रेसमा गिरिजाप्रसाद कोइरालाको नेतृत्व रहदाँ पार्टी र म बीच दुरी बढेको अनुभव कहिल्यै भएन । संविधानसभामा पनि त्यस्तो भएन । पछि गएर कांग्रेसमा पुरातनवादी सोच हावी भएर गयो जसले गर्दा पार्टीमा बस्न मनै नभएर विरक्क्त भएर पार्टी छोडे । गिरिजाप्रसादको नेतृत्व रहँदा पार्टीमा सबै खालका मानिस अटाएका थिए अहिले कांग्रेस निकै संकुचित भएर खेमा बन्दी गरि हिडेको छ । यस्तो अवस्थामा कांग्रेसको अतित्व नै संकटमा परेको छ । अहिलेको नयाँ पार्टी गठन गर्ने कार्यदलमा पनि संयोगवस मात्र सहभागि भए । राष्ट्रिय सम्मेलनमा कार्यपत्र पेश गर्ने सिलसिलामा पुगेको म माथि त्यहाँबाट थप जिम्मेवारी पनि सुम्पियो । उमेरले सिनियर भएका कारण पनि म माथि जिम्मेवारी दिइएको जस्तो लाग्छ । अहिले जिम्मेवारीबाट उम्किने अवस्था नै छैन । जसरी हुन्छ अब यो पार्टीलाई पूर्ण आकार लिएरै छोड्ने विचारमा म छु ।
(राज्यसत्ता नेपाल व्युरो )
पार्टीलाई शक्तिशाली शक्तिको रुपमा उभ्याएरै छोड्छु : चैतन्य सुब्बा, कार्यदल संयोजक प्रस्तावित सामाजिक लोकतान्त्रिक बहुल राष्ट्रिय पार्टी
Read Time:19 Minute, 20 Second