फेरी मलाई घाटु र कौडाको याद आयो

Read Time:6 Minute, 45 Second

> आज फेरी उहि ढिकि र झातो कुटो र कोदालो गर्दै साथी भाइहरू सँग बन जङ्गल मेला पात गर्दै घाटु लगाउन जाने र
कौडा नाच्ने दिनहरुको सम्झना ले अइथन भए झै लाग्न थाल्यो । त्यो उकाली उहि ओराली
> साथी भाइहरू सित रोधी घरमा गाउँदै हिंडेको
> नाच्दै हिडेको क्षणहरू मेरो मनमा तरङ्ग 
> उप तरङ्गहरुले अन्कुरित भए जस्तो लाग्न थाल्यो ।
> म जन्मेको हुर्केको भूगोल भित्र दिन दिनै
> राजनैतिक खिचा तानीहरू भएको बेला
> सांस्कृतिक बिचलन
> पनि आइरहेको होला, मलाई सम्झनाले सताई रहन्छ । म सम्झी रहन्छु अब त धानको बालाले पुतली र कोदाको बालाको कपनी बुनेर साथी सङ्गीहरूले रोधी घर्को वरिपरी भित्र बाहिर रातो माटोले पोतेर सजाइ सके होलान । झ्याउरे गीत र कौडा गीत गाइसके होलान् ।

झाउरे:-
> (क) भैन्थ्यो भेट गाउँ बेसी मेलैमा
> रोधी घर गएको बेलैमा
> (ख)उकाली र ओराली धाइ रहने
> रोधी घर्को सम्झना आइ रहने
 
कौडा :-
> (क) लर्फु खोज्न ऐ भेना
> मगर गाउँ जानु है,
> रोधी घर ऐ भेना
> सम्झी आउनु है ।
> (ख) घाटु सारे ऐ भेना
> फूल टिपी राखेछु,
> तिमीलाई सम्झी ऐ भेना
> पर्खि राखेछु ।
> ऐ, साँचै गाउँको दाजु भाइहरू सोरथीको लागि पुर्चुङे मारुनी हुँदै सिङारिन थाले होलान । भिनाजुहरू आफ्नै सालीहरूलाई रोधी घरमा नचाउनको लागि खैचडी तयार गर्दै होलान । सालिजिउहरूको लागि खुर्पेटो बनाउदै छन् होला । माघे सक्रान्तिको बेलामा बाजे बजै पुजा गरी सकेर तरुल, बटुक, रोटी र कोदो को तीन पाने रक्सी खाँदै कौडा नाच सुरु गरे होलान । राम रानी, सुन रानी, फूल रानी, राम साहि, ढन साही रोधी घरमा चुरोट र बिडी खादै होलान । तर आज मलाई माघ महिना लाग्ने बितिक्कै आज फेरी किन किन घाटु र कौडा नाचको सम्झनाले सताइरहेको छ ।
> यो माघ महिना लाग्ने बितिकै घाटु र सारे फूल फूल्ने मौसम भएर पनि हुन सक्छ, मेरो मनलाई असाध्यै नै पिरली रहेको छ तर धेरै भयो गाउँ छोडी हिंडेको घाटु नाच हेर्न र नाच्न पाएकी छैन । कि घाटु नाचलाई सबै ले बिर्सेको हुन त? अथवा मान्छेहरूले यस्को परम्परागत मुल्य र मान्यतालाई नबुझेको हो भने मैले जाने बुझेका कुराहरू सबैको सामु पस्कने गरिरहेको छु । घाटु नाच भनेको प्राचिन काल देखी नै प्रचलनमा रहेर आएको एउटा लोक नृत्य हो । मगर समुदायमा यसको आफ्नै परमपरागत मुल्य र मान्यता दिइरहेको छ । गौरव को कुरा पनि छ । यो नाच भने प्राय जस बैशाख शुक्लपक्षमा नाच्ने गरिन्छ । बिशेष गरी तनहुँ को रानी र गोर्खाली राजा सँग सम्बन्धित कथा बस्तुमा आधारित हो । यो नृत्यलाई एक प्रकारले भन्दा खेरी लोक नाटक भन्दा पनि फरक पर्दैन ।
> किनकी यो नृत्यमा यसको गीतको भनाई अनुसार पुरै अभिनय गरिन्छ । घाटु गाएनमा महिलाहरुको मात्रै सहभागगिता रहन्छ भने मादल खैचडी आदी जस्ता साङ्गीतिक सामग्रीहरु कुनै पनि प्रयोग गरिएको हुँदैन ।
> झट्ट सुन्दा खेरी निरास जस्तो लाग्न सक्छ तर गीत ले भनेको कथा बस्तु अनि शब्दहरु सुन्दै जाँदा कसैको मन बाँधिएर रहन सक्दैन । यसले कित रूहाएको हुन्छ कित हँसाएको हुन्छ । अझै पत्याइ नसक्नु को कुरो के छ भने जुन नाच्ने महिलाहरू कसै कसैलाई देउ चढ्ने हुन्छ । भन्नाले उ काप्न थाल्छ । पछी गुरूआमाले गीत अनुसार नै काप्ने छुटाउछन् । यदि गीतमा छुट्फुट् भएमा मान्छेको शरीरमा समेत असजिलो परिस्थिति आउन सक्छ । यो घाटु नाच भन्ने हो भने साँच्चैको हाँसो र आँसुको सेरोफेरो मा अभिनित नाच हो ।
> तर बारमासे घाटु नचाइ यसतो हुँदैन । गीत गाउँदा एक जना गुरुआमाले गीत शुरु गर्ने र अरू साथीहरूले साथ दिने गरिन्छ । यो घाटुमा नाच्नको लागि प्राय गरी कि तीन जना कि पाँच जना बेजोड संख्याको कन्या नानिहरु छान्ने गरिन्छ । तीनै बेजोड कन्या मध्य जो सानो उमेरको छ उसलाई नै राजा को रूपमा छान्ने गरिन्छ । तीनै कन्याहरूलाई भगवानको मन्त्रले लठ्ठ पारेको हुन्छ । उनिहरूको हाउभाउ हेर्नको लागी सुसारेको आवश्यकता पर्दछ । किनकी ती नानिहरूलाई बोकेर लाने ल्याउने गरी रहनु पर्छ । यसरी भगवानको मन्तर मन्तर मा कन्याहरु घाटु झुल्छन । अन्तमा यो घाटु पूर्णिमाको शुक्ल पक्ष लागे पछी शुरू हुने घाटु नाच पूर्णिमाको पन्चमिको दिनमा बिसर्जन हुन्छ । यो मगरहरूको संस्कृतिक मह्त्व झल्काउने घाटु नाच आजभोली किन हाम्रो मगर समुदायले बिर्सन खोजेका होलान मलाई चित्त दुखेर आउँछ र यहि प्रश्न गर्न मन लगछ ।
 
> लेखिका, अनिता राना मगर सदस्य,
> मगर महिला समिति
> स्विन्डन शाखा, यूके ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %