म्याग्दीमा लाग्ने एक प्रख्यात ढोठा मेला

Read Time:6 Minute, 42 Second

ढोठा मेला
 राम्चे, म्याग्दी, ढोठा मेला राम्चे गाविसमा लाग्ने एक प्रख्यात मेला हो । यो साउने संक्रान्तिदेखि शुरु भई ८/१० गते सम्म लाग्दछ । यस समयमा अन्य गाउँमा मेला नलाग्ने भएको कारण होला यो मेला अत्यन्त प्रचलित छ । साउनको झरी पनि नभनिकन पानीमा पनि मेला मनाउने चलन पुरानै हो ।
 राम्चेका पूर्व अध्यक्ष ओमबहादुर पुर्जाका अनुसार यो मेला मान्ने चलन पुरानै हो । यो मेला पहिला काफलडाँडाको ढोठा भन्ने ठाउँमा लाग्दथ्यो । साउने संक्रान्तिमा ढोठा पुजा गरेपश्चात मेला शुरु हुन्थ्यो भने हाल राम्चेमा लाग्ने गर्दछ । छेलो, ९ जनाको भलिबल ९ फिटको जालीमा खेलेको देखेको उहाँ सम्झनुहुन्छ ।
ढोठा पुजा
काफलडाँडाको ढोठा भन्ने ठाउँ तालको आकारमा रहेको छ । जुन वर्षायाममा पानीले भरिन्छ भने हिउँदोमा सुख्खा हुन्छ । यही स्थल ढोठा जस्तो आकार भएकोले सबैले यसलाई ढोठा भन्न थालेको हो । यही स्थलमा हरेक वर्ष ढोठा पुजा गरिन्छ । काफलडाडाका जुगबहादुर फगामीका अनुसार ६ वटा लिङ्गो लगेर विभिन्न दरदेवतालाई चढाउने गरिन्छ । सिमे, भुमे, लाटा भुमे, भोटे लामा, नयाँ भुमेलाई जोर ध्वजा सहितको लिङ्गो चढाउने गरिन्छ भने सरस्वती र देवी-सिद्ध बराहनीलाई छितको ध्वजा चढाइन्छ । यस पुजामा भोग दिने चलन छैन । साउने महिनाको १ गते सम्पूर्ण काफलडाँडेहरु स्कुलमा भेला भएर हाई हाल्दै ढोठामा लिङ्गो लगेर रक्शी, चुरोट आदि चढाइन्छ । र, उक्त ढोठामा नै सरस्वती जगाईन्छ ।
ढोठा मेला राम्चे कसरी पुग्यो ?
राम्चेका पुर्व अध्यक्ष ओमबहादुरका अनुसार लगभग २०४७/०४८ सालको बेला म्याग्दी क्षेत्र नं. ९ मा राम्चे, हिस्तान, शिख र नारच्याङ्ग पर्दथ्यो । यही क्षेत्रीय बैठकमा गाउँघरमा धेरै मेला लाग्ने भएकोले उक्त बैठकले वर्षमा १ गाविसमा एक मेला लगाउने निर्णय गर्यो । राम्चे गाविसमा काफलडाँडा, राम्चे र नाङ्गी गरि तीन गाउँ पर्दछ । ढोठा धेरै प्रख्यात थियो भने राम्चे गाउँ गाउँ तीन गाउँको बीचमा पर्दथ्यो । त्यसैले ढोठा मेलालाई राम्चे सारिएको हो भन्ने वहाँको भनाई रहेको छ । यसरी मेला सार्दा पुजा चाहिं काफलडाँडाको ढोठामा नै गरिन्छ भने मेला राम्चे गाउँमा लाग्ने गर्दछ ।
 साउने संक्रान्ति मेला यानी ढोठा मेला
 २०६९ सालको ढोठा मेला न्यू देउराली युवा क्लबको आयोजनामा विभिन्न कार्यक्रम गरि सम्पन्न भएको छ । देउराली निम्न माध्यमिक विद्यालयको प्रारंगणमा मेला शुरु गरि १० दिन सम्म चलेको थियो । मेलाको मुख्य आर्कषण नै खेलकुद रहेको थियो । पुरुष बास्केटबल तर्फ ३३ टिम, भलिबल तर्फ १४ टिम र महिला भलिबल तर्फ १० टिमले भाग लिएका थिए । बास्केटबलमा हिस्तानले राम्चेलाई पछि पार्दै प्रथम स्थान ओगट्न सफल भएको थियो भने पुरुष भलिबलमा उल्लेर ए र बी प्रथम र दिर्तिय भएको थियो । महिला भलिबलमा लोप्रे प्रथम र राम्चे दिर्तिय भएको थियो । खेलकुद सहित मेलामा विभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । हरेक दिन बेलुका ८ बजे देखिन साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिन्थ्यो भने बिग आइकन बन्न सफल गगन पुनले पनि कार्यक्रममा आफ्नो प्रस्तुति दिन पुगेका थिए । गगनको गीतले मेलामा रौनकनै ल्याएको थियो । युवा पुस्ताको लागि आर्कषणका केन्द्रविन्दु बनेतापनि भविष्यमा म बुढा पुस्तालाई पनि समेटेर उनीहरुको लागि पनि गीत गाउने प्रयास गर्नेछु भन्ने गगनको प्रतिवद्धता रहेको छ ।
मेलामा मगर चलचित्र माया मेरो गाउँको प्रदर्शन गरिएको थियो । यस वर्षको मेला गतवर्षको भन्दा सफल भएको प्रतिक्रिया मेला संचालन समितिका अध्यक्ष उमेश गर्बुजाको रहेको छ ।
ढोठा मेलाको भविष्य
राम्चे गाविसमा ढोठा र बराह मेला वर्षनी लाग्ने भएकोले मेलाको संख्या कम गराउने गाविसको हालैको बैठकबाट पारित भएको कारण अब ढोठा मेलामा राम्चेमा तीन वर्ष पछि मात्र लाग्ने छ । समग्रमा हेर्दा मेलाले विकृति नै ल्याएको देखिन्छ । जाँड, रक्शी, झगडा, जुवातास निकै फैलिएको देखियो । यसलाई नियन्त्रण गर्नु हरेक मेला आयोजक समितिको चुनौतीपूर्ण काम रहन्छ । विकृति फैलियो भन्दै मेला मान्न छाँड्नु पनि मूर्खता हुनेछ । किनकि कुनै मेलाले धार्मिक महत्व बोकेको पनि छ भने कुनैले परम्परागत नाचगान बोकेको हुन्छ । यसर्थ मुलभुत रुपमा मेला लाग्दा विकृति कम गर्दै त्यस मेलाको महत्व अनुसार बुझ्दै सौहार्द र आपसी मेलमिलापको वातावरण सृजना गर्नु पनि मुख्य कुरा हो ।
 
— इन्द्र पुर्जा पुन मगर राम्चे मेलाबाट फर्के पश्चात

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %